यौन अपराध कसरी नियन्त्रण गर्ने ?

लोक बहादुर शाह

अपराधिक मनोवृति ः विविधतामा एकता नै समाजको परिभाषा हो । विभिन्न नकारात्मक मनोवृतिका कारण जहाँ समाज हुन्छ त्यहाँ अपराध पनि हुन सक्छ । अभाव, प्रभाव, अशिक्षा, सामाजिक वातावरण, नकारात्मक सोच, लोभ लालच, विलासिता, आधुनिकरण, राजनीतिक स्वार्थ, व्यक्तिका नीहित स्वार्थ, छिटो धनी बन्ने होडवाजी आदिका कारण विभिन्न प्रकारका आपराधिक घटना घटिनैरहेका छन् । आपराधिक घटनाले प्रत्यक्ष रुपमा व्यक्ति र परिवारमा हानी, नोक्सानी र क्षतिपुग्ने भएपनि समग्रमा यस प्रकारका घटनाले समाज र सिंगो राज्यलाई नै प्रभावित पारेको हुन्छ । आपराधिक घटनाका कारण शारीरिक, मानसिक, आर्थिक र सामाजिक रुपमा क्षति पुर्याएको हुन्छ । आपराधिक घटनाले आपराधिक मनोवृति भएका व्यक्तिलाई केही क्षणको लागि सन्तुष्टि मिलेपनि आत्मग्लानी भएकै हुन्छ । अपराध गर्ने व्यक्तिको पनि मानसिक र सामाजिक रुपमा क्षति भएकै हुन्छ । अर्थात अपराधले कसैको भलो गर्दैन ।

नागरिकको सुरक्षा गर्न, आपराधिक घटनालाई रोकथाम गर्न, अपराध पीडितलाई न्याय र पिडकलाई सजाय दिलाई समाजमा शान्ति सुव्यवस्था कायम गर्नका खातिर राज्यले विभिन्न कानूनको निर्माण गरेको छ । सोही कार्यका लागि विभिन्न सुरक्षा संयन्त्र र सुरक्षा नीति बनाएको छ तर पनि आपराधिक घटनाहरु त्यसमा पनि यौन अपराधका घटनाहरु दिनानुदिन पुनरावृत्ति भइरहेको छ । यस प्रकारका यौन अपराधका कारण महिला तथा बालबालिकाले असुरक्षा महसुस गरिरहेका छन् । यसरी केही अपराधिक प्रवृतिका कारण सिंगो समाज नै असुरक्षित र भयभित हुनु भनेको शान्ति सुरक्षा र आत्मसम्मान सम्वन्धी गम्भीर प्रश्न हो ।

यौन अपराध ः अहिले बढी चर्चामा रहेको अपराध यौन अपराध नै हो । यौन अपराध सवैभन्दा बढी जघन्य, क्रुर र आततायी घटना हुन्छ । यस प्रकारको अपराधले महिला तथा बालबालिकको शारीरिक, मानसिक, सामाजिक र आत्मसम्मानमा समेत गम्भीर क्षति पुग्न जान्छ । यौन अपराधका घटनाले घर, परिवार र समाजमा असुरक्षा र अशान्ति फैलाउने कार्य गर्दछ । यौन अपराधका अधिकांश घटनाहरु आफ्नै अभिभावक, संरक्षक, आफन्त बाट हुने गरेका कारण यो अपराध अझ बढी जटिल बन्न गएको छ ।

बालबालिकाहरु बढीमात्रामा यौन अपराधका शिकार बनी रहेका छन् । बालिका देखि अशक्त, अपाङ्ग, जेष्ठ महिला सम्म यौन अपराधको शिकार बन्ने गरेका छन् । बालबालिकाहरुले हिंसाको प्रतिकार गर्न नसक्ने, घटनाको बारेमा यथार्थ जानकारी गराउन नसक्ने भएका कारण यौनपिपाशुहरु आफुले गरेका कुकृत्यबाट जोगिन सकिन्छ भन्ने मनसायका साथ अवोध बालबालिकालाई यौन हिंसा गर्ने गरेको पाइन्छ । आफ्नो जात वा कुलमा चली आएको चलन परम्परा वा मान्यता अनुसार विवाह गर्न नहुने नाताका महिलाहरु लाई पनि यौन अपराधको शिकार (हाडनाता करणी) बनाउने गरिएको देखिन्छ ।

