धर्तीको स्वर्ग तिर लाग्दै गर्दा….

मित्रलाल सापकोटा

दशैं त आउँछ जान्छ, हरेक बर्षको, दशैंले कुनै न कुनै सम्झना छोडेर जाओस यहि सबैको इच्छा हुन्छ नै, हाम्रो पनि यस्तै चाहनाका बीच मार्दी हिमाल आधार शिविर तिरको यात्रा असोज ११ गतेबाट जारी थियो, पहिलो दिनको साढे दश घण्टाको यात्रा पछि हामीहरु कोकर फरेस्ट क्याम्पमा बास बसेका थियौं । हिजोको हिंडाइको एहसास त बिहान उढ्दा पो थाह हुँदोरहेछ त, चार बजेको के थियो सबै जनाको हल्लखल्ल शुरु भै हाल्यो । चिया पानी लिने र अब उकालो लाग्ने तरखर हुन लाग्यो । हामी पनि बिहान ५ बजेसम्ममा हिँड्ने गरि तयार भयौं । बिहान ५ः१५मा हाम्रो दोस्रो दिनको पदयात्रा कोकरबाट प्रारम्भ भयो । घनघोर जंगल पानी परेर चिप्लो बाटो अझ त्यसैमाथि खच्चरहरुको हिँडाइबाट हिलाम्मे बनेको बाटो, उफ ! जुकाको बर्षा पनि पो त । ‘पानी खोइ त बोकेको छैन ?’ ध्रुवनारायण सरले सोध्यै हुनुहुन्थ्यो । ‘हे.. एक लिटर तातो पानीको पाँच सय रुपैंया पर्छ होला भनेर नलिउँ कि भनेको त यहाँ त लिएनन् त, उता अन्नपूर्ण पदमार्गमा त हजार पो लिन्छन् त हो ।’ झापाका भेषराज सरको कुरा सुन्दा मलाई कस्तो अचम्म पो लाग्यो, किन कि मैले त आज सम्म यति महङ्गो पानी किन्न परेको थिएन त । उत्तम र भेषराज सरको त्यो उकालोमा हिँडाइ देख्दा खोइ मलाई त अब पछाडी छोडेर साथिहरु जाने भए भन्ने लाग्दै थियो, ध्रुवसरले मेरो चालमा साथ दिनुभयो हामी पछाडी पछाडी हिँड्दै रह्रयौं


एक घण्टा पनि बितेको थिएन एउटा अति नै रमणीय थुम्को आयो, त्यहाँ त सानो सानो रेस्टहाउस पनि रहेछ । हाम्रा दुइजना साथीहरु मजासँग बसेर बिहानी दृष्यको आनन्द लिँदै थिए । भारी बिसाएर हामी पनि त्यो आनन्द लिने मेसो गर्यौं । यो ठाउँको नाम रेस्ट क्याम्प राखेको रे । यहाँ त बर्ष्दिन पहिला केहि थिएन सिवाय जंगलको तर एक जना युवाले पर्यटकको सेवासँगै आफ्नो रोजगारीको मेसो गर्ने गरी यो काम गरेका रहेछन् । माछापुछ«ेको सुन्दर दृष्यावलोकनको प्रतिक्षा गर्दै त्यो ढपक्क ढाकेको बादललाई ‘फाटि दे बादलु हेर्छु म माछामुछ«ेको ठाउँ ’ भन्दै उहि माइतीको गाउँ भन्ने गीतको सम्झना गरियो तर बादलले हाम्रो कुरा के सुन्थ्यो र बिहानीको घाम चढ्दै जाँदा बादल त झनझन् माथितिर पो जाँदो रहेछ र हिमाल पुरै ढाक्ने रहेछ । ठिकै छ हामी त त्यो हिमालको फेदी मै हो पुग्ने माथी पुग्दै
जाँदा यस्तो हेर्ने ठाउँ भेटिन्छ भन्ने थियो मनमा । धैर्य गर्यौं, खाजाको अर्डर भै सकेको रहेछ भित्रबाट बुलावा आयो हामी खाजा खान लाग्यौं । तिब्बती रोटी, तरकारी र चिया खाएर शुरु भो आफ्नो गन्तव्य । यहाँ हामीले ४५ मिनेट बिताएछौं । अबको यात्रा कम्तिमा तीन घण्टाको हुने हुँदा खाना खाने मेसो उहि तीन घण्टा पछि हुने पक्का थियो ।


