किरण पौडेल ( आचार्य )
भाद्र २९ गते, हाम्रो देशमा पनि बाल दिवस मनाइयो । बालवालिकाका अधिकार सुनिश्चित गर्ने दिन अर्थात् अर्को शब्दमा भन्नु पर्दा देश भरीका बालवालिकालाई उनिहरुको अधिकार बारे सचेत गराउने दिनका रुपमा लिइने बाल दिवस । त्यो दिन बिभिन्न विद्यालयका केहि बिद्यार्थी, ब्यान्ड सहितका केही प्रहरी जवान गन्ने मान्ने ब्यक्तिहरुको जुलुस साँच्चिकै सुन्दर प्रतित हुन्थ्यो । माइकमा नारा साथ जुलुसले नगर परिक्रमा गर्दा बडो आकर्षक र रमणीय लागिरहेको थियो ।
यही क्रममा मेरो मस्तिष्कमा एउटा प्रतिनिधि घटनाको सम्झना आयो । केही बर्ष पहिले म प्रधान अध्यापक थिएँ । आफ्नो कार्य कक्षमा बसिरहेको बेला मनोबैज्ञानिकरुपले विक्षिप्त वालक मेरा सामु ल्याएर एकजना शिक्षिकाले मैले यसलाई पढाउन सक्दिंन भनेर छोडेर जानु भयो । जब शिक्षकले विद्यार्थी सित हार्छ त्यतिबेला उसका प्रगतिका धेरै वा झण्डै सबैजसो बाटाहरु बन्द हुन्छन् । मैले उसलाई अनेक तरिकाले मनोबैज्ञानिक उपचार गरें र उसको बारेमा अध्ययन शुरु गर्न उसको अभिभावकलाई बोलाएँ । एक महिला आउनु भयो, बालककी ठुलो आमा पर्ने । वालककी आमाले एउटा र बाबुुले अर्कैसंग बिहे गरेपछि ठुली आमा अभिभावक बनेको अवस्थाले म आफैँै भाव विह्वल भएँ । मैले प्रयास गरेपनि आँशु थाम्न सकिंन ।
समस्या थियो, उक्त बालकले आफ्ना साथीलाई ब्लेडले काटिदिने, टोक्ने, पेन्सिलले घोच्ने, चिथोर्ने जस्तै अनेकन बिज्याइँ गरेर हैरानी । बडा मुस्किलले केहि महिनामा उसलाई सामान्य अवस्थामा ल्याउन सकें । उसंग उसकी ठुली आमा आफंै पनि लाचार पाएँ । मैले तुरुन्तै बालबालिकालाई सहयोग गर्ने सरकारी गैरसरकारी संघसंस्थाहरुसंग सम्पर्क गरें । उनिहरु बडो उत्साहित हँुदै विद्यालयमा आइपुगे मैले शान्तिको श्वास फेरें । मैले सोचें यी मध्ये कतिपय घरेलु सहयोगी बालबालिकाहरुनै थिए । उनिहरुलाई मालिकहरुले पढ्न सहयोग गर्थे तर स्वतन्त्रतापूर्वक जिउन पाउदैनथे । मालिक कहाँबाट मुक्ति दिलाएर विभिन्न संघसंथाहरुले ति बालवालिकाहरुलाई आफ्ना बाआमालाई बुझाइएको थियो । तर चरम गरिबीको कारणले गर्दा उनिहरुले ति बालवालिकालाई घर र होटलमा काम गर्न भारतमा पठाइ दिए । बालवालिका बारे पनि केही कुरा गर्ने साेंच बनाएँ । मेरो शरिरबाट ठुलो भारी बिसाएझंै भयो ।
मैले बोलाए अनुसार बालवालिका क्षेत्रमा काम गर्ने सरकारी गैरसरकारी तुरुन्त आउनुभयो र ती बालवालिकालाई सहयोग गर्न म भन्दा बढि आत्तुर देखिनुभयो । हात जोडेर धन्यबाद दिएँ । अनि सोधें यी बालवालिकाहरु लाई कसरी सहयोग गर्नु हुन्छ त ? बडो गर्बका साथ एक थरिले जवाफ दिनुभो मेम हामीले यिनिहरुलाई स्कुल ब्याग र कापी कलम दिन्छौ । अर्का थरीले भने ड्रेस दिन्छौं, म झस्किएँ, सोचेजस्तो अवस्था थिएन ।
बाल अधिकार बर्ष दिनमा गरिने नारा र जुलुस मात्र होइन । कसैको कृपापात्र बनाइनु, धर्म परिवर्तन मात्र पनि होइन । उनिहरुलाई आत्मसम्मानका साथ जीवन यापन गर्ने अनि सुरक्षित आश्रयको आवश्यकता हो । स्वास्थ्य रहन दिनको तीन पटक पौष्टिक भोजनको आवश्यकता पनि हो । आज रोजगारमुलक शिक्षाको आवश्यकता छ ।
मैले आफुलाई सम्हाल्न सकिन र भने तपाईहरुको ब्याग कापी ड्रेसले यी बालवालिकाहरुको संरक्षण, आश्रय र बाल अधिकार प्राप्त हुन्छ त ? उनिहरुको रेडीमेट जवाफ थियो हाम्रो कार्यक्रम मा जेछ त्यो मात्र हामी दिन सक्छौं । मैले उनिहरुलाई तुरुन्तै फर्किन भनें र पुनः यस्ता बालवालिकाहरुको आश्रयको खोजीमा लागें । एसओएसले केवल अनाथ लिंदो रहेछ । अन्य कुनै घरमा यीनलाई आश्रय छैन । संरक्षण र माया त कता हो कता आश्रय पनि छैन । कुनै सभ्य मानिसले यिनिहरुलाई सहारा दिने पनि कुरा छैन । अनेक ब्यवधानले गर्दा कानुनी रुपमा बालमनोजागरण पनि हाल बन्द छ । अब उनीहरु सामु एउटा मात्र संस्था छ, त्यो हो अपराधको जहाँ जान कसैले कसैलाई रोक्दैनन् र छेक्दैनन् पनि । यसका लागी कसैबाट बाधा ब्यवधान हुन्न । म हतास र कर्तव्य बिमुढ भए । अर्को दिन सम्बद्ध सबै मालिकहरु र त्यो बच्चाको ठुली आमालाई बोलाएर उनिहरुलाई सम्मान गरे ता कि उनिहरुले यस्ता अभागीका भाग्यमा केहि सुन्दर भविष्य कोर्नमा मद्दत गरुन् ।
मेरो बुझाइमा, बाल अधिकार बर्ष दिनमा गरिने नारा र जुलुस मात्र होइन । कसैको कृपापात्र बनाइनु, धर्म परिवर्तन मात्र पनि होइन । उनिहरुलाई आत्मसम्मानका साथ जीवन यापन गर्ने अनि सुरक्षित आश्रयको आवश्यकता हो । स्वास्थ्य रहन दिनको तीन पटक पौष्टिक भोजनको आवश्यकता पनि हो । आज रोजगारमुलक शिक्षाको आवश्यकता छ । हरेक पालिकाले यसको व्यबस्था मिलाउन सक्यो भने मात्र पनि बाल दिवस र वाल अधिकारको औचित्य साबित हुनेछ ।