हरिप्रसाद सुवेदी
भूमिकाः
हाम्रो समाजमा बच्चा जन्मेदेखि दुध चुसाउन प्लाष्टिकको बोटल प्रयोग गरिएको हामीले देखेका छौं । त्यतिमात्र होइन अलि ठुलो हुँदा उसका खोलौना पनि प्लाष्टिकका नै ल्याइदिन्छौं । त्यही बच्चा विद्यालय जान थालेपछि प्लाष्टिककै टिफिन बक्समा खाजा पठाउछौं । घरमा उ नुहाउने बाल्टी र मग पनि प्लाष्टिककै प्रयोग गर्छौ । क्रमिकरूपमा उ बढ्दै जाँदा युवा, प्रौढ हुँदै बृद्धावस्थामा पुग्छ र हरेक दिन उसले प्लाष्टिकका झोला तथा सामानहरुको प्रयोग गर्छ । अहिले त यस्तो अभ्यास चलिरहेको छ कि उ मर्दा उसको कात्रो पनि प्लाष्टिकको झोलामा ल्याइन्छ अनि घाटमा उसका मलामीलाई मिठाइ बाँड्दा पनि प्लाष्टिककै झोला वा डब्बामा बाडिन्छ ।
आजभन्दा ५० बर्ष पहिले प्लाष्टिकको प्रयोग अहिलेको मात्रामा भएको थिएन र पनि जीवन चलिरहेको थियो । आज हाम्रो समाजमा रहेका व्यक्ति, घर, कार्यालय र व्यवसायीक प्रतिष्ठानहरुले दैनिकरूपमा प्लाष्टिकको प्रयोग गरिरहेका छन् र दिन दिनै मात्रा बढाउँदै लगेका छन् । प्लाष्टिकको प्रयोगले हाम्रो दैनिक जीवन सञ्चालन सहज भएको महशुस गरेका छौंं तर यसले गरेको असर बारे हामी अनभिज्ञ छौं ।
यही प्लाष्टिकको बढ्दो प्रयोगका कारण पछिल्लो समयमा मानव स्वास्थ्य, पर्यावरण, उत्पादनमा असर गर्नुको साथै हाम्रो बासस्थान नै प्रदुषित भएको छ । प्लाष्टिकजन्य फोहोर बढेर हामी, हाम्रा सन्तती, हाम्रो पर्यावरण, पशुपंक्षी लगायतको जीवनचक्रमा गम्भिर असर परेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन । यसले बच्चा जन्मने वित्तीकै क्यान्सरजस्तो रोगबाट प्रभावित भएको पनि पाइएको छ ।
बहुक्षेत्रमा असर पार्ने प्लाष्टिक के हो? प्लाष्टिकजन्य फोहोर के हो? यसले के कति असर गरेको छ? यसको प्रयोगमा कमि ल्याउन र उन्मुलन गर्न किन आवश्यक छ? र प्लाष्टिकजन्य फोहोर निष्कासन नगर्न सरोकारवालाहरुले के–के गर्न जरुरी छ भन्नेबारे चर्चा गर्न यो लेखको मद्दत लिएको छु । विज्ञ पाठकहरुबाट अध्ययनपश्चात रचनात्मक सुझाव दिनु हुने कुरामा विश्वस्त हुँदै प्लाष्टिक के हो भन्नेबाट शुरु गर्न चाहन्छु ।
प्लाष्टिक के हो ?
कार्बनयुक्त मनोमरहरुको पोलिमराइजेसन प्रकृयाद्वारा निर्माण गरिएको कृत्रिम पदार्थ नै प्लाष्टिक हो ।
सामान्यतया प्लाष्टिक दुई प्रकारका हुन्छन् ः
१. थर्मो प्लाष्टिकः बजारमा उपलब्ध नरम र एकपटक प्रयोग गरेपश्चात पुनः प्रयोग गर्न सकिने प्लाष्टिकहरु यसअन्तरगत पर्दछन् । पिभीसी, पोलिथिन, पोलियष्टर नामले चिनिने यी बस्तुहरुलाई पगालेर इच्छ्याइएको अर्को बस्तु बनाउन सकिन्छ ।
२. थर्मो सेटिङः बजारमा उपलब्ध कडा खालका र ताप दिंदा पनि पग्लिदैन र इच्छ्याइएको अर्को बस्तु पनि बनाउन सकिंदैन । बिजुलीको स्वीच, कुकरको हत्था, थाल, प्लेट, सवारी साधनका व्याट्रीहरु यस अन्तरगत पर्दछन् ।
प्लाष्टिकजन्य फोहोर भनेको के हो?
