देश घुम्ने छ रहर

मित्रलाल सापकोटा

यस बर्षको बडा दशैंको बिदा आउनै लाग्दा साथीभाइहरुले बिदा कसरी मनाउने भन्ने निकै छलफल गरे । धेरैको कुरा आयो भारतको नैनिताल, गोवा, सिक्किम तिर घुम्न जाउँ भन्ने । तर किन किन मेरो मनले यो कुरा मानिरहेको थिएन । गत बर्ष बच्चाहरुको चाहनालाई नकार्न नसक्दा दार्जलिङ्क तिरको पारिवारिक भ्रमण भएको थियो । शायद हुने पनि थिएन होला तर बिराटनगरमा दशैं मनाउने भनेर गएपछि त्यस वरपरका धरान, भेडेटार, काकडभिट्टा, इलाम, कन्याम र पशुपतिनगरको घुमाइपछि त्यहिं पारी रहेको दार्जिलिङ्क पनि घुम्ने इच्छालाई नकार्न पनि सकिएन र दुई दिनको त्यताको पनि घुमाई भयो । तर यस बर्ष भने कसरी हुन्छ आफ्नै नेपालको कुनै नयाँ गन्तव्यमा जानै पर्छ भन्ने अठोटले मलाई एकदमै दर्हो गराएको थियो । मनमा हुटहुटी थियो नेपाल नै घुम्ने तर कहाँ जाने, को को साथी हुने कसरी जाने निधो थिएन ।


हुन त यस अघि पनि मैले नेपालका धेरै जिल्लाको भ्रमण गरि सकेको थिएँ तर पनि म हिमालयको शिर भएको देशको नागरिक भएको गर्व गरि रहँदा मलाई नै अनुभव थिएन कि त्यो उत्तर पट्टि देखिने चाँदी जस्तो हिमाल कति टाढा छ ? त्यहाँको आसपास पुग्न कति हिँड्नु पर्छ ? हामी जस्तो तराईको समथर मैदानमा बसेको मान्छे त्यहाँ पुग्न सक्छ पनि या सक्दैन । यी र यस्तै प्रश्नहरु मनमा खेलाइ रहँदा भाद्र महिनाको अन्तमा काठमाडौं गएका बेला काठमाडौं मैं अध्यापन गरी बस्ने ओखलढुंगाका एक जना शिक्षकसँग नेपालको यस्तै ठाउँमा घुम्ने रहर बारे चर्चा भयो । उनी नेपालको हिमाली भेकतिर पूर्वको पाथीभरा देवीको मन्दीर देखि पश्चिमको रारा ताल सम्मका धेरै ठाउँहरु धेरै पटक घुमेका रहेछन् । यो सुन्दा मलाइ पनि मेरो देश घुम्ने इच्छा अझ प्रबल भयो । मैले उनीसँग अबको बिदामा कताको भ्रमण हुने भन्ने बारे जानकारी लिएँ । उनीहरु ३ देखि ४ जनाको गु्रप बनाएर नेपालको हिमाली पदयात्रातिर जाने कुरा तय भैसकेको कुरा बताए । पोकंर ताल या मार्दी हिमाल आधार शिविर मध्ये एकातिर भ्रमण हुने पक्का पक्की भएको सुनेपछि त झन मेरो मनमा हुटहुटी झन चल्यो । मैले कुनै कुराको परिणामको आकलन नै नगरी मलाई पनि त्यो टिममा मिसाउन आग्रह गरें । मेरो तीब्र इच्छालाई आकलन गरेर उनले पनि टिममा सामेल गर्न तैयार भए । मलाई त्यो भ्रमणमा के के कुराको आवश्यकता पर्ने भन्नेबारे थाह थिएन त्यसैले मेरो अनुरोधमा नै ठमेलतिर गएर पदयात्राका लागि आवश्यक पर्ने सरसमानहरुको किनमेल गरेर घर फर्कें ।


घरमा आउँदा एउटा पक्का पदयात्रीको झोला बोकेको देखेर श्रीमतिले आश्चर्य प्रकट गरिन । कहिल्यै त्यसरी उकालो त्यो पनि हिमाली पदयात्रामा ननिस्केको मान्छेलाई एक्कासी पदयात्रीको रुपमा तम्तयार देख्दा आश्चर्य मान्नु पनि स्वभाविक नै थियो । मैले त निधो गरिसकेको थिएँ कि अब असोज दश गते पदयात्रामा जाने भनेर त्यो कुरालाई मैले हाम्रा साथीहरु सँग भ्रमणको बारेमा कुरा राखें किनकि मलाई यतातिरका आफ्ना साथीहरु भए अझ बेस हुने भन्ने थियो । मैले सतिश निरौला, डि.बि. तामाङ्क लगायत साथीहरुसँग कुरा राखेँ तर सतिश जीको घुँडाको समस्या र डि.बि. को स्कूल बिदा नभइसक्दा जान नसकिने कराले मैले साथीहरु यताबाट पाउन सकेन । मैले आफ्नो तयारी स्वरुप बिहान चार बजे उठेर हिँड्ने अभ्यास गर्न थालें ।


