हेमन्त राज काफ्ले
कुनै पनि देशको विकास त्यस देशको आयस्रोत सँग जोडिएको हुन्छ । हाम्रो देशको अर्थ ब्यबस्था विदेश गएका युवाको रेमिट्यान्समा चलेको छ । संसारको तुलना गर्ने हो भने हामी निकै पछाडि छौ । दिनप्रतिदिन देश गरिब हुँदै गएको छ । गरिबिको रेखामूनि धेरै मानिसहरू छन् । देश बिकासका लागि उद्योग कलकारखानाले निकै ठूलो भूमिका खेल्छ । तर, यो खोल्नको लागि लगानी धेरै लाग्छ । उद्योग कलकारखानालाई आवश्यक पर्ने कच्चा पदार्थ नि पाइँदैन । हाम्रो देश कृषि प्रधान देश, कृषिमा निकै नै ठूलो सम्भावना बोकेको छ । यदी कृषिमा क्रान्ति गर्ने हो सरकारले भने एक परिवार एक किसानको योजना बन्नु पर्छ । सबै भन्दा उच्च मूल्यांकन किसानलाई गर्नु पर्छ खेती, जमिन र जनावरमा विमाको ब्यवस्थाका साथै किसानलाई बास्तविक किसान चिनारी परिचयपत्र दिनु पर्छ र उनीहरुलाई सहुलियतमा ऋण उपलब्ध गराउनु पर्छ ।
सरकारले पहिलो प्राथमिकता किसानका उत्पादितलाई दिनु पर्छ । बजार ब्यबस्थापनदेखि बीउ बिजनसम्म सहज पहुँच बनाई दिनुपर्छ । उर्वरताको हिसाबले हेर्ने हो भने नेपालको हावा पानीमा सबै प्रकारका अन्न, तरकारी र फलफुल उमार्न सकिन्छ । यस भूमिको उचित व्यवस्थापन गर्ने आँट सरकारले गर्यो भने संसारको गरिब मुलुक नेपाल केही वर्षमा धनी मुलुुक बन्न सक्दछ । हाम्रो देशको माटोमा उत्पादन नहुने कुनै पनि कृषिजन्य वस्तुु छैन भन्दा पनि अत्युक्ति नहोला । यहाँको हावापानी संसारकै गर्मी र जाडो मात्रै हैन अति जाडो हुने कृषि उत्पादन गर्न सकिने किसिमको छ । यही आधारलाई नै मानेर सबै चिजको उत्पादनको केन्द्र भनेर नै नेपाललाई देवभूमि, तपो भुमीको रुपमा मानिएको छ । नेपालको ८४ प्रतिशत भू–भाग महाभारतीय पहाडी इलाका र हिम क्षेत्रले ओगटेको छ । यो भूमिमा सुन, तामा, फलाम जस्ता अमूल्य धातुका साथै बहुउपयोगी जडिबुटी उत्पादन गर्ने ठाउँ हो । पहाडी तथा हिमाली भूभागमा कृषिजन्य उत्पादनमा पशुपालन, फलफूल, जडीबुटी, तरकारी उत्पादनलगायतका बहुउद्देश्यीय कृषि उत्पादन गर्न सकिन्छ । यसलाई विकासको मुख्य एजेन्डा बनाई लैजाने हो भने आन्तरिक गार्हस्थ उत्पादनलाई बलियो टेवा पुगाउनुका साथै कृषि निर्यातमा संसारकै सफल मुलुक बन्न सक्दछ । जुन अहिले नेपालमा रोजगारीको खोजीमा विदेश पलायन भइरहेको जनशक्तिलाई रोक्ने र मुलुकले अधिकतम फाईदा लिने हो भने कृषिमा आमूल परिवर्तनको योजना तयार गरी नेपाली कृषिजन्य उत्पादन बस्तुको बजार ब्यबस्थापन मात्र राम्रो सँग गर्न सके आमूल परिवर्तन आउने थियो । कृषि क्रान्ति गर्न सकियो भने हाम्रो मुलुकले संसारलाई चाहिने अमुल्य जडीबुटी यार्सागुम्बा, चिराइतो, जटामसी, कटुकी, पाचऔले जस्ता महङ्गो जडिबुटी उत्पादन गरि संसार भरी आफुलाई जडिबुटिको देश भनेर चिनारी बनाउन सक्थ्यो ।
१७ प्रतिशत समथर भू–भागमा अत्याधुनिक कृषि प्रविधि सहित इजराईल जस्तो सामुहिक खितीको अबधारणा बनाउने हो भने आन्तरिक खाद्यान्न संकट निर्मुल गर्दै सर्वसुलभ रुपले सबैको पहुँच हुने गरि खाद्यान्न आपूर्ति गर्न कुनै कठिनाइ पर्ने थिएन । तर के गर्ने बिडम्बना बङलादेशबाट दाल आउँछ अर्जेन्टिनाबाट मुरली मकै आउँछ भारत बाट तरकारी र फलफुल भित्रिरहेको छ । सारा जमिन बन्जर छन् खेती गर्ने युवा बिदेश पलायन भै सक्यो । युवाले पनि खेती कसरी गरोस बजार ब्यबस्थापन राम्रो छैन । एउटा जल्दोबल्दो उदाहरण छ, मूल्य नपाएपछि किसानले बारीमा डोजर चलाएका थिए । त