भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस ! गुलाबको फूल उपहार दिएर प्रेम प्रस्ताव गर्ने दिन ! प्रेमी प्रेमिका र मनले माया गरेको या मनले चाहेको मान्छे सामु यो दिनमा मायाका भावहरू ब्यक्त गरिन्छ । प्रेम आफैमा एक रंगीन अनुभूति हो । यो दिनले हरेक बर्ष संसारका धेरै युवा युवतीहरूलाई प्रेममय भावमा तरङ्गीत गर्ने गर्दछ । प्रेम आफैमा एक आदर्श हो । साँचो प्रेमले मानिसलाई सदैव सकारात्मक हुनसिकाउँछ । प्रेमले खुसी आनन्द उत्साह र शक्ति दिईरहन्छ । भनिन्छ (प्रेम बिनाको मानिस अन्धो हुन्छ । अन्धो जीवन असन्तुलित हुन्छ । प्रेम शब्दलाई आजकल मान्छेहरू माया र आकर्षनको रूपमा लिन थालेका छन् । माया र प्रेममा फरक छ । प्रेम नारी र पुरूष बिचको मिलन मात्र होइन त्यो भन्दा धेरै उच्च कोटीको प्रेम जो मिलमा मधुर हुन्छ र बिछोडलाई पनि सहजै स्वीकार गर्न सक्छ ।
हाम्रो समाजले प्रेमलाई खुल्ला र स्पष्ट देख्न सकेन ।तर प्रेमको भोक सबैमा छ । प्रेमबिना जीवन चल्न सक्दैन । जीबात्मा र परमात्म दुबैलाई प्रेमले नै जोडेको छ । परापूर्ब कालदेखि नै प्रेमलाई कुन्ठित गर्न खोज्दा अनेकौं गृहयुद्धहरू बिश्वयुद्धहरू पनि भएका छन् भने प्रेम प्रस्तुत गर्ने अनेकौं माध्यमहरू बन्दै आएका छन् । प्रेमिल जोडिले आफ्नो प्रियसीको यादमा कैयौं प्रेमका प्रतिकहरू बनाए । जसका अमर प्रतीक हुन्, ताज महल रानी महल । १९५० मा प्रधान सेनापति खड्क शमशेले आफ्नी दिवंगत रानीको संझनामा रानीमहल बनाए ।
कालीनदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमुनाले सिगारेर बनाएको उक्त महलमा कहिलेकाही एक्लै रात बितनउनु पर्दा खड्कशमशेर आफ्नी रानीको संझनामा ब्याकुल भएर चिच्याई चिच्याई रून्थे भन्ने भनाइ पनि छ । प्रेमका निशब्द अभिब्यक्ति दिने यी ठाउँहरूले जो कोहीलाई यो सन्देश दिन्छ कि, संसार प्रेमको मन्दिर हो । प्रेम दुई युवा युवती बिचको क्षणिक आकर्षण होइन । दुई आत्म बिचको मिलन नै प्रेम हो । प्रेम जीवनको मौलिक भाग हो । प्रेमबाटै जीवनको बिजारोपन हुन्छ र सुरूवात हुन्छ । प्रेम गर्नलाई कुनै ठाउँ, गाउँ, स्थान र जाति धर्म समुदायको जरुरत पर्दैन । बश् प्रेम त्यो हो जो अचानक मीठो अनुभुति भएर आउँछ र जीवनभरि नै रहिरहन्छ मरनोपरान्त पनि । तर बिडम्वना आजभोलि प्रेमलाई रूप, शरीर,धन र शक्ति सँग गाँस्न थालियो । यस्तो प्रेम कसरी दिगो रहन सक्छ र ? क्षणिक आकर्षणलाई प्रेम संझनेहरूले प्रेमको बदनाम गरेका छन् । प्रेम र आकर्षणलाई बुझ्न नसके कै कारण हत्या हिंसात्मक अनैतिक कार्यहरू भईरहेका छन् । मान्छेलाई बदलाको भावनाले घेरेको छ ।
अतृप्ति बासनाजन्य प्रेममा समाजको समर्थन हुनु हुँदैन तर हृदयदेखिको साँचो प्रेमलाई कुन्ठित गर्नु भन्दा उजागर गर्नु ठीक हो । आजभोलिको प्रेमलाई बिज्ञान प्रबिधिसँग जोडिदा प्रेम प्रयोगशाला जस्तो भएको छ र समाजमा विभिन्न खतराहरू पनि निम्याएको छ । प्रेमलाई त बस् स्वीकार गर्न सक्नुपर्छ । जहाँ जस्तो अबस्थामा पनि साँचो प्रेम त आदर्शमय हुन्छ । आदर्श प्रेमले कहिले पनि कसैको लागि गलत सोच्न र गलत गर्न सक्दैन । सदैब अटल अमर र कन्चन रहन्छ । आजभोलि प्रेम बदलाको भावसँग जोडियो । संमबन्धमा बिचलन हुना बितिक्कै हिजोको संबन्धलाई लिएर अनेकौं कुराहरू गर्दै हिड्ने र अरूसँग शान्त्वना बटुल्ने काम गरिन्छ । यो गलत हो । प्रेमले त बियोगमा पनि स्थिर रहन सिकाउँछ । रोमियो जुलेटको जोडि देखि