भोजराज शर्मा
२८ वर्ष जति भयो होला । म सातआठ वर्षको हुँदो हुँ त्यतिबेला । टोलमा तीजको नाचगानको माहोल भएको सम्झन्छु । हाम्रो टोलमा कुनै साधु आएर धेरै ज्ञानका कुरा गरे । छिमेकी घरमा केही कार्यक्रम थियो । गुरुजीले आइमाइका विषयमा थुप्रै गाथा सुनाए । ‘कुरुक्षेत्रमा अर्जुनले कृष्णलाई सोधेको एक प्रश्नको उत्तरमा कृष्ण भन्छन्,‘म स्त्रीको स्मृति, मेधा, क्षमा र धृतिमा छु ।’ राधा कृष्णमा आफ्नो जीवनको सार्थकता देख्छिन् भने मीरा मूर्तिरूप कृष्णका लागि राजस्थानको राजसी ठाँट त्यागेर विरहिणी बन्छिन् । स्त्री पूजिने ठाउँमा देवता पनि प्रसन्न हुन्छन् । सतीदेवी र पार्वतीको त्याग र धैर्यको गाथा तीज हो । पञ्चकन्या अति पूज्य छन् । भगवान् शिवसँग पार्वती अति अभिन्न छिन् यसर्थ शिवको यौटा रूपलाई अर्धनारीश्वर भनिन्छ । नारी सिर्जनशक्ति, आदिशक्ति हुन् । नारीमात्रमा गर्भधारण गर्ने र प्रसव पीडा सहने क्षमता छ । नारी मात्रमा सती जान सक्ने असीम क्षमता छ । हाम्रा शास्त्रहरू स्त्रीको देवत्व गाथाले भरिपूर्ण छन्’ आदिआदि । शास्त्र बुझ्ने बुद्धि थिएन । नारीलाई मैले शास्त्रबाट बुझेको पनि होइन । बुझ्न सकेको पनि छैन । बुझेर पनि बुझ्न बाँकी छ । मैले आजसम्म मेरो घरको एउटै प्राणिको स्त्रीत्व पनि बुझ्न सकेको छैन । मलाई बाल्यकालका ती घटनाले बारम्बार घच्घच्याइरहन्छन् ।
त्यसै रात हाम्रो टोलमा एघार र बार वर्षका दुई बालबच्चा र लोग्नेलाई छोडेर यौटा अन्टी सबै लिएर अर्कै अङ्कलसँग बिहे गरेर भाग्नुभयो रे । भोलि पल्ट टोलभरि यही चर्चा थियो । सबै सम्पत्ति लगेर भागिछ नक्कली, यस्ताले छोराछोरी किन पाउनु ? मैले आमालाई राती सुत्नेबेला सोधेँ,‘आमा अब राजु र नितालाई कसले टिफिन दिन्छ ? कसले स्कूल पुर्याउँछ ? कसले नुहाइदिन्छ ? जोरो आयो भने तिनीहरू कसको काखमा सुत्छन् ? मलाई यो घटना बुझ्नै नसकिने जटिल भयो । मलाई लाग्थ्यो किन अन्टीको बुद्धि हाम्रो कुखुराको जति पनि नभएको होला ?
