हैदराबादले आफुलाई आइटी हबको रुपमा स्थापित गर्न सक्छ, दुबईले बिश्व पर्यटनमा आफ्नो एकछत्र राज गर्न सक्छ, मकाउले क्यासिनो खोलेरै आफुलाई बिश्वमाझ चिनाउन सक्छ भने नेपालगन्जले किन सक्दैन ? सकिन्छ भन्ने आधार हामीसँग छन्, बस जिम्मेवारीमा बसेकाले देख्नुप¥यो ।
रामु ओली
नेपालगन्ज चिया गफको लागि प्रसिद्ध छ, यो मेरो मान्यता हो । कार्यालय भन्दा बड्ता भिड कफि सप र चिया पसलमा देख्न सकिन्छ । एक कप चिया अनि लामो गफ… नेपालगन्जकै विशेषता हो । जो बाट म पनि अछुतो छैन । तिमी र उनी पनि अछुतो छैनन् । अनि त्यही चिया गफमा निस्केका युरोपका गफ, दुबई र अमेरिकाका गफ अनि अहिलेको चर्चित ‘गाई’ को गफ, कहिलेकाहीँ आफ्नै शहरको गफ !
यस्तो भैदिएको भए मेरो शहर… त्यो डट डटमा छुपेका कयौं योजनाहरु उपन्यासका लेखकले गरेका कल्पना भन्दा कम लाग्दैन । हलिउडका फिल्ममा देखिने सुकिला मुकिला दृश्य भन्दा भिन्न लाग्दैन । अनि यस्तो भैदिए मेरो शहर भन्दै अन्तिम चियाको घुड्की संगै सकिदै जान्छन् । तर पनि कहिलेकाहीँ त्यो चिया गफले पनि कति सकारात्मक संदेश, कति सान्दर्भिक योजना, समय सापेक्ष बिचारहरु सृजित भैदिंदा रहेछन् ।
म चाहन्छु मेरो शहर, मेरो महानगर, मेरो नेपालगन्ज रात्रीकालिन शहर भैदियोस् । जहाँ उज्याला, चम्किला बैजनी रङ्गले शहरलाई सजाइएको होस् । सडक छेउमा पैदल यात्री , सडगमा चिल्ला गाडी । सहर भन्दा केही किलोमीटरमा ठुला औद्योगिक प्रतिष्ठान । शहर भित्र हरेक गल्ली छुट्टाछुट्टै पकवान, विशेषता तथा सामग्रीका लागि परिचित हुनेछ । नगरभरी सरकारी तवरबाट ठुला बस सेवाहरु संचालित हुनेछ, जसको स्मार्ट कार्डद्वारा भुक्तानी हुनेछ । जसले गर्दा नगर देखि छोटो दुरिको यात्राको लागि सहज हुनेछ भने नगर भित्रको लागि टाङ्गाको आधुनिकीकरण गरिनेछ, जसले आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गर्नेछ । नगर भित्र चल्ने रिक्सा, अटो तथा साना(ठुला मिनि तथा माइक्रोबस बिस्थापित गरिने छ ताकी नेपालगन्ज शहर बिश्वमान चित्रमा एउटा पर्यटन गन्तब्यको रुपमा विकास गर्न सकियोस् ।
के सकिएला त नेपालगन्जलाई यसरी बिश्वमान चित्रमा पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न ? सोध्नेले पक्कै सोध्ने छन्, के छ र नेपालगन्जमा एउटा जुङ्गे महादेवको मन्दिर बाहेक, चाट र रावडी बाहेक । केही आशावादी ब्याक्तित्व हुनुहुन्छ भने भन्नु होला नजिकै बर्दिया छ, बाँके राष्ट्रिय निकुञ्ज छ, मानसरोवरको लागि मुख्य द्वार छ । अलिक टाढा भए पनि रारा र खप्तड छ । तर ती सबै नेपालगन्जले आशा गर्ने ठाउँ मात्रै हुन् । ती ठाउँले बिकास नगर्दा सम्मका लागि मात्रै हुन् । म त नेपालगन्जमै अनेकौं सम्भावना देख्दछु । म घुमेको मुलुक दुबईले जसरी पर्यटनको क्षेत्रमा बिकास ग¥यो । म पुगेको भारतको हैदराबादले जसरी आफुलाई आइटी हबको रुपमा आफुलाई स्थापित ग¥यो । त्यसरी नै नेपालगन्जले आफुलाई पर्यटन र औद्योगिक वा अन्य कुनै एक क्षेत्रमा आफुलाई रुपान्तरण गर्नुपर्ने छ । स्थापित गर्नुपर्ने छ ।
