नेपालगन्ज – २१ स्थित कान्जीहाउसबाट सहज व्यवस्थापनका लागि सुर्खेत हुँदै दैलेखका जंगलमा छाड्न लगिएका सयौं गाई महंगो सामाजिक सन्देश प्रवाह गर्दै नेपालगन्ज फर्काइएका छन् । गाईको ज्यानै जानेगरि भएको व्यवस्थापन प्रयासको घटनाले चौपायाप्रति गरिने संवेदनहीनताको पराकाष्ठा उजागर गरेको छ । यतिबेला नेपालगन्ज गाई प्रकरणमा बदनाम छ । नेपालगन्ज उपमहानगरपालिका गाई संरक्षण गर्न नसकेको भन्दै चर्काे आलोचनाको केन्द्रमा छ । देशैभरिका सञ्चारमाध्यममा नेपालगन्जलाई ‘सामुहिक गौ हत्या’ को षड्यन्त्रसँग जोडिएको छ, सम्पादकीय लेखिएका छन्, निन्दा गरिएको छ । ३४ बढी गाईको ज्यान गएको यो घटनामा धेरैलाई आक्रोशको बहाना मिलेको छ र कतिपय भावुक भएका छन् । घटनालाई जसले जसरी लिएपनि नेपाल सरकारले यस घटनालाई गम्भीरतापूर्वक लिएको देखिएको छ । र, स्थानीय तहको जिम्मेवार निकायका दृष्टिले नेपालगन्ज उपमहानगरपालिकाले यो प्रकरणबाट गम्भीर पाठ सिकेको हुनुपर्छ ।
भारतसँगको खुला नाकाका कारण चौपायाको उचित व्यवस्थापन नेपालगन्जका लागि सानो चुनौती थिएन, छैन । छाडा चौपायामध्ये बहुसंख्यक गाई हुनु अर्काे चुनौती हो । गाई नेपालको राष्ट्रिय जनावर मात्रै होइन, बहुसंख्यक हिन्दु रहेको हाम्रो मुलुकमा गाई अतिपुज्यनीय चौपाया हो । यसैले पनि उनीहरु प्रति गरिने व्यवहार हरेक नेपालीको चासोको विषय हुन्छ । त्यसो त यो मुलुक मानिस मात्रको होइन, यहाँका हरेक प्राणी यो धर्ती प्रतिको अधिकारमा उत्तिकै भागीदार रहन्छन्, रहनुपर्छ । अतः मानवीय दृष्टिले उनीहरु प्रति गर्ने व्यवहार वाञ्छनीय हुन्छ । धार्मिक संवेदनाका दृष्टिले गाई प्रतिको व्यवहार अझ उच्चकोटीको गरिने अपेक्षा स्वाभाविक हो । तर, गहन अध्ययन, आवश्यक प्रक्रिया विना गाईको व्यवस्थापनका लागि दैलेखको जंगल रोजाईनै गलत निर्णय हो । अझ, खाना पानीको अभाव र कान्जीहाउसको बासले थिलो परेका गाईलाई जथाभावी ढंगले ट्रकमा लादेर लगिंदा उकालो ओरालो सडक यात्राले थप उनीहरुलाई थला पारेको अनुमान गर्न गा¥हो पर्दैन । तराईमा जन्मिए हुर्किएका चौपायाका लागि पहाडी क्षेत्र आफैमा अव्यवहारिक छनोट हो, अझ भोक प्यासबीच थलिएका गाई मरेपछि बेवारिसे फाल्दै हिंडेर यो अवस्था निम्त्याइएको हो । संवेदनहीनता र गम्भीर लापरवाही रुपमा भएको यो घटनाबाट सम्बद्धले पाठ सिक्नैपर्छ ।
भनिन्छ, नियत सही भयो भने हरेक नियतिबाट असल परिणामको अपेक्षा गर्न सकिन्छ । गाई प्रकरणमा गम्भीर लापरवाही र संवेदनहीनताका कारण भएको दुर्घटनाले देशैभरि संवेदनशीलता सहित बाँकेमा भएको चौपाया व्यवस्थापनको समस्या उजागर भएको छ । सरकारले गठन गरेको छानविन समितिले यस प्रकरणमा ३४ गाईको मृत्युसम्म होइन, जरोसम्म पुगेर यसको कारक तत्व खोजी गरि निदानमा स्पष्ट मार्गनिर्देश गर्नसक्नु पर्छ । ताकी, अकालमा चौपायाको मृत्यु हुन नदिन र छाडा चौपायाका कारण सडक दुर्घटनामा कुनै मानवीय क्षति नहोस् भन्ने कुराको निष्कर्षमा समिति पुग्न सकोस् । दुबै समितिले एउटा कुरा हेक्का राख्नुपर्छ, यसअघि कान्जी हाउसमैं दानापानी नपाएर ५० बढी चौपाया मारिएका छन् । गाई, गोरु, गधा घोडा एकै ठाउँ राखिंदा संक्रमण उस्तै छ । नेपालगन्जका सडकमात्र होइन, बाँकेका सबैजसो स्थानीय तहमा छाडा चौपायाको आतंक छ, किसानका वालीनाली सखाप छन् । अतः समस्याको निदान, रोकथाम र वैज्ञानिक व्यवस्थापनमा सरोकारवालाको गम्भीर ध्यान पुग्नुपर्छ ।
( दैनिक नेपालगन्जको सम्पादकीयबाट )