बाटो मात्रै गोरेटो, घना जङ्गल, यदाकदा सुनिने चराहरुको आवाज मात्रै, आफ्नो यात्रामा निस्केका केहि पदयात्रीहरु आ–आफ्नो ग्रुपमा हिँडेका भेटिन्थे । रुखहरु सबै झ्याउ लागेका मात्रै, बेला बेलामा देखिने टाढा पअ्र पअ्र देखिने हरिया डाँडा र गाउँहरुले हाम्रो यात्रालाइ अलिकति भएपनि हौसला दिइरहेका थिए । उफ ! भोक पनि पो लाग्न थाल्यो त, मनले भन्दै थियो यतिकैमा ‘ए भेना सास त फेरिँदै छ नि, कतै अप्ठ्यारो त भा छैन ?’ उत्तमले सोध्यै थिए । पहिलो चोटी यतिधेरै उँचाइमा गएको मान्छेलाई लेक लाग्न सक्छ भनेर मेरो सोधपुछ निकै हुँदै थियो । तर मलाई त्यस्तो कुनै महसुस भएको थिएन । आज हामी २५५० मीटरको उँचाइबाट सिधै ४१०० मीटरको उँचाइमा पुग्ने यात्रामा थियौं । हामी हुमाल (लो क्याम्प) २९०० मीटरको उँचाइमा पुग्दा ११ बजेको थियो । हामीहरु यस्सो बस्न के भ्याएका थियौं आइपुगे लाक्पा दोर्जी पनि ।

‘आच्या तपाईहरु त अझै पो यहिँ ? हामी त ७ बजे फरेष्ट क्याम्पबाट हिँडेर पनि यहाँ आइ पुग्यो त होइ, तपाईहरु ५ बजे हिँडेर पनि आझै यतै छा कसरी हिँड्छ खोइ ।’ यी हिम चितुवा शेर्पा सोलुका सात सात पटक सगरमाथा चढेका ६ पटक धौलागिरी चढेका नभनुन पनि कसरी उनलाइ यो पहाड हिमाल त केहि जस्तो पनि नलाग्ने अनि एकजना जर्मन पर्यटकलाई मार्दी हिमाल आरोहण गराउन हिँडेका रहेछन् खुबै रमाएलो गराए एकछिन आफ्ना यात्राका कुरा सुनाएर । मन त त्यसै मन्त्रमुग्ध भयो । हामी गोरखाका मगर भाइहरुको न्यानो आतित्थ्यताको साथ तात्तातो दाल भात तरकारी खाएर १२ बजे लाग्यौं बादले डाँडाको उकालोतिर ।