विद्यालय त असोज १६ गते सम्म थियो तर मलाई भने उनीहरुसँगै १० गते नै जानु पर्ने थियो । मैले विद्यालयको बिदाको दिन कुर्ने अवस्था नै रहेन ५ दिनको बिदा लिएर १० गते नै पोखराको गाडी चढ्ने निधो गरें । संयोगले असोज १० गते विश्व पर्यटन दिवस कै दिन हिड्ने भैएछ । गाडी चढ्न जानु अघि श्रीमतिले खादा ओडाएर आन्तरिक पर्यटनमा जानलागेको भनेर बिदाइ गरिन र फोटो फेसबुकमा राखिन । मलाई यो मैले ठूलो काम गरेको त हैन तर किन यस्तो प्रचार भन्ने लागेको थियो तर यसमा धेरै मित्रहरुले यात्राको शुभकामना दिनु भयो त्यसका लागि सबैप्रति कृतज्ञ रहें ।


बाग्लुङ्ग जाने बसमा चढेर पोखराको बाटो लाग्दै गर्दा मनमा एउटै कुरा घुमिरहेको थियो बस भोली म पनि पदयात्रा गर्ने छु त्यो कस्तो अनुभव होला भन्ने मात्रै थियो । बिहान बस गएर पोखरा पुग्दा बिहान ९ः३० बजेको थियो । बस निकै बेर पृथ्बीचोकमा रोकियो । मैले केहि थप समानहरु किने । लगभग एक घण्टा पछि बस त्यहाँबाछ छुट्यो । झमझम पानी परिरहेको थियो । पोखराको हरिचोकबाट ह्याङ्कजा तर्फ बस लाग्दा बाटो निर्माणाधिन रहेकोले निकै कष्टकर यात्रा देखिन्थ्यो । बस जसोतसो फेदीबाट काँढेतर्फ उकालो लाग्यो । काँढे पुग्दा दिउँसोको १२ः३० बजेको थियो । गन्तव्य आइपुगेकोले म बसबाट ओर्लिएँ । साथीहरु काठमाण्डौंबाट बिहान ७ बजे बाग्लुङ्कको गाडी चढेको खबर पाएको थिएँ । उनीहरु आएपछि आजै झण्डै दुई घण्टाको पदयात्रा गर्ने कुरा तय भएको थियो । म प्रतिक्षा मै त्यहाँको एउटा होटलमा बिश्राम लिएँ । साथीहरुको प्रतिक्षामा पुरा दिन बित्यो तर नौबिसेमा जाममा परेका साथीहरु आइपुग्दा साँझ हुने पक्का भयो । हिमालतिरबाट पोखरा झार्दै गरेका च्याङ्क्«ा र भेडाको बथान हेर्दै त्यहि बथानमा रमाउँदै फोटो खिच्दै त्याृे दिन बिताएँ । साँझ ५ः३० बजे बल्ल साथीहरु आइपुगे । उनीहरु तीन जना थिए झापाका भेषराज निरौला, पर्साका धु्रब नारायाण चौधरी र ओखलढुङ्काका उत्तम लुईँटेल । साँझ परि सकेकोले खाना खाने र सुत्ने मात्रै त्यस दिन (११ गते ) को काम भयो ।


भोलीपल्ट बिहान ५ बजेबाट पदयात्रा प्रारम्भ हुने भयो । मलाई अझैपनि कौतुहलता थियो म सक्छु या सक्दिन भन्ने । ४ बजे नै उठेर तयार हुने तरखर भयो । हामी सबै ४ जना ५ः३० बजे लाग्यौं अब मार्दी हिमालको आधार शिविरको पदयात्रामा । अब हाम्रो पहिलो बिश्राम थियो अन्नपूर्ण गाउँपालिकाको ठूलेखर्क जसलाई अष्ट्रेलियन क्याम्पको नामले प्रख्यात गरिएको रहेछ । कुनै समय अष्ट्रेलियनहरु आउँदा त्यहाँका गाउँमा बास नपाएर धपाइएपछि त्यही डाँडामा गइ टैण्ट टाँगेर बास बसी बिभिन्न अनुसन्धान गरेकोले त्यो ठाउँको नाम अष्ट्रेलियन क्याम्प रहन गएको त्यहाँ घाँस काट्न हिँडेका एक युवाले बताए । यतिखेर बिहानको ७ बजेको थियो खाजा खाने भनि साथीहरुले अर्डर गरिसकेका रहेछन्, एकछिन यस ठाउँको अवलोकन पछि खाजा खाएर हिंड्ने सुरसार गर्दै गर्दा पनि यस रमणीय स्थलबाट बादल लागेका कारण कुनै पनि हिम श्रृंखला देखिएनन् । हामी अब अगाडी बढ्यौं । त्यहाँबाट झण्डै १ः३० घण्टाको पदयात्रा पछि पुग्यौं पोथाना भन्ने ठाउँमा तर त्यहाँ धेरैबेर नरोकिकन लाग्यौं पितम देउराली तर्फ ।


