सन्जय तिमिल्सीना
संयुक्त राष्ट्र संघले सन् २०१५ देखि २०३० सम्मलाई विश्वव्यापी लक्ष्यको रुपमा दीगो विकास लक्ष्य घोषण गरेसँगै नेपालमा पनि यसको कार्यान्वयनमा सहकारी क्षेत्रको भूमिकाको विषयमा समेत चर्चा परिचर्चा भइरहेको छ । हाल विश्वका १ अर्ब भन्दा बढी (१२ प्रतिशत) मानिसहरु आवद्ध भएको नागरिक संगठन सहितको सामूहिक व्यवसायको रुपमा सहकारी स्थापित भएको छ । विश्वमा हाल ३० लाख भन्दा बढी सहकारी संस्थाहरु मार्फत २१ खर्ब (अमेरिकी डलर) पुँजी परिचालन गरी २८ करोड प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । सहकारी संस्थाले विश्व रोजगारी बजारको १० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ । नेपालमा पनि करीब ३ करोड जनसंख्या मध्ये ६७ लाख जनसंख्या सहकारीमा आवद्ध रहेको तथ्यांक पाइन्छ । त्यसैले जुनसुकै विश्वव्यापी अभियान सार्थक बनाउन सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ नै ।
नेपालको संविधान २०७२ ले सहकारीलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण मार्फत समाजवाद तर्फको यात्रा गर्ने साधनकोरुपमा सहकारीलाई स्थापित गरेको छ । नेपालमा पनि सरकारले दीगो विकास लक्ष्य प्राप्तिमा प्राथमिकताका साथ महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ भने नेपालको सहकारी अभियानले पनि विगत तीन वर्षदेखि “दीगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी” भन्ने राष्ट्रिय नारा अगाडि सारी प्राथमिकता दिदै आएको छ ।
के हो दीगो विकास लक्ष्य ?
संयुक्त राष्ट्र संघले विश्वव्यापीरुपमा सन् २०१५ देखि २०३० सम्ममा विश्व जगतले प्राप्त गर्नुपर्ने लक्ष्यको रुपमा विभिन्न लक्ष्यहरु अगाडि सारेको छ जसलाई दीगो विकास लक्ष्यकोरुपमा बुझ्न सकिन्छ । अर्थात विश्वले अवलम्बन गर्नुपर्ने मानव, पर्यावरण, शान्ति, समृद्धि र साझेदारीको क्षेत्रमा संयुक्त राष्ट्र संघले निर्धारण गरेका विभिन्न विश्वव्यापी लक्ष्यहरुको सेटको रुपमा पनि यसलाई बुझ्न सकिन्छ । दीगो विकास लक्ष्यकोरुपमा १७ लक्ष्य निर्धारण गरिएको छ भने सोको कार्यान्वयनको लागि १६९ वटा कार्यलक्ष्य निश्चित गरिएकोछ । कार्यान्वयन पक्षको प्रभावकारीता मापनका लागि २३२ सूचक रहेकाछन् । विश्वका १९३ मुलुकले सहमति जनाइसकेको उक्त लक्ष्य संयुक्त प्रयासबाट मात्र प्राप्त हुन सक्दछ । यो लक्ष्यलाई सन् २००० देखि २०१५ सम्मको लागि निर्धारण गरिएका सहस्राब्दी विकास लक्ष्यको विकसित श्रृंखलाकोरुपमा समेत बुझ्न सकिन्छ । जसमा विभिन्न ८ वटा लक्ष्य निर्धारण गरिएको थियो । यस वर्ष अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले “सम्मानीत कामको लागि सहकारी” भन्ने सहकारीको लागि अन्तर्राष्ट्रिय नारा अगाडि सारेको छ ।
सहकारी संस्थाको भूमिका
सहकारी संस्था समुदायको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय प्रवद्र्धन, विकास र संरक्षणका माध्यम बन्नु पर्दछ । यो दशक सन् २०१० देखि २०२० लाई अन्तर्राष्ट्रियरुपमा सहकारी दशककोरुपमा लिइएको छ । सहकारी दशकलाई प्रभावकारी बनाउन सहकारी क्षेत्रले विभिन्न रणनीतिहरु (ब्लु प्रिन्ट स्ट्रेटेजी) अगाडि सारेको छ । संयुक्त राष्ट्र संघले अगाडि सारेको दीगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय सहकारी महासंघले अगाडि सारेको रणनीतिहरुको पूर्ण तादम्यता देखिन्छ । साथै अन्तर्राष्ट्रिय सहकारी महासंघ संयुक्त राष्ट्र संघको आवद्ध संघगठनको रुपमा समेत रहेकोले दीगो विकास लक्ष्य प्राप्तिमा योगदान गर्नु सहकारी क्षेत्रको दायित्व पनि हो । यहाँ कसरी योगदान गर्न सकिन्छ भन्ने विषय उल्लेख गरिएको छ ।