नयाँ कानूनी व्यवस्था ः नेपालको नयाँ कानूनले यौन अपराधलाई जघन्य अपराधको रुपमा परिभाषित गरेको छ । दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिलालाई र हाडनातातर्फ आमा वा छोरीलाई जर्वजस्ती करणी गरेमा जन्म कैद (२५ वर्ष) को सजाय हुने कानूनी व्यवस्था रहेको छ । दश वर्ष वा दश वर्ष भन्दा बढी चौध वर्ष भन्दा कम उमेरकी बालिका भए १८ वर्ष देखि २० वर्ष सम्म, चौध वर्ष वा चौध वर्ष भन्दा बढी सोरह वर्ष भन्दा कम उमेरकी बालिका भए १२ वर्ष देखि १४ वर्ष सम्म, सोरह वर्ष भन्दा बढी र अठारह वर्ष भन्दा उमेरकी महिला भए १० वर्ष देखि १२ वर्ष सम्म र अठार वर्ष भन्दा बढी उमेरकी महिला लाई जर्वजस्ती करणी गरेको भए ७ वर्ष देखि १२ वर्ष सम्मको सजायको नयाँ व्यवस्था गरिएको छ ।

पतिले पत्नीलाई जर्वजस्ती करणी गरेमा ५ वर्ष सम्म कैदको नयाँ कानूनी व्यवस्था गरिएको छ । वर्षौ देखि पतिको यौनहिंसामा पर्दै आएका कतिपय वैवाहिक बलात्कारका दजर्नौ मुद्दाहरु हाल नयाँ कानूनी व्यवस्था बमोजिम अनुसन्धानको दायरमा आएका छन् । सामूहिक रुपमा वलात्कार गरेमा, गर्भवति, अशक्त, मानसिक रुपमा अशक्त, अपाङ्ग महिलालाई जर्वजस्ती करणी गरेका खण्डमा थप ५ वर्षको सजाय हुने व्यवस्था गरिएको छ । कसैले महिलालाई जवर्जस्ती करणी गरी ज्यान मारेमा निजलाई आजीवन कारावास (जीवित रहे सम्म कारागारमा वस्नुपर्ने) हुने नविनतम कानूनी व्यवस्था गरिएको छ । उल्लेखित नयाँ कानूनी व्यवस्थाले महिला अस्मिता र आत्मसम्मानको रक्षा गर्दै पीडकलाई अधिकतम सजाय गरी अपराधमा न्यूनिकरण गर्ने, शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने प्रयास गरेको देखिन्छ ।

यौन अपराधको अवस्था ः यौन अपराधमा संलग्न व्यक्तिलाई नयाँ कानूनले अधिकतम सजायको व्यवस्था पनि गरेको, वैवाहिक बलात्कार गर्नेलाई समेत कानूनको दायरामा ल्याएको छ तर पनि यौन हिंसाका घटनाहरु दिन प्रतिदिन बढी रहेका छन् । दिनहु वैवाहिक बलात्कारका घटनाहरु भइरहेका छन्, बालयौन शोषणका घटना पनि भइरहेका छन् तर पनि विविध कारणले कयौं वलात्कारका घटनाहरु कानूनको दायरामा आउन सकेको अवस्था छैन । नयाँ कानूनले १८ वर्ष भन्दा कम उमेरकालाई बालबालिका मानेको छ । १८ वर्ष भन्दा कम उमेरका केटाहरु देखि ७० वर्ष नाघेका जेष्ठ नागरिक पनि यौन अपराधमा संलग्न हुने गरेको पाइन्छ ।

अवोध बालिकाहरु जो आफ्नै अभिभावक र संरक्षक बाट प्रताडित छन् तिनले आफ्नै अभिभावक र संरक्षकको विरुद्धमा बोल्न सक्ने स्वतन्त्र र संरक्षित परिस्थितिको सृजना नै हुन सकेको छैन । जस्का कारण बालिका यौन हिंसाका अधिकांश घटनाहरु अझै डर, त्रास र प्राविधिक कारणले बाहिर आउन सकेका छैनन् ।

