बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई नेपाल सरकारले गठन आदेश मार्फत नसमेटेको विषयलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँगे्रसले देशैभरी कुनै न कुनै रुपमा एजेण्डा बनाउन थालेको छ । खासगरी, मुलुकका विभिन्न ११ वटा मुख्य अस्पताल मध्ये ९ वटालाई गठन आदेशमार्फत संघीय सरकारमार्फत चलाउने योजना स्वीकृत गरेको सरकारले खजुरा स्थित क्यान्सर अस्पताललाई त्यसभित्र नपारेपछि सत्ता र प्रतिपक्षको कुत्सित राजनीतिमा हुर्किएको संस्कारलाई मलजल पुगेको हो ।
काँग्रेसले सुशील कोइरालालाई आफ्ना पार्टीका पूर्व सभापतिका रुपमा मात्र बुझेर एउटा अस्पताल नामाकरणको मुद्दा बोक्ने यतिबेलाको विषय कति सान्दर्भिक र ऐतिहासिक महत्व विषय रहला समयले नै बताउला । तर, सरकार विरुद्ध आन्दोलनको मौसम सिर्जना गर्न यो ऐजेण्डा फगत र हाँस्यास्पद छ भन्दा अन्यथा ठान्नु पर्दैन । किनभने सरकार वा सरकार सम्बद्ध कुनैपनि आधिकारिक निकायले क्यान्सर अस्पतालको नाम फेर्न गठन आदेश भित्र नसमेटेको धारणा सार्वजनिक गरेका छैनन् । बरु प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिंदै भनेका छन्, ‘गठन आदेशमा नपरेका अस्पतालमा पनि यही अवस्थामा रहँदैनन्, अझ राम्रो ढंगले अगाडि बढ्छन् ।’
हुनत तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले खजुराका आम जनताको क्यान्सर अस्पताल सञ्चालन गर्ने दशक बढीको सपना, लगानी र भावना माथि सोझै धावा बोल्दै राजनीतिक हस्तक्षेपबाट भयानक संक्रमण गर्न सफल भए । नेपाली राजनीतिका निर्विवाद र निष्कलंकित व्यक्तित्व सुशील कोइलालाई सरकारी सम्मान दिनुभन्दा जनताको भावनामा खेलवाड गर्दै राष्ट्रिय नाममा रहेको स्वास्थ्य संस्थामा लगेर जोडिदा त्यसको भविष्य कतातिर जान्छ भन्ने कुराको सामान्य आंकलन एउटा राजनीतिक चेतना भएको व्यक्तिले पक्कै गरेको हुनुपर्छ । उनले श्रद्धेय सुशीललाई सम्मान गर्न साँच्चिकै चाहेको भए एक÷सवा सय करोडको नयाँ परियोजना नेपालगन्ज वा त्यसका जुनसुकै ठाउँमा दिन सक्थ्ये । तर, नेपाल क्यान्सर अस्पतालमा सुशील कोइराला जोडिएपछि भएको हस्तक्षेपकारी हर्कतले ढिलोचाँडो रंग ल्याउने स्वभाविक प्रक्रियाले अहिले आन्दोलनको विषय प्राप्त गर्यो । यसखालका कुनियतपूर्ण हर्कत नेपाली राजनीतिको फेसन बन्दै गएको छ । स्वभाविक रुपमा काँग्रेसले राजनीतिको रोटी सेक्ने वातावरण सरकारले बनाइदियो भने अन्यथा मान्नु पर्दैन ।
कुनै पनि दृष्टिले हिजो स्वास्थ्यमन्त्री गगन थापाले गरेको राजनीतिक हस्तक्षेपले श्रद्धेय कोइरालाको सम्मानको नियत राखेको थिएन भन्ने कुराको पुष्ट्याईं अहिले आएर भएको छ । निर्विवाद राजनीतिक व्यक्तित्वलाई मरोपणान्त विवादित बनाउन खोजिएको छ । जुन दुःखद् हो । वर्तमान सरकारले यदी नाम फेर्नकै लागि गठन आदेश भित्र खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई गठन आदेशभित्र नपारेको हो भने तत्कालीन मन्त्री स्तरीय निर्णय भन्दा नाम फर्ने अबको निर्णय थप विवादित हुन्छ । मरणोपरान्त कोइरालालाई सम्मानको साटो अपमान गर्ने दुष्कर्म कतैबाट हुनुहुँदैन । तर, तत्कालीन स्वास्थ्यमन्त्रीले गरेको गलत निर्णयलाई सच्याउने, सुधार गर्ने वा दण्डित गर्ने उपाय सुशील कोइरालाको नाम विवादित गर्नु होइन ।
कोइराला बाँके मात्रै होइन देशकै एउटा उचाई लिएको राजनीतिक व्यक्तित्व भएकाले उनको सम्मानमा सरकारले किन्चित पनि साँघुरो मन बनाउनु हुँदैन । थापाले राजनीतिक हस्तक्षेपका नाममा रोपेको वृषवृक्षको प्रभाव उनी वा त्यसमा संलग्न बाहेकलाई नपरोस् भन्नेमा यतिबेला सबै सचेत हुन आवश्यक छ । अतः क्यान्सर अस्पतालको नाममा भैरहेको गलत राजनीति र राजनीतिका नाममा गगन थापाले संक्रमण गरेको क्यान्सरको उपचार सचेत ढंगले समयमै खोजिनु पर्छ ।