वित्तीय बजारमा साकोसको छवि

सन्जय तिमिल्सीना


म संस्थागत कामको सिलसिलामा प्रायः यात्रामा निस्किरहनु पर्दछ । यात्राको क्रममा थुप्रै नयाँ अनुहारसँग चिनजान हुन्छ, नयाँ स्थानको रहनसहन बोली, भाषा, संस्कार, संस्कृति र सभ्यतासँग अन्तरङ्ग गर्न पाउँदा यात्राको थकान पुरै हराउँछ । यात्राको क्रममा सबैभन्दा बढी आउने प्रश्न पेशा सँग जोडिएको हुन्छ । पेशा जागिर भन्ने बित्तिकै कुन केमा हुनुहुन्छ ? सहकारी विभागमा हो ? सरकारी हो की प्राइभेट ? यस्ता निकै आउँछन् । निजामति कर्मचारीको जस्तै गाढा नीलो कोट र पाईन्ट लगाएको देखेपछि सरकारी कर्मचारी हो की भनेर सोध्नु स्वभाविक नै हो । तर, अहिले पनि समाजमा सहकारी योग्यतम व्यक्तिले जागिर गर्ने क्षेत्र हो भन्ने विश्वास छैन । सहकारी हो, सरकारी होइन भन्ने बित्तिकै प्रश्नकर्ताको व्यवहारमा केहि फरकता आएको प्रष्ट हुन्छ । कतिपय स्थानमा (जहाँ सहकारीप्रतिको बुझाई परिपक्व भएको छ) सहकारी क्षेत्रमा काम गर्ने भन्ने वित्तिकै अन्य क्षेत्रमा कार्यरत व्यक्तिलाई भन्दा बढी चासो, आत्मीयता र सम्मान भाव व्यक्त गर्ने अवस्था पनि छ । तर यस्तो क्षेत्र, जनसंख्या र प्रभाव पार्ने क्षमता कमजोर छ । यसले समुदायमा सहकारी संघ संस्थाको कस्तो छवी प्रक्षेपित गरेको छ भन्ने देखाउँदछ । छवी भनेको संस्थाको अदृष्य सम्पत्ती (इन्टेन्जिबल एसेट्स) हो जसलाई वित्तीय परिभाषामा विश्वासयोग्य सम्पत्ती (गुडवील) भनिन्छ । आधुनिक परिभाषामा छवी बहुआयामिक हुन्छ र यसले दीगोपनालाई जोड दिएको हुन्छ ।


संस्थाको छवी कस्तो छ भन्ने वास्तविक अवस्था जानकारीको लागि संस्था आफ्रैंले सर्भेक्षण गर्नु उपयुक्त हुन्छ । संस्थाको छवीले प्रत्यक्ष र पहिलो प्रभाव पार्ने भएकोले संस्थाले कम्तिमा वार्षिकरुपमा समुदायका संस्थामा आवद्ध नभएको (तटस्थ) व्यक्तिहरुसँग सर्भेक्षण गर्नु पर्दछ । जसले संस्थाप्रति समुदायको बुझाई र विश्वासको अवस्था सुधार गर्न सहयोग पुग्दछ । यस्तो सर्भेक्षणमा संस्थाका जिम्मेवार व्यक्तिहरु (कर्मचारी र सञ्चालक) समुदायका मानिसहरुसँग व्यवसायिक व्यवहार प्रदर्शित गर्न समर्थ छन्/छैनन् ? समुदायमा सहकारी संस्थाको बारेमा जानकारी पुगेको छ/छैन ? संस्थाका जिम्मेवार व्यक्तिहरु व्यक्तिगत सम्बन्धका आधार र निर्देशनमा वा नीति र विधिको आधारमा व्यवहार गरिरहेकाछन् भन्ने स्पष्ट हुन्छ । छवी निर्माणको कार्य छोटो दौड नभएर म्याराथान हो ।


