सेलाउँदै छ गाउँ पसेको रौनक

मित्रलाल सापकोटा

यस बर्षको बडा दशैं लगभग सकिएको छ । गाउँघर फेरि सुनसान हुन सुरु भैसकेका छन् । गाउँमा अब फेरि अर्को दशैंलाई पर्खेर उस्तै रौनकताको प्रतिक्षा गर्नुपर्ने दिन आएका छन् । गाउँका ती पाखा पँधेरा, पखेरा कन्दराहरु, कोट र भञ्ज्याङ्क देउरालीहरु, तराइका ती समथर फाँटहरुका छेउकुनामा बसेका गाउँहरुमा समेत भएको उल्लासमय चहलपहल र रमाइलो बिस्तारै सेलाउँदै गएको छ । गाउँहरुबाट टाढा शहरतिर र मुग्लानतिर बसेका आफन्तहरु दशैंको सम्झनालाई मुटुभरि गाँठो पादैं सम्झनाको स्मृतिपटलमा सँगालेर फेरि अर्को दशैंसम्ममा भेट्ने बाचाका साथ अलबिदा गर्दै आ–आफ्नो कर्मथलोतिर लाग्दै छन् ।

हिजो सम्म शहरका गल्लीहरु सुनशान भैरहँदा आज अब ती गाउँका पीङ्कका लठ्ठाहरु, भञ्ज्याङ्क र चौतारीहरु पुःन सुनसान बन्ने तरखरमा छन् । यसरी गाउँहरु समय समयमा खुशहाल हुने र फेरि सुनसान हुने क्रम सधैं चलिरहने गर्दै गर्दा दशैंले कस्तो रौनकता ल्याउँछ र कसरी त्यो क्षणिक रौनकता हराउँछ ्? अर्थतन्त्रका हिसाबले पनि गाउँको रौनकता बढाउने चाड दशैंसँगै सेलाउन लागेको रौनकको यसको मन्थन पनि गर्ने बेला अहिले जुरेको छ ।

भूगोलका हिसाबले ९४औं स्थानमा रहेको हाम्रो देश गाउँ नै गाउँले बनेको छ । यहाँको कुल जनसंख्याको ८१ प्रतिशत जनसंख्या (बिश्व बैंकको सन् २०१६ को बिकास सूचक तथ्यांकलाई आधार मान्दा ) आज पनि गाउँ मैं बस्छ । यसैलाई आधार मान्दा पनि गाउँ र कृषिको अति नै निकट सम्बन्धलाई बुझ्न गाहे छैन । यस हिसाबले नेपालको सकल अर्थतन्त्रको केन्द्रबिन्दु गाउँ हुनुपर्ने देखिन्छ तथापि गाउँ यानी कृषिको योगदान देशको सकल घरेलु उत्पादमा जम्मा २६.२४ प्रतिशत रहेको (२०१७ को तथ्यांक अनुसार) देखिन्छ । तर पनि देशको मेरुदण्ड भनेको नै गाउँ हा, यस कारण पनि गाउँतिर हुने चहलपहलले नेपाली अर्थतन्त्रमा निकै ठूलो महत्व राख्छ । नेपालमा दशैंको जति साँस्कृतिक महत्व रहेको छ त्यो भन्दा कम अर्थतन्त्रमा दशैंको महत्व छैन भन्ने कुरालाई नेपालको सकल अर्थतन्त्रको मूलथलो तिर अर्थको प्रवाह दशैंमा हुन्छ भन्नेबारेमा दशैको निकै ठूलो महत्व रहेको कुरालाई हाम्रा अर्थशास्त्रीहरुले समेत स्वीकार गरेबाट पनि साबित हुन्छ । अघिपछि कुनै दुखबिमारी वा सामान्य खर्चपर्चका लागि मात्र बल्लतल्ल भित्रिने रकममा दशैंको आगमन सँगैैं ह्वात्तै बढोत्तरी हुने गर्दछ ।

