सतिश निरौला
खजुरा आफैंमा एउटा फरक खाले पहिचान बोकेको भूगोल हो, पुनर्वास का रूपमा तत्कालीन शासक महेन्द्रले बसाएको ठाउँ हो त्यसैले यहाँ विभिन्न ठाउँबाट बसाई सराइ गरेर आएका मानिसहरुको मिश्रित बसाइ छ ।
जसरी जङ्ग बहादुरले निकै चासोका साथ नेपालगन्ज शहर बसाए उस्तै चासो अनि राष्ट्रिय महत्वका साथ तत्कालीन राजा महेन्द्रले बसाएका थिए खजुराको यो बस्ती । भारतीय सिमाना छेउ छेउमा पूर्र्व सैनिकहरुलाई बसोबास गराएर अलि वरका ठाउँमा अन्य बस्ती बसाए त्यसो गर्नुमा सिमा जोगाउने चासो हुनुपर्छ उनको ।
खजुराको रुप बिस्तारै फेरिंदै त छ नै पछिल्लो स्थानीय निर्वाचन पश्चात् । तथापि खजुराले अझै आफ्नो प्रष्ट लक्ष्य बोकेर अब यसरी यहाँ पुग्ने भन्ने हिसाबले दीर्घकालीन लक्ष्य खडा गरि अगाडि बढ्न सकेको छैन । सम्भवतः आज र भोलि खजुरा गाउँ पालिकाले आयोजना गर्न लागेको ‘खजुरा सम्मेलन–२०७६’ ले अब खजुरालाई दीर्घकालीन रूपमा अगाडि बढाउने रणनीतिक योजना र लक्ष्य प्राप्ति का लागि कोशेढुङ्गा साबित हुनेछ । खजुरावासी सम्मेलनलाई लिएर उत्साहित छौं ।
खजुरामा भएका चिजहरुको उचित ब्यबस्थापन र तिनीहरुलाई गतिशीलता दिन सक्ने र तिनिहरुको बिकास र ब्यबस्थापनमा उचित ध्यान दिने हो भने खजुराले चाडैं नै फड्को मार्ने कुरामा शंका नरहला । पालिकाको योजनाले अबको २ बर्ष भित्रमा खजुरा गाउँपालिकाका सबै वडाका मुख्य सडकहरू कालोपत्र भैसक्ने छन् भने स्वास्थ र शिक्षाका हिसाबले पनि जिल्ला भरिका गाउँपालिका मध्य खजुरा अब्बल रूपमा अगाडि बढ्ने छ नै ।
मलाई लाग्छ, अहिले खजुरामा मुख्य रूपमा आफैं सङ्ग भएका तीन वटा महत्वपूर्ण संरचनाको बिकास, बिस्तार र गतिमा मात्र ध्यान दिएर अगाडि बढ्ने हो भने खजुराले नसोचेको बिकास र उन्नति को लक्ष्य प्राप्ति गर्ने छ । ती कुरालाई म लिपिबद्ध गरेर प्रस्तुत गर्न चाहन्छु ।
कपास विकास समितिः गठन आदेश २०३७ अनुसार स्थापित भएको कपास विकास समिति ४ दशक पुग्न लागिसकेको छ । तर, यसको स्थिति भने अधोगतिउन्मुख छ । जतिपनि सरकार आए मन्त्री फेरिए पनि ०४६ पछि यो झन् भन्दा झन् कमजोर बन्दै गैरहेको छ । मानवीय मुख्य तीन आवश्यकता गास, बास र कपास मध्येको प्रमुख एक आवश्यकता पुरा गर्ने यो संस्थाको बिकास र दिगोपनले केही हदसम्म भएपनि स्थानीय स्तरमा रोजगारी सृजना गर्नेछ भने उद्योग धन्दाको बिस्तार सङ्गै स्वदेशी उत्पादनमा टेवा पु¥याउने नै छ, मोफसलमा एउटा सरकारी उद्योगको केन्द्रीय कार्यालय हुनु आफैंमा एउटा महत्वपूर्ण र गौरबको कुरा बनेको थियो ।
उच्चस्तरीय छापाखानाः मध्य तथा सुदुर पश्चिममा सरकारी बिद्यालयका पाठ्यपुस्तक सहज पूर्तिको उद्देश्य सहित स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्र खजुराको भवन पुस्तक छाप्ने उपकरण बिनै दशकौं देखि बेकामे भएर बसेको छ र दिनानुदिन जिर्ण बन्दै गइरहेको छ । यहाँ सरकारले राखेको उद्देश्य अनुरुपको तत्काल पुस्तक छाप्ने मसिन ल्याइ काम अगाडी बढाउने हो भने स्थानीय स्तरमा रोजगारी को वृद्धि सङ्गै खजुरा गाउँपालिकाले एउटा नयाँ पहिचान स्थापित गर्ने छ भने खजुराको विकासका लागि यो महत्वपूर्ण परियोजना सावित हुनेछ ।