नेपालको संविधानले सहकारीलाई राष्ट्रिय अर्थतन्त्रका तीन महत्वपूर्ण आधारहरु मध्ये एक हुने व्यवस्था गरेको छ । अझ हाम्रो जस्तो मिश्रित अर्थतन्त्र र आर्थिक वितरणमा ठुलो असमानता रहेको मुलुकमा सहकारीको आवश्यकता र महत्व अझै बढी हुन्छ । संस्थागत छवी निर्माणको विषय उक्त संस्थाको नेतृत्व र व्यवस्थापन तहमा जोडिने व्यक्तिको व्यक्तिगत छवीबाट प्रभावित रहेको हुन्छ । सहकारी समुदायमा आधारित संस्था हुने र उक्त संस्थाको नेतृत्व सोही समुदायको मतादेश प्राप्त गरेको समुदायकै सदस्यको हुनुका साथै अधिकांश कर्मचारीहरु समेत सोही समुदायका हुने हुनाले अन्य वित्तीय संघ संस्थाको भन्दा सहकारी संस्थाप्रतिको विश्वास उच्च हुनुपर्ने हो, जसलाई छवी छवीकोरुपमा बुझ्न सकिन्छ । तर सहकारी संस्थाको संख्या बढी हुनु, सहकारी संस्थामा सैद्धान्तिक बिचलन आउने, सदस्यलाई ग्राहकको रुपमा व्यवहार गर्ने, नेतृत्वमा निर्वाचित हुन कुनै योग्यता र क्षमता निर्धारित नहुनु, समुदाय राजनीतिकरुपमा विभाजित हुने र कुनै न कुनै राजनीतिक नेतृत्वमा रहेको व्यक्ति नै संस्थाको पदाधिकारी हुने, सम्भव भएसम्म सम्बन्धका आधारमा स्थानीय व्यक्तिहरुबाट कर्मचारी व्यववस्थान गर्ने, प्रविधिको उपयोगमा प्राथमिकता नदिने जस्ता कारणले संस्थाको प्रतिष्ठा र छवीलाई प्रभावित गरिरहेको हुन्छ । संस्थाको विकास योजनामा छवी निर्माणलाई व्यवस्थित गर्न यसका सैद्धान्तिक पक्षको जानकारी हुनु जरुरी छ । त्यसैले यहाँ संस्थाको छवी÷प्रतिष्ठा निर्माणका चरणहरुको संक्षिप्त व्याख्या गरिएको छ ः


१. राम्रो छवी भएको नेतृत्वकर्ताको परिचयलाई पृष्ठभूमि बनाउने,
२. आन्तरिक एवम् बाह्य वातावरण विश्लेषण र सरोकारवालाहरुको पहिचान एवम् मूल्याङ्कन,
३. अपेक्षित छवी निर्धारण
४. विद्यमान छवी मापन,
५. अपेक्षित एवम् विद्यमान छवीको फरकता पहिचान गर्ने,
६. विद्यमान र अपेक्षित छवीको फरकता न्यूनिकरण गर्न योजना विकास गर्ने,
७. योजनाको कार्यान्वयन एवम् मूल्याङ्कन गर्ने,
समुदायका मानिसहरुले अन्य संस्थाभन्दा सहकारीलाई किन रोज्ने ? भन्ने प्रश्न प्रश्नको जवाफ नै सहकारी संस्थाको समुदायमा रहेको छवी हो । सहकारी संस्थाहरुले सदस्यहरु संग मात्र कारोवार, सदस्यहरुको स्वामित्व, सदस्यहरुलाई शिक्षा, समुदायमा आधारित संस्था, सजिलै पहुंच पुग्ने संस्था, नेतृत्व विकासको अवसर प्राप्त हुने, सदस्यहरुलाई लाभ, स्वाबलम्बन अवधारणा, बचत तथा ऋणमा साधारण प्रक्रिया, पारदर्शिता, बचतलाई पहिलो प्राथमिकता, सदस्यहरुको आवश्यकतामा आधारित संस्था, नीति तथा कार्यविधीहरुबाट निर्देशित, समृुदायमा राम्रो छवी, दोहारोे संचार प्रक्रिया (सदस्यहरुको कुरा सुन्ने), लैंगिक संवेदनशिलता, कम प्रशासनिक लागत, वित्तीय स्वतन्त्रता प्राप्तीका लागि सहयोग पु¥याउने, सदस्यहरुको पैसा व्यवस्थापन र धन सृजना गर्ने कार्यमा निर्देशन (पथ प्रदर्शन) गर्छ र सदस्यहरुको आवश्यकतामा आधारित विभिन्न वित्तीय सेवा र समाधानहरु प्रदान गर्ने हुनाले समुदायले अन्य संस्थाको तुलनामा सहकारी संस्थालाई रोजाईमा राख्ने गर्दछन् । यदि कुनै सहकारी संस्थाले यस्ता विषयहरुलाई नजरअन्दाज गरेमा उक्त सहकारी संस्था अन्य संस्थाको तुलनामा समुदायको कम रोजाईमा पर्दछ जसले संस्थागत छवी कमजोर भएको हुन्छ ।
भनिन्छ संस्थागत छवी भनेको कुनै वस्तु तथा सेवा खरीद गर्ने वा नगर्ने भन्ने निर्णयको लागि मूल्याङ्कन गर्ने आधार हो । त्यसैले प्रतिस्पर्धी निजी वा सार्वजनिक संस्था भन्दा उच्च छवी निर्माण गर्नु जरुरी छ ।

संस्थागत छवी निर्माणका आधारहरु ः संस्थाप्रति आम मानिसको बुझाई, विश्वास र धारणा नै संस्थागत छवी हो । विभिन्न तत्वहरुले संस्थागत छवी निर्माणमा प्रभाव पारिरहेका हुन्छन् । संस्थागत छवी निर्माणका प्रमुख तत्वहरुलाई आन्तरिक र बाह्य गरी दुई तरिकाले छुट्याउन सकिन्छ जसलाई संक्षिप्तरुपमा यहाँ प्रस्तुत गरिएकोछ ।

क) संस्थागत छवीका आन्तरिक तत्वहरु ः
संस्थाको आफ्नै छवी, संस्थागत विज्ञापनहरु, ब्राण्ड छवी, जनसम्बन्ध, अग्रभागका कर्मचारीहरुको आचरण, इमान्दारिता, मितव्ययिता, गतिशिलता, वेवसाईट, परिकल्पना, तालिम शिक्षा, सुधारात्मक कार्य

# संस्थाको आफ्नै छवि ः संस्था उत्कृष्ट कार्य सम्पादन वा अन्य कुनै कारणले सिकाईको केन्द्रको रुपमा विकास हुने र विभिन्न संस्थाहरुबाट भ्रमणमा आउने कार्यले संस्थाको छवि निर्माण गरिरहेको हुन्छ । संस्था भनेको त्यस्तो हुनुपर्दछ भनि नाम लिने अवस्था हुनु भनेको संस्थाको आफ्नै छवी हो । यसको लागि व्यवसायिक कर्मचारी, नमुनायोग्य सञ्चालक र इमान्दार सदस्य संस्थाको आफ्नै छवि निर्माणका प्रमुख आधार हुन् ।

# संस्थागत परिचय औजार (विज्ञापन) ः संस्थागत परिचय औजारहरु जस्तै ः परिचय पुस्तिका (ब्रोसियर), प्रोडक्ट क्याटालग, फ्लायर, साईन बोर्ड, परिचय पत्र, पोशाक, संस्थागत रंग र लोगोको प्रयोग उपयुक्त स्थान र तरिकाले गरेर संस्थागत छवी विकास गर्न सकिन्छ ।

# ब्राण्ड छवी ः संस्थाका मानिसहरुको बोल्ने शैली र शब्द चयन, पोषाक, कागजात, प्रयोग गर्ने उपकरणहरु, नीतिगत व्यवहार, छपाई सामाग्री लगायतमा एकरुपताबाट संस्थाको ब्राण्ड निर्माण गर्न सकिन्छ । जस्तै समाचारको विश्वसनीयताको लागि बीबीसी, सीएनएन, पेय पदार्थमा कोकाकोला, पेप्सी ब्राण्ड छवी हुन् । त्यसैगरी कुनैपनि सहकारी संस्थाले आफ्नो ब्राण्ड छवि निर्माण गर्न सक्दछ ।

