सहकारीमा तालिम, शिक्षाको महत्व

सन्जय राज तिमिल्सीना
पृष्ठभूमि :

भनिन्छ सहकारी व्यवसाय गर्ने एउटा माध्यममात्र नभएर जीवन शैली हो । यो समान आर्थिक, सामाजिक एवम् सांस्कृतिक रुपमा समान ईच्छा र आकांक्षा भएका व्यक्तिहरुको सामुहिक उद्यम भएकोले यसको सफलताको लागि पनि सामूहिक बुझाई र कार्यसम्पादन निकै महत्वको हुन्छ । आज सदस्यहरुबीच साझा बुझाई र समझदारीको अभावमा सहकारी संस्थाहरु उद्देश्य विमुख बन्दै गएका छन् । सिद्धान्त, मूल्य र मान्यताबाट विमुख कुनैपनि संस्थामा जोखिमको दर उच्च रहेको हुन्छ । आज कुनै सहकारी संस्था जोखिममा छन् भने तीनै संस्था छन् जसमा सदस्यहरुबीच साझा बुझाई र समझदारी कायम हुँदैन । मानिस जन्मदै केही सिकेर वा जानेर जन्मिने होइन । त्यसैले जीवनमा सिकाई सबैका लागि त्यतिकै महत्वपूर्ण हुन्छ । सिकाई र बुझाई विकास गर्ने माध्यमहरु मध्ये तालिम, शिक्षा निकै महत्वपूर्ण हुन्छ ।

प्रसिद्ध विद्वान फ्रान्क बेलका अनुसार “शिक्षाको लक्ष्य बुझाउनु (सिकाउनु) हो भने तालिमको लक्ष्य कार्यसम्पादन हो” । तसर्थ तालिमले मानिसका दैनिक जीवनमा काम गर्ने शैली र परिणाममा सकारात्मक परिवर्तन ल्याउन ज्ञान तथा सीप प्रदान गर्न जरुरी हुन्छ । स्व–अध्ययन, कार्य अनुभव, पारिवारिक एवम् सामाजिक सम्बन्ध, पृष्ठभूमि र उत्तम अभ्यासहरु सिकाईका मुख्य आधार एवम् माध्यम हुन् यसरी प्राप्त गरिने सिकाईमा एकरुपता नहुँदा त्यसको कार्यान्वयन र परिणाम पनि फरक फरक नै हुन्छ । शैक्षिक रुपमा विद्वत वर्ग होस् वा सामान्य साक्षर र निरक्षर नै किन नहोस् सहकारी संस्था सञ्चालकको क्रममा साझा बुझाईमा हुनै पर्दछ । हाल सहकारी संस्था सञ्चालकहरुमा सहकारी व्यवसाय (उद्यम) प्रतिको बुझाई फरक फरक छ । अधिकांशलाई सहकारी भनेको बचत संकलन गर्ने र ऋण लगानी गर्ने वा संकलित बचत रकमलाई उच्च प्रतिफल हुने कुनै क्षेत्रमा लगानी गर्नु हो भन्ने भ्रम परेको छ । संस्थाका सञ्चालक र अन्य सदस्यबीच साहु र ग्राहकको जस्तो सम्बन्ध स्थापित भएको छ । जसले संस्था दुर्घटनाको आधार तयार गरिरहेको छ । व्यक्तिगत महत्वकांक्षाका आधारमा सञ्चालित संस्थाहरुले छोटो अवधिको लागि तिव्र गतिको वृद्धि र उच्च प्रतिफल प्रदान गर्न सक्दछन्, जसले समुदायमा भ्रम उत्पन्न गराउँदछ । त्यसैले सहकारी संस्थाको दीगो विकासका लागि प्रभावकारी तालिम, शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्नु जरुरी छ । यो सहकारीको सिद्धान्त पनि हो । व्यवस्थापन शास्त्री सी.बी. मेमोरियाका अनुसार “तालिम ज्ञानको प्रयाग हो यसले मानवले गर्ने व्यवहारको नीति नियम र कार्यविधिहरुका विषयमा सचेत गराउँदछ ।”

