हेमन्त राज काफ्ले
हाम्रो समाजमा महिलाका हक र अधिकारका कुरा निकै नै ठूलो स्वरमा उठ्ने गर्छ । समाजमा महिला अधिकार अनि विभिन्न अवसर समानुपातिक र समावेशीकरणका कुराहरु नि खुबै भन्ने गरिन्छ । नाम मात्रको अधिकार अनि नियम कानुनमा जति भने पनि हाम्रो समाजका महिलाहरुको अबस्था निकै नै दयनीय छ । महिलाहरु पीडित नै छन् आफूमा जति पीडा भएपनि परिवार बुवा आमाको ईज्जत्का लागि सहेर बसेका छन् । काहीँ ससुरा बाट पीडित काहीँ सासू अनि काहि श्रीमान बाट पीडित छ्न महिलाहरु । कुनै पनि नराम्रो कुरा वा हिंसा भए पनि सकभर त्यस्ता पिडाको कुरा महिलाहरु सार्वजनिक गर्न चाहँदैनन । कुनै देश, कुनै धर्म, कुनै संस्कृति, कुनै भाषामा छैन महिलालाई अन्याय गर्नु भनेर । महिलाप्रतिको आदरभाव र प्रेमले नै यो संसारमा हाम्रो जन्म भएको छ । जसरी शैक्षिकस्तर बढ्दै गयो, आधुनिकताले स्थान लिँंदै गयो, त्यतिनै हिंसाको प्रकृति बढ्दै गैरहेको देखिएको छ । कानले सुन्नै नसक्ने र आँखाले देख्नै नसक्ने प्रकृतिका घटनाहरू बढ्दैै गएको छ । बोक्सीको आरोपमा मलमूत्र खुवाउनु, कुटपिट गर्नु, दाईजो कम ल्याएको बहानामा जिउँदै जलाउनु रक्सी खाएर श्रीमती पिट्नु हिंसाका अनेक रूप हुन् ।
समाजमा दाइजोका कारण लाखौंको संख्यामा महिलाहरू हिंसाको सिकार भएका छन् । तराई मधेस र पहाड यस्ता हिंसाका घटना दिन प्रतिदिन बढेको पाइन्छ । पति र परिवारको ज्यादतीका कारण सन्तानसमेत छोडी घरवारविहीन भई महिला निस्किनुपरेको छ । कतिपयचाहिँ हत्या र आत्महत्याका शिकार भएका छन् । त्यस्तै कतिपय चेलीले विवाहपछि पनि माइतीकै घरमा बस्नु परेको छ । बालविवाह, बहुविवाह, अनमेल विवाह, गाली बेइज्जती, अपमान, मानसिक यातनाजस्ता हिंसा र जघन्य अपराधका घटना पनि महिलामाथि नै हुने गरेका छन् । जति महिला हिंसा दिवस या अधिकारका कुरा गरे पनि सहर देखि गाउँसम्मका महिला कुनै न कुनै बहानामा हिंसाका सिकार भएको देखिएका छ्न ।
घरेलु हिंसा अशिक्षित परिवार भन्दा बढी शिक्षित व्यक्तिबाट भएको देखाएको छ । जति बुझे पनि महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन नभए सम्म महिलाको अबस्था यस्तै भइरहने छ । महिला पीडित हुनुको मुख्य कारक भनेको प्राचीन सोच, धार्मिक बिचार अनि हाम्रो रुढीबादी समाज र चल्दै आएको सस्कार पनि हो । महिला र पुरुष भनेका रथका दुई पाङ्ग्रा हुन । बास्तबमा महिला बिनाको जगत कल्पनानै गर्न सकिदैन । पुरुषभन्दा शारीरिक रूपमा महिला कमजोर भएका कारण पनि विभिन्न घरेलु हिंसाको शिकार भइ रहेका छन् । दाइजो, जाडरक्सी जुवातास, बालविवाह, बहुविवाह आदि नै घरेलु हिंसा बढाउने तत्व हुन । समाजमा जान्ने बुझ्नेहरुनै बाट महिला हिंसा बढ्दै गएको देखिनु एक बिडम्बना हो । अहिले दिनौ सयौं मुद्दा अदालतमा महिला हिंसा सम्बन्धि दर्ज भएको देखिएको छ । महिला पिडित हुनु भनेको सिङ्गो घरनै पीडित हुनु हो । महिला लाई निराश बनाउनु हतोत्साहित गराउनु अपहेलित गर्नु भनेको समाज या