पुरन चौधरी नामका किसानले आफ्नो बारीमा डोजर लगाएका थिए । उनले बारीमा लगाएका बन्दा, काउली, मुला अहिले बेच्ने बेला बजारमा दुई रुपयाँ किलो पनि बिक्री नभएपछि निराश भएर अर्को फसल लगाउन डोजर लगाएका थिए । उत्पादन बेच्ने बेलामा लागत मूल्य पनि नपाउँदा डोजर लगाएर तरकारी उत्पादन हटाएको खबरहरु हामीले सुन्न र पढ्न पायौ अनि उखु किसानले आफ्नो फसलको रकम नपाएर सामुहिक आत्मदाह गर्नेसम्म चेतावनी दिएका छन् । दुधले बजार नपाएर सडकमै फालेका उदाहरणहरु छन् । यस्तो बिडम्बना छ किसानको बुझ्ने कस्ले ? युवाहरु कसरी आकर्षित हुन्छन् त यस्तो निराशा पूर्ण पेशामा किसानले कृषिलाई पेशा नै मान्दैन ।
यदि सरकारले पहिलो प्राथमिकता समग्र कृषि उत्पादनलाई गर्यो भने समग्र देश बिकासको मेरुदण्डको रुपमा कृषि देखिने थियो । तर दुर्भाग्यवश संसारकै ठूलो सगरमाथा भएको देश विविधतामा एकता भएको अनि सबै प्रकारको भू–भाग र स्वर्गीय मुलुक पाउँदा पनि हामी नेपालीहरु गरिब मुलुकको रुपमा संसारमा चिनिनु परेको छ । यो किन भयो त भन्ने बुझ्नु पर्दा के छ भने राज्य व्यवस्था बहुसंख्या जनताको आश्रित हुने क्षेत्रमा लगानी गर्नुको सट्टा राष्ट्रिय उत्पादनलाई जोड दिनु भन्दा आयातलाई जोड दिने कमिसन खोरको विकासले मुलुकको अर्थतन्त्र संकटमा धकेलिएको छ । दुर्गम तथा ग्रामीण बस्तीमा खाद्यान्न लगायतका विभिन्न वस्तुहरु संकट परिरहनु, बेरोजगारीको वृद्धि हुनु सबै यो सरकारको कमजोरीले असर पारी रहेको छ । भूमि र उत्पादनबीचको सन्तुलनले त्यसको विस्तार, विकास र सेवा प्रदायक सामाजिक विकासका सूचांक स्पष्ट गर्न सकिन्छ । संसारका अधिकांश मुलुकहरुले खाद्यान्न आपूर्ति र कच्चापदार्थ नवीकरणको आधार कृषिलाई मान्ने गर्दछन् । जस्तो कच्चापदार्थको रुपमा सुर्ती, धागोदेखि रबर अनि जडिबुटी नगदे बाली र सम्पुर्ण उद्योगका कच्चापदार्थ कृषिबाटै प्राप्त गर्दछ । संसारका विकसित मुलुकहरुमा औद्योगिक क्रान्तिको आधार र सार कृषि क्रान्तिबाट मात्रै भएको छ । उदाहरणको रुपमा बेलायतको कृषि क्रान्तिबाट मात्रै औद्योगिक कच्चा उत्पादनको विकास गरी औद्योगीकरणमा प्रवेश गरेको भेटिन्छ ।
त्यस्तै ब्राजिल र मलेसियाको औद्योगिक विकास ठूला कृषि फार्मको रुपमा रबर प्लान्टको रुपमा विकास गरेर पछि त्यस रबर उद्योगबाट उनीहरुको निर्यातजन्य ठूला–ठूला उद्योग निर्माण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डलाई बलियो बनाई अन्य क्षेत्रको कृषिजन्य उत्पादनमा बढावा दिएका छन् । चिनको बिकासको आधार पनि कृषिमै क्रान्ति हो । बहुउद्देश्यीय योजनामा कृषि, पशुपालन, जडीबुटी खेती, खाद्यान्न , फलफुल उत्पादनलगायतका उत्पादनहरु पर्दछन् । विश्वको विकास हेर्ने हो भने कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्दै परनिर्भरतालाई घटाउँदै अन्य ठूला–ठूला उद्योगहरुको विकास गरेको भेटिन्छ । अहिले विश्वको कृषिजन्य उत्पादनमा चीन, भारतलगायतका एसियन मुलुकहरुले कृषि निर्यात गरी आफ्नो राष्ट्रिय गार्हस्थ उत्पादनलाई अधिकतम बढाइरहेका छन् । यी तमाम उदाहरणहरु हेर्दा कृषिबाट अधिकतम उत्पादन बढाई गरिबी न्यूनीकरण र औद्योगीकरण जनस्तरमा नै सम्पूर्ण जनशक्तिलाई उचित सदुपयोग गर्न सके र पहिलो प्राथमिकता सरकारले कृषिमा दिए निकै छिटो देशले काचुली फेर्ने थियो देश बिकासको मेरुदण्डका रुपमा कृषि नै मान्न सकिन्छ यदि केही आयाम ल्याउनु छ भने कृषिमा क्रान्ति जरुरी छ ।