अहिले सहकारी के हो ? भन्ने विषयमा पनि बुझाईमा केही भिन्नता पाइन्छ । विभिन्न व्यक्तिहरुले सहकारीलाई सम्बोधन गर्दा बैंक, फाइनान्स, आदि जस्ता शब्दले सम्बोधन गरेको पाइन्छ । यसले गर्दा सहकारी संस्थालाई बैंक वा फाइनान्स सँग तुलना गरेर हेर्ने परिपाटीको विकास हुन पुगेको छ । बैंक वा फाइनान्स कम्पनी सँग तुलना गरिने सहकारी संस्थामा सदस्यको स्वामित्व बोध कति होला ? यस्तो हुनुमा कसको जिम्मेवारी छ त ? के यसको समाधान नै छैन ? आदि जस्ता स्वभाविक प्रश्नहरु जागृत भएकाछन् । सबै मुलुकमा सहकारी क्षेत्रमा असल अभ्यास मात्र भएको छैन । कतिपय मुलुकमा भएका गलत अभ्यासलाई नै उदाहरणको रूपमा लिएर हाम्रो मुलुकमा पनि त्यहि अनुरूप लागु हुनुपर्छ भनि यदाकदा आवाज उठ्ने गरेको पनि पाइन्छ । यो सबै व्यक्तिको बुझाईमा भएको कमीको परिणाम हो । त्यसैले सहकारी अभियान र सरकारी निकायका पदाधिकारीहरूको बुझाइमा एकरूपता कायम गर्दै सहकारी शिक्षा प्रशिक्षण र जागरणलाई समन्वयात्मक रूपमा एकीकृत ढंगले अगाडि बढाउनु आजको आवश्यकता हो । संघीय संरचनामा सरकारका तीनै तहबाट सहकारी शिक्षा, तालिम र जागरणमूलक कार्यक्रमहरूलाई सशक्त ढंगले अगाडि बढाउनमा सहकारी अभियानको भूमिका समेत महत्वपूर्ण रहन्छ । तर आज न त तालिम लिनुपर्ने व्यक्तिलाई त्यसमा समय निकाल्ने प्राथमिकता छ, न त दिने जिम्मेवारी बोकेकाहरुमा नै । तालिममा गरिने लगानीलाई खर्चकोरुपमा गणना गरिने र त्यसमा खर्च गर्नुभन्दा उच्च दरको लाभांश प्राप्ति गर्ने मनोकांक्षा दीर्घकालमा घातक बन्दछ । हामीले खाई नखाई गरेर जम्मा गरेको पैसा कस्तो अवस्थामा, कहाँ र कति जोखिममा छ भन्ने नबुझिकन साँवा भन्दा व्याज र वास्तविक घाटा लुकाएर भएपनि उच्च लाभांश खोज्ने परिपाटीले सहकारी संस्थामा तालिम, शिक्षाको अवस्था कमजोर बनेको छ । यद्यपी केही संस्थाहरुले यसलाई उच्च प्राथमिकता दिनेगरेको पनि पाइन्छ ।

