रातो गुलाबको तितो पीडा

रातो गुलाबको तितो पीडा
सम्बन्ध बिच्छेदको घटना बढ्दो

आजको दिन लाई ‘प्रेम दिवसका’ रुपमा बिश्व भरी नै मनाइन्छ । नेपाली समाजमा पनि युवा बर्गले आफ्ना प्रेमी प्रेमिकालाई भेट्ने, शुभकामना दिने र उपहार साट्ने गर्दछन् । विवाहितहरु पनि आफ्ना श्रीमान श्रीमतिलाई शुभकामना उपहार दिन्छन् । नेपाली समाजमा बिस्तारै यसले पर्वको रुपमा स्थान पाउन थालेको छ । सन्त भ्यालेन्टाइनले सुरु गरेको यो आन्दोलन आज विश्व भर छाएको छ ।

 
नेपाल पुष्प व्यवसायी संघका अनुसार, प्रेम दिवसको लागि १ लाख ५० थान गुलाबको फुल भारतको कलकत्ताबाट नेपाल आयात भएको छ । गुलाबको लागि १ करोड ५० लाख नेपाली रुपैया बाहिरिएको छ । अझै माग अनुसार को आपूर्ति गर्न नसकेको व्यवसायीहरु बताउँछन् । नेपालमा २ लाखसम्म गुलाबको माग रहेको छ । एकातिर गुलाबको माग बधिरेहेको छ भने अर्को तिर सम्बन्ध बिच्छेदका घटना बढी रहेको छ । रातो गुलाब दिएर सुरु भएको प्रेम सम्बन्ध अन्त्यमा बिच्छेद हुँदै टुंगिदै छ आखिर किन ? यो प्रश्न अहिले को बर्तमान समाजमा अनुत्तरित छ ।
श्रीमानले फेसबुकको पासवर्ड मागेको कारण एक शिक्षित खानदानी युवतीले सम्बन्ध बिच्छेद गरिन् । उसलाई मेरो विश्वास नै छैन भने यत्रो लामो जिन्दगी कसरि संगै काटिएला । पास वार्ड मेरो व्यक्तिगत मामला हो कारण यस्तो बताइन् । फेसबुकको च्याट, कमेन्ट, लाइकको कारण आज सयौंको घरमा झगडा भएको छ । बिगतका गुलाब सबै ओइलाए । उपहार डसबिन तिर गए ।

 
हिन्दु सनातन धर्ममा पनि प्रेमको ब्याख्या नभएको हैन । धर्म ग्रन्थ गीता, उपनिषद् सबैले प्रेमको कुरा गरेको छ । पछिल्लो पटक प्रेम शब्दलाई यौनसग जोडी दिनाले यो शब्द अपबित्र, घृणित भयो । मलाई पे्रम भयो, मैल प्रेम गरे यदि कसैले भन्यो भने नकरात्मक बुझिन्छ । शब्दलाई गलत मान्छेहरुले प्रयोग गरीदिनाले आज यो स्थिति आयो । प्रेमलाई हेलाको दृष्टिकोणले हेर्न थालियो ।

 
प्रेम एउटा अदृष्य, अमुर्त बस्तु हो । यो एउटा अनूभूति गर्ने कुरा हो । प्रेम लिने दिने ब्यापार जस्तो पनि हुदैन । प्रेममा उपलब्ध हुँदा मानिसको स्थिति कस्तो हुन्छ त्यो कुराले अर्थ राख्दछ । प्रेममा उपलब्ध हुँदा मानिस शान्त दयाबान क्षमाशील मायालु हुन्छ त्यसको उल्टो घृणामा उपलब्ध हुँदा रिसाहा, आक्रमक हुन्छ । प्रेमले शान्ति दिन्छ । घृणाले तनाब प्रेमले घर परिवार बलियो हुन्छ । साथीभाई सँगको सम्बन्ध राम्रो हुन्छ । घृणाले घरमा बेमेल अशान्ति ल्याउछ । मानिस भित्र प्रेम र घृणा दुबै चिज हुन्छ । त्यही प्रेम घृणामा बदलिन्छ, तर घृणालाई प्रेममा बदल्न गारो हुन्छ ।

