महानगर गाथा

प्रधानमन्त्री ज्यु,

देश जोड्ने अवसर हो राष्ट्रिय खेलकुद

नेपाली क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्रीको आत्मकथा कप्तान १९९८ को सार्वजनिक गर्ने क्रममा कमलादीस्थित प्रज्ञा डबलीमा आयोजित लोकार्पण समारोहमा नेपाली आख्यानका चिरपरिचित नयनराज पाण्डेले भनेका थिए, ‘साहित्य र संगीतले जोड्न नसकेको समाजलाई खेलकुदले जोडिदिन्छ ।’

 
साँच्चै साहित्य, संगीत, सिनेमा पनि जातिय, धार्मिक र साम्प्रदायिक घेराभन्दा बाहिर हुन्छ भनिन्छ । यसको कुनै सिमा हुँदैन पनि भनिन्छ । तर, भाषाले चाहि यी सबको दायरा अलिक सिमित गरिदिएको हुन्छ ।
त्यसैले भनिन्छ, खेलकुद मात्र एउटा त्यस्तो विधा हो, जसमा जातिय, धार्मिक, साम्प्रदायिक र भाषिक गन्ध भेटिंदैन । सबैको एउटै भाषा हुन्छ । जात, धर्म र साम्प्रदायिक सोंचले कहीं कतै स्थान पाउँदैन । फुटबल, भलिबल वा क्रिकेटको भाषा एउटै हुन्छ । हरेक जात, धर्म र सम्प्रदायका सदस्य उक्त टिममा अटाएका हुन्छन् । सामुहिक कर्ममा मात्र बिश्वास गरिन्छ । लक्ष्य र उद्देश्य सबैको समान हुन्छ ।

 
संसारमा ओलम्पिक तथा एशियाड जस्ता बृहत गेम्सको अवधारणा पनि बिश्व मानव समुदायलाई एउटै मालामा गाँस्नु नै थियो । आपसी प्रेम, भाइचारा यी खेलकुदका मुल मर्म । भातृत्वको भावना साटासाट गरी समग्र मानव जाति एकै हो, क्षमता र प्रतिभा मात्र लगानी, वातावरण र अवसरका हिसाबले फरक हुन्छ भन्ने सन्देश दिन ती बृहत खेलकुद आयोजना गरिन्छन् ।

 
सन् १८९६ मा ओलम्पिक सुरु भयो । सन् १९५१ म एशियाली खेलकुदले यात्रा आरम्भ गरेको थियो । बिश्व खेलकुदको इतिहास लामो छ । त्यसकै प्रभाव पनि कुनै न कुनै रूपमा नेपाली खेलकुदमा परेको हो । नेपालमा पनि एकपछि अर्को नयाँ खेल भित्रिइरहेका थिए । त्यसले नेपाली खेलकुदको दायरा पनि फराकिलो बन्दै थियो ।
बृहत राष्ट्रिय खेलकुदको अवधारणा अघि सार्नमा राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहको भूमिका महत्वपूर्ण रह्यो । उनले बृहत् खेलकुदको अवधारणा ल्याउनुमा उनको अन्तर्राष्ट्रिय खेलकुदप्रतिको चासो र जानकारी प्रमुख हो ।

 
अर्को रोचक कारण पनि चर्चामा छ । स्वर्गीय राजा वीरेन्द्र बंगलादेशको भ्रमणमा थिए । त्यही बेला ढाकामा मिनी ओलम्पिक भइरहेको थियो । बंगलादेशको खेलकुद हेरेपछि राजा वीरेन्द्र निकै प्रभावित भएछन् । स्वदेश फर्किएपछि उनले सदस्यसचिव शाहलाई दरबारमै बोलाएर नेपालमा पनि त्यस्तै बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्न निर्देशन दिएछन् । शरदचन्द्र संभवतः यस्तै अवसरको पर्खाइमा थिए । सक्रिय पनि उत्तिकै । कुनै योजना साेंचेपछि पूरा गरेरै छाड्ने स्वभावका थिए । राजा वीरेन्द्रको निर्देशनपछि उनले तत्कालै तयारी थाले । राखेप बोर्ड बैठक बोलाई निर्णय गराए, अनि आफै पनि जुटे ।