ऐतिहासिक विकासक्रम ः

सहकारीमा तालिम शिक्षाको विषय औपचारिकरुपमा रोचडेल अग्रणी संस्था (संसारको सबैभन्दा पहिलो सहकारी संस्था) को १८६० को सभाले सदस्यहरुमा “पारस्परिक व्यपारका साथै सहकारी सिद्धान्तका सम्बन्धमा सदस्यहरूलाई शिक्षा प्रदान गर्ने” निर्णय गरेबाट सैद्धान्तिक पक्षको रुपमा विकास भएको पाइन्छ । रोचडेल अग्रणी संस्थाको सन् १८६० मा प्रकाशित मुखपत्रमा “शिक्षामा नाफाको निश्चित प्रतिशत छुट्याइनु पर्दछ” भन्ने उल्लेख गरिएको थियो । सहकारीको विकास सँगै सुरु भएको यो सैद्धान्तिक पक्षको व्यवहारिक प्रयोगको अवस्था हेर्ने हो भने निकै दयनीय छ । सहकारीको सिद्धान्तले सदस्यहरुबीच मात्र व्यवसायिक सम्बन्ध स्थापित गर्न निर्देशित गर्दछ । यद्यपी सहकारी शिक्षा गैरव्यवसायिक विषय भएकोले सदस्य र गैर सदस्यहरुमाझ समानरुपले प्रदान गर्न सकिन्छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले समय समयमा सहकारीका सैद्धान्तिक पक्षको समिक्षा र अद्यावधिक गर्दछ । यसैक्रममा सन् १९९५ मा भियनामा भएको महासभाबाट सहकारीका सात सिद्धान्त अनुमोदित गरेको छ जसमध्ये तालिम, शिक्षा र सूचना एउटा महत्वपूर्ण सिद्धान्त बनेको छ ।

आवश्यकता ः

तालिमले व्यक्तिको ज्ञान, सीप र धारणामा परिवर्तन गराउन सक्नु पर्दछ । ज्ञानको लागि विभिन्न पुस्तकहरु अध्ययन गर्ने वा औपचारिक शिक्षा प्राप्त गर्न सकिन्छ । सीप भनेको प्राविधिक विषय हो र यसको लागि प्रविधिमा आधारित अभ्यास गर्न सकिन्छ । तर जबसम्म धारणामा परिवर्तन आउँदैन तबसम्म ज्ञान र सीपले मात्र व्यक्तिलाई परिवर्तन गराउन सक्दैन । सहकारीको औपचारिक शिक्षा विना सहकारी व्यवसाय सफल बनाउन नसकिने भएकोले अन्तर्राष्ट्रिय सहकारी महासंघले सहकारी शिक्षा, तालिम र सूचनालाई सहकारीको पाँचौं सिद्धान्तमा समावेश गरेको छ । जस अनुसार– सहकारीले आफ्ना सदस्य, निर्वाचित प्रतिनिधि, व्यवस्थापक र कर्मचारीका लागि शिक्षा र प्रशिक्षण प्रदान गर्दछन् ताकी उनीहरूले सहकारीको विकासमा प्रभावकारी योगदान गर्न सकुन् । अझै बचत तथा ऋण सहकारी संस्थाको विश्व सञ्जाल विश्व ऋण परिषद्को सन् २०१८ मा सिंगापुरमा सम्पन्न सभाले वित्तीय सहकारी सञ्चालनको मार्गदर्शनकोरुपमा वित्तीय साक्षरताको विषयलाई समावेश गरेको छ ।

आजका विश्वका धेरै मुलुकहरूका विद्यालय, विश्वविद्यालय स्तरीय पाठ्यक्रममा सहकारीलाई समावेश गर्ने, सहकारी मोडलका शैक्षिक संस्थाहरू स्थापना गर्ने क्रम बढेको पाइन्छ । नेपालमा पनि पछिल्लो समय यसको शुरुवात भएको छ । यद्यपी विश्वविद्यालय स्तरमा उच्चस्तरको दक्ष जनशक्ति विकास गर्ने तहमा शिक्षाको स्तर पुगेको देखिंदैन । केही शिक्षा सहकारी स्थापित भएतापनि राजनीतिक र कानुनी वातावरणले व्यवसायिकस्तरमा सञ्चालन हुन सकिरहेका छैनन् । सहकारी अभियानलाई शैक्षिक जागरण एवं सशक्तिकरणको माध्यमको रूपमा पनि लिन सकिन्छ । त्यसैले सहकारी संघ संस्थाले नै नियमित तालिम, शिक्षाको अभियान चलाउन आवश्यक छ ।