एकपटक प्रयोग गरेर जमिन वा पानीमा फालिएका थर्मो प्लाष्टिक र थर्मो सेटिङ दुबै प्रकारका प्लाष्टिकहरु नै प्लाष्टिकजन्य फोहोर हो । यसरी फालिएका प्लाष्टिक टुक्रा टुक्रा हुँदै यत्रतत्र छरिएर प्लाष्टिक प्रदुषण बढेको छ । वर्तमानमा घर, व्यवसायीक प्रतिष्ठानहरु, खेतबारी, नदीनाला, खाली जमिन र जंगलमा समेत प्लाष्टिकजन्य फोहोर एवम् प्लाष्टिक प्रदुषण देखिने गरेको छ । कहिल्यै नसड्ने प्लाष्टिक प्रयोग गरेर जथाभावी फालेका कारण गाउँ, शहर, नदिनाला, खेतबारीमा थुप्रिएको छ र समग्र पारिस्थितिक प्रणालीमा असर गरिरहेको छ ।
प्लाष्टिकजन्य फोहोरबारेको तथ्याङ्कीय जानकारीः
– विश्वमा हरेक बर्ष करिब ५० हजार करोड प्लाष्टिक खरिदविक्री भैरहेको छ ।
– पछिल्लो २५ बर्षमा प्लाष्टिक झोलाको प्रयोग ५ खरब (५०० विलियन) पुगेको छ ।
– हरेक मिनेट करिब १० लाख प्लाष्टिक झोला विक्री भै रहेकाछन् ।
– विश्वमा हरेक बर्ष हामीले फालेका ८० लाख टन प्लाष्टिक समुद्रमा गैरहेको छ । यही अभ्यास कायम रहेमा सन् २०५० सम्ममा समुद्रमा माछाभन्दा धेरै प्लाष्टिक हुनेछ ।
– बर्षेनि १० हजारभन्दा बढी नदी र सामुन्द्रमा रहेका जीव एवम् पशुपंक्षीहरु प्लाष्टिक खाएर वा प्लाष्टिकले बेरिएर मरिरहेका छन् ।
– काठमाडौंमा मात्र दैनिक ४७ लाख देखि ४८ लाख प्लाष्टिकका झोलाहरु प्रयोग भै रहेको पाइएको छ ।
– नेपालभरि करिब २ हजार टन र काठमाडौंमा मात्र ५सय टन प्लाष्टिक थुप्रिएको अनुमान छ ।
– नेपालमा ८० प्रतिसत बढी प्लाष्टिक ल्याण्डफिलसाइटमा जम्मा भएको छ तर त्यसको पुनप्रयोग नगण्य छ ।
– भारतको राजधानी दिल्लीको ८० प्रतिसत धाराहरुमा माइक्रोप्लाष्टिक पाइएको छ ।
– भारतका १२ वटा पहाडी राज्यका नगरपालिकाहरुमा दैनिक २२,३७२ मेट्रिक टन प्लाष्टिकजन्य फोहोर उत्पादन भै रहेको छ र त्यहाँबाट बग्ने नदीहरुले यी फोहोर समुन्द्रमा लगिरहेका छन् ।
– हालै नेपालगञ्जको त्रिभुवनचोक देखि भेरी प्राविधिक शिक्षालय चोकसम्म ३५१ घरमा गरिएको अध्ययनले प्रतिघरले दैनिक १७ वटा प्लाष्टिकका झोला उत्सर्जन गर्ने गरेको पाइएको छ भने समग्रमा दैनिक २ हजार ४ सय २८ किलो ग्राम प्लाष्टिकका झोलाहरु एकपटक प्रयोग गरेर फाल्ने गरेको पाइएको छ ।
– सोही अध्ययनले नेपालगञ्ज नगरपालिकामा दैनिकरुपमा ३ हजार ४ सय ५२ किलोग्राम प्लाष्टिक उत्सर्जन भै रहेको देखाएको छ ।
– अहिले बजारमा हरेक ५ वटा मध्ये ४ वटा थैली प्लाष्टिकका छन् ।