 
खेल पूर्वाधार थिएनन् । खेलकुदका पदाधिकारीहरु समेत बृहत् खेलकुदबारे अनभिज्ञ थिए । हरेक प्रतिस्पर्धाहरू नौला थिए । अन्यौल किन पनि थियो भने यति ठुलो खेल महोत्सव पहिलोपल्ट हुँदै थियो । अनि खेलको व्यवस्थापन र अनुभव पहिलो थियो । तर खेल पदाधिकारीहरुको रातदिनको मेहनत, धैर्य र साहसले खेलकुदको कुम्भमेला नेपाली खेलकुद इतिहासकै कोशेढुङ्गा बन्न पुग्यो ।

 
२०३८ साल भदौ २७ गते एउटा भव्य समारोहबिच राजा वीरेन्द्रले बृहत् खेलकुद्को उद्घाटन गरे । त्यो साँच्चै भव्य थियो । देख्नेसुन्नेहरू भन्थे, २०३१ सालमा वीरेन्द्रको शुभराज्याभिषेकमा दशरथ रङ्गशालामा गरिएको छात्रछात्राहरूकोे प्रस्तुतिमा त्यस्तै भव्य सहभागिता थियो रे । त्यसबाहेक नेपालमा फुटबल प्रतियोगितामा धेरै दर्शक जुट्थे । तर यसपटक भने झण्डै १५ सय खेलाडी र दर्शकको भीडको व्यवस्थापन थामिनसक्नु थियो । तर सदस्यसचिव शाहको कार्यकुशलताले यो सबै सहज ढङ्गले अघि बढ्यो ।

 
छात्रछात्राको प्रस्तुति, परम्परागत सांस्कृतिक झाँकीहरूले दशरथ रङ्गशाला रङ्गीविरङ्गी भएको थियो । नेपाली खेल इतिहासमा पहिलोपल्ट १५ सय खेलाडीले मार्चपास गरेका थिए । विभिन्न १६ खेल खेलाइएका थिए । तीमध्ये ७ खेल भर्खर भित्रिएका थिए । नौ वटा भने एशियाली प्रतियोगितामा समावेश हुने खेल थिए । खेलमा विभिन्न अञ्चलका खेलाडीले २ सय २६ पदकका लागि सङ्घर्ष गरेका थिए ।

 
पहिलोपटक बृहत खेलकुद सञ्चालन गर्न सरकारले ८ लाख ७६ हजार रूपैयाँ बजेट निकासा गरेको थियो । त्यति धेरै बजेट खेलकुदमा खर्चिनुको अर्थ नहुने भन्दै एकथरिबाट आलोचना पनि गरियो । तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह राखेपको संरक्षक थिए । राजपरिवारको साथ खेलकुदमा थियो । त्यसैले खुलेर कसैले विरोध भने गरेनन् । त्यसैले, बृहत खेलकुद विना कुनै बाधाव्यवधान सम्पन्न भयो । समापन समारोहमा खेलाडीलाई हौसला साथै पुरस्कार र पदक प्रदान गर्न पनि राजा वीरेन्द्र आफै सरिक थिए ।