महत्व ः

तालिम एक यस्तो सिक्ने कला हो, जसबाट प्रशिक्षार्थीलाई आवश्यक ज्ञान प्राप्त हुनुका साथै विषयगत अवधारणा, सीप, नीति नियम, आचरण तथा व्यवहारमा परिवर्तन ल्याई कार्यक्षमतामा अभिवृद्धि समेत गराउँदछ । जसले एक वा एक भन्दा बढि क्रियाकलापहरुलाई प्रभावकारी ढङ्गले सम्पादन गर्न व्यक्तिको बानी, आचरण, सीप र व्यवहारमा सिकाईको अनुभवको माध्यमबाट परिवर्तन गर्न सहयोग पु¥याउँदछ । विद्वान ग्रान्ट कार्डोन भन्छन् “सफल व्यक्तिहरुले आफ्नो शिक्षा, विकास र व्यक्तिगत उत्प्रेरणा सफलताका औजार हुन् भन्ने बुझेर त्यसमा लगानी गर्दछन्” । यसको आधारमा तालिम, शिक्षा कति महत्वपूर्ण छ भन्ने बुझ्न सकिन्छ । तालिम शिक्षाले उत्पादकत्व वृद्धि, नयाँ प्रविधिको अबलम्बन, सकारात्मक भावनाको विकास, गुणस्तरीय कार्यसम्पादन, संस्थागत छवी सुधार, संस्थाको बचत (नाफा) वृद्धि गरी उच्च प्रतिफल एवम् संस्थागत पुँजी निर्माण, व्यक्तिको आत्मविश्वास अभिवृद्धि गरी परिस्थितिको सामना गर्ने तत्परता अभिवृद्धि गर्ने जस्ता परिणामहरु प्रदान गर्दछ ।

राज्यका नीतिमा सहकारी शिक्षा ः

राष्ट्रिय सहकारी नीति, २०६९ ले सहकारी सम्बन्धी जनचेतना अभिवृद्धिको लागि सरकार, स्थानीय निकाय, सहकारी क्षेत्र, नागरिक समाज, विकास साझेदार, शैक्षिक क्षेत्र, सञ्चार जगतका साथै सम्बद्ध सामाजिक संघ संस्थाहरू परिचालन गरिने नीति लिएको छ । नीतिको पहिलो उद्देश्यमा शिक्षा तालिम र सूचनाको माध्यमबाट सहकारीको संस्थागत क्षमता विकास र सहकारी सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उल्लेख गरिएको छ ।

सहकारी ऐन, २०७४ को दफा १३८ को उपदफा १ मा नेपाल सरकारले विद्यालय तहको पाठ्यक्रममा आधारभूत सहकारी ज्ञान समावेश गर्नुका साथै सहकारी विद्यालय र विश्व विद्यालय अन्तर्गत सहकारी संकाय वा शिक्षालय (स्कूल अफ को–अपरेटिभ) स्थापना गर्न सहयोग गर्ने उल्लेख छ भने उपदफा २ मा सहकारी शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने सहकारी संस्था वा निकायको प्रमाणिकरण (एक्रेडिटेसन) लगायत सहकारी शिक्षा सम्बन्धी अन्य व्यवस्था गर्ने उल्लेख छ । सहकारी नियमावली २०७५ को नियम ७९ मा सहकारी शिक्षा सञ्चालन गर्ने सहकारी संस्था वा निकायको लागि पाठ्यक्रम निर्धारण र त्यस्तो संस्थाको प्रमाणिकरण गर्न सहकारी मन्त्रालयका सचिवको अध्यक्षतामा ९ सदस्यीय समिति रहने र आवश्यकताको आधारमा विज्ञहरुलाई उक्त समितिको बैठकमा आमन्त्रण गर्न सक्ने व्यवस्था गरेको छ ।