उकालो त सानोमा स्कूल पढ्दा घनघस्याको उकालो भनेर सुनेको थिएँ । पहाडमा जन्मेको हुर्केको हुँदा उकालो भन्ने यस्तै हो भन्ने जस्तो पनि लाग्थ्यो तर ४० बर्षको समथर भूमिको बसाइले उकालो त कहालिलाग्दो हुनु स्वाभाविकै थियो र यो उकालो घनघस्या नगएता पनि यस्तै यस्तै होला भनेर कल्पना गर्न सकिने रहेछ । दुइ घण्टाको उकालो हिँडेपछि हामी पुग्यौं बादले डाँडा । यहाँ पुग्दा साँचिकै पुरै बादलले ढाकेको लाग्थ्यो हामी त बादलमा पो हिँडिरहेका छौ तर खुट्टा त जमीनमा थिए दुखाइ त्यो त अहिले सम्झिँदा पनि दुख्छ । चौतारीमा झोला टेकाएर सास फेर्दै गर्दा सिमसिम पानी पर्न थालिरहेको थियो । पानी ओतिने समय थिएन, यात्रा आजको बास किउ (हाइ क्याम्प) बाहेक यता थिएन । हुन त यहाँबाट ४ घण्टाको पदयात्रा हो त्यहाँको तर हाम्रो लागि यो कति समय लाग्ने भन्ने थाह थिएन तथापि ५–६ घण्टा त लाग्छ होला भन्ने अनुमान गर्दै लागी हाल्यौं । झमझम पानीको तालसँगै हाम्रा पाइलाहरु पनि अगाडी बढ्दै गए, अब न कुनै होटल, न खानपीनको व्यवस्था, बस आफुसँगै भएका ड्राइफ्रुटहरु चपाउँदै, आफुसँग बोकेको पानीको घँुट लिँदै उकालो, कतै तेरपाएँ तेरपाएँ बाटोको यात्रा गर्दै साँझको ६ बजे पुग्यौं हामी किउँ (हाइक्याम्प) को ट्रेकर पाराडाइज होटलमा । रुम पहिले नै तल कोकरको बास बस्दा नै बुकिङ्क गराएकोले समस्या भएन । ४१०० मीटरको उँचाइमा रहेको यो ठाउँमा पुग्दा कताकता यो कहाँ पो आइँदै छ जस्तो पनि लागेको थियो कि यत्तिकैमा दुई जना कुरा गर्दै थिए ‘हामी कति मूर्खहरु हगि ! दशैंको मुखमा घरपरिवार सँग आनन्द लिनुको सट्टा पैसा फालेर, ८०० रुपैँया छाक भात खाएर, पानीमा भिज्दै, जुकालाई टोकाउँदै, लामालामा सुस्केरा हाल्दै के कन उपती गर्न यो पहाडतिर आएका । हत् यो काम चाहिँ बुद्धि भएकाले हो र गर्ने ?’ अनि गलगललल…हाँसो पनि । सोंच्दा त हो कि जस्तो पनि लाग्यो मलाई पनि तर यो त मेरो आफ्नो स्वास्थका साथै मेरो देशको भूगोलको, हिमाली सभ्यता र रहनसहनको ज्ञान लिने सुअवसर पो त हो नि, यस्तो जो कोहिले त चाहेर पनि गर्न सक्दैनन् पनि, अनि बिदेशीहरु आएर लेखिदिएको हाम्रो भूगोल र इतिहास हामी आफुले नजाँची नबुझि हाम्रा सन्ततिलाई कथा पढाएर मास्टर साहेब बनेका हामीहरुले बुझ्नु पर्ने होइन र ? आफ्नो मनले आफैलाई प्रश्न गर्दै रह्यो ।


कोठामा झोला राखेर भिजेका लुगा फेरेपछि आगोको राप पाउन पाए हुन्थ्यो जस्तो भो । मुटु त डगडगती काँपेको थियो । स्वास फेर्न त्यस्तो असहज नभएकोले त्यस्तो हाइ अल्टीट्यूटको खतरा त लागेन । तर साथीहरुले बेलाबेलामा मलाई सोधपुछ गर्दै थिए । होटलमा फलामे स्वच्छ चुलोमा दाउरा बालेर कोठा तताउने व्यवस्था भएकाले हामी पनि त्यसको वरीपरी बस्यौं । त्यहाँ थुप्रै विदेशीहरु पनि थिए, निकै रमाएलो भयो उनीहरु सँग कुरा गर्दा । नेपालको बारेमा उनीहरुको बुझाइमा कुनै राजनीति, धर्मान्तरणको चाहना भन्दापनि (ह्याभेन अफ द र्अथ ) धर्तीको स्वर्गको कुरा थियो । मेरो देश मेरो गौरव आफ्नो उमेरको ५३औं बर्षमा बल्ल चिन्न निस्केकोमा ढिलै भएपनि पछुतो थिएन बरु गर्वले छाती फुलेको महसुुस भैरहेको थियो । मार्दीका चिया मामासँग पनि त्यहिँ भेट भयो । उनलाई यूट्यूबमा त देखेको तर आज उनकै मुखबाट प्रत्यक्ष कुरा सुन्न पाइयो । ‘भोली बिहान त ३ बजे नै हिँड्नु पर्छ म त उहिँ चिया खुवाउन भेटिने छु है’ भन्दै थिए मामा ।