– विविसीको अध्ययन अनुसार २०० वटा प्लाष्टिकका झोलामध्ये १ वटा मात्र रिसाइकल हुने स्थानमा पुग्ने गरेको छ ।
– रबर १० सालमा सड्छ, व्याट्री १० सालमा सड्छ तर प्लाष्टिक कहिल्यै सड्दैन ।
प्लाष्टिकजन्य फोहोरको असरः
हामीले तत्कालको सजिलोलाई मात्र ध्यान दिएका छौं तर यसले मानव स्वास्थ्य, वातावरण, अर्थतन्त्रमा नकारात्मक असर परेको छ । माथिको तथ्याङ्कबाट प्लाष्टिकले समग्र पारिस्थितिक प्रणालीमा असर गरेको स्पष्ट हुन्छ । नेपालमा यसले गरेको असरहरु यसप्रकार छन्ः
– गाउँ, शहर तथा पर्यटन क्षेत्रमा प्रदुषण बृद्धि ।
– गाउँ, शहर तथा पर्यटन क्षेत्रको प्राकृतिक सौन्दैर्य बिनास ।
– बाढी आउने, लामोसमयसम्म डुबान हुनेजस्ता विपद्का घटनामा बृद्धि ।
– चूलो बाल्दा वा संकलित प्लाष्टिक जलाउने अभ्यासले श्वासप्रश्वास, क्यान्सर लगायतका रोगमा बृद्धि ।
– पानीबाट वाफ बन्ने नियमित प्रक्रियामा अवरोध र न्यून वा अधिक मनसुनी बर्षा ।
– मानव र पशुपंक्षीहरुको मृत्युदर बृद्धि ।
– उत्पादनमा ह«ास ।
प्लाष्टिकजन्य फोहोर उन्मुलनको आवश्यकताः
प्लाष्टिकले गरिरहेको असरबारे अब गम्भिर भएर सोच्नु पर्ने भएको छ । हामीलाई यति धेरै मात्रामा प्लाष्टिक किन
चाहियो ? अब गम्भिर भएर सोंचौ र हाम्रो व्यवहार परिवर्तन गरौं । प्लाष्टिकको प्रयोग सतप्रतिसत रोक्न अहिले असम्भवजस्तै छ तर प्रयोगमा कमी ल्याउन पक्कै सक्छौं । हाम्रा स–साना दैनिक व्यवहार परिवर्तन गर्न सकेमात्र प्लाष्टिकको बढ्दो प्रदुषण रोक्न सकिन्छ ।
वर्तमानमा हामीले प्लाष्टिकजन्य फोहोरको उन्मुुलन गरेनौ भने भावी सन्ततिलाई झन ठूलो असर पर्ने निश्चित छ । तसर्थ पारिस्थितिक प्रणालीमा नै असर गरिरहेको प्लाष्टिकको प्रयोगमा कमी ल्याउनु र प्लाष्टिकजन्य फोहोर उन्मुलन गर्नु नितान्त आवश्यक छ ।
प्लाष्टिकजन्य फोहोर उन्मुलन गर्न सरोकारवालाहरुको भूमिकाः
प्लाष्टिकजन्य फोहोरले व्यक्ति, परिवार, कार्यालय लगायत सबैलाई प्रभाव पारिरहेको हुँदा स्थानीय सरकार वा दुईचारवटा गैरसरकारी संस्था वा व्यक्तिको सक्रियताले यसको प्रयोगमा कमि ल्याउन वा उन्मुलन गर्न असम्भव छ । सबैलाई असर गरिरहेको सवाल भएकोले यसमा सबै प्रकारमा सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्नु पर्ने देखिन्छ । सरोकारवालाहरुले सक्रिय भूमिका निर्वाह गरेमा मात्र प्लाष्टिकजन्य फोहोर उन्मुलन अभियानले सफलता पाउने भएकोले सबै सरोकारवालाहरुले निम्न भूमिका निर्वाह गर्नु आवश्यक छ ः