खजुरा क्यान्सर अस्पतालः अध्यात्मिक गुरु सन्त दिनदयालजी को संकल्प सहित स्थानीय जनताले मानो र मुठी गरेर ठड्याएको अस्पताल जस्लाई खजुराबासीले ‘मेगा प्रोजेक्ट’ का रूपमा हेरेका छन् । आज यो अस्पतालले आशातित गति सहित लक्ष्य प्राप्तिको बाटोमा अगाडि बढ्न नसकेको तितो सत्य हामी माझ छर्लङ्ग छ ।
संयोग मान्नुपर्छ, जुन ठाउँबाट खजुरा बिमानस्थल उठ्यो सोही ठाउँमा नै निर्माण गरिएको क्यान्सर अस्पतालबाट विमानस्थल पलायनबाट बनेको घाउमा खाटा निको गराउने कुरामा खजुराबासी बिस्वस्त हुन् । तर, पछिल्लो समय समुदायबाट अस्पताल राज्यलाई हस्तान्तरण गरिसकेपछि अस्पतालले गति लिन सकेको छैन । प्रदेश न ५, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र छिमेकी भारतीय राज्य उत्तर प्रदेशबाट समेत क्यान्सर पीडित बिरामीको सेवा का लागि सहज बन्ने छ । अस्पतालको सेवा पूर्ण रुपमा प्रारम्भ हुनासाथ खजुरामा स्वभाविक रूपमा चहलपहल बढ्ने छ, अस्पतालको सेवा लिन आउनेहरुले स्थानीय ब्यापार ब्यबसायमा पनि केही न केही रूपमा टेवा पुर्याउने छ र स्वरोजगारको अवसर खजुराबासीले पाउने छन् र स्वास्थ क्षेत्रको एउटा महत्वपूर्ण ठाउँका रूपमा खजुराले आफ्नो पहिचान बनाउने निश्चित छ ।
अबको लक्ष्य ‘सम्मुन्नत नगर’ ः खजुरालाई आजको अवस्था सम्म आइपुग्दा थुप्रै मानिसहरूको योगदान केहि न केही रूपमा दिएका छन् नै । राजनीतिक रूपमा नेतृत्व प्रदान गर्नेहरु, सरकारी कर्मचारीहरु, सामाजिक रूपमा नेतृत्व दिनेहरू र खजुराका लागि खजुरामा नै लगानी गर्ने उधोगी ब्यबसायीहरु सबै धन्यवादका पात्र छन् । खजुरालाई पुर्वाधार का क्षेत्रमा केहि लगानी गरि अघि बढे आउँदो २ बर्ष भित्र खजुरालाई एउटा सम्मुन्नत नगर का रूपमा स्थापित गर्न गा¥हो छैन ।
बाँके जिल्लाका तीन ठुला क्षेत्र नेपालगन्ज, कोहलपुर र खजुरा आसपासका ठाउँका लागि धुरीका रूपमा रहेका छन् । खजुराले आफ्नो छिमेकी गाउँ पालिकाहरु बैजनाथ र जानकीलाई आफु सङ्गैको गतिमा अगाडि बढाइ बिकासको गति समाते छिमेकी यी पालिकाहरुले पनि बिकासको गति समात्ने छन् । अब आउँदो आगामी स्थानीय निर्वाचनसम्म ब्यबस्थित योजना र सिलसिलेवार बिकास र गतिका साथ अगाडि बढे आउदो चुनावसम्म खजुरा नगरपालिकाका रूपमा सहजै आफुलाई उभ्याउने छ ।
कृषिमा आधारित नगरः खजुरा क्षेत्र कृषिका लागि पनि लागि परेको छ । बिशेष गरि वडा न २, ३ र ५ मा व्यावसायिक कृषिका प्रयासहरु भैरहेको देखिन्छ । कृषिमा यान्त्रीकीकरण र आधुनिक एबम् बैज्ञानिक कृषिमा जोड दिंदै सिचाईं, उन्नत बिउबिजन र मलखादको उचित प्रबन्ध गरे खजुराका लागि खजुरामा नै उत्पादन सम्भव देखिन्छ । साधारण कृषिका कामहरु खजुराका सबैजसो वडा छन् नै धेरै जसो वडाका मानिसहरू को आयको आधार कृषि नै भए पनि ब्यबस्थित र ब्यबसायिक रूपमा अगाडि बढ्न सकेको देखिदैन । ब्यवसायिक रूपमा सबै कृषकलाई लैजान सके खजुराको उत्पादन निर्यातमुखी नै देखिनेछ ।
ग्रीन सिटीको अवधारणाः खजुराले आफुलाइ ग्रीनसिटीका रूपमा अघि बढाउन प्रारम्भिक प्रक्रिया शुरु गरिसकेको छ । यो परियोजना स्वीकृत भै अगाडि बढे यहाँ थुप्रै नयाँ र ठुला पुर्वाधार तयार हुनुका साथै खजुराको कायापलट हुनसक्छ र यसको साथै अन्तर्राष्ट्रिय रूपमा समेत यसको माध्यम बाट नयाँ सम्बन्ध स्थापित हुन सक्छ । यसका लागि खजुरा गाउँपालिकाले थालेको प्रयास सराहनीय छ ।