कुखुराको घटना कारुणिक छ । मेरी आमाले हामीलाई खुवाउने अण्डाका लागि एउटा कुखुराको पोथी पाल्नुभएको थियो । प्रायः हामीसँग भाग्ने त्यो पोथी ओथारो बसेपछि भने छेउमा जाँदा डरलाग्दो आवाजमा कराउँथ्यो । त्यो देखेर म साह्रै डराउँथें । आमाले सम्झाउनुभयो कि हरेक आमालाई आफ्नो बच्चालाई बचाउनु परे त्यस्तै गर्छन् । त्यस पोथीले ६ वटा साह्रै राम्रा बच्चा जन्मायो । हामी औधि रमाउँथ्यौं । कुखुराले ती चल्लालाई चारो ख्वाउन दिनभरजसो प्रयास गथ्र्यो । चारो भेटाएर उसले चल्ला बोलाएपछि ती चल्ला जसरी खुसीले फुर्रफुर्र उफ्रँदै आमातिर दौडन्थे, मलाई त्यो दृष्य अति राम्रो र आनन्ददायी लाग्थ्यो । कस्तो चमत्कार, कति अचम्म । म टोलाएर त्यो दृष्य हेर्थें । लाग्थ्यो — दिमाग नै विकसित नभएको र आफ्नो भविष्यको मृत्यु नै थाह नपाउने त्यो कुखुरालाई कसले यति धेरै माया सिकायो होला ? कुखुरा र त्यसका बच्चाको दिनचर्याको रमाइलो फुर्रफुर्र हेर्नु मेरो विद्यालयबाट फर्केपछिको रमाइलो दैनिकी हुन्थ्यो ।
एक रात म आमासँग सुतेको थिएँ । मध्यरातको सुनसान थियो । आमाले मलाई सुस्तरी उठाउनुभयो । म झस्केर उठें । आमाका आँखामा आँसु थियो । म डराएँ । आमाले कुखुरातिर देखाएर भन्नुभयो,‘बाबु, हेर त दुई घण्टा भयो बिरालोले कुखुरालाई झम्टेछ । यो बाँच्दैन जस्तो छ । धेरै तड्पिन लाग्यो । कसरी यसको बिजोग हेर्नु ? बाबु यसलाई आँसीले काटिदेऊ ।’ मैले त्यस कुखुरालाई हेरें । घाँटी चिथोरेर रगताम्मे बनाएर छुट्टिन बाँकी जस्तो मात्र लाग्थ्यो तर संघर्ष गरेर उभिएकै थियो । ऊ लामोलामो श्वास लिन खोज्थ्यो तर उसको घाँटीबाट श्वास लिने प्रक्रिया साह्रै कष्टकर थियो सायद, स्वास तान्दै छट्पटिन्थ्यो । आमाले त्यसलाई तेल र बेसार लगाइदिनुभएको रहेछ । मलाई साहै्र औडाहा भयो । म त्यसदिन खुब रोएँ । कुखुराले २ दिन सम्म नखाई नपिई बाँच्ने संघर्ष गर्यो । चल्लाहरूलाई आमाको कष्ट के थाहा ? कराइरहन्थे र चारो मागिरहन्थे । घाइते कुखुरा आमा हुनुको ऋण तिर्न कोसिस गरेरै पनि चारा टिप्न खोज्थ्यो । बचेराहरू उसको वरिपरि झुम्मिन्थे । कोही ढाडमा चढ्थे । दुई दिनपछि त्यो कुखुराले प्राण त्यागेर पीडामुक्त भयो । म त्यसदिन पनि राएँ । दुई दिनसम्म स्कूलमा हुँदा पनि सारा चिन्ता र ध्यान घरमै हुन्थ्यो । के भयो होला ? त्यसदिन म र आा दुवै पीडामुक्त भयौं । त्यसपछि हामीले कहिल्यै कुखुरा पालेनौं ।
त्यस रात मैले सुत्ने बेला आमालाई सोधें,‘आमा त्यो अन्टी किन त्यो ड्राइभर अङ्कलसँग भाग्नुभएको ? अन्टीलाई राजु र निताको माया लाग्दैन ? विदेशमा अङ्कललाई यो कुरा थाह कहिले होला ? कसले खबर पुर्याइदेला राजु र निताको ?अब उनीहरूको के हुन्छ ?’ राजु र नितासँगै मलाई ती छवटा चल्लाको पनि सारै माया लाग्थ्यो ।
आमाले भन्नुभयो, ‘अङ्कल विदेशमै बसेर घरको ध्यानै नदिएकोले होला नि ।’ मेरो मन पनि झस्कियो । बुवा जागिरी गर्न जुम्लामा बस्नुहुन्छ । तर मेरो बुवा त पैसा पठाइरहनुहुन्छ । हामी सबैलाई माया पनि गर्नुहुन्छ । भयभीत भावमा मैले आमालाई सोधें,‘आमा हाम्रो बुवा त आउनुहुन्छ नि हैन ?’ आमा हाँस्न थाल्नुभयो । अब घरको प्लास्टर गर्न र झ्यालढोका हाल्ने बेला आउनुहुन्छ दशैभन्दा अगाडि । मलाई बुवाको अनुहार झल्झली आयो । अहिलेसम्म आमाले मेरो कुरा त्यति ध्यान दिनु भएको रहेनछ । मेरो गम्भीरताले उहाँलाई पनि गम्भीर बनायो र भन्नुभयो,‘बाबु, सबै मान्छे राम्रा हुँदैनन् । तर धेरै जसो मान्छे राम्रा हुन्छन् । ती अन्टी पढेकी थिइनन् । संस्कार पनि राम्रो थिएन । तिमी त पढ्दै छौ । बुवा पनि पढेलेखेको हुनुहुन्छ । महिनामा एकचोटि त हामीलाई कति माया गरेर चिठी पठाउनुहुन्छ । स्याउ, ओखर सिमी पठाइरहनुहुन्छ होइन र ?’
