हेमन्त राज काफ्ले
उद्योग वाणिज्य संघ नेपालगन्जको आयोजनामा यहि फाल्गुन १६ गते बाट प्रान्तीय स्तरको ब्यापार मेला गरिदैछ । ब्यापार मेला हुनु निकै राम्रो हो, आफ्नो स्थानीय पहिचान देखाउन सजिलो हुने र आर्थिक तवरले पनि ब्यापारीहरुलाई सहज र अवलोकनकर्तालाई पनि विशेष छुटमा सामानहरु पाइने भएकाले ब्यापार मेलाको निकै महत्व छ । नेपालगन्ज सङ्गै आफ्नै पहिचान छ अनेकतामा एकता छ एक फुलका गुच्छा जस्तै बहु जाती बहु धार्मिक मानिसहरु निकै आनन्दित तरिकाले मिलेर बसेका छन् । व्यापार मेलाले आन्तरिक पर्यटन सङ्गै आर्थिक रुपमा पनि निकै राम्रो सहयोग गरेको हुन्छ । ब्यापार मेलाले करोडौंको कारोबार गर्छ र मानिसहरूलाई निकै नौलो मनोरञ्जन पनि दिएको हुन्छ । ब्यापारमेलाले दर्शकको माग अनुसार नयाँ नयाँ केन्द्र बाट कलाकार बोलाई आम दर्शकलाई मनोरंजन दिई रहेको हुन्छ । नेपालगन्जको ब्यापार मेला बर्सेनी फरक भिन्नै दर्शक बढाउँदै आएको छ, कारण यो मेला हेर्न मित्र राष्ट्र भारतबाट पनि अबलोकन गर्न आइरहेका हुन्छन् । सस्तोमा सामान पाइन्छ भनेर आकर्षण बढेको हो । ब्यापार मेलाले आर्थिक मात्र नभई एउटा मौलिक पहिचान पनि बोकेको हुन्छ । हाम्रो आफ्नो चिनारी ब्यापार मेलामा प्रत्येक बर्ष झल्केकै छ ।
नेपालगन्ज आफैमा एक धार्मिक, साँस्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल हो यहाको ईदगाह मस्जिद, जामा मस्जिद, गुरुद्वारा, अनि बागेश्वरी मन्दिरले निकै धार्मिक महत्व बोकेको छ । व्यापार मेलामा धार्मिक सहिष्णुता झल्किने खालका स्टल राख्न जरुरी छ । यसै अनुरुप यस मेलाले नेपालगन्जको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरि आर्थिक रुपले मजबुत बनाउने र नेपालगन्जलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले सधैं भन्छन् । स्वभाविकनै हो व्यापार मात्र नभई एक अर्कामा आत्मीयता जोड्ने कसि पनि हो हजारौं दर्शकले एकै साथ अबलोकन गर्ने भएकाले पनि यसको महत्त्व बेग्लै छ ।
मेलामा धार्मिक, पर्यटकीय स्थलको चिनारी, संस्कृति झल्किने गरी जातजातिको वेशभूषाको झाँकी, कला, कृषि उपज, घरेलु, हस्तकला तथा लघु उद्यमका उत्पादनका सामाग्रीका स्टल मेलामा प्रदर्शनी हुने भएकाले मेला निकै नै लाभदायक मानिन्छ । विद्यार्थीहरुलाई त यो सिकाई गर्ने ठाउँ एक प्रयोगशाला जस्तै हो अनि हिमालमा भएका कृषि सामाग्री देखि विभिन्न जडिबुटी पनि मेलाका आकर्षण हुन् ।
मेलामा सयौ भन्दा बेसी स्टलहरु हुने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाँडाकुँडाहरु, एकै ठाउमा सर्वसुलभ तरिकाले पाउने र त्यसैगरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा ३० देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था हुने भएकाले मानिसहरुको आकर्षण बढ्ने गरेको हो । आकर्षणत मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भीडलाई भरपुर मनोरञ्जन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, सर्कस, मौतका कुवा, विभिन्न बाल मनोरञ्जन सामाग्री, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेकोले बालबालिकाको निकै उत्साहपूर्ण सहभागिता हुने गरेको पाइन्छ । उक्त मेला अवलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यवसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ अगाडि बढाउन निकै राम्रो भूमिका खेलेको हुन्छ । यो व्यापार मेला हामी सबैको साझा हो हामीले सबै क्षेत्रबाट सहयोग गर्नु पर्छ । विद्यालय, कर्मचारी, नेपालगन्जबासी अनि ब्यापारीहरुले आफ्नो ठाउँमा हुन थालेको ब्यापार मेलालाई सफल पार्न आजैबाट जुट्न जरुरी छ । ब्यापार मेला हाम्रो आफ्न ठाउँको एक पहिचान भएकाले हाम्रो मौलिकता झल्कन जरुरी छ ।