राजनीतिक द्वन्द्वको निम्तो

बाँकेको खजुरा गाउँपालिका – २ सितापुरमा विहीवार आयोजित राष्ट्रिय जागरण अभियानमा स्थानीय युवाहरुको भिडले नेपाली काँग्रेसको कार्यक्रममंै हस्तक्षेप गर्दा जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिएको दुःखद घटनाले राजनीतिक आकार ग्रहण गरेको छ । हस्तक्षेपकारीहरुलाई काँग्रेसले सत्तारुढ नेकपाका कार्यकर्ता भनेपछि सत्तारुढ दलले घटनामा आफ्नो संस्थागत संलग्नता अस्वीकार गर्दै व्यक्तिगत घटनालाई राजनीति रुपमा रंग नदिन आव्हन गरेको समाचार प्रकाशमा आएको छ । स्वाभाविक रुपले घटनाको प्रकृतिमा प्रवेश गरेको नेकपाले स्थानीय तरुण नेता असलम भाट विरुद्ध काँग्रेसका स्थानीय कार्यकर्ता भुवनसिंह थापाले दिएको उजुरी उपर प्रहरीले कारबाही गर्न बाधा नपारेर अराजकता नभै कानुनी शासनमा विश्वास गर्न आग्रह गरेको छ । राजनीतिक रुपमा सत्तारुढ दलले प्रतिपक्षसँग गरेको आग्रहपछि संवादका माध्यमबाट कतिपय सवाललाई सम्बोधन गर्दै द्वन्द्व निम्तिन नदिन आपसी पहलको ढोका खुलेको छ । घटनामा काँग्रेसले लगाएको आरोप नेकपाले अस्वीकारमात्र गरेन, सहकार्यको विगतको संस्कार स्मरण गरेको कुरालाई जिम्मेवार प्रतिपक्षले सकारात्मक रुपले लिएमा राजनीतिक वृत्तमा द्वन्द्वको जोखिम टर्छ ।

यसमा कुनै शंका छैन, घटनाको कारकतत्व प्रहरी सतर्कता अभाव हो । घटनाको सुक्ष्म अध्ययन विश्लेषण गर्न नसकेको प्रहरीलाई आफ्नो आयोजनाको औपचारिक सुचना नेपाली काँग्रेसले दियो दिएन एउटा तर्क होला, तर राज्यको सुरक्षा अंगले राष्ट्रिय रुपमैं एउटा जिम्मेवार प्रतिपक्षले घोषित कार्यक्रम गरिरहँदा सुरक्षा सतर्कता नअपनाइनुनै घटनाको कारक हो । प्रहरी उदासिनता घटनाको स्रोत हो । राजनीतिक आग्रहका आधारमा आएका उजुरीहरुको व्यवस्थापन सहमतिका आधारमा गरिनु बुद्धिमत्तापूर्ण हुन्छ । जुन काम स्थानीय प्रहरीले समयमैं गर्न सकेन । साइबर अपराध लगायत विभिन्न मुद्दामा पटक–पटक प्रहरी समक्ष पु¥याइएका भनिएका व्यक्ति असलमलाई प्रतिपक्ष दलको तरुण कार्यकर्ता हुन् भन्ने जान्दाजान्दै कार्यक्रमस्थलमैं पक्रन वा लिन जाने कुरा अर्काे सुरक्षा लापरबाही हो । अब घटनास्थलमा पुगेका अराजक युवाहरुलाई कार्यक्रमस्थल प्रवेश रोक्न नसक्नु सुरक्षा कमजोरी हो । यो घटनाको समाधानमा यत्ति कुराको विश्लेषण नगरि राजनीतिक वा अन्य लाभ उठाउन खोज्नु मुर्खता हो ।

मुलुकको दीर्घकालीन हित र नागरिकको सुन्दर सुदूर भविष्यका लागि शासकीय स्वरुपमा सत्ताको उन्माद भन्दा प्रतिपक्षको शालिन भूमिका जनअपेक्षित हुन्छ । जनअपेक्षा विपरित कुनै कुण्ठा बोकेर राजनीतिक दलले आन्दोलनका दाउपेचको खोजी लोकतन्त्रको सकारात्मक पक्ष मान्नै सकिन्न । यतिबेला बाँके काँग्रेस कुरुप इतिहास लेखिनबाट जोगिनुपर्छ ।

बाँकेमा राजनीतिक दलहरुबीच साँच्चिकै समन्वयात्मक सम्बन्ध छ । राजनीतिक दाउपेचका खेल कमै देखिने बाँके संवेदनशील भएकाले पनि होला स–साना सवालदेखि ठुला मुद्दामा यहाँका दलहरु आपसमा बसेरै अधिकाँश समस्याका समाधान र सम्भावनाका खोजीमा लागेका देखिन्छन् । भलै, ठोस रुपमा यहाँका राजनीतिक दलहरुले दीर्घकालीन प्रभावका निर्णय र योजनामा लामो यात्रा तय गरेनन्, तर नोक्सान पनि गरेका घटना छैनन् । प्रहरी कमजोरीको एउटा सामान्य घटनालाई लोकतान्त्रिक मुल्य मान्यताको ऐतिहासिक जगमा उभिएको राजनीतिक पार्टी नेपाली काँग्रेसले नाफाघाटाको दाउपेच खोज्ने निर्णय किञ्चित पनि हितकारी होइन । भावानात्मक उत्तेजना होइन, घटनाको प्रकृति र वजन अनुसार सभापति कोइरालाको आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउने कुरामा कसैले विमति जनाउन सक्दैन । कसैलाई पनि कुनै शक्तिका आडमा संरक्षण दिइनु मान्य हँुदैन । तर, घटनाको वास्तविकतालाई तोडमोड अर्काे अपराध हो । अतः दोषी नउम्किउन, निर्दाेष नफँसोस्, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बन्द गरिनु जरुरी छ । (दैनिक नेपालगन्ज को सम्पादकीय)

प्रतिक्रिया

प्रतिक्रिया