यसपटक देशको राजधानी काठमाण्डौंबाट ट्राफिक महाशाखाको रिर्कडमा मात्रै झण्डै २५ लाख मानिस बाहिरिए तर अनौपचारिक वा बीना रिर्कडका दुइ चार लाख थप बाहिरिए होलान जो आफ्नो मूल थातथलोतिर दशैं मनाउन निस्केको कुरा स्पष्ट नै छ । यदि नवमी र दशमाीको दिनको मात्रै कुरा गर्ने हो भने नेपालगञ्जबाट गाउँतिर लाग्नेको संख्या पनि निकै ठूलो थियो । यो आधारलाई मान्दा देशका अन्य शहरहरुबाट समेत गाउँ पस्ने जनसंख्याको सजिलै आँकलन गर्न सकिन्छ र भन्न सकिन्छ ३५ देखि ४० लाख व्यक्तिहरु गाउँ पसेका छन् । यसै गरि भारतबाट दशैं मनाउनैका लागि गाउँ आउनेको संख्या जोड्ने हो भने यो संख्या झण्डै ५० देखि ५५ लाख हुन आउँछ । यसलाई आर्थिक रुपमा रुपान्तरण गर्ने हो भने सरदर एउटा व्यक्तिले गाउँमा भित्र्याउने या खर्च गर्ने रकमलाई रु. २ देखि ३ हजार मान्ने हो भने पनि १५ अर्ब रुपैंया हुन आउँछ जबकि यो अति नै न्यूनतम हो । गाउँमा एउटा परिवारले दशैं नै मान्न भनेर कम्तिमा दश बीस हजारको जोहो गर्ने गरेको र आफ्ना कमाउने सदस्यहरुबाट त्यतिकै रकम माग गरेका हुन्छन् । यो रकम बिदेशतिर कमाउन गएका र जागिरे भएका परिवारका हकमा निकै धेरै हुने गर्दछ । यदि त्यस्तो परिवारको हिसाब गर्ने हो भने यो रकम झण्डै बीसौं अर्बमा पुग्न जान्छ । यति ठूलो धनराशी एकैचोटी गाउँतिर भित्रिने यो चाडको आर्थिक महत्व निकै ठूलो रहेको कुरा नकार्न कसैले सक्दैन । यहि नेपाल मा भित्रिने बिप्रेषणको गत आवको तथ्यांकलाई आधार मान्दा बर्षभरिको सकल बिप्रेषणको झण्डै २५ देखि ३० प्रतिशत हिस्सा मात्रै दशैंमा भित्रिने गरेकाले पनि दशैंको आर्थिक महत्व निकै रहेको कुरा स्पष्ट हुन्छ ।

अर्थशास्त्रमा सामान्य रुपमा पढ्ने पढाइने गरेको अर्थतन्त्रको असमान बितरणले समाजमा पैसा केहि व्यक्तिको हातमा रहन्छ त्यसैले अर्थतन्त्रको बितरणलाई बढि भन्दा बढि धेरै व्यक्तिमा बितरण गर्नु पर्छ भन्ने कुरालाई हाम्रो यो चाडले निकै सहयोग गरेको पाइन्छ । सँधैभरि शहरमा घरभाडा, बच्चाहरुको फिस,मनोरञ्जन आदी मै खर्च हुने रकमबाट केहि रकम गाउँमा प्रवेश गर्दा गाउँको मुहारमा केहि न केहि रौनकता आउने कुरामा कुनैपनि शंका छैन । शहरबाट गाउँ आएर आप्mनो गच्छेअनुसार खसी, बोका,भेडा च्यांग्रा, भाले काट्ने र मिठो मसिनोका लागि न्यूनतम दुइ चार हजार खर्च गरिहाल्ने गर्छन नै अझ यसै माथि गाउँघरतिर आएर स्थानीय बस्तुको व्यापक प्रयोगले गाउँको चिजबीजले समेत भाउ पाउने र त्यो रकम केहि भएपनि किसान गाउँलेको पोल्टामा पर्ने हुँदा यसले गाउँको अर्थतन्त्रलाई अझ चलाएमान बनाउँछ ।