पहिलो लक्ष्य (सबै प्रकारका गरिबीको अन्त्य) प्राप्तिको लागि सहकारी उद्यम विकास मार्फत उत्पादनशील रोजगारी सिर्जना, स्थानीय संभावना, स्रोत उपयोगमार्फत आय सिर्जना, उत्पादनको प्रशोधन, बजारीकरण मार्फत मूल्य श्रृंखला विकास, सामाजिक पूजी निर्माणमार्फत बञ्चितीकरण न्यूनीकरण, सामाजिक चासो र आवश्यकता प्रतिको जागरण, उद्यमशील संस्कृति विकास, बाह्य धक्का विरुद्ध लड्ने क्षमता निर्माण गर्नु पर्दछ ।
दोश्रो लक्ष्य (भोकमरीको अन्त्य, खाद्य र पोषण सुरक्षा) प्राप्तिको लागि सहकारी खेती प्रवद्र्धन, व्यावसायिक उत्पादन, कृषि सामग्री व्यवस्थापन, वित्तीय पहुच विकास, मूल्य श्रृंखलाका विविध आयाममा संलग्नता, पोषण चेतना विस्तार, खानपान व्यवहार परिमार्जन ।
तेश्रो लक्ष्य (स्वस्थ जीवन र समृद्धि) प्राप्तिको लागि सहकारी स्वास्थ्य सेवा, साझा स्वास्थ्य सेवा, स्वास्थ्य शिविर सञ्चालन, जेखिमयुक्त खानपान, व्यवहार र जीवनशैली विरुद्धको चेतना विस्तार, स्वास्थ्य वीमा सञ्चालन, सरसफाइ चेतना, अभियान र फोहरमैला व्यवस्थापन ।
चौथो लक्ष्य (समावेशी र समतामुलक गुणस्तरीय शिक्षा) प्राप्तिको लागि शिक्षालय तथा शैक्षिक प्रतिष्ठान सञ्चालन, सीपसहितको शिक्षाका शिविर सञ्चालन, शिक्षित र सीपयुक्त व्यक्तिका लागि कर्जा सहुलियत, सदस्य परिवारमा शैक्षिक कर्जा र लगानी कार्यक्रम मार्फत शैक्षिक विकासमा योगदान ।
पाचौं लक्ष्य (लैंङ्गिक समानता प्राप्ति र सबै महिला एवम् बालिकाहरुको सशक्तिकरण) प्राप्तिको लागि सहकारीका विभिन्न तहमा महिला सहभागिता विस्तार, महिला नेतृत्व विकासको मञ्चका रुपमा सहकारी उपयोग, महिला केन्द्रीत व्यवसाय मार्फत महिला विकास र सशक्तीकरणको कार्यक्रम सञ्चालन, सामाजिक जिम्मेवारीमार्फत महिला विरुद्धका कुप्रथा हटाउन, संस्कार परिवर्तन नेतृत्वदायी भूमिका निर्वाह गर्न, नीति कार्यक्रममा सहभागिता एवम् साझेदारी ।
छैठौं लक्ष्य (खानेपानी र सरसफाईको सुनिश्चितता¬) प्राप्तिको लागि सामाजिक चेतना र नागरिक शिक्षा विस्तार, जलाधार संरक्षण, खानेपानी कार्यक्रम सञ्चालन, व्यवस्थापन, वातावरणीय उत्तरदायित्व निर्वाह, पुनप्र्रयोज्य बस्तुहरुको व्यवस्थित उपयोग र विसर्जन,
सातौं लक्ष्य (दीगो र सफा उर्जामा सबैको पहुँच) प्राप्तिको लागि साना जलबिद्युत र सफा उर्जामा कार्यक्रम सञ्चालन, सामुदायिक विद्युतीकरण कार्यक्रम, उर्जा दक्षता विकास,
आठौं लक्ष्य (दीगो आर्थिक वृद्धि र सम्मानीत काम)¬ प्राप्तिको लागि पूँजी तथा बचत परिचालन, वित्तीय शिक्षा, व्यवसाय प्रवद्र्धन, असल श्रम सम्बन्ध विकास गर्नेगरी व्यवसाय सञ्चालन,
नवौं लक्ष्य (समावेशी र दीगो आद्योगिक प्रबद्र्धन) प्राप्तिको लागि सहकारी संरचनामार्फत साना ठूला उद्यम व्यवसाय सञ्चालन, बित्तीय पहुँच विस्तार, पूर्वाधार व्यवस्थापनमा सहजीकरण, श्रमशक्तिको विकास र स्थानान्तरण, रैथाने प्रविधि संरक्षण, आधुनिक सीप र ज्ञानको अवलम्वन र नवप्रवत्र्तन विकास,