हामीले मनाउने भ्यालेन्टाइन डेमा पनि त बियोग कै कहानी छ । कृष्णले आफूभन्दा जेठी राधासँग प्रेम गरे तर बिवाहा रकमिणीसँग गरे । जीवन अरू कसैसँग जोडियो तर उनिहरू जहाँँ जहाँ गए एक अर्कोलाई मनमा बोकेर हिडिरहे । कृष्णले राधालाई आफ्नो तपस्या बनाए । राधाले कृष्णलाई साधना बनाईन् । न त कृष्णले कहिले राधासँग गुनासो गरे न त राधाले नै मलाई अन्याय भयो भनिन् । जन्मोजन्मान्तक सम्म राधाकृष्ण दुई नाम यउटै लाइनमा जोडिएर रहिरह्यो । आजन्म । त्यस्ता एकाध जोडीहररू छन् जो सदा पुजनीय छन् । यीनै पुज्य प्रेमका अनुयायी हरूले नै प्रेमलाई वजनमय बनाए ।
कतिपय मानिसहरू एक अर्कोसँग टाढा भएर पनि आफ्नो प्रेम नजिकै भएको आभाष गरिरहन्छन् । परिस्थितिबस आफ्नो मनपर्ने मान्छेसँग टाढा भएर बाँच्छन् तर मनले फाफ्नो प्रेमलाई सम्मान गरिरहन्छन् । जीवनलाई प्रेमको गहिराइसँग बाँच्न जान्नेहरूको लागि कसैसँग बिताएका पलहरूलाई सधैं सम्मान गरिरहन्छन् । प्रेम चाहेर हुने कुरा होइन । प्रेम त वश् जतिखेर जे रूप लिएर पनि आउँन सक्छ । आफूले माया गरेको मान्छेसँग छुट्टिनु पर्दा दुःख लाग्छ । चोट लाग्छ । चिच्याएर रून मन लाग्छ । हामी मानव नव रसले भरिएका छौ । श्रृङ्गार ,हास्य ,करूण, रूद्द , वीर ,भयानक ,बीभत्स , अद्भभुत, र शान्त यिनै भाब रसका कारण कहिलेकाही हामी रिसाउनु दुस्ख लाग्नु स्वभाविक हो तर साँचो प्रेमले मानिसलाई कहिले अराजक हुन दिदैन ।
हामीले समाजमा देख्छौ कतिपयका पति पत्नी बितेर जान्छन् कारणवस अरू ब्यक्तिसँग बिवाहा गर्छन् तर पनि उनीहरू आफ्ना पूर्व पति वा पत्नीलाई मनमा प्रेम र सम्मान गरिरहन्छन् । उनीहरूको नाममा विभिन्न सामाजिक कामहरू गर्छन् । पाटी पौवाहरू बनाउछन् । उनीहरूको अभाव जीवनमा सदैव खड्किरहन्छ । हृदयको सुन्दर सिहासनमा राखेर पुजा गरिरहन्छन्। यी पनि प्रेमका उदाहरणहरू हुन् । कहिलेकाही २ महिनाको सम्बन्ध पनि बर्षौ पुरानो भन्दा गाडा भईदिन्छ । लामो समय कसैसँग बस्दैमा मात्रै प्रेम गाढा हुन्छ भन्ने छैन । यदि २ महिनाको प्रेम अलौकिक छ भने त्यसको मिठास शाश्वत रहन्छ । जुन प्रेमलाई महसुस गर्दा मात्रै पनि अलौकिक आनन्द मिलोस् । आँखा बन्द गर्दा होस् या आँखा खोल्दा हरेक पल आफैसँग भएको भान भइरहोस् ।
केही दिन टाढा हुँदैमा, शारीरिक सम्पर्क नहुुँदैमा, फोनमा घन्टौंसम्म कुरा नगर्दैमा प्रेम कम हुने भन्ने हुँदैन । प्रेम यस्तो होस् कोषौ टाढा हुँदा पनि नजिकै भएको आभाष भइरहोस् । हर साँझमा बल्ने दीयोको उज्यालोमा प्रेम झल्किरहोस् । बर्षौ पछि भेट्दा पनि प्रेमिल बाताबरण बनोस् । मुटुको गति बढोस्, त्यही अनुभुति होस्, त्यही आभाष होस्, त्यही सद्भाव ईज्जत र अनन्त प्यार होस् । हेरेर एकअर्कालाई आँसुहरू झरून् । कसिलो अंगालोमा बाँधिन मनलागोस् । उस्तै शरीरको कोमलता उस्तै स्वासको माधुर्यता मिलिरहोस् । तप्प तप्प बर्षादका झरीमा रूज्दै रूज्दै एक अर्कोको हात समायर धेरै पर सम्मको यात्रा गर्न मन लागिरहोस् र छुट्टिदा सुमधुर मुस्कानका साथ बिदाईका हात हल्लाउँदै गर्दा कत्ति पनि दुःखको अनुभुति नहोस् । प्रेम शान्तिको प्रतिक बनोस् । सौहार्दपुर्ण मनहरूको संगम बनोस् अनि हरेकको मुटुमा प्रेममय भाब बोकेर ढुकढुकीहरू चलिरहुन् । संसार प्रेममय बनोस् । प्रेम दिवसले सबैलाई आदर्श प्रेम गर्न सिकावोस् र संसार प्रेमको मन्दिर हो भन्ने कुरा झल्काउन सकोस् । प्रेम दिवसको अबसरमा सबैमा प्रेमिल शुभकामना ।