 
युवा बर्गमा प्रेम र बियोग दुबै शब्द खुबै प्रचलित छन् । किन प्रेम तुरुन्तै घृणामा बदलिन्छ ? यसको उत्तर सामान्य छ र प्रेमको सुरुवात नै गलत नियतले सुरुवात गर्नाले यस्तो हुन्छ र स्बार्थबाट हुने हुनाले आज प्रेम घृणामा रुपान्तरित भएको छ । सम्बन्ध बिच्छेदमा गएर टुंगिएको छ । मानिस जहिले पनि पूर्ण प्रेमको खोजीमा हुन्छ । मलाई कसैले माया गरोस, मेरो पनि देखभाल गरोस मलाई हौसला दियोस, मेरो प्रसंसा गरोस र यो हरेक मानिस को चाहाना हो तर थोरै मानिसले मात्र पाउँछ यस्तो भाग्य । रातो गुलाबले र बाटो छेकेर म तिमीलाई माया गर्छु भन्ने स्वार्थी प्रेमी प्रेमिका अन्त्य त बर्बाद भएको छन । यो अन्तरनिहीत बस्तु हो । पहिला त आफैलाई प्रेम गनु पर्यो त्यसपछि अरुलाई प्रेम गर्न जानिन्छ । आफैमा प्रेम भन्ने चिजको बिउ जन्मेको छैन अरुलाई प्रेम गर्नै कहिले जान्ने ? मानिस जन्म जन्म देखि प्रेमको भोको छ । अरुबाट प्रेमको अपेक्षा गर्दै हिड्छ । मलाई साथीले माया गरेन बा आमाले माया गरेन समाजले गरेन, गुनासा मात्र बोकेर हिड्छ । आफुलाई माया गर्दैन । माया गर्नैले धन्यबाद अहोभाब प्रकट गर्दैन कसरी माया पाउँछ ?

 
प्रेम अदृृृष्य, अमुर्त हुन्छ । देखिन न सकिने छुन नसकिने मात्र अनुभव गर्न सकिने हुन्छ । त्यही भएर नजिककाहरुसँग अपेक्षा गरिन्छ । मानिस आफैमा पूर्ण हँुदैन, हरेक मानिसमा केही न केही कमि कमजोरी हुन्छ । पूर्ण प्रेममा धेरै मानिसलाई धेरै जनालाई मन पर्दछ । एकै जना मात्र मन पर्ने भन्ने हुँदैन । यो सत्यता हो । किन कि सबैमा सबै गुण हुदैन ।

 
कृष्णको राधामा न कुनै आग्रह थियो न अपेक्षा र बासना । खाली राधाको प्रेम को चर्चा गथ्र्ये । कृष्णको राधा, पूर्ण प्रेम हो । राधामा कृष्ण पूर्ण मानिन्छन् । ती दुईमा एक हुन । त्यही भएर कृष्ण र राधाको प्रेमको बयान आज संसार भरी सदियौ देखि चर्चामा छ । प्रार्थना रुपी प्रेम भएकोले त्यो पबित्र थियो त्यही भएर पुजनिय भयो । आज संसार भर मन्दिरमा राधा र कृष्णको मूर्ति नभएर उनीहरुको प्रेमको पुजा हुन्छ । ओशो भन्नु हुन्छ प्रेम प्रार्थनामय हुनुपर्छ । प्रेममा अपेक्षा, आशंका, आग्रह लिने दिने कुरा आदि आयो भने त्यो ब्यापार हुन्छ । त्यस पछि नाफा घाटाको कुरा होला मोल तोलको तेरो मेरो भन्ने कुरा होला त्यसले पूर्णता तिर लादैन । यो अपूर्णताको स्थिति हो ।
ओशोले प्रेमलाई ध्यानसँग जोडेर हेनु भएको छ । अर्कालाई सम्झनु प्रेम हो भने आफैलाई सम्झनु ध्यान हो । जब कुनै पनि कुरा देखिन्छ तब प्रेम हुन्छ त्यसले श्रद्धा जन्माउछ । त्यसपछि भक्ति भन्ने कुरा जन्मिन्छ अनि परा भक्ति गौडि भक्तिको कुरा हुन्छ ।