तीन त कति छिटो बजेछ पत्तो भएन । मान्छेहरुको हल्लाखल्mला भइहाल्यो । माथितिर उकालोमा टर्चलाइटका उज्यालो देखिन थाल्यो । हामी भने अलि ढिला भयौ हाम्रो तयारीले त्यहिँ ३ः३० बजायो । तीन घण्टा उकालो नहिँडी त्यो दृष्यावलोकन गर्न नभ्याइने, ढिलो भयो र ७ बजायौं भने माथि चढ्नुको अर्थ नहुने । बडो गज्जब रहेछ कुरा त । सके पनि नसकेपनि चल भाइ भैरे अब के गर्छस त भन्या छ उकालो चढेको छ । बाटोमा चौरीखर्क चौरी चौरी मात्रै, हिलो, गोबर सब सराबरी । टाउकोमा बत्ति बाँधेर पक्का रक क्लाइम्बर झैं पो भैयो त । एकातिर मजा आछ, अर्को्तिर ज्यान फर्केर जान्छ कि यतै छोडिने हो थाह छैन । भेडीखर्क पनि आयो भेडा हेर्ने भोटेकुकुरहरुको हुँकारले एकछिन त सात्तो गयो । तर आफ्नो बाटो हिँड्नु कुकुरले केहि गर्दैनन् भनेका थिए तल होटलमा त्यसैले हामीहरु पनि सोही अनुसार हिँड्दै गयौं । बिहानको मिर्मिरे हुँदै गयो हामीहरु पनि हिमालको नजिक नजिक पुग्दै,देब्रेतिर अन्नपूर्ण साउथ र हिमचुली, अगाडी दाहिनेतिर माछापुछ«े, गौरीपूर्ण र मार्दी, सिधै अगाडीतिर अन्नपूर्ण रेंन्जका हिमश्रृंखलाहरु, आह ! मन त्यसै प्रफुल्ल र आनन्दित । मिर्मिरेमा हिमालको टाकुरोमा देखिएको स्वर्ण दृष्यले सिँङ्गो हिमाल सुनको झैं देखिन्थ्यो, बाटैभरि यस्ता थुप्रै दृष्य हेर्दै प्रथम दृष्यावलोकन बिन्दु (४२५० मीटर ) मा पुग्दा बिहानको ६ः३० बजेको थियो । हतार हतार फोटोमा पनि त्यो दृष्य कैद गर्नु थियो कसैलाई अरुको फोटो खिँचिदिने फुर्सद थिएन किन कि यो आधा घण्टाभित्र सबैले आफ्नो सम्झनाको क्षण कैद गर्नु थियो, धर्तीको स्वर्गको तस्बीर लिएर फर्किनु थियो । ७ बज्दै गर्दा बादलको घुम्टोले सबै दृष्य आफुनो आँचलमा समेट्न शुरु गरेपछि हामी पनि र्चौरीको दुध, चिया, खाँदै त्यहाँको आनन्द लिन थाल्यौं ।


आध्यात्मिक देवलोक स्वर्ग त कस्तो हुन्छ त्यो म न भन्न सक्छु न कोइ गएर फर्केको छ तर धर्तीमा पनि स्वर्ग हुन्छ भन्थे त्यो चाहिँ हो रहेछ । अब म ढुक्क सँग भन्न सक्छु, हाम्रा सन्ततिलाई पढाउन सक्छु कि मेरो देशमा स्वर्ग छ हामी पनि जान सकिन्छ, फर्केर पनि आउन सकिन्छ, मेरो देश जहाँ धर्तीको स्वर्ग छ ।

प्रतिक्रिया

प्रतिक्रिया