# जनसम्बन्ध÷जन छवि र एकता ः संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु, व्यवस्थापन (कर्मचारीहरु) र सदस्यहरुको एकताका साथै समुदायका अन्य व्यक्तिसँगको जनसम्बन्धले संस्थागत छवी निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको हुन्छ जसले गर्दा समुदायका साथै अन्य पक्षले समेत संस्थाप्रति सकारात्मक धारणा विकास गर्न सक्दछन् । यस्ता सम्बन्ध र जनछवीले संस्थागत एकताका साथै सकारात्मक पक्षहरुलाई विस्तारित गर्न सक्दछ र आलोचनाको तर्कपूर्ण प्रतिवाद गर्न सक्दछ । सहकारी संस्थाका कर्मचारीहरु र नेतृत्वले सदस्य एवम् समुदायका अन्य मानिसहरुसँग मित्रवत व्यवहार प्रदर्शन गरी संस्थागत छवी निर्माण गर्न सकिन्छ ।


# अग्रभागका कर्मचारीको आचरण ः संस्थाको सदस्य सहायता कक्ष, नगद काउण्टर, बजार प्रतिनिधिहरु लगायत सदस्यहरुसँग नियमित अन्तरक्रिया हुने कर्मचारीहरुको आचरण, बोलीचाली, कार्यशैली, पोषाक लगायतका कुराहरुले संस्थाको छवि निर्माणमा प्रत्यक्ष वा परोक्ष प्रभाव पारिरहेको हुन्छ ।


# इमान्दारिता ः इमान्दारिता सहकारी संस्थाको छवि निर्माणमा अर्को महत्वपूण पक्ष हो । संस्थाको जिम्मेवारीमा रहने विभिन्न व्यक्तिहरुका साथै संस्थागत कार्यशैली र व्यवहारमा ईमान्दारिताले संस्थाको छवि उच्च बनाउँदछ । तर संस्था वा संस्थाका महत्वपूर्ण जिम्मेवारीमा रहने व्यक्तिहरुको वेइमानिपूर्ण कार्यले संस्थाको छवि कमजोर बनाउँदछ । अहिले सञ्चार माध्यममा सहकारी संस्थासँग जाडिएका कतिपय नकारात्मक समाचारहरु जिम्मेवारीमा रहने व्यक्तिहरुको स्वार्थपूर्ण सोचको उपज हो । यद्यपी कतिपय व्यक्तिहरु इमान्दार हुँदाहुँदै पनि प्राविधिक ज्ञानको अभावले त्यस्ता समाचारको विषय बन्न पुगेका छन् ।


# मितव्ययिता ः सहकारी संस्था समुदायमा आधारित संस्था हुनुले समुदायका मानिसहरुको आयस्तर, खर्च गर्न सक्ने क्षमता र बानी अनुरुप खर्च गर्दासम्म संस्थाको छवि उच्च हुन्छ भने समुदायको स्तरभन्दा माथिको बढी (हाइफाई) खर्च वा आवश्यकता र क्षमता भन्दा अति न्यून खर्चले संस्थाप्रति समुदायको धारणा विकास गर्दछ त्यसैले संस्थागत छवि निर्माणमा सहकारी संस्थाले सापेक्षित मितव्ययिता अपनाउनु जरुरी छ ।


# गतिशिलता ः संस्थागत छवि निर्माणको अर्को आधार संस्थामा परिवर्तनलाई अवलम्वन गर्न सक्ने र बजार सापेक्ष नीति, विधि र प्रविधिमा अभ्यस्त हुने र प्रविधिमैत्री सेवा प्रदान गर्न सक्ने वा समयभन्दा सुस्त गतिमा परिवर्तन हुने विषय महत्वपूर्ण हुने भएकोले सञ्चालनको जिम्मेवारीमा रहने सञ्चालक एवम् कर्मचारीहरुको सोच, शैली र व्यवहार गतिशिल हुनुपर्दछ ।