 
बृहत् राष्ट्रिय खेलकुद्को आयोजनासँगै नेपाली खेलकुदले नयाँ दिशा लिएको हो । नेपाली खेलकुद विकासको आधारस्तम्भ भनेकै वास्तवमा बृहत् राष्ट्रिय खेलकुद नै हो । अरू देशमा पहिल्यै यो अभ्यास थालिएको थियो, नेपालमा भने बल्ल सुरु हुँदै थियो । बृहत् प्रतियोगिताको आयोजनाले नेपाली खेलकुदमा ठूलो हलचल ल्याइदियो, एक प्रकारको क्रान्ति नै ल्यायो भन्दा पनि हुन्छ । त्यसको जगबाट अहिलेको अवस्थामा आएको हो नेपाली खेलकुद । तर विडम्बना प्रतियोगिता आरम्भको करिब चार दशकमा बृहत् खेलकुदका सात वटा संस्करण मात्र हुन सके ।
बृहत् राष्ट्रिय खेलकुदको अवधारणा हरेक दुई बर्षमा अलगअलग अञ्चलमा आयोजना गर्ने थियो । हरेक दुई बर्षमा प्रतियोगिता गरिंदा नेपालको अति विकट कर्णाली अञ्चलले पनि ढिलोमा २८ बर्षमा बृहत् राष्ट्रिय खेलकुद आयोजनाको स्वाद चाख्न पाउँछ भन्ने मान्यता थियो । यसले देशभरका खेलकर्मीहरूमा बेग्लै उर्जा प्रदान गरेको थियो । बृहत् राष्ट्रिय खेलकुदमा सबैको समान पहँुचको अवधारणा एकातिर थियो भने अर्कोतिर देशभरका हरेक अञ्चलमा खेलकुदका भौतिक पूर्वाधार निर्माण हुने सम्भावना थियो । पहिलो राष्ट्रिय खेलकुदको सफलताको उत्साह र खेलकुद विकासमा त्यसले पु¥याएको सकारात्मक प्रभावले देशव्यापी उत्साहको सञ्चार गरिदियो ।

 
नेपालगन्मा भएको चौथो राष्ट्रिय खेलकुदको संरचना भने पञ्चायतकालीन तीन वटा स्पर्धाभन्दा फरक थियो । तेस्रोसम्म प्रतियोगितामा अञ्चलगत प्रतिनिधित्व गराइन्थ्यो । तर, चौथोमा क्षेत्रगत आधारमा टोली बनाउने निर्णय गरियो । पाँच विकास क्षेत्रका पाँच टोली र विभागीय टोलीका रूपमा नेपाली सेना र नेपाल प्रहरी गरी सात समूहबीच प्रतिस्पर्धा हुने भयो । १४ अञ्चलबाटै खेलाडीको सहभागिता गराइने प्रतियोगिताको स्वरूप फेरिँदा केही कुरा राम्रै भए पनि खेलमा बृहत् सहभागिताका दृष्टिले अलि फिका भएको थियो । अञ्चल अञ्चलबीचको प्रतिस्पर्धाको फाइदा के थियो भने प्रतियोगिताका सहभागी धेरै भएकोले त्यसले आपसी प्रतिस्पर्धाको भावना जगाउँथ्यो । अञ्चलको समर्थनमा धेरै समर्थकहरू उर्लन्थे । यो कुरा क्षेत्रगत प्रतियोगितामा कम देखियो । अञ्चलभन्दा क्षेत्रको भौगोलिक आकार र जिल्ला धेरै हुने नै भयो । त्यसले तुलनात्मक रूपमा कमै भावना जगाउँदो रहेछ । खेलाडी पनि कम, समर्थक पनि कम भए । त्यसैले उत्साह अघिल्ला बृहत् खेलकुद जस्तो देखिएन । तर लामो समयपछि प्रतियोगिता हुन लागेकाले खेलकुद जगत पुनः एकपटक जुर्मुराएको थियो । क्षेत्रगत खेलकु्दको फाइदा नवप्रतिभाशाली खेलाडीहरूले उठाए ।

