महिला हिंसा र दुव्र्यबहार

कतै हामी पनि पीडक वा पीडित त भएका छैनौं ?
निर्मला बि एम

 

हिजो सोमवार सम्म विश्वभर महिला बिरुद्ध हुने हिंसा कम गर्न १६ दिने अभियान चलिरहेको थियो । नेपालको पनि बिभिन्न ठाउँमा ‘महिला हिंसा र दुव्र्यबहार छैन हामीलाई स्वीकार’ भन्ने मुल नाराका साथ थुपै्र कार्यक्रमहरु संचालन भैरहेका थिए ।

 
नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख उमा थापामगरको नेतृत्वमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म ‘महिला हिंसा र दुव्र्यबहार छैन हामीलाई स्वीकार’ भन्ने मुलनाराका साथ थुपै्र कार्यक्रमहरु संचालन गरिए । यो अभियान बिशेषगरी नोभेम्बर २५ महिला हिंसा निवारण गर्ने अन्तर्राष्ट्रिय दिवस हो भने डिसेम्बर १० मानवअधिकार दिवस । अर्थात् मानवअधिकारको सार्वभौमिक घोषणाको ७० औं बर्षगाँठ हो ।

 
यी दुबै मितिलाई जोडेर १६ दिने अभियानको रुपमा मान्ने गरिएको हो । यी दिनहरुमा सरकार, संयुक्त राष्ट्र एजेन्सीहरु तथा बिभिन्न नागरिक समाजका संस्थाहरु महिला हिंसा अन्त्य गर्नका लागि बिभिन्न कार्यक्रमहरु संचालनमा ल्याइरहेका थिए । जसको मुख्य उद्देश्य रहेको थियो महिला बालबालिकाहरुमा हुने गरेका सबै किसिमका हिंसाको अन्त्य गर्नु । युएनओमनले पनि आफ्नो वेभसाइडमा भिडियो मार्फत बिश्वको रेकर्डमा पनि प्रत्येक ३ मध्य १ महिला आफ्नो जीवनकालमा शारीरिक वा मानसिक हिंसामा परेका छन् त्यसैले अहिले नगरे कहिले गर्ने र तपाइले नगरे कसले गर्ने भन्ने कुरा देखाएको छ ।

 
महिला हिंसा मानवअधिकारको उलंघन हो । महिला हिंसा महिला तथा बालिकाको नकारात्मक असर मात्र नभइ समग्र परिवार, समुदाय र देशको बिकासमा असर पर्ने कुरा हो । यसको प्रभाव तत्कालदेखि लामो समयसम्म पनि देखिन सक्छ । यसले नकारात्मक असर पारी महिलालाई कुनै पनि कार्यमा पुर्णरुपमा सहभागिता हुनबाट रोक्छ । भनिन्छ, महिला पुरुष एक रथका दुई पांग्रा हुन् । नेपालको परिवेशमा समग्रमा हेर्दा एक पांग्रा कमजोर नै देखिन्छ ।
ब्यक्तिबाट समाज बन्छ सामाजबाट देश । त्यसैले हरेक ब्यक्ति बराबर महत्वको छ । लंैगिक समानता दीगो विकास लक्षको ५ नम्बर बूँदा हो । दीगो बिकासको लागि समानता अति आवश्यक छ । लैंगिक समानता बनाउनका लागि अहिले महिलाका लागि मात्र लक्षित गरेर केही समतामुलक कार्यक्रम गर्न आवश्यक छ । महिला यसै पनि पछाडि परिरहेको हुनाले उनीहरुलाई पहिले त बराबरमा ल्याउन आबश्यक छ भने त्यसपछि संगसंगै हिड्ने कुरा आउँछ । हामीले बुझ्नु र बझाउनु पर्ने एउटा कुरा यो पनि छ महिला बिशेष कार्यक्रम गर्नु भनेको पूरुषलाई पछि पार्नु वा पार्न खोज्नु कदापि होइन महिलालाई पुरुषको स्तर बराबरको बनाएर संगसंगै हिडाउनु हो ।

