सतिश निरौला साइकल सजिलो र छरितो साधन जुन साधारण देखि उच्च बर्गिय सबै का लागि महत्त्वपूर्ण छ । सम्भवत ५० को दशक सम्म लाई नियाल्ने हो भने साइकल सबै को पहुँचमा थिएन, साधारण जिवनयापन गर्नेहरूको लागी साइकल ठुलै सपना हुन्थ्यो, अहिले समय, परिस्थिति फेरियो अनि साइकल निम्न तह र निमुखाको साधन का रूपमा स्थापित भयो ।
सालको पात टिपेर राप्तिका जङ्गल बाट त्रिभुवन चोक आउने युवती हुन् वा क्यान र जर्किनमा टम्म गाउँबाट पोषिलो दूध शहर मा बेच्न आउने किसान अनि दुई भारी दाउरा शहर पुर्याएर दैनिक जिबिका चलाउने गाउँले वा स्वास्थ का दृष्टिकोण ३०÷४० हजार देखि २ लाख सम्मका माउन्टेन बाइक (गेयरवाला साइकल) चलाउने शहरीया बर्ग अथवा विभिन्न कलकारखाना र स्वतन्त्र ज्याला मजदुरी गर्नेहरु बिहान सहरमा प्रशस्त भेटिन्छन् साइकल सँगै ।
साधारण साइकलमा नियमित दैनिक जीवनयापनका गतिविधिसँग जोडिएर साइकलमा दिनहुँ पाइडल मार्नेको संख्या ठुलो छ नेपालगन्ज र यसको आसपास किनकी साइकल सजिलो, सस्तो र सर्वसुलभ सवारी साधन हो, तराईका लागि त साइकल बरदान नै मान्नु पर्छ । पछिल्लो २ बर्ष यताको कुरा गर्ने हो भने नेपालगन्जमा बिहान–बिहान समुहमा साइक्लिङ्ग गर्नेहरूको संख्या थपिदै गएको छ । सुरुवाती दिन मा मुस्किलले ५÷७ जना बेला–बेलामा साइकलमा निस्कदा टाउकोमा लगाएको हेल्मेट अनि साइकलका बिषयमा चासोपूर्वक धेरैले हेर्थे । अहिले नेपालगन्जलाई साइकल मैत्री शहर, सो का लागि साइकल लेन अनि साइक्लिङ्गका विविध गतिविधिमा सक्रिय छ नेपालगन्ज साइक्लिङ्ग क्लब ।
नेपालगन्जमा बिदेशी ब्रान्डका स्तरीय साइकलहरु अहिले सहजै खरिद गर्न सक्ने अवस्था छ, क्लबमा आबद्ध सदस्यहरु १५ हजार देखि २ लाख सम्मका साइकलमा हुइकिन्छन् दिनहुँ, धम्बोजी चोक बिहानको समयको राइडर्स प्वाइन्टका रूपमा नयाँ परिचय बनाउँदैछ । नेपालगन्जका विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तित्वहरुको आजभोलिको दैनिकी साइकलबाट शुरु हुने गरेको छ । नेपालगन्ज उपमहानगरका मेयर डाक्टर धवल शमसेर राणा हुन् वा अर्थोपेडिक डाक्टर प्रकाश थापा अनि संचारकर्मी प्रेम केसी, कृष्ण खनाल, झलक गैरे देखि स्टेशनरी व्यवसायी बुद्धि अधिकारी, सुटिङ्गका पूर्व खेलाडी रमेश मल्ल अधिकारकर्मी सुरेन्द्र कार्की अनि साइकल ब्यबसायी गगन थापा वा कोहलपुरका स्वास्थकर्मी उज्जवल घर्ती अनि देबेन्द्र कुँवर लगायत अहिले नियमित साइक्लिङ्गमा सकृय छन् ।
नेपालगन्जमा साइकललाई खेलका रूपमा चिनाउने र स्थापित गर्ने काम नेपालगन्ज साइक्लिङ्ग क्लबले गरेको छ । मेयर कप साइकल दौड प्रतियोगिता नियमित हुँदै आएको छ भने विभिन्न अवसरमा साइकल र्यालीको आयोजना होस् वा पश्चिम नेपालमा नै पहिलोपटक गरिएको १०० किमि बढीको ‘सद्भाव डटकम टुर दि ठाकुरद्वार’ वा भर्खर गरिएको सामाजिक सद्भावको नारा सहितको ‘नेपालगन्ज कोरा–२०१९’ यस्ता कार्यक्रमले नेपालगन्जमा साइकल सस्कृतिको प्रवद्र्धनमा केही न केही योगदान पुर्याएकै छ ।