गाउँ नै गाउँको देशमा गाउँलाई राज्यले सधैं उपेक्षा गरेको भन्ने गुनासो भैरहँदा हामी नेपाली मात्रको एउटा मौलिक चाड दशैंले कहिल्यै उपेक्षा गर्न सक्दैन । यहि एउटा चाड हो जसले गाउँका सबै ठाउँका कुना कन्दरालाई हँसाउने गर्छ । आफ्नो शहरीया व्यस्त जीवनबाट लामो स्वच्छ सास फेर्ने मौका पाएका व्यक्तिहरुको गाउँमा रमाउँदै गर्दा आफ्नो चाडखर्चबाट गर्ने सानो साने फुरमासले पनि गाउँमा निकै उमगं ल्याउने र शहरको उकुसमुकुसबाट टाढा गाउँका खेत खलियानमा र घरआँगनमा खुशीको लहर ल्याउने काम यहि दशैंले गर्दछ । खर्च सक्नेले गर्ला तर नसक्नेले पनि आफ्नो गच्छे अनुसारको खुशी बाँड्ने यो चाडले गाउँको मुहार केहि दिन भएपनि फेरेको अनुभूति हुन्छ । घरभरि परिवार जम्मा भएर तितामिठा आफ्ना पलहरु साटासाट गर्दाको त्यो क्षणले गाउँमा एक प्रकारको रौनक भित्रिने गर्छ । आफ्ना अभिभावक सँग शहरबाट गाउँ पसेका बालबालिकाहरुले खुला आकाश मुनि स्वतन्त्र रुपमा स्वास फेर्दाको अवस्थाले त गाउँ झन प्रफुल्लित पो भएको हुन्छ । गाउँको किसान सधैं उपेक्षित भै रहँदा शहरको टाँठो बाठो जागिरे या सत्ताको पहुँचवालाले त्यो गाउँको किसानको अनुदानको भाग समेत खोसेर खाइ दिँदा समेत आफ्नो पीडा सुनाउन नपाएको गाउँले दशैं सँगै सबै पीडा बिर्सेर आनन्द दिन र लिन तत्पर भएको देख्दा यहाँको निश्चलता कति छ त्यो बयान हुन सक्दैन ।

दशैं सँगै शहरको अर्थतन्त्र मात्रै गाउँ पस्दैन, आन्तरिक पर्यटन पनि बढ्ने गर्छ । दशैंमा लामो बिदा हुने हुँदा धेरैजनाको घुमघामको योजना पनि बनेको हुन्छ । गाउँ आएको बेला पारेर यतै कतैको नजिकको भ्रमणस्थलको अवलोकन गर्ने योजनाले गाउँलाई अझ रौनक बनाइ दिन्छ । कोहि दशैं मनाउन नपाउने या नमनाउनेहरुले समेत एक दुइ दिन या अलि लामै भ्रमणको योजना बनाउनुले आन्तरिक पर्यटनको राम्रो व्यापार हुने गरेको पाइन्छ । दशैंमा त फलानो ठाउँ घुम्न जाने भन्ने पारिवारिक सल्लाह नै बन्ने गरेको र दशैंले त्यो अवसर जुराएको हुँदा पनि दशैं गाउँको लागि एउटा आर्थिक कुम्भ नै हो भन्दा अतिशोक्ति नहोला ।

हो कोहि कोहि भन्नेहरुले दशैं खर्चालु चाड हो, यसले समाजमा निकै देखासिकी गराउने र हुँदा खाने वर्गका लागि निकै पीडा दिने गरेको छ पनि भन्छन, यसमा सत्यता नभएको पनि होइन, तर यस्तो वर्गसँग पनि उनीहरुको आर्थिक पाटो दशैं सँगै जोडिएको हुन्छ । किन पनि भने दशैंले बिभिन्न बहानामा अल्पकालिन रोजगारका कामहरु घरआँगन सर सफाई, बाटोघाटोको मर्मत, कतै दाउरा काट्ने चिउरा कुट्ने दशैंका साजसमानको मेसो मिलाउने आदि काममा सहयोगको नाउँमा पनि पनि कामकाजी वर्गलाई रोजगार मिलेको हुन्छ, यसलाई सबल पक्ष नै मान्नु पर्दछ । यद्दपि यसले यो वर्गको आर्थिकस्तरमा ठूलो परिवर्तन त ल्याउँदैन तरपनि चाडमान्ने नाउँमा केहि न केहि त आर्थिक जोहोको मेसो ल्याइदिन्छ । समाजमा निकै ठूलो देखासिकीपनको बेथिति ल्याइरहेको कुरालाई नकार्न भने सकिँदैन । गाउँमा भए पनि नभएपनि खर्च गर्नै पर्ने मानसिकता बोकेर हिँड्ने, क्रृण काढेर दशैं मनाउन पर्छ भन्ने सोच गलत हो तर यहि एउटा कारणले दशैंको महता कम चाहिँ हुनु हुँदैन र हुन्न पनि ।