रास्ट्रनै कम्जोर गराउन खोज्नु हो । महिलाले आफू पीडित भएर सहेर बस्नु भनेको माकुरोको जालोमा किरा फसे जस्तै तड्पेर बसिरहनु हो । महिला बिना पुरुषको अस्तित्व नै छैन । नारी पुरुष बराबर नै हो र एक बिनाको अर्को कल्पनानै असम्भव छ भने किन महिला हिंसा समाजमा बढ्दै गएको छ । राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक आदि क्षेत्रमा पुरुषले प्रभुत्व जमाइरहेको हुनाले पनि महिलामाथि भेदभाव हुने गरेको देखिएको छ । यी भेदभाव हटाउन पुरुष र महिला दुवै समान भन्ने अवधारणालाई सरकारले आफ्नो मुख्य एजेन्डा बनाई निति नियममा नै समावेश गरी कडाइका साथ लागू गर्नुपर्छ । महिलाले समानताको सदुपयोग गर्न नसक्ने अवस्थासम्म हरेक क्षेत्रमा आरक्षणमार्फत संरक्षित गर्ने नीति राज्यले लिनैपर्छ । विभिन्न समयमा गरिएका महिलासँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्झौता, बडापत्रमा गरिएका व्यवस्थालाई अक्षरसः पालना गरिनुपर्छ ।
दिनानुदिन एकपछि अर्को बढ्दै गइरहेको महिला हिंसाका घटनाले सिंगो देशकै अबस्था जरजर भएको देखाएको छ । एउटा घटना सेलाउन नपाउँदै अर्को घटनाले आकार लिइहाल्छ । कहिले कंचनपुर कहिले पोखरा त कहिले सर्लाहीमा किन यस्ता महिला हिंसाहरु बढ्दै गइरहेको छन सरकार गम्भीर हुन जरुरी छ । सरकार लाई मात्र दोस होईनकी ईनि यस्ता घाटना किन घटेका छन् त तिनको निबारण के त यो सबैले बुझ्न जरुरी छ ।
महिलाविरुद्ध हुने हिंसा र भेदभाव अन्त्यका लागि महिलालाई सक्षम, स्वावलम्बी बनाउने विशेष किसिमको योजना सरकारले निर्माण गर्नुपर्छ । महिलालाई उचित शिक्षा र कानुनी उपचारका व्यवस्था गरिनुपर्छ । वर्तमान परिप्रेक्ष्यमा उनीहरू स महिला साक्षरता र शिक्षाको दर बढाउन छोरीलाई स्कुल नपठाउने अभिभावकलाई दण्डको भागी बनाउने नीति तय गर्नुपर्छ । त्यसैगरी महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्न सबै एकजुट हुन जरुरी छ । सरकार, आधा स्थान महिला लाई दिने व्यवस्था गर्नुपर्छ ।
हाम्रो सामाजिक परिवेश, ऐतिहासिक परम्परा, आर्थिक निर्भरता जस्ता कारणले पनि महिलाले पुरुष सरह अधिकार उपभोग गर्न पाइरहेका छैनन् । विद्यमान परम्परा, सामाजिक रीतिरिवाज, मूल्य मान्यतामा परिवर्तन ल्याई महिलामैत्री बनाउनु पर्छ । यदि महिलाले सधैं यसरी नै पिल्सेर दबेर थिचिएर बसे भने देशको अवस्था अझै जरजर हुन सक्छ । यदि देश साँचि नै विकसित गर्नु छ भने महिलालाई पुरुष सरह स्वतन्त्र भएर बाच्न दिनु पर्छ । महिला पनि आफ्नो मान मर्यादामा रहि राष्ट्र निर्माणमा लाग्न जरुरी छ । जब सम्म सबैले महिला माथि हेर्ने दृष्टिकोण बदल्दैन तब सम्म हिंसा भइ रहने छ । कुनै पनि घर सबल अनि सम्पन्न र सफल बनाउनमा महिलाको ठूलो हात हुन्छ । महिला हिंसा अन्त्यका लागि सबै तिर बाट लाग्न जरुरी छ । कुनै पनि परिवार सुखी र खुसी जीवन जिउनका लागि महिला हरु सबल र सक्षम हुन जरुरी छ । महिला हिंसा अन्त्यका लागि आफ्नै घर बाट आजै बाट आफैले सुरु गरौ ।