मादक पदार्थको सेवन, धनको उन्मात, शक्तिको दुरुपयोग, राजनीतिक संरक्षण, आदिका कारण पनि यौनजन्य घटनाहरु घटीरहेका छन् । कतिपय यौन अपराधका घटना प्रकाशमा नै आउदैनन्, सार्वजनिक भएका आपराधिक घटनामा पनि निष्पक्ष र वैज्ञानिक ढंगबाट अपराध अनुसन्धान हुदैन, डर त्रास भय र स्वार्थका कारण पीडित स्वयंले अदालतमा आएर होस्टाईल बकपत्र गर्ने गरेका कारण पनि दोषीले उन्मुक्ति पाउने गरेका कारण पनि यस प्रकारका घटनाको पुनरावृति हुने गरेको देखिन्छ ।

यौन अपराध कसरी नियन्त्रण गर्ने ?
यौन अपराध सवैको साझा समस्या हो । यस प्रकारका समस्यालाई सवैले साझा रुपमा नै प्रयास गरेका खण्डमा मात्रै समाधान हुन सक्छ । सर्वप्रथमतः महिला र बालबालिकालाई यौन शिक्षा र यौनजन्य अपराधको बारेमा विद्यालय, क्याम्पस र घरघरमा गई जनचेतनामुलक कार्यक्रम फैलाउन आवश्यक छ । त्यस प्रकारका कार्यक्रमले यौन शिक्षाको बारेमा जानकारी पाउनका साथै यौन अपराध, सजाय, न्याय र सुरक्षाको बारेमा ज्ञात हुनेछ जसका कारण कुनै वालिका वा महिला यौन हिंसा र यौन दुव्र्यवहारमा परेका खण्डमा खुलेर विरोध गर्न, उजुरी गर्न सक्नेछन् र यौन अपराधीहरुको मनोबाल गिर्नेछ ।

यौन अपराधको विषयमा अनुसन्धान अझै पनि वैज्ञानिक र विश्वसनीय बन्न सकेको छैन । अपराध अनुसन्धानमा संलग्न सुरक्षाकर्मी पीडितमैत्री हुन सकेको पनि देखिदैन । अनुसन्धानको क्रममा प्रायशः पुरुष प्रहरीकै वर्चश्व हुने गरेका कारण पनि यौन अपराधका घटनामा नेपाल सरकारले सफलता पाउन सकेको देखिदैन । पीडितको जाहेरी र घटना विवरण कागज, शारीरिक परीक्षण, दशी प्रमाण आदिको समयमा संकलन र सही मुल्यांकन एवं विश्लेषण हुन सकेको देखिदैन । पीडितको जाहेरी दर्खास्तमा उल्लेखित भनाईलाई मात्र मुल आधार मानी अनुसन्धान शुरु गर्ने र उभियुक्तको बयानलाई प्रमाण मान्ने प्रवृतिले पनि दोषी मान्छे निर्दोष सावित हुने र कहिले काही निर्दोष मान्छे पनि दोषीको भागिदार हुने विडम्वनापूर्ण अवस्था विद्यमान छ । यसका लागि निष्पक्ष एवं स्वतन्त्र ढंगबाट अपराधको अनुसन्धान र न्यायनिरोपण हुन आवश्यक छ ।

यौन अपराधका घटनामा वृद्धि हुनमा र दोषीले सजाय नपाउनमा समाजको पनि त्यतिकै भुमिका रहेको छ । समाजको सहयोग विना अपराधको अनुसन्धान हुनै सक्दैन । हाम्रो समाज राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक, पारिवारिक, वर्ग र क्षेत्रको आधारमा विभक्त छ । कुनै आपराधिक घटना घटेका अवस्थामा उल्लेखित आधारमा मानिसहरु पक्ष र विपक्षमा खुलेर नै लाग्ने गरेका छन् । जस्का कारण घटनाको वास्तविकता उजागर हुन सक्दैन र दोषीले उन्मुक्ति पाउने सम्भावना रहन्छ । यसका लागि आफ्नै घरपरिवार, नातागोता, समाजका कुनै सदस्यले यौन अपराध गरेको अवस्थामा पनि त्यसको विरुद्धमा आवाज उठाउने, अपराधको अनुसन्धान र न्याय निरोपणमा सकारात्मक सहयोग गर्ने हो भने धेरै हदसम्म अपराधको नियन्त्रण र अपराधीलाई सजाय हुने सम्भावन रहन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया