भोजराज शर्मा नादिर
पोहोर साल असारको महिनामा यौटा अवसर जुट्यो । भारतीय सिने स्टार जुही चावलालाई नेपालगन्जमा भेट्ने । उनी पति जय मेहेता, आफ्ना बुवा र परिवारका अन्य केही सदस्यहरूसहित मानसरोवरबाट नेपालगन्ज भएर काठमाडौं हुँदै मुम्बई फर्किंदै रहिछन् । उनीहरू टिकटिङ र फ्लाईटको डिलेले बाध्यतापूर्ण अलमलमा रहेछन् । भारतीय राजदूतावासका मानसरोवर प्रतिनिधिका रूपमा नेपालगन्जमा कार्यरत् मेरा मित्र सुशीलजीले उनीहरूलाई सहयोग गर्नुपर्ने भएछ । सुशीलजीले मलाई सम्झनुभएछ,‘भोजराजजी, जुही र जय मेहेताजस्ता हस्ती हाम्रो नेपालगन्जको एयरपोर्टमा यसरी अलपत्रजस्तै हुनु लाजमर्दो हो । एम्बेसीलाई उनले जानकारी नगराई अनौपचारिक र नितान्त धार्मिक यात्रा गर्न चाहेकी रहिछन् । तर पनि हाम्रो दायित्व हो उनको आतिथ्य गर्नु । प्लिज तपाईं खादा र फूल लिएर तुरन्त एयरपोर्ट आउनुस् ।’
म संयोगले पत्नीसँग बजारमै थिएँ । खादा र फूलको बुकेट लिई विशिष्ट कक्षमा पाहुनाझैं उनको हार्दिक सत्कार ग¥यौं । उनीहरू हाम्रो अप्रत्यासित आतिथ्यले एकछिन अलि धकाए पनि एकैछिनमा खुसी देखिए । दुई घण्टा रेगुलर फ्लाइट कुर्नुभन्दा उनीहरू काठमाडौंका लागि हेलिकप्टर चार्टर गर्ने निर्णयमा पुगे । उनका लागि हेलिकप्टर चार्टर गर्ने कार्यमा सुशीलजी लागिरहँदा जुही चावलाले हामीसँग एकैछिन यस शहरको बारेमा जानकारी लिन चाहिन् । जाँदा र आउँदा दुवैपटक ट्रान्जिटको रूपमा नेपालगन्ज पर्नाले उनलाई यो शहर केही विशेष लागेछ । आफूसँगै बसाएर ड्राई नटस् ख्वाउँदै गरेकी मेरी पत्नीसँग उनले नेपालगन्जबारे सोध्दै गरेको देख्दा म अलि आत्तिएँ । श्रीमतीजीले नेपालगन्जमा हेर्न लायक केही छैन भनिदेलिन् कि भन्ने डरले उनलाई ओभरटेक गरेर भनें,‘यहाँ पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी माताको मन्दिर छ । बागेश्वरी नेपाल र भारतका हिन्दू धर्मावलम्बी तथा शक्तिपीठका यात्रीहरूमा अति प्रसिद्ध छ ।’ त्यति भन्दै गर्दा एकातिर मलाई भित्रभित्रै आफ्नो सहरप्रति गौरवबोध भइरहेको थियो भने अर्कोतिर खिन्नता पनि । खिन्नता यस अर्थमा कि यसबाहेक नेपालगन्जमा के छ भन्ने ? यदि भारतको आईपीएल क्रिकेट टीमको मालिकको हैसियत राख्ने अरबपति मेहेता र जुहीको परिवारले यस डेढ घण्टाको ब्रेकमा बागेश्वरी मन्दिरको दर्शन गर्ने चाहना राख्यो वा नेपालगन्ज सहरको परिक्रमा गर्ने इच्छा ग¥यो भने म के गरूँला? घरबारी टोलको बाटो र मन्दिर गेट अगाडिको साँघुरो दृष्य सम्झें । पूर्वी गेट र त्यहाँको संरचनालाईं सम्झें । शालिकविहीन धम्बोझी र त्रिभुवन चोक सम्झें । पुनर्निर्माणको प्रक्रियामा अस्तव्यस्त भएर फुटिरहेको सदरलाईन सम्झें । मेरो शैतान मनमा यो समम आउन भ्यायो कि उनले बागेश्वरी परिसरमा मेरी श्रीमतीसँग ‘सू’ लाग्यो भन्ने संकेत गरिन् भने हामी के गरौंला ? यसैबीच उनको परिवारले खासखुस ग¥यो । के सोचे कुन्नि ? नेपालगन्ज घुम्ने वा बागेश्वरी मन्दिर दर्शन गर्ने कुरो उठेन । मलाई आरामको अनुभूति भयो ।
त्यस साँझ मैले आफ्नो खिन्नता पत्नीसँग साझा गरें । उनले पनि समर्थन जनाइन् । वास्तवमा हामीले गौरव गर्न लायक भएर पनि व्यवस्थित हुन सकेको के छ नेपालगन्जमा ?
आज एक वर्षपछि संयोगले बागेश्वरीको प्रसङ्ग उठेर नेपालगन्ज तातेको छ । फेसबुकको तातोले रापिएको यो माहोलमा मलाई जुही चावलालाई बागेश्वरी मन्दिरमा लग्न मन लागेर खुसी भएको र उनीहरू जान नसक्दा लाज बच्यो भनेर झन् खुसी भएको त्यो समय याद आउँदैछ । बागेश्वरी मन्दिरमा सर्टर बनाउनुपर्छ र बनाउनु पर्दैन भन्ने बहसले नेपालगन्ज धु्रवविहीन भएको अवस्थामा यहाँ जुन नकारात्मक सन्देश प्रसारित हुँदैछ, त्यसले साझा बहस गरेर नेपालगन्जको हकमा स्वस्थकर निस्कर्ष निकाल्ने भन्दा पनि भीडको मनोविज्ञान हावी भएर गएको छ । यहाँ देखिएको मन्त्री भर्सेज मेयर, गुठी भर्सेज जनताजस्ता तुकहीन नकारात्मक सन्दर्भहरूको विषय चुलिएर नेपालगन्ज र बागेश्वरी मन्दिरको सर्वाङ्गीण विकासको मुद्दा ओझेलमा परेको भान हुँदैछ ।
ऐतिहासिक सहर नेपालगन्जको एतिहासिक विरासत बागेश्वरी मन्दिर हाम्रो ठूलो सम्पत्ति हो । यसको धार्मिक मात्र होइन सांस्कृतिक र पर्यटकीय महत्व छ । अब यदि यो विषयले चर्चा पाइनै सक्यो र नगर ध्रुवीकरणको अवस्थामा पुगिसक्यो भने यो विषयले विषद् रुप लिनुपर्छ । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको मात्र होइन, न त नगरपालिकाको मात्र नै हो । नगर पालिका जनताको करको व्यवस्थापन गर्नका निम्ति जनताले ५ वर्षका निम्ति पठाएको एक एकाई हो । गुठी व्यवस्थापन समिति राजगुठी अन्तर्गत मन्दिरको जायजेथा, आयस्रोत र व्यवस्थापनको जिम्मा दिइएको समुदाय र राज्यप्रति उत्तरदायी एक समिति हो । जनस्तरमा आवाज उठिसकेपछि समुदाय, नागरिक समाज, यहाँका बौद्धिक, प्राज्ञ, विज्ञ र अपनत्व भएका सबैलाई समेटेर उनीहरूको धारणा र सल्लाहसुझाव अनुरूप अगाडि बढ्नु नगरप्रमुख र गुठी व्यवस्थापन समितिको दायित्व हुन्छ । मेरो गोरुको बाह्रै टक्का गरेर कसैले पनि अहं देखाउने र बेतुकका तर्कहरू गर्नु कुनै बौद्धिकता होइन ।
सामाजिक सन्जालमा छुपस्ट यस विषयमा यहाँका हरेक तहका व्यक्तिहरूका विचारलाई केलाउने हो भने बागेश्वरीको सर्टर बनाउने नबनाउने विषय गौण भएर यसको दीर्घकालीन भव्य योजनामा सबैको एकमत भइसकेको छ । जसले जे भनून् आजको स्थितिभन्दा हाम्रो नगर तव मात्र विशेष देखिनेछ जब यहाँका बासिन्दा जनकपुरिया जस्ता हुनेछन् । वर्षौंदेखि जसरी जनकपुरको जानकी मन्दिर त्यहाँको पहिचान र पर्याय बनेको छ । त्यहाँको हर नागरिकका लागि जानकी मन्दिर धार्मिक र सांस्कृतिक विरासत बनेको छ । बागेश्वरी मन्दिरको गुठी र नगरपालिकाले सर्वपक्षीय छलफलबाट अहिलेको बागेश्वरीलाई वृहत्तर बागेश्वरीको अवधारणामा लैजानुको विकल्प छैन । वृहत् बागेश्वरी परिसर र समृद्ध बागेश्वरी भए कुनै अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई शानले बागेश्वरी लैजान कसैले संकोच अनुभव गर्नुपर्ने छैन ।