# वेवसाईट ः संस्थाले आफ्ना सूचना र गतिविधिहरुलाई समुदायका साथै एकैपटक धेरै मानिस समक्ष पु¥याउन वेवसाईट प्रयोग गरिरहेका हुन्छन् । यसरी वेवसाईट मार्फत प्रकाशित वा प्रसारित सामाग्रीहरुको आकर्षकता, विश्वसनीयता, अद्यावधिकरण जस्ता विषयले संस्थाको छवी निर्माण गर्दछ भने यस्ता विषयहरु अद्यावधिक नहुने, पुराना सूचना प्रेषित हुने, तस्वीरमा सन्दर्भ नभएका र संस्थाको मुख्य जिम्मेवारीमा रहेका व्यक्तिहरुका अस्वभाविक तस्वीरहरु प्रकाशन गर्नाले संस्थाको छवि कमजोर बनाइरहेको हुन्छ ।


# परिकल्पना र ध्येय ः संस्थाको परिकल्पनामा संस्थाले के गर्छ ? लक्षित वर्ग को हो ? संस्थामा अरुको भन्दा फरक के छ ? भन्ने जस्ता कुराहरुलाई सम्बोधन गरी छवी निर्माण गर्नुपर्दछ । जस्तै “समुदायको पहिलो रोजाईको दीगो र प्रतिस्पर्धी संस्था” भन्ने परिकल्पनाले समुदायलाई संस्थाप्रति सकारात्मक बनाउन सक्दछ । जसले संस्थागत छवी विकास गर्दछ ।


# तालिम, शिक्षा ः सहकारी संस्थाले अन्तर्राष्ट्रिय सिद्धान्तको अनुशरण गर्दै समुदाय, संस्था, कर्मचारी र नेतृत्वलाई नियमित तालिम शिक्षा मार्फत वित्तीय साक्षरता, व्यवसायिक साक्षरता प्रवद्र्धन गरी संस्थागत छवि निर्माण गर्न सकिन्छ ।


# सुधारात्मक कार्य ः संस्थामा समुदायका अगुवा व्यक्तिहरु, सदस्यहरु, नियामक वा अन्य निकायबाट प्राप्त सुझावहरुको आधारमा तत्काल सुधारात्मक कार्य गर्ने र सोको जानकारी सूचनापाटी, संस्थाका कार्यक्रमहरु लगायत माध्यमबाट जानकारी प्रदान गर्न सकेमा संस्थागत छवि निर्माण गर्न सकिन्छ ।


आन्तरिक तत्वहरु सम्बन्धित संस्थाको नियन्त्रणमा हुन्छन् र उसको आफ्नै कारणले संस्थागत छवी राम्रो वा नराम्रो हुन्छ । त्यसैले संस्थाले संस्थागत छवि निर्माणमा उल्लेखित विषयहरुमा सदैव सचेत रहि कार्य गर्नुपर्दछ ।


संस्थागत छविका बाह्य तत्वहरु ः


सामाजिक जिम्मेवारी, उद्योगको छवि, उत्पत्ती भएको समुदायको छवि, छापा प्रतिवेदनहरु, समाचारहरु, आम मानिसको मौखिक बोली,

# सामाजिक जिम्मेवारी ः संस्थाले सामाजिक आवश्यकता अनुरुपका विभिन्न जिम्मेवारी निर्वाह गर्नुपर्दछ । समुदायका मानिसहरुले आफैंले पुरा गर्न नसकेका सामाजिक आवश्यकता अनुरुपका कार्य गरेर समुदायको स्वीकार्यता वृद्धि गरी छवि निर्माण गर्न सक्दछ ।


