सुशील खड्का / सुर्खेत – एका विहानै (शुक्रबार) स्थानीयबाट खबर प्राप्त भयो, वीरेन्द्रनगर नगपालिका–१४ कटकुवास्थित भीरमा गाईहरु भीरमा मरेको र घाइते अवस्था छन् । सुत्नुअघि (बिहीबार) राती नेपालगन्जबाट काञ्जी हाउसका गाईहरु दैलेख लैजान ट्रकमा लोड भएको अनलाइनहरुमा समाचार पढेको थिएँ । तर कता कता शंका उत्पन्न भयो तीनै मध्ये कुनै ट्रक दुर्घटनामा त परेन ? मनमा अनेकौं शंका उत्पन्न भयो ।
प्रहरीसंग बुझ्न खोजे ट्रक दुर्घटना भएर गाई मरेका हुन् ? तर कुनै सवारी दुर्घटना नभएको खबर जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्राप्त भयो । जति मैले सुनेको थिएँ, त्यति नै संख्यामा बढी गाई मृत अवस्थामा छन् भन्ने कुनै कल्पना गरिएन् । विहान ८ बजेतिर दर्जनबढीको संख्यामा गाई भीरमा र सडकमा मृत अवस्थामा भएको सामाजिक सञ्जालमा फोटोहरु आउन थाले । म पनि घटनास्थल पुग्न बाध्य भएँ ।
सुर्खेत–दैलेख सडक खण्डको कटकुवा पुग्नुभन्दा झण्डै तीनसय मिटर तलै भीरबाट गाई फालेको अवस्थामा केही पहिलो दृष्य देखियो । हेर्दा मन छोयो, हेर्नेले भन्थे ‘को बैरी होला यस्तो अनकन्टार भिरमा ल्याएर गाई लडाउने त्यसको भलो कहिल्यै नहोस्’ भन्दै श्राप दिइरहेका थिए । भीरमा गाईहरु अर्धअचेत अवस्थामा थिए । कान हल्लाउँदै आँखाबाट आँशु झारिरहेका थिए । त्यो भीरदेखी तलहेर्दा ठूलो अनकन्टार जस्तै देखिने ठाडो भीर छ । साँच्चै यसरी भीरबाट गाई खसाल्नु राम्रो काम हैन् ।
म अझै त्यो भन्दा माथि कटकुवातर्फ लागे सडक किनारामा जता जता भिड छ उतै–उतै गाईहरु खसाइएका थिए । सडक किनारामा समेत गाईहरु अर्धअचेत अवस्थामा थिए । कटकुवा पिकनिकस्थल हो । जहाँ वीरेन्द्रनगर उपत्यकाको गर्मी छल्न कयौं नागरिक दही खान र विशेषगरी तिहारमा भैली खेलेपछि बनभोज खान जाने स्थल हो । त्यहाँ झण्डै एकसय बढी गाईहरु चरिरहेका थिए । केही घाइते अवस्थामा थिए । कटकुवादेखी दैलेख सडक खण्डको सल्लाघारी वनमा समेत गाईलाई भीरबाट खसाइएको रहेछ । एकाध होला भनेको त सडक किनाराका भीरबाट यसरी गाई के नियोजित होला खसाएका होला भन्ने कयौं प्रश्न उब्जियो । यसको जवाफ कसैसंग थिएन् तर गाई भीरमा खसालिएको स्थलमा उपस्थित नागरिकहरुले श्राप दिनसम्मको श्राप दिएर आक्रोशीत थिए । त्यो भीडमा मैले बढी प्रश्न गर्नु उचित थिएन् । राष्ट्रिय जनावर गाई अर्थात हिन्दुहरुको मातालाई कुन नियतले यसरी खसाइयो भन्ने खोज्नुभन्दा ल्याउनेको पहिचान गरेर कडा कारवाहीको माग राख्दै स्थानीय आक्रोशित भइरहेका थिए ।
नजिकै रहेका प्रहरीसंग सामान्य जानकारी लिए । उनीहरुले सडक किनारा र भीरमा खसाइएका गाईहरुको संख्या एकिन गर्दै थिए । एककान दुईकाम मैदान हुँदै वीरेन्द्रनगरमा यो घटनाले हलचल मच्चायो । वीरेन्द्रनगर नगरपालिकाबाट पशुरोग विशेषज्ञ घटनास्थल पुग्दै थिए । उनीहरुले घाइते गाईहरुको उपचार गर्नमा तल्लीन थिए । प्रहरीसंग बुझ्दै जाँदा बिहीबार राती अनलाइनहरुमा पढेको समाचार पुष्टि भयो । नेपालगन्जबाट दैलेख लैजान लागेको गाईहरुलाई वीरेन्द्रनगरको कटकुवामा छाडिएछ ।
प्रहरीले झण्डै दुई दर्जन बढी गाईहरु भीर र सडक किनारामा मरेको देखेपछि रात्रीकालिन रुपमा आउने सवारी साधनमाथि निगरानी बढायो । प्रहरीले गरेको अनुमान अन्ततः सही सावित भयो । सुब्बाकुना चेक पोष्ट (वीरेन्द्रनगर प्रवेशद्वारा) मा मध्य राती १२ बजेतिर आठ ट्रकले गाई ल्याएको इन्ट्री गरेका रहेछन् । प्रहरीले ति ट्रकहरु पुनः इन्ट्री भए नभएको पुष्टि ग¥यो । तर ति ट्रकहरु फर्किएको थाहा पाएपछि बर्दियाको बबईबाट प्रहरीले पाँच ट्रकलाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिएका ट्रकहरु जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको छ । त्यसरी भीरबाट गाईहरु खसाईको वा छाडिएको कारण बारे प्रहरी नै बेखवर छ । मिडियालाई प्रहरीले यत्ति भनेको छ, ‘यो गम्भीर लापरवाही हो, यसबारे हामी अनुसन्धानमा गरिरहेका छौं ।’
दैलेख लैजाने भनेका गाईहरु किन सुर्खेत ल्याएर भीरमा छाडेर यसरी क्रुर कार्य गरियो ? यसो त दैलेखको धार्मिक स्थल श्रीस्थान र नाविस्थानमा समेत गाई राख्नका लागि प्रयाप्त काञ्जी हाउस निर्माण छैन् न त यतिको ठूलो संख्यामा गाईहरुको चरिचरणका लागि जमिन नै छ । खोला किनारामा व्यक्तिगत जमिन मात्रै छ । अतः नेपालगन्जबाट गाई किन दैलेख लगिंदै थियो भन्ने कुराको रहस्य पत्ता लगाएरमात्र दोषीको पहिचान र कारबाही सम्भव हुन्छ ।
यसैबीच, हिन्दु पुज्य जनावर गाईको सामुहिक हत्या गरिएको भन्दै सुर्खेत वीरेन्द्रगरमा दोषीको पहिचान र काबाहीको माग गर्दै आन्दोलन घोषणा गरिएको छ ।