यहाँ आइ पुग्दा बिहानको ११ बजेको थियो यतिखेर सम्म हाम्रो ४ घण्टा बढिको यात्रा भइ सकेको थियो । खुट्टाले केहि दुखाइको यहसास गराइ रहेका थिए । बेला भएको थियो खाना खाने । अब त खाना पो खानुपर्छ भन्दै त्यहाँ खाना पकाउने अर्डर दिएर बिश्राम लिँदै गर्दा बादलको घुम्टोभित्रबाट अन्नपूर्ण साउथ हिमालको झल्को पाइयो यतिखेर लाग्यो यात्राले निकै आनन्द दिँदै छ । यो मनोरम दृष्य देख्दै गर्दा दुखाइको कुनै अर्थ रहने छैन ।


होटल नाइस भ्यू लजका साहु जी हरिमान गुरुङ्कले खाना पाकेको जानकारी दिए । हेर्दा त उनी साधारण देखिन्थे तर उनको कथा निकै रोचक रहेछ । १३ बर्ष सम्म अमेरिका र अष्ट्रेलिया बसेका उनी यो ठाउँमा आएर होटल गरेर किन बसेको त भन्ने प्रश्न गर्दा उनले जे कुरा बयान गरे त्यसले हरेक नेपालीलाई एउटा पाठ सिकाउँछ, उत्प्रेरणा दिन्छ । उनी भन्छन् ‘नेपाल त नेपाल नै हो, यहाँ प्रकृति छ, सुन्दरता छ, मायाँ छ, अपनत्व छ त्यो भन्दापनि ठूलो त आफ्नै माटोको बास्ना छ । मलाई अमेरिकामा दाम पैसोको त कमि भएन, बिलासी जीवनको पनि कमि भएन तर त्यहाँ त ती सबथोक पाउन सकिन जो जो यहाँ पाइन्छ ।’ उनका अरुपनि थुप्रै कुराहरु थिए तर यतिकैमा एक जना काठमाण्डौंबाट पदयात्रामा आएका दुइजना मध्ये एकको जुत्ताको तलुवा निस्केको तारले बाँधेर मर्मत गरिदिने भन्दै हरिमान पलास खोज्नतिर लागे कुरा अपुरो नै रह्यो । खाना खाइसकेका हामी यात्रा प्रारम्भ गर्न चटारोमा थियौं । मलाई त यी हरिमानको कुरा अझै बुझ्न मन थियो तर समय थिएन, १२ः३० बजिसकेको थियो । हाम्रो आजको बास कोकर (फोरेस्ट क्याम्प) मा हुने र त्यहाँ पुग्न कम्तिमा पनि ४ः३० घण्टा लाग्ने गाइडम्यापमा देखिएकोले हामी अलि हतारमा नै भयौं । मौसमको कुनै ठेगान थिएन, कतिखेर बर्षाहुने हो यहाँको केहि भरोसा नभएको र बीचमा अर्को कुनै बासबस्ने ठाउँपनि थिएन यसैले जसरी पनि कोकर त पुग्नै पर्ने बाध्यताका बीच हामी अरु सबैकुरा फेरि अर्को कुनै भेटमा गर्ने आशा राख्दै लाग्यौं यात्रामा ।


उतै तल काँडेबाट नै शुरु भएको जंगल अझ झनझन घना हुँदै थियो । लेउ लागेका रुखहरु, सुनसान गोरेटो बाटो यदाकदा मात्रै चराचुरुङ्गीको सुनिने आवाज र तल तल कता कता सुसाइरहेको खोलाको आवाज मात्रै । निकै अनकन्टार जंगलका बीचबाट हिँड्दै गर्दा जुकाको आक्रमण कम काहालीलाग्दो थिएन । मौसम निकै खराब हुँदै थियो, कुहिरोले ढपक्क ढाकेको जंगलको बाटोमा बर्षा शुरु भयो, हामीले आ–आफ्नो रेनकोट निकालेर ओढ्दै गर्दा जुकाको एक हुल खुट्टामा चप्किए हतार हतार सन्चो निकालेर दल्दै जुका भगाउन थाल्यौं । बाटो त अझै ४ घण्टाको बाँकी थियो आजको बास बस्नलाई, उपाय अरु थिएन शिवाय हिँड्ने बस हिँड्दै रह््यौं । ठूलो बर्षामा त्यो रेनकोटले पनि कुनै काम गरिरहेको थिएन । लुथ्रुप भिज्दै यात्रा अनवरत जारी रह्यो । बेलुकी ६ बज्दा झण्डै १०ः३० घण्टाको पदयात्रा पछि बल्लतल्ल हामीहरु कोकर फरेस्ट क्याम्प पुग्यौं । यहाँ हाम्रो पहिलो दिनको यात्रा २५२० मिटरको उँचाईमा समाप्त भयो । खुट्टा दुखेका, पानीले चुटेको, ज्यान लगलग काँपेको थियो तर पनि आफ्नो देश नेपाल घुम्ने रहरले अझै ठाउँ खोज्दै थियो किन कि देश घुम्ने रहर छ ।

प्रतिक्रिया

प्रतिक्रिया