सहकारी मापदण्ड २०६८ ले सहकारी संस्थाको गठन गर्दा र नयाँ सदस्यता प्रदान गर्दा अनिवार्यरुपमा पूर्वसहकारी शिक्षा लिएको हुनुपर्ने व्यवस्था गरेको पाइन्छ । यसबाट पनि सहकारी संघ संस्थामा तालिम शिक्षा कति महत्वको छ भन्ने बुझ्न सकिन्छ । नीतिगतरुपमा राज्यले विभिन्न व्यवस्था गरेता पनि कार्यान्वयन तर्फ तालिम शिक्षामा खासै पहल गरेको पाईंदैन । संघीय संरचनामा जानुपूर्व एक केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र र ५ वटा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयबाट तालिम सञ्चालन हुँदै आएकोमा हाल केन्द्रीय सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा मात्र सिमित रहेको छ । हाल अस्तित्वमा रहेका ३५००० भन्दा बढी सहकारी र ६७ लाख भन्दा बढी सहकारीकर्मीहरुलाई प्रशिक्षित गर्न राज्यको संरचना त अपुरो छ नै सहकारी संघ संस्थाहरुमा समेत पर्याप्त बजेटको व्यवस्था र दक्ष जनशक्तिको उपलब्धता नहुँदा यसले गति लिन सकिरहेको छैन ।

सहकारी अभियानमा सिकाईका प्रयासहरु ः

हाल केही केन्द्रीय र जिल्ला संघहरु, सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघले सहकारी सम्बन्धी आधारभूत जानकारी दिनका लागि अल्पकालिन एवं मध्यकालिन अवधिका तालिमहरू सञ्चालन गर्ने गरेका छन् भने केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रले १–३० दिनसम्मका विभिन्न किसिमका तालिम, अन्तरक्रिया, छलफल, गोष्ठीहरू सञ्चालन गरेर सहकारीको सन्दर्भमा जागरण गराउने कार्य गरिरहेको छ । भने स्थानीय तह र प्रदेश सरकारले आ–आफ्नो कार्यक्षेत्रभित्र यसको जिम्मेवारी लिनुपर्ने व्यवस्था छ । यद्यपी जनशक्ति अभावको कारण यसले प्रभावकारी रुप ग्रहण गर्न कठीन छ । यस्तो अवस्थामा बचत तथा ऋण केन्द्रीय सहकारी संघले आफ्ना सदस्य संस्थामा सुशासन र गुणस्तर विकास गर्न तालिम केन्द्रको स्थापना गरी नियमित तालिम शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । वार्षिक ५०० भन्दा बढी कार्यक्रम मार्फत १० हजार जनशक्तिलाई सशक्तिकरण गरिरहेको छ । संघको तालिम सञ्चालनमा राज्यको बजेट प्राप्त नहुँदा सहभागी सदस्यहरुबाट नै लागत उठाउनुपर्ने र वित्तीय क्षमता कमजोर भएका वा सिकाईलाई लगानी भन्दा खर्चको रुपमा हेर्ने सञ्चालकहरु रहेका संस्थाहरुको सहभागितास्तर निकै कमजोर पाइन्छ । सहभागी संख्यामा धेरै देखिएता पनि तालिमको महत्व बुझ्ने र वित्तीय व्ययभार ग्रहण गर्न सक्नेहरुको बारम्बारताले यो संख्या अनुरुपको उपलब्धी भने नभएको पाइन्छ ।

