हिमाल गैरे
जेठ १४ गते भोजपुर सदरमुकाममा २२ महिने बालकको घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेको समाचार होस वा केही समय अगाडी बाँकेको जानकी गाँउपालिका ३ इन्द्रपुरकी २१ वर्षीया नीरा कुर्मीको हत्याको घटना होस् । आफन्तबाट हत्या गर्ने श्रृंखला अहिले बढ्दै जानु समस्याको विषय बन्दै छ । गत बिहिबार पुर्व रुकुम जिल्लाको भूमे गाँउपालिका–७ गुनामका २० वर्षिय विरज विकले बिहान आफ्नै बुवाको खुकुरी प्रहार गरि हत्या गरेर प्रहरी कहाँ आत्मसर्मपण गरेका थिए । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ सदस्यको क्रूर ढंगले भएको हत्याले झन् सबै मानिसमा त्रासदि छाएको पाइन्छ । यी प्रतिनिधीमुलक घटनाहरु मात्रै हुन् । सामान्य विवादमा जघन्य अपराध गर्न नेपाली समाज उद्दत बन्दै गएको पछिल्ला घटनाहरुले देखाएको छ ।
अपराधका यी घटनाहरुले नेपाली समाज र यहाँका मानिस दिनादुदिन क्रुर र अराजक बन्दै गइरहेको विश्लेषण गर्न सकिन्छ । तर यी घटनाहरु रोक्नका लागि प्रहरी प्रशासन मात्रै नभएले समाज नै जाग्नुपर्ने देखिएको छ । ‘कम्युनिटी पुलिसिङ’को अवधारणा सायद यहि कारणले ल्याइएको हो । यद्यपी यस्ता घटनाहरुका पछाडीका कारणमा समेत हामी सजग हुनुपर्ने बेला आइसकेको छ ।
नेपालको पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने, सामान्य विवादमा जघन्य अपराधको श्रृंखला अनुसार झण्डै ५० प्रतिशत आफन्तबाटै भएका छन् । तथ्याङ्कका अनुसार गत साउन देखि माघ सम्म सात महिनामा देशभर ४ सय ९२ व्यक्तिको हत्या भएको छ । श्रावण महिना देखि माघ मसान्त सम्मको तथ्याङ्क अनुसार ७६ पुरुषले श्रीमतिको हत्या गरेका छ । त्यसै गरी ६ पुरुष श्रीमतिबाट मारिएको तथ्याङ्क छ ।
अहिले नेपाल विकासको दिशामा अग्रसर छ । भौतिक पुर्वाधारका हिसाबले सकरात्मक परिणामहरु पनि देख्न सुन्न पाइएका छन् । तर यसले मात्रै समग्र विकास भएको मान्न हुदैंन । आशलाग्दा प्रयासका संगै नेपालीजनमा गरिवी, महत्वाकांक्षी स्वावभावमा वृद्धि, बढ्दो प्रविधिको दुरुपयोग, बेरोजगारी, बैदेशिक रोजगारीका कारणले उत्पन्न समस्याहरुले पिरोलिरहेको छ । द्वन्द्वले हामीलाई पारेको आघातलाई अझै पुरै विर्र्सन सकेका छैनौं । राजनैतिक स्थीरता भए पनि दलको पुरानै कार्य स्वाभावले उत्सुक मनहरुमा निराशा छाएको छ । यिनै कारणले गर्दा मानिसको मन शान्त र विश्वस्त हुन सकेको छैन् ।
समाज बदलिँदै गएको छ सायद मुल्य मान्यता पनि फेरिँदै गएको छ । विचलन बढ्दा आफन्त भित्रै हत्याका घटना बढेको पाइन्छ । सामन्य विषयमा पनि मारकाटमा जाने कुरा बढ्दै गएको छ । केही हद सम्म तनाव व्यवस्थापन गर्न नसक्दा पनि यस्तो भएको पाइन्छ । मानिस हिंस्रक हुनुमा मानसिक विचलन एक प्रमुख कारण हो । जुन मानसिक स्वास्थ्य समस्याको एक रुप हो ।
विश्व स्वास्थ्य संगठनले २०१८ को तथ्याङ्क अनुसार विश्वमा हरेक ५ जना व्यक्ति मध्ये १ जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको देखिएको छ । यसको कारणले गर्दा व्यक्तिको काम गर्ने क्षमतामा ह्रास आई विश्व अर्थतन्त्रमा हरेक वर्ष १ खर्ब अमेरिकी डलरले उत्पादकत्वमा ह्रास आइरहेकोछ । नेपाल पनि मानसिक स्वास्थ्य समस्याबाट अछुतो छैन । नेपालको पछिल्लो अवस्था हेर्ने हो भने करिव ५० देखि ५५ लाख मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको पाइन्छ ।
सन् २००८/२००९ मा नेपाल सरकार, परिवार स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको अध्ययनले १५ देखि ४९ वर्ष उमेर समूहमा रहेका महिलाहरुको मुत्यको पहिलो कारण आत्महत्या रहेको देखाएको छ । नेपाल प्रहरीको गत आ.व. २०७४÷०७५ को तथ्यांक अनुसार ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेको देखिन्छ । आत्महत्या गर्नेहरु मध्ये ९०% भन्दा बढिमा मानसिक स्वास्थ्य समस्या भएको पाईएको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय तथ्याङ्कले हाम्रो जस्तो कम आय भएको मुलुकमा मानसिक स्वास्थ्य समस्याको भार र सेवाको उपलब्धताको अन्तर ८५ देखि ९० % सम्म रहेको देखाएको छ ।
तर नेपालमा स्वास्थ्य क्षेत्रमा छुट्टाइएको बजेट कुल गार्हस्थ उत्पादनको ५% भन्दा कम छ र त्यसको पनि १% भन्दा कम बजेट मात्र मानसिक स्वास्थ्य क्षेत्रमा छुट्ट्याउने गरिएको छ । अहिले सरकार बजेटको तयारीमा व्यस्त छ । भौतिक पुर्वाधार मात्रै नभएर यस्ता विभिन्न क्रस कटिङ सवालहरुलाई समेत संबोधन गर्ने खालका कार्यक्रमहरु ल्याउन जरुरी छ । स्थानिय सरकारका रुपमा रहेका पालिकाहरुबाट झन् यी कुरालाई बेवास्ता गरिनु हुदैंन् । विकासले मात्रै नभएर मानसिक सुस्वास्थ्य विना गरिएका कुनै पनि विकास प्रभावकारी र दिगो हुन सक्दैन् । क्रुर बन्दै गरेको समाजमा नैतिक शिक्षाको पनि आवश्यकता बढ्दै गएको पाइन्छ । ठुला विकासे बजेट मात्रै नभएर जन जनलाई प्रत्यक्ष प्रभावित बनाउने यस्ता सुक्ष्म लाग्ने तर महत्वपुर्ण क्रियाकलापमा समेत बजेट मार्फत संबोधन हुनुपर्दछ ।