बर्षभरि दुःख गरि कमाएर एक छाक भएपनि मिठो चोखो खुवाउने चाहनामा बाँचेको हाम्रो गाउँको मनले दशैंलाई निकै पवित्र र महान चाडको रुपमा मनाउने परम्परा रहेको छ । यसकारण पनि अघिपछि रुखोसुखो खाएर भएपनि चल्ने गाउँमा दशैंमा त कम्तिमा पनि मासु भात त हुनुपर्छ, चेलीबेटी भान्जा भान्जी, छोरी ज्वाईं आउँदा टीको टालो गर्न दुइ चार रुपैंया होस भन्ने चलन रहेको छ । दशैंको आगमन संगै जेजसरी भए पनि घर परिवार जम्मा हुने सँगै दशैं मनाउने र नसके पनि कम्तिमा घर पैसा पठाएर परिवारको दशैंलाई खुशीयाली बनाउने चाहना हरेक नेपालीको हुने कुरामा कुनै शंका छैन जसको कारण पनि दशैं सँगै गाउँघरतिर निकै रौनक आउँछ । दशैंको महाचाड सँगै गाउँघर सिँगारिन्छ, बाटाघाटा घर आँगन लिपपोत गरेर चिटिक्क पारिन्छन् । वर्षभरि सफा हुन नपाएका घरका कुना कुना समेत सरसफाई गरेर दशैंलाई निम्तो दिने प्रचलनले बर्षाभरिको घाँस झारपातहरुको झाडी सफा भएर स्वच्छता पनि आउँने गर्दछ । यी सबै कार्य भैरहँदा गाउँघरमा रहेका बृद्ध आमाबुवाका मुहारमा क्षणिक नै सहि मुस्कान ल्याएको पाइन्छ । दशैंको बिदाई सँगै ती मुहारहरुमा फेरि चाउरी देखिन्छ र अर्को मुस्कानको प्रतिक्षामा अर्को एक बर्षको पर्खाइ शुरु हुन्छ ।

चाडहरु त अरु पनि छन् । अरु चाडहरुको पनि आ–आफ्नै महत्व छ । खर्च गर्ने गराउने आफ्नै तरिका छ । तर दशैं भनेको कम्तिमा पनि नेपाली मात्रको आफ्नै मौलिक चाड हो । यो चाड हिन्दु नै भएपनि अरु देश र समुदायमा त्यति मनाउने गरेको पाइदैन । नेपाली मात्रले आफ्नै मौलिक तरिकाले मनाउने यो चाडको परम्परागत र साँस्कृतिक महत्वका साथै आर्थिक महत्व पनि रहनु निकै अर्थपूर्ण कुरा हो । यो भेटघाट, घुमघाम सँगै शहरको दौडादौडि र कोलाहलबाट क्षणिक समयको लागि भएपनि मोक्षको समय लिएर गाउँमा रमाउने चाड पनि हो । समयको माग या कमाइको साँघुरिदो घेरासँगै गाउँतिर हुने लामो बसाइ छोटिदै छ गाउँमा आएको अल्पकालिन आर्थिक चहलपहल पनि बिस्तारै सेलाउँदै छ । हिजोबाट कार्यालयहरु खुले सँगै गाउँ पसेको रौनक शहरतिर फर्कंदै छ ।

प्रतिक्रिया

प्रतिक्रिया