संघहरुले संस्थाहरुको लागि र संस्थाले आफ्ना सदस्यहरुको लागि तालिम सञ्चालन गर्नुपर्ने उनीहरुको दायित्व हो तर यसको व्यवहारिक कार्यान्वयन कर्मकाण्डी पाराको हुँदा प्रभावकारीता न्युन बन्दै गइरहेको छ । संस्थाहरुले सदस्य शिक्षामा सदस्यको स्तर आँकलन नगरी गोलमटोल तरिकाले सहभागी गराउँदा कसैलाई पट्यार लाग्दो र कसैलाई बुझ्न नसक्ने अवस्था रहेको पाइन्छ । जसले सदस्य शिक्षामा सहभागिता झन् झन् न्यून भएको छ । सहकारी शिक्षाको लागि संस्थाहरुसँग पाठ्यक्रम विकास नहुनु पनि तालिम शिक्षा प्रभावकारी नहुनुको कारण रहेको पाइन्छ । सहकारी संस्थाहरु (विशेष गरी बचत तथा ऋण सहकारी) लगानीकर्ता नभई वित्तीय पथ प्रदर्शक हुनु पर्दछ । उनिहरुले मागको आधारमा ऋण प्रवाह गर्ने वा आपूर्तिको आधारमा बचत संकलन गर्ने कार्य गरेर मात्र सहकारीता कायम राख्न सकिंदैन । सहकारी संस्थाले आपूर्तिको लागि सदस्यहरुको उत्पादन (आय) क्षमता बढाउने र मागको लागि उद्यमशिलता विकास गराई माग सिर्जना गराउने तर्फ केन्द्रित हुनु पर्दछ । त्यसैले अब सहकारी शिक्षामा सहकारीका सैद्धन्तिक पक्ष भन्दा पनि जीवनस्तर परिवर्तनको लागि आवश्यक वित्तीय व्यवहार र उद्यमशिलतामा आधारित सदस्य शिक्षा प्रदान गर्नु पर्दछ । जसले गर्दा संस्थामा सदस्यहरुले वास्तविक स्वामित्वबोध गर्दछन् र संस्थामा स्थायित्व रहन्छ ।

निष्कर्ष ः

सहकारी संस्थाले तालिम, शिक्षाका कार्यक्रमको लागि सहकारी शिक्षा कोषको प्रयोग गर्नु पर्दछ । तर तालिम शिक्षा मात्र त्यस्तो विषय क्षेत्र हो जसमा विनियोजित कोषको रकमले अपुग हुँदा कर अगाडि नै खर्च जनाई कार्य गर्न समेत बाधा पर्दैन । तर समग्रमा हेर्ने हो भने सहकारी संस्थाहरुको शिक्षा कोषको समेत भरपुर उपयोग नभएको अवस्था पाईन्छ । हाल सहकारी संस्थाहरुले आफ्नो प्राथमिकता क्षेत्र निर्धारण गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा संस्थाको लगानीले सदस्यहरुको जीवनस्तर उकास्ने वा झन् कमजोर बनाउने जेसुकै परिणाम आउन सक्दछ । अब सहकारी संस्थाहरुले आफ्नो कार्यक्षेत्र भित्रको उद्यम विकास सम्भाव्यता अध्ययन गरी कम्तिमा ५ वटा उद्यम सञ्चालनको लागि आवश्यक तालिमको व्यवस्था गर्ने । वार्षिक योजनामा बजेट सहितको तालिम योजना, सहकारी अध्ययन सामाग्रीहरु संग्रह गरी पुस्तकालय (मिनी लाईब्रेरी) स्थापना जस्ता कार्यहरुलाई प्राथमिकता दिनु पर्दछ । सदस्यहरुमा उद्यमशिलता विकास तालिम मार्फत व्यवसायिक मानसिकताको विकास र व्यवसाय छनौटको लागि उनिहरुलाई तत्पर बनाउन सकिन्छ । तसर्थ सरकारी निकाय र निजी क्षेत्रले पनि उत्पादनमूलक व्यावसायिक तालिमतर्फ आफ्नो ध्यान केन्द्रित गर्नु जरूरी छ । शिक्षा कोषमा रहेको रकम, संस्थाको क्षमता अनुरुपको सञ्चालन खर्च वा अन्य सरोकारवाला स्वदेशी एवम् विदेशी सरकारी÷गैर सरकारी क्षेत्रसँग साझेदारी मार्फत तालिम शिक्षाका कार्यक्रमलाई प्रभावकारी नबनाउने हो भने न त राज्यले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपाली अभियान साकार हुन्छ न सहकारी क्षेत्रको दीगो विकास हुन सक्दछन् । जय सहकारी !

प्रतिक्रिया

प्रतिक्रिया