त्यसको धेरै पछि मेरो बुवाले २०६१ मा आमाको काखमा लखनउमा प्राण त्याग गर्नुभयो । धेरै भइसक्यो यो घटना भएको । मेरी आमाको संघर्ण र त्यागले मलाई नारीलाई आदर्श रूप चिनाएको हो । मेरी आमा मात्र होइन मलाई आमा चिनाएको त्यस घाइते कुखुराले पनि हो । त्यसपछि पनि मैले धेरै माउले बाजबाट बच्चालाई जोगाउन पखेटाभित्र लुकाएको र बाजले माउलाई नै उठाएर लिएको त्याग र प्रेमको दृष्य देखेको छु । मैले आमा बिरालोले आफ्नै लोग्नेबाट आफ्ना बच्चा बचाउन लुकाउँदै हिँडेको देखेको छु । माछाले समेत आफ्ना भुराहरूलाई चारातिर डोर्याएको, चराले बचेराका लागि चारो ल्याएको देखेको छु । सटिक प्रकृति र त्यसको विराट् चमत्कारमा कुनै प्राणी आमाले आफ्ना बच्चा अनाथ छाडेर भागेको मैले देखेको छैन । नारी अर्थात् आमा । नारी अर्थात् त्यो कुखुरा । नारी अर्थात् बाजले उठाएको त्यो माउ । नारी अर्थात् त्यो साहसी माउ बिरालो ।
आज तीजको समय छ । मानिसको तीजमा धेरै परिवर्तन आएको छ । पहिलेपहिले आफ्ना लालाबाला छोडेर वर्षमा फाट्टफुट्ट भाग्ने अन्टीहरूको संख्या बढ्दै छ । आफ्ना छोराछोरी र श्रीमती चटक्क छोडेर भाग्ने अङ्कलहरूको संख्या थपिँदै छ । तर आज पनि कतिपय आमा बिरालाहरू आफ्ना बच्चा र वंश बचाउन प्रयत्नरत् छन् होला । कति माउहरू चल्लालाई चारो ख्वाइरहेका होलान् । कति माउहरू बाजबाट आफ्ना बच्चा बचाउन ज्यानै त्याग गरिरहेका होलान् । कति भँगेराहरू आफ्नो गुँड बनाउँदै पतिको प्रतिक्षामा हालान् । लाखौं भाले पेंग्विनहरू समुद्र किनारमा आफ्ना पोथीको अन्डा सेक्दै खाना ल्याउन गएका श्रीमतीको अनन्त प्रतिक्षामा बसिरहेका होलान् । कालासेता एउटै रूपका तिनीहरू लाखौंका बीच कसरी आफ्नो घर र आफ्नो लोग्ने पत्ता लगाउँछन् होला ? कुनै तीज किन चाहिन्न होला यी जनावरलाई आफ्नो प्रेम र विश्वास प्रकट गर्न ? कसरी ज्यान दिएरै अन्तिम स्वास फेर्दै स्यालमन माछा समुद्रबाट दशौं किलोमिटरको उल्टो धारामा बहेर आफू जन्मेको ठाउँमा पुगी अन्डा पारेर प्रकृतिको लाज राख्छ ?
के भएको होला साँच्चै मान्छेलाई ? किन हाम्रो विश्वास र आदर्श यति कमजोर भएको होला ? अर्को जन्म हुन्छ भने प्रभुजी कलाई त्यही स्त्री पेंग्विन बनाइदिनू । मलाई एकपटक तीजको आडम्बरमा नाच्न होइन आमा बन्ने र हिउँको समुद्रमा आफ्ना पति र हुनेवाला बचेराका लागि खाना खोज्न अनन्त यात्रा गर्नुको अर्थ खोज्नु छ । र केही महिनापछि समुद्र छेउ रहेका लाखौं घरहरूको भीडमा आफ्नो पति र आफ्ना बच्चाहरू खोज्नु छ । र प्रकृतिको यो अपार रहस्यमा सृष्टिकर्ता र पालनकर्ता आमा हुनुको गौरवबोध गर्नु छ ।