 
कानुनको कुरा गर्दा कार्यन्वयन पक्षमा कमजोरी देखिन्छ । कसैले कसैलाई जाति, लिङ्ग,धर्म,भाषा, राजनीतिक सामाजिक पहिचान, सम्पति तथा अन्य स्तरका आधारमा भेदभाव गर्न नपाइने कुरा प्रष्टै भएता पनि महिलाका लागि बनेका कानुन तथा हकअधिकारका बारेमा अधिकांस महिला अन्जान छन् । कतिपय अबस्थामा हिंसा के हो पीडित र पीडक दुबैलाई थाहा छैन ।

 
केही दिन अगाडि एक गाउँमा महिला हिंसा बिरुद्ध आवाज उठाउनु पर्छ, कुनै किसिमको पीडा सहनु हुँदैन पीडित बोल्नु पर्छ भन्ने बिषयमा छलफल भएको थियो । धेरै महिला हाम्रो तिर त हिंसा भएको छैन कताकता हुन्छ रे भन्दै हुनुहुन्थ्यो अनि संचालकले सोध्नु भयो के हो हिंसा भनेको ? धेरैको उत्तर थियो बलात्कारमा पर्नु वा कसैले महिलालाई कुट्नु । लामो छलफल पछि केहीले बुभ्नु भो र भन्न थाल्नु भो हो हामी दैनिक हिंसामा परेका छौ ।
महिला भएकै कारण हामिले धेरै पटक हाम्रा इच्छा चाहानाहरु दवाएर बाँचेका छौं । हरेक घरलाई नियालेर हेरेउ भने अहिले पनि अधिकांस परिवारमा स्तनपान गराउने महिलालाई तिमीलाई पहिला र पौष्टिक खानुपर्छ भनेर अगाडि ब्यबस्था गरेको देखिदैन । गर्भवती तथा स्तनपान गराइरहेका महिला परिवारका मात्र नभइ सामाज र देशकै ठुलो जिम्मेवारी निभाइरहेको अबस्थाका महिला हुन् । देशको भबिष्य उनीहरुले नै जग बसाल्ने हुन् । उनीहरुलाई हामीले घर समाजदेखि नै कत्तिको महत्व दिएका छांै । शिक्षा औपचारिक र अनौपचारिक लिन दिन सकिन्छ ।

 
कतिपय महिलाहरु औपचारिक शिक्षाबाट बन्चित भैसकेका हुन्छन् तर अनौपचारिक शिक्षा भनेको दैनिक क्रियाकलापबाट सिक्न सक्छन् चिया गफगाफ पनि सिकाइको माध्यम हुना सक्छ । पारिवारिक गफगाफ पनि सचेतनाको माध्यम हुन सक्छ । तर, यस्तो बेलामा महिलालाई भान्छामा सत्कारका लागि खटाएर पुरुषहरु देश बिदेशका गफ गर्छन् । कहिंकतै महिलाले सुन्न चाह्यो भने आँखा मुखले जान्ने हुने कोठामा जा भनेर आदेश गर्छन् । अहिले पनि बिचार गरौं घर, समाजमा महिलाको कुराको उनको बोलीको बराबर महत्व छ कि छैन ? महिलालाई पनि बुझांै प्राथमिकता दिन पर्ने ठाउँमा दिउँ । हामीले बुभ्नु पर्ने कुरा यो छ कि महिलालाई समान रुपमा साेंच्नु र संगसंगैको भावना परिवारदेखि बिकास गर्नु भनेको आफ्नै रथको अर्को पांग्रा बलियो बनाउनु हो । घर समाज देशलाई नै गुडाउनु हो ।

 
घर बाहिर गएर काम गर्ने महिलाहरु झन् दोहोरो पीडामा छन । पूरुष जब बाहिरबाट ठाँटसंग आउँछन् । महिला गेटसम्म झोला तथा कोट समात्न पुगेका हुन्छन् र थाकेका होलान् भन्दै चिया तथा पानीको ब्यवस्था गर्छन् । तर, महिला बाहिर बाट आउँदा के के नै गल्ती गरे भंmै