– एकपटक प्रयोग गरिने प्लाष्टिक झोला, चम्चा, गिलास, थाल, आदि प्रयोग नगर्ने । चिसो, जुस, हट वा कोल्ड लेमन जस्ता खाद्य पदार्थ खाँदा प्लाष्टिकको पाइपको प्रयोग नगर्ने ।
– प्लाष्टिकको बोटलमा प्याक गरेको पानी सकेसम्म प्रयोग नगर्ने । यसको सट्टा स्टीलको बोटल प्रयोग गर्ने । प्लाष्टिकको बोटलको पानी प्रयोग गरेपछि उचित स्थानमा बोटलको विसर्जन गर्ने ।
– प्लाष्टिकको खेलौनाहरु घरमा नल्याउने । खानेकुराहरुको भित्र राखिएका स–साना प्लाष्टिकका खेलौना भएका बस्तु प्रयोग नगर्ने÷नगराउने ।
– सामग्री खरिद गर्न जाँदा आफूसँगै कपडाको झोला लिएर जाने बानी बसा नियमित अभ्यास गर्ने ।
– प्लाष्टिकले लेमिनेसन गरेका कपी, किताव, कागजका झोला वा वस्तु प्रयोग नगर्ने ।
– घर, पसलमा जम्मा भएका प्लाष्टिक जहाँपायो त्यही नफाल्ने, नजलाउने । त्यस्ता फोहोर जम्मा गरेर कवाडी खरिदकर्ता वा नगरपालिकाका सरसफाइकर्तालाई दिएर पठाउने ।
– पालिकाका सरसफाइकर्ता नपुग्ने स्थानहरुमा उपलब्ध मध्ये ठूलो प्लाष्टिकमा वा कपडाको बोरामा प्लाष्टिक जम्मा गर्ने र नगरपालिकालाई खबर गरेर जिम्मा लगाउने ।
निष्कर्षः
बजार जाँदा बस्तु किनेर ल्याउने झोला लिएर जाने अभ्यास नभएका कारण हामीले धरैभन्दा धेरै प्लाष्टिक हाम्रो घरमा ल्याइरहेका छौं । यीनै प्लाष्टिक हामीले जथाभावी फालिरहेका छौं । हाम्रो यो अभ्यासले प्लाष्टिक खेतबारीमा पुगेर उत्पादन घटाएको छ । नदी, ताल तलैयामा पुगेर फोहोर गर्नुका अतिरिक्त जलचर प्राणीले खाँदा तिनको मृत्यु भएको छ । यसको अत्यधिक प्रयोग र जथाभावी विसर्जनले सगरमाथाको चुचुरोदेखि समुद्रसम्म असर गरेको छ । हामी सबै प्लाष्टिकको धूलो र धुवाबाट पनि प्रभावित भै रहेका छों । तसर्थ अब हामी सबैले गम्भिर भएर प्लाष्टिक प्रयोग गरेर एकछिन सुबिधा लिने कि यसको प्रयोग क्रमशः बन्द गरेर हामी, हाम्रा सन्तान र जल, जमीन र जंगलमा आश्रित सबै प्राणीको रक्षा गर्ने? पारिस्थितिक प्रणालीको संरक्षण गर्ने ? शायद हामी कोही पनि आफ्नो खुट्टामा आफै बञ्चरो हान्न चाहदैनौं होला । त्यसो भए हामी एकछिनको सुबिधाको पछाडि नलागरेर समग्र पारिस्थितिक प्रणालीको संरक्षण गर्न लागौं । आजैदेखि प्लाष्टिकका झोला तथा प्याकेटहरुको प्रयोगमा कमी ल्याऔं । बाध्यतावस घर ल्याएका प्लाष्टिक पुनः प्रयोग गरौं । उचित ठाउँमा विसर्जन गरौं । प्लाष्टिकजन्य फोहोर निष्कासन नगरौं । हामी सबैको वासस्थान यो धर्तीलाई प्लाष्टिकजन्य फोहोर मुक्त बनाउन हातेमालो गरौं ।