 
फेरि यतिबेला नेपालगन्जले बृहत राष्ट्रिय खेलकुदको अवसर पाएको छ । त्यो पनि बेग्लै संरचनामा सञ्चालन हुनेगरी । किनकी मुलुक संघीय गणतन्त्रमा प्रवेश गरिसकेपछि पहिलोपटक बृहत राष्ट्रिय खेलकुद हुँदैछ । प्रदेश टिमले भाग लिनेछन् । एकातिर खेलकुदको पृथक संरचनामा खेलकुद हुँदैछ, अर्कोतर्फ बाँडिएका मनलाई एकत्रित गर्नुछ । हिजो अञ्चलगत वा क्षेत्रगत संरचनामा एकठाउँ भएका खेलाडीहरु प्रादेशिक संरचनामा अलग हुनेछन् । यतिबेला सबै खेलाडीलाई एक ठाउँमा ल्याएर संघीयताको आभाष दिलाउनुका साथै खेलकुदकै कारण पुर्व मेचीदेखि पश्चिम महाकाली तथा उत्तरका सेताम्मे हिमालदेखि समतल तराइ मधेसका बासिन्दालाई एक ठाउँमा ल्याउनुपर्नेछ । यसले पक्कै पनि एउटा ठुलो सन्देश प्रवाह गर्नेछ । हामी अलग प्रदेशमा भएपनि सबै नेपाली हौं, नेपालको राष्ट्रिय झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउन हामीले अटल बिश्वास कायम राख्नुपर्नेछ भन्ने सन्देश दिनुपर्नेछ । प्रधानमन्त्री मुलुकको कार्यकारी प्रमुख तथा राष्ट्रिय खेलकुद परिषदको संरक्षक । यसहिसाबले पनि बृहत राष्ट्रिय खेलकुदको सफल आयोजनासँग स्वयं प्रधानमन्त्रीको कार्यकुशलता र दुरदर्शिता पनि जोडिएको हुन्छ । समग्र देशको प्रतिष्ठा गाँसिएको हुन्छ । हरेक बालबालिका वा खेलकुदमा लागेका किशोरकिशोरीका लागि बृहत राष्ट्रिय खेलकुदको सहभागिताले जीवनमा अलग महत्व राख्दछ । कुनै पनि खेलको राष्ट्रिय च्याम्पियनसीपभन्दा बृहत गेम्स कहाँ हो कहाँ अतुलनीय हुनेगर्दछ । तसर्थ खेलकुदमा भाग्य र भबिष्य खोजिरहेका मुनाहरुका लागि भौतिक पुर्वाधार भन्दा निर्धारित समयमा राष्ट्रिय खेलकुद नै अपरिहार्य हुनेगर्दछ । भौतिक पुर्वाधार सम्बन्धित जिल्ला वा प्रदेशका लागि र समग्र खेलकुद विकासका लागि अनिवार्य शर्त जस्तै हुने नै भयो । जे भनेपनि निर्धारित समयमा नियमित बृहत गेम्स सबैका लागि फलदायी हो ।

 
तसर्थ प्रधानमन्त्रीज्यु, यो तपाईंका लागि यो सुवर्ण अवसर हो । बृहत राष्ट्रिय खेलकुद जस्तो समग्र देश जोड्ने प्रभावकारी र ठुलो मञ्च सायद अर्को कुनै छैन । नेपालगन्ज आतिथ्यता गर्न तयारी अवस्थामा छ । सिंगो प्रदेश नं ५ तयार छ ।

 
यतिबेला संघीय संरचनामा गएको देशलाई एकताको मालामा गाँस्ने आवश्यकता छ । सबैलाई भावनात्मक एकतामा जोड्न जरुरी छ । प्रधानमन्त्री ज्यु, म फेरिपनि भन्दैछु, आठौं राष्ट्रिय खेलकुद तपाईं, म र समग्र नेपालीका लागि एकताको सन्देश प्रवाह गर्नसकिने अग्लो मञ्च हो, निर्धारित समयमै गर्नसके यसको जश स्वयं तपाईंलाई नै जानेछ ।

प्रतिक्रिया

प्रतिक्रिया