 
सामजशास्त्री मनोवैज्ञानिकहरुले यस विषयमा धेरै अध्ययन अनुसन्धान गरेको छन् । आजभोलि धेरै मानिसहरु परामर्श दाता (मनोवैज्ञानिक, धार्मिक गुरु र ज्योतिष) को सल्लाह लिएर पनि नयाँ जीवन सुरुवात गरेको उदाहरण पनि छ । कति निराशावादीहरु चाहीँ फुटेको भाडा कहाँ जोडिन्छ भन्ने उदाहरण दिएर झन सम्बन्ध विगारिदिने गरेको हाम्रो समाजमा छ । सकारात्मक सोच, आचरणमा सुधार विचारमा परिवर्तन ल्याएर धेरै बिग्रेको सामाजिक सम्बन्धहरु सुध्रेको छ । ठुलो युद्ध झगडा र वैमनश्यताहरु समेत आजभोलि वार्ताको माध्यमबाट समाधानमा पुग्ने गरेको छ । हाम्रै देशमा यसको उदाहरण छ । वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा आएर आज सरकार चलाको हाम्रै आँखा साक्षी छ । यो कुरा घरमा पनि लागु गर्न सक्छौ । श्रीमान् श्रीमतीको बीचमा चित्त नबुझेको कुरा एक आपसमा छलफल गरेर पनि अगाडि बढ्न सकिन्छ । दुवैको मनको कुण्ठालाई निकालेर औषधि गर्न सकिन्छ । राजनीति पाटीको कार्यकर्ताहरु चित्त नबुझेको कुरा ‘नोट अफ डिसेन्ट’ लेखेर अगाडि जाने गर्दछन् । हामीले पनि श्रीमान् श्रीमतीको कति बानी चालचलन मन नपरेको मलाई यस्तो मन पर्दैन कृपया मेरो अगाडि नगरिदेउ बाँकी सबै ठिक छ भनेर अगाडि जान सकिन्छ । फरक घर परिवार, परिवेश संस्कारबाट आएको जोडीको सबै व्यवहार सबैलाई मनपर्छ भन्ने हुँदैन र केहि बानि कसैको राम्रो हुन्छ केहि नराम्रो हुन्छ राम्रो बानीको प्रशंसा गर्दै नराम्रो सुधार गर्दै जाँदा जीवन स्वर्ग बन्न सक्छ । किनकी परिवार पनि सामजशास्त्र अनुसार एक सामाजिक संस्था हो । संस्था संचालन गर्न यस्तो कुरा सहायक हुन सक्छ ।

 
पश्चिमाहरुले विवाहलाई करार सम्झौता मान्ने भएकोले त्यहाँ सम्बन्ध बिच्छेद हुन्छ । तर, पूर्वीया दर्शन हिन्दु धर्मशास्त्र अनुसार, सम्बन्ध बिच्छेदको चलन छैन । ऋग्गवेदको मन्त्र उच्चारण गरेर सम्पूर्ण ऋषि, कुल देव, ईस्ट देव, पितृ देवलाई आव्हान गरि गोत्र परिवर्तन गरिन्छ । अनि छोरी कन्यादान दिने चलन छ । कानुनी रुपमा सम्बन्ध विच्छेद भएपनि सामाजिक रुपमा विच्छेद हँुदैन । जिम्मेवारी न हुन् सक्छ तर सम्बन्ध विच्छेद नै भने हुँदैन । किनकी एक पटक गाँसिएको सम्बन्ध मिटाउने कुनै केमिकल अहिलेसम्म यस धर्तिमा छैन । बिग्रेको सम्बन्ध पुनः जोड्न सकिन्छ, फाटेको मन प्रेमले भर्न सकिन्छ तर विच्छेद भने हँुदैन ।

 
हिन्दु धर्मशास्त्र अनुसार, विवाह संस्कारलाई ज्यादै महत्वपूर्ण स्थान दिएको पाइन्छ र संस्कार पुनर्जन्म आदि संग जोडिएको कारण परिणय वा पाणीग्रहण भन्ने गरिन्छ । मनुस्मृतिको अनुसार, कोहि पनि मानिसले श्रीमती आफ्नो इच्छा अनुसार पाउँदैन । सुर्य आदि देवताले दिएको स्त्री मात्र पतिले पाउने गर्दछ । वेदका अनुसार गर्भ ग्रहण गर्न स्त्रीको र गर्भाधान गर्न पुरुषको सृष्टि भएको हो । त्यसकारण अगन्याधान आदि साधारण धर्म पनि पुरुषले स्त्री को साथ गर्नु पर्दछ ।

 
मनुस्मृतिका अनुसार, स्त्री विना पुरुषलाई पूर्ण मानिएको छैन । पुरुष अपूर्ण रहन्छ जबसम्म स्त्री स्वदेह र सन्तान प्राप्त गर्दैन । यी तीन कुराले मात्र पुरुष पूर्ण हुन्छ । स्त्री त्याग गरेर पनि स्त्री पतिको स्त्रीत्वबाट मुक्त हुँदैन । पहिले ब्रम्हाले बनाएको धर्म यहि हो । ऋग वेदको मन्त्रद्वारा वर र बधुको आत्मालाई एक बनाउने काम गरिन्छ । उपरोक्त धर्म शास्त्रीय व्यवस्थाबाट हिन्दु धर्ममा पति पत्नी चन्द्रमा संग चाँदनी देह संग छाँयालाई छुट्याउन नसके जस्तै एक अर्कामा आबद्ध हुन्छन् । पतिको पत्नी अर्धा्ङ्गिनी हुन्छे । विवाह पछि नै पुरुषले पूर्णत्व पाउने हँुदा पति र पत्नीको हिन्दु धर्ममा सम्बन्ध विच्छेद हुँदैन ।

प्रतिक्रिया

प्रतिक्रिया