# उद्योगको छवि ः उद्योग भन्नाले समान प्रकृतिको वस्तु तथा सेवा उत्पादन एवम् बिक्री वितरण गर्ने संस्था वा कम्पनीको समग्र रुपलाई उद्योग भनिन्छ त्यसैले समग्र सहकारी संस्थाहरुलाई सहकारी उद्योग भनेर सम्बोधन गर्न सकिन्छ । उद्योगको छवी भन्नाले समग्र सहकारीको छवीलाई जनाउँदछ । सहकारी संस्थाका नकारात्मक समाचारहरु बाहिर आउँदा निकै सुरक्षित र गुणस्तरीय कार्य गर्ने सहकारी संस्थालाई समेत त्यसले प्रभावित पारिरहेको हुन्छ । त्यस्ता समाचारले सहकारीप्रतिको आम धारणा बनाउने हुनाले सहकारी उद्योगको छवी निर्माणका लागि सहकारी र सञ्चार उद्योगबीचको सम्बन्ध राम्रो हुनु जरुरी छ जसले राम्रा कार्यहरुलाई जनसमक्ष पु¥याउन सहयोग गर्दछ । कहिलेकाँही आफ्नो कार्यक्षेत्र भित्रको प्रतिस्पर्धी संस्थाको बारेमा नकारात्मक समाचारहरु आउँदा वा टिप्पणीहरु भइरहँदा हो मा हो मिलाउने, सामाजिक सञ्जालमा आएका समाचार शेयर गर्ने वा कुनैपनि प्रकारले खुशी मनाउ गर्नु भनेको छवी निर्माणको विषयमा जानकार नहुनु हो । हो नकारात्मक विषय ढाकछोप गर्नु हुँदैन तर त्यस्ता समाचार शेयर गर्नुको सट्टा त्यस्तो अवस्थाबाट कसरी बाहिर निकाल्न र समग्र सहकारी उद्योगको छवी उच्च बनाउन सकिन्छ भन्नेतर्फ सोच्नु पर्दछ ।


# उत्पत्ती भएको समुदाय ः संस्थागत छवि निर्माणमा उक्त संस्था कस्तो समुदायमा कस्ता पृष्ठभूमिका व्यक्तिहरुले स्थापना वा सुरु गरे भन्ने विषयले पनि छवी निर्माणलाई प्रभावित गर्दछ । स्थापनाकालमा उच्चपदस्थ वा समुदायका सम्पन्न पारिवारिक पृष्ठभूमिका मानिसहरुमात्र संगठित भएको भए उक्त संस्थालाई हेर्ने दृष्टिकोण सम्पन्नहरुको संस्था भन्ने बनेको हुन्छ । त्यसैगरी विपन्न वर्गका मानिसहरुमात्र संगठित भएर शुरु गरेको भएमा सम्पन्न परिवारका मानिसहरको संलग्नता नहुन सक्दछ । उनिहरुको हेराईमा उक्त संस्था विपन्नहरुको आश्रयस्थल मात्र हो भन्ने बुझाई स्थापित भएको हुन्छ । त्यसैले कुनैपनि सहकारी संस्था स्थापना वा सुरु गर्दा समुदायका सम्पूर्ण वर्ग समुहलाई समावेश गर्न सकेमा संस्थाको छवि सदैव उच्च बनाउन सकिन्छ ।


# छापा प्रतिवेदन र समाचारहरु ः संस्थाले प्रकाशन गर्ने प्रतिवेदन वा बुलेटिनहरु, क्यालेण्डर लगायतका छपाई सामाग्रीहरुका साथै संस्थाको बारेमा पत्रपत्रिका, रेडियो, टेलिभिजन लगायतका आम सञ्चार माध्यमहरुमा प्रकाशित, प्रशारित वा अन्य संस्थाले प्रकाशन गर्ने बुलेटिनमा प्रकाशित हुने विषयले संस्थाको छविमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले यस्ता प्रकाशन तथा छपाईप्रति सदैव सजग रहनुपर्दछ । भनिन्छ एउटा खराब समाचारले कुनैपनि संस्थालाई क्षणभरमा नै समाप्त पारिदिन सक्दछ अझ वित्तीय कारोबार गर्ने संस्था बढी संवेदनशिल हुने भएकोले छवि निर्माणमा छापा प्रतिवेदनहरु प्रभावकारी बनाउन जरुरी हुन्छ ।


# आम मानिसको मौखिक बोली ः संस्थाको बारेमा आम मानिसले व्यक्त गर्ने मौखिक बोली पनि संस्थाको छवि निर्माणमा महत्वपूर्ण पक्ष हुने भएकोले संस्थाको तर्फबाट वा संस्थामा संलग्न मानिसहरुले व्यक्तिगत रुपमा व्यवहार गर्नु हुँदैन जसले आम मानिसको मौखिक बोलीमा संस्थाप्रति नकारात्मक बन्न दिंदैन ।