दशौं लक्ष्य (देश भित्र तथा देशहरुबीचको असमानता हटाउने) प्राप्तिको लागि असमानता विरुद्ध बहस, पैरवी र नागरिक शिक्षा विकास, असमान नीति र व्यवहार विरुद्धमा कार्यसूची तय, सहकारी भावना र सामाजिक न्यायका पक्षमा कार्य गर्ने,
एघारौं लक्ष्य (सुरक्षित सहर तथा मानव बस्ती¬) प्राप्तिको लागि सहकारी आवास व्यवस्थापन, सहकारी यातायात र अन्य शहरी सेवा र वस्ती व्यवस्थापन, बस्ती सौन्दर्यीकरणमा सहभागी, आधारभूत सेवा व्यवस्थापनमा सहकार्य,
बाह्रौं लक्ष्य (दीगो उपभोग र उत्पादन ढाँचा) प्राप्तिको लागि स्रोत दक्षतामा सहयोग, सामाजिक आनी बानी र आहार व्यवहार परिवर्तनमा सचेतना, प्रकृतिसंग संगतिपूर्ण विकास, जोखिम भएका खानपान र उत्पादनमा रासायिनिक विषादि नियन्त्रण, सामाजिक विकृति नियन्त्रणमा सहयोग,
तेह्रौं लक्ष्य (जलवायु परिवर्तनसँग जुध्न सक्ने क्षमता विकास) प्राप्तिको लागि न्यून कार्वन उत्सर्जन, समुदायमा आधारित अनकलन प्रणाली विकास र साझेदारी, स्थानीय जलाधार, जैविक विविधता र पारिस्थितिक प्रणाली संरक्षण, जलवायुमैत्री स्थानीय प्रणाली विकास, क्षमता विकास र सूचना प्रणाली, जलवायुमैत्री कृषि तथा पशुपालनमा ज्ञान प्रसार,
चौधौं लक्ष्य (जलासय र जलचरको संरक्षण एवम् दीगो उपयोग) प्राप्तिको लागि हिमाली तथा पहाडी अर्थप्रणाली संरक्षण र सम्वद्र्धन, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन,
पन्ध्रौं लक्ष्य (जमीन र थलचरहरुको संरक्षण एवम् दीगो उपयोग¬) प्राप्तिको लागि बन तथा बनजन्य जैविक विविधता प्रणाली संरक्षण, वन पैदावारमा आधारित सहकारी सञ्चालन, व्यवसाय विकास, वतावरण संरक्षणमा सहयोग, परिचालन, हरित अर्थतन्त्रको स्थानीय जग निर्माण,
सोह्रौं लक्ष्य (शान्तिपूर्ण समावेशी समाज र सशक्त न्यायिक संरचना विकास¬) प्राप्तिको लागि सहकारी संसथाहरुमा सामाजिक जवाफदेहिता संस्थानीकरण, सदाचार र सकारात्मक क्रियाशीलताको संस्कृति विकास, मानव मूल्य र सशासनको शिक्षा, सामाजिक चासोप्रति कदर, भ्रष्टहरुलाई सामाजिक बहिस्कार गर्ने अभियान सञ्चालन,
सत्रौं लक्ष्य (लक्ष्य प्राप्तिका लागि साझेदारी) प्राप्तिको लागि सहकार्य र साझेदारीलाई अन्तराष्ट्रिय कार्यसूची बनाउने, सहकारी सञ्जाल परिचालन, प्रविधि, सीप र वित्तीय सेवाको आदान प्रदान, दक्षिण दक्षिण सहकार्यमा नीति कार्यसूची तय, असल अभ्यासको आदान प्रदान, सहकारी परिचालन मार्फत अतिरिक्त साधन परिचालन ।
उल्लेखित विषयहरु समग्र सहकारी संस्थाहरुको तर्फबाट कार्यान्वयन गर्नुपर्ने विषय हुन् । तर बचत तथा ऋण सहकारी संस्थाहरुले मुख्यरुपमा देहायका ८ वटा लक्ष्यहरुमा निर्दिष्ट हुनु पर्दछ ।
१. गरिबी उन्मुलन, २. भोकमरीको अन्त्य, ३. स्वस्थ जीवन र समृद्धि, ४. समावेशी र समतामुलक गुणस्तरीय शिक्षा, ५. लैङ्गिक समानता प्राप्ति र सबै महिला एवम् बालिकाहरुको सशक्तिकरण, ६. खानेपानी र सरसफाईको दीगो उपलब्धता, ७. दीगो र सफा उर्जामा सहज पहुँच र ८. दीगो आर्थिक वृद्धि र सम्मानित काम । यि लक्ष्य हासिल गर्नका लागि बचत तथा ऋण सहकारीका अन्तर्राष्ट्रिय संघहरुले विभिन्न सूचक एवम् निर्देशिकाहरु विकास गरेका छन् । जय सहकारी !