२०३० वर्ष अगाडी सम्म दुबईका शेख मोहम्मद बिन रसिद अल मक्तुमसंग दिमागमा घुम्दै गरेको आधुनिक दुबईको खाका बाहेक केही थिएन । प्राकृति स्रोतको नाममा एक थोपा पानी थिएन, एक थोपा तेल थिएन, नत रुख थिए नत अन्य कुनै खनिज । केही थियो त सपना थियो, दुबईलाई नम्बर एक वा मात्र एकको रुपमा बिकास गर्ने ।
नेपालगन्जसंग त इतिहास छ । भौतिक तथा प्राकृति स्रोत तथा साधन छ । जमिन छ । माटो छ । पानी छ । अर्गानिक पर्यटन शहरको रुपमा बिकास गर्न सक्ने आधार छन् । हामीसंग हाम्रो संस्कृति र कला छन् । पोसाक र चाडपर्व छन् । यिनै कुराहरु बिश्व मानचित्रमा नेपालगन्ज भनेर चिनाउन काफी छ । नेपालगन्जको सारथी बन्ने छन्, खजुरा र कोहलपुर । खजुरा अर्गानिक कृषि शहरले चिनिने छ । कोहलपुर औद्योगिक नगरले चिनेने छ । अनि बागेश्वरी मन्दिरको सन्ध्या आरतीले मेरो शहरलाई विश्व परिदृष्यलाई मन्त्रमुग्ध पार्ने छ । त्यसैले अब नयाँ पनको सोच र भिजन आवश्यक छ नेपालगन्जको लागि । जसले नेपालगन्जलाई नयाँ परिचय दिन सकेको होस् ।
हैदराबादले आफुलाई आइटी हबको रुपमा स्थापित गर्न सक्छ, दुबईले बिश्व पर्यटनमा आफ्नो एकछत्र राज गर्न सक्छ, मकाउले क्यासिनो खोलेरै आफुलाई बिश्वमाझ चिनाउन सक्छ भने नेपालगन्जले किन सक्दैन ? सकिन्छ भन्ने आधार हामीसँग छन्, बस जिम्मेवारीमा बसेकाले देख्नुप¥यो ।
नेपालगन्जले नसक्ने केही छैन तर नेपालगन्जले आफ्नो धरातललाई मिलाउनुपर्ने छ, सम्याउनु पर्ने छ र मात्र जग हाल्न सक्षम हुनेछ । नेपालगन्जका टालटुल पारेका सडक, अव्यवस्थित बजार तथा पार्किङ, छाडा चौपाया, पोलहरुमा झुण्डिएका अव्यवस्थित तारहरु र लगातार गैरहने बत्ती जस्ता साधारण तर जटिल समस्या समाधान गर्न तर्फ ध्यान दिने हो भने नेपालगन्जले आफ्नो पहिचानको लागि गन्तब्य कोर्न सक्ने आधार पक्कै तय गर्ने छ ।
कुरा लगभग एक दशक अगाडीको हो । जतिबेला चितवनको एक संस्थाको स्कुलमा अध्यापन पेशामा थिएँ । आइतबार देखि शुक्रबार नितान्त शिक्षण पेशामा ब्यस्तता रहेपनि शनिबार भने होस्टेल भित्रका कार्यहरू गर्नुपर्ने हुन्थ्यो । एक शनिबार हाम्रो (म र मेरो भागमा परेका बिद्यार्थी) जिम्मामा हावाले भाँचेको रुखलाई जरैदेखि ब्यवस्थापन गर्नु पर्ने थियो । लगभग दुई घन्टाको समयभित्र हामीले जरैदेखि काटेर, ब्यवस्थापन गरेर सकिसकेका थियौ । तर, संस्थाका संरक्षक कोरियन नागरिक हुनुहुन्थ्यो उहाँको निरीक्षण हाम्रो काममा प¥यो तब निकै बजनदार लेक्चर सुन्नु पर्यो । कारण थियो, हामीले रुखको जरा निकाले पछि माटो हालेर त पुरेका थियौं तर जो कोहीले पनि सजिलै अनुमान गर्न सक्थ्यो त्यहाँ पक्कै केही भएको थियो भनेर । जो उहाँको लागि सह्य थिएन । उहाँको मान्यतामा काम सुरु भन्दा अन्त्य राम्रो हुनुपर्छ भन्ने थियो ।
मैले मेरो शहरमा देखेको प्रमुख समस्या पनि यहि नै हो । हामीले काम गर्छौ तर गर्नकै लागि मात्रै गर्छु कि भन्ने आभास हुन्छ । हामीले हरेक कार्यमा उत्कृष्टता दिनसक्नु पर्छ । के मानेमा नेपालगन्ज आउने ? के मानेमा नेपालगन्ज फरक ? के मानेमा नेपालगन्जमा दुई दिन अनि दुई रात बिताउने ? त्यसको उत्तर नेपालगन्जले दिन सक्नुपर्छ । अनि मात्र मैले देखेको नेपालगन्ज, तिमीले देखेको नेपालगन्ज र उसले देखेको नेपालगन्ज बन्ने छ ।
( सम्यक टिमका सदस्य, पत्रकार ओली डिजिटल मिडियामा दख्खल राख्छन् ।)