जीवन शर्मा
यसबर्ष ‘स्वच्छ मिगौला सबैका लागि सबै ठाउँमा’ भन्ने मूल नाराका साथ आज बिहीबार विश्व मृगौला दिवस मनाइँदैछ । मृगौला मानव शरीरका लागि अति आवश्यक अंग भित्र पर्दछ । यो झट्ट हेर्दा दालको लागि प्रयोग हुने सिमि जस्तो देखिन्छ । यो पेटमा नाभीदेखि दायाँ बायाँ गरि २ वटा हुने गर्दछ । यो महिला र पुरुषमा केही आकारमा फरक हुने गर्दछ । लगभग १० देखि ११ सि.एम. लम्बाई र ५ देखि ६ सि.एम चौडाई र ११५ देखि १७० ग्राम तौलमा हुने गर्दछ ।
मृगौलाको काम
मृगौलाको मुख्य काम रगत छान्ने र पिसाब बनाउने नै हो । रगत छान्ने क्रममा आवश्यक प्रोटिन, चिल्लो, कार्वाेहाइड्रेट, मिनिरल्स, पानी संचय गरि अरु सबै बाहिर फ्याँक्ने काम गर्दछ । रक्तचाप नियन्त्रण गर्दछ । राता रक्तकोष निर्माणमा सहयोग गर्दछ । स्वस्थ हड्डि निर्माणमा सहयोग गर्दछ । मृगौलाले एक दिनमा लगभग १७०० लिटर रगत छान्ने काम गर्दछ । एकमिनेटमा मृगौलामा लगभग १२०० मिलि लिटर रगत जाने गर्दछ । यो मुटुले पम्प गर्दा जाने रगतको २० प्रतिशत मात्र हो । मृगौला शरीरको अत्यावश्यक अंग भित्र पर्दछ । जसले क्रियाशिल रुपमा काम नगरे शरीरमा विभिन्न किसिमका समस्या देखिन्छन् । जटिल किसिमको मृगौला रोगले ज्यान समेत जाने जोखिम उच्च रहने गर्दछ ।
मृगौला सहि छ/छैन कसरी पत्ता लगाउने ?
सुरुवाती अवस्थामा मृगौला रोग लागेको छ या छैन भनि पत्ता लगाउन कठिन हुन्छ । त्यस्तै मानिसलाई हेरेर चिकित्सकले रोग लागे नलागेको भन्न सक्ने अवस्था हुँदैन । मृर्गाैला ठिक भए नभएको रगत र पिसाबबाट नै पत्ता लगाउन सकिन्छ ।
मृगौला खराब हुन सक्ने खतरा कसलाई बढी हुन्छ ?
मृगौला खराब यसै ग्रुपका समूहलाई हुन्छ भन्न सजिलै नसकिने हुन्छ । तर पनि मधुमेह (सुगर रोग) लागेका र नियन्त्रण नभएका व्यक्ति, त्यस्तै उच्च रक्तचाप भएका र नियन्त्रण नभएका व्यक्तिलाई बढी सम्भावना रहन्छ । त्यस्तै धेरै मोटोपन, ५० वर्ष भन्दा माथिका, परिवारमा मृगौला रोगको इतिहास भएकालाई बढि सम्भावना रहन्छ ।
लक्षण
शरीर सुन्निने, थकान लाग्ने, रगतको कमी हुने, वाकवाक लाग्ने, रक्तचाप बढ्ने लगायत समस्या देखिन्छन् ।
उपचार के ?
समयमा थाहा भएमा विभिन्न औषधीको माध्यमबाट मृगौलाको उपचार गर्न सकिन्छ र जति खराब भएको छ त्यतिमा नै रोक्न सकिन्छ । समयमा थाहा नभएर मृगौला बढी खराब भएमा डायलेसिस गरेर उपचार गर्न सकिन्छ । र, अन्तिम विकल्प मृगौला प्रत्यारोपन नै हो ।
स्वस्थ मृगौलाको लागि के गर्ने ?
स्वस्थ मृगौलाको लागि विशेष गरि मानिस सधै सक्रिय र कसरत गरी रहने, स्वस्थ खाना खाने, सुगर र उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने, उचाई अनुसार तौल सन्तुलनमा राख्ने, धुम्रपान, सुर्ति सेवन बन्द गर्ने, पानी आवश्यक मात्रामा पिउने गर्नुपर्दछ । धेरैले पानी बढी पिएको खबर सुनिन्छ । खासगरि हामीले फेरेको पिसाव विहानको बाहेक अन्य पिसाव पहेंलो हुन भएन । यसरी मिलाएर पानी पिउने हो । न कि दिनमा १०/१५ लिटर पिउने । त्यस्तै लामो समय सम्म परिवार नियोजनको अस्थायी साधन पिल्सको प्रयोग नगर्ने ।
यदि हामीले सुगर बढी छ, तौल बढी छ, परिवारमा मृगौला रोगको इतिहास छ भने हामीले मृगौला जाँचका लागि डाक्टरसँग सम्पर्कमा रहि जँचाउन जरुरी छ । (शर्मा स्वास्थ्यकर्मी हुन्)