सतिश निरौला
चाहे घाँसका भारि बोकेर ल्याउन होस् वा तरकारी बोकेर डुलाउदै बेच्न वा अफिस, स्कुल जान या जङ्गल गएर दाउरा ल्याउन नै किन नहोस् साइकल सजिलो र छरितो साधन हो यसैले यसको उपयोगिता र महत्व औधी छ । ५० को दशकसम्म पनि साइकल बिहेमा समेत दाइजो दिने चलन थियो, समयक्रम सङ्गै बाटाघाटा बने मानिसको आयस्तिथिमा सुधार आयो अनि साइकल को प्रयोग कम हुँदै गयो ।
महेन्द्र बहुमुखी क्याम्पसको साइकल स्टेन्डमा कुनै समय टन्न सयौं साइकलका लाम देखिन्थे, खजुराबाट अफिस टाइम ९ बजे देखि १० बजेसम्म खजुरा–नेपालगन्जमा सयौंका संख्यामा गुड्ने साइकल आफ्नै रफ्तार र गति अनि दिशामा गुडिरहन्थे, अगाडि वा पछाडीबाट आउने सवारी साधनले नै ती साइकललाई बाटो छोड्नु पथ्र्यो, उनीहरु आफ्नै लाइनमा हुइकिन्थे ।
अहिले प्लस टु पढ्ने बिद्यार्थीहरु धेरैजसो मोटरसाइकल वा स्कुटी मै बढी देखिन्छन् । एसइइ पछिको बिद्यार्थीको पहिलो डिमान्डनै सम्भवत मोटरसाइकल वा स्कुटी नै हुन्छ । अहिले खजुरा–नेपालगन्जको सडकमा बिद्यार्थी वा कर्मचारी बिरैलै भेटिन्छन् साइकलमा । मानपुरको चाचाजीको मा १ बिडा पान चपाएर पानको स्वादमा गफिदै नेपालगन्ज पुगेको पत्तै हुँदैन थियो उनीहरुलाई । साइकल भरी दुधका ट्यामी र जर्किन झुन्ड्याएर खजुरा हुँदै नेपालगन्ज दुध बेच्न जानेपनि थुप्रै देखिन्थे अहिले प्रायः ती सबै दुग्ध ब्यापारी मोटरसाइकल वा इ–रिक्साको प्रयोग गरेको देखिन्छ ।
एकाबिहानै भारतीय बजार बाट कुन्टलका कुन्टल आलु–प्याज साइकलमा लादेर गाउँ–गाउँ पुग्ने तरकारी ब्यपारीहरुको दिनचर्या भने फेरिएको छैन । उनीहरु अहिले पनि एउटैले ३÷४ क्वीन्टलसम्म लादेर गाउँ पुग्ने गरेका छन् । साना–साना झौवामा तरकारी र फलफूल डुलाउदै गाउँ शहर घुमी ब्यापार गर्नेहरू दैनिक ४०÷५० किलोमिटरसम्म सामानका बोझा लादेर कुद्नु उनीहरुको दैनिकी नै हो, यस्ता साइकलेहरुको संख्या नेपालगन्जमा उल्लेख्य छ ।
किन साइकल लेन ?
यसरी दिनहुँ आफ्नो जीविकोपार्जनका लागि कुद्ने साइकले हुन् वा बजार गर्न आउनेहरु वा अफिस, कलकारखाना र मजदुरीका लागि आउने नै वा साइकलमा स्कुल, क्याम्पस धाउनेहरु साइकलमा यात्रा गर्ने सबैका लागि सडकमा साइकल लेन बन्नु जरुरी छ । साइकल लेन बनेको खण्डमा सवारी दुर्घटनामा कमि आउँछ, साइकलमा हिड्नेले आफ्नो सवारी साधन हिडाउन छुट्टै सडक पाउँदा गर्व अनुभूति गर्न सक्छ भने मुल सडकमा हुने सवारी चाप समेत कमि हुनजान्छ र यसले ट्राफिक ब्यबस्थापनमा सजिलो बनाउँछ । अहिले नेपालमा सडकमा साइकल लेनको एड्भोकेसी बढ्दै गएको छ, हाम्रो नेपालगन्जसँग नजिक रहेको छिमेकी सहर सुर्खेत अहिले साइकल मैत्री शहर बन्ने दिशातर्फ उन्मुख देखिन्छ त्यहाँ प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा नै त्यसलाई प्राथमिकतामा राखेर अगाडि बढाएको छ ।
नेपालगन्ज उपमहानगरका मेयर डाक्टर धवल शमशेर राणा पनि साइकल लेनका बिषयमा सकारात्मक देखिनुभएको छ, साइकल सम्बन्धि क्रियाकलाप तथा कार्यक्रममा सहभागिता जनाउने क्रममा आएका उहाँका सकारात्मक प्रतिक्रिया र आजभोलि उहाँको दैनिकी नै साइकल बाट सुरु हँुदै गर्दा छिट्टै नै नेपालगन्जलाई साइकल मैत्री सहरका रूपमा देख्न सकिने बिश्वास जागेर आएको छ ।
झट्ट सुन्दा साइकल लेन सामान्य लाग्न सक्छ, तर एउटा सहरलाई सुन्दर, ब्यबस्थित र रमणीय शहर अनि सुरक्षित सहर बनाउनका लागि सडकमा साइकल लेन आवस्यक छ । नेपालगन्जका मुख्य चोक र मानिसहरू रोकिने ठाउँ त्रिभुवन चोक, धम्बोजी चोक, पुष्पलाल चोक, बिपि चोक, गणेशमान चोक, न्युरोड, भेरी हस्पिटल हुन् यी मुख्य स्थानहरुमा साइकलका लागि छुट्टै पार्किङ स्थलको समेत आवश्यकता छ, यसमा पनि ध्यान पुग्न जरुरी छ ।