संस्थागत छवि निर्माणका उल्लेखित बाह्य तत्वहरु एकै संस्थाको नियन्त्रणमा हुँदैनन्, समग्र सहकारी अभियानको कार्यबाट नै सहकारीप्रतिको धारणा विकास हुन्छ । त्यसैले सहकारी उद्योग वा अभियानको छवी निर्माणमा माथिल्ला संघहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ ।


माथि उल्लेखित बाहेक छवि निर्माणमा देहायका विषयहरु पनि महत्वपूर्ण हुन्छन् ः


 भौतिक आकर्षकता (लोगो, भित्री सजावट, भवनको बाहिरी दृष्य, कर्मचारीको उपस्थिति र आकर्षकता)
 उत्पादन तथा सेवाको गुणस्तर (उच्च गुणस्तर ः राम्रो छवि, कमसल गुणस्तर ः खराब छवि)
 वित्तीय शक्ति (पैसाको कुरा संधै भएको छ । यदि तपाईंको संस्थामा प्रतिस्पर्धीको भन्दा बढी पैसा छ भने तपाईंको प्रतिस्पर्धी भन्दा तपाईंको प्रतिष्ठा बढी हुन्छ)
 उत्पादन र सेवा (वित्तीय एवम् गैरवित्तीय उत्पादन तथा सेवा र सहभागिता)
 सदस्य सुरक्षा (सदस्य सुरक्षाका लागि सामाजिक सेवा र कल्याणकारी कार्य)
 प्रायोजन ः प्रायोजनले विश्वास निर्माण गर्दछ,
 सञ्चार सम्बन्ध ः केवल एउटा खराब समाचारले तपाईंको असल छवी नष्ट गरिदिन सक्दछ,
सञ्चालकको छवी विकास एउटा सञ्चालकमा तालिम दिने, नीति तथा योजना निर्माणको गर्ने, संस्थागत विश्लेषण गर्ने, सोध र खोज गर्ने, ईमान्दारिता, दुरदर्शिता र त्याग, समयनिष्ठा र सामुहिकता निर्माण गर्ने सीप हुनु आवश्यक हुन्छ । संस्थागत छवि व्यवस्थापन मुख्य तीन तहमा गर्नु पर्दछ ः


(क) संस्थागत व्यक्ति ः व्यक्तिले आफ्नो निजी नभएर संस्थागत धारणा बोल्ने
(ख) संस्थागत परिचय ः संस्थागत परिचयबाट आफ्नो परिचय दिने (म ….. संस्थाको … पद)
(ग) संस्थागत छवी ः संस्थागत छवी (माथि उल्लेख गरिए अनुरुप)
सकारात्मक छवी निर्माण गर्दा संस्थालाई मुख्यरुपमा देहायका फाईदा पुर्याउन सकिन्छ ः
 ठुलो बजार हिस्सा ओगट्न सकिने,
 प्रतिकुल समयमा पनि आफ्ना सेवा उपभोगको अवस्था वृद्धि गर्न सकिने,
 समुदायका अब्बल व्यक्तिहरुको मुख्य आकर्षण बन्ने,
 कर्मचारीको स्थायित्व र उच्च दरको उत्पादकत्व,
 लागत न्यूनिकरण (मुनाफा वृद्धि),
 सञ्चार माध्यममा राम्रो र सकारात्मक स्थान प्राप्ति,
 शेयर सदस्यहरुलाई लगानीमा उच्च प्रतिफल,

छवि निर्माणका लागि टिप्सहरु ः
 संस्थाको आन्तरिक संस्कृतिको व्याख्या गर्नुहोस्,
 आफ्नो सफलताको कथा भन्नुहोस्,
 तपाईंको बोली अनुसारको व्यवहार गर्नुहोस्,
 आफ्नो बोली फराकिलो बनाउनुहोस् र धेरै जनासम्म पुर्याउनुहोस्,
 सल्लाह र सुझावलाई प्रोत्साहित गर्नुहोस्,
 माया बाँड्नुहोस्,
जय सहकारी !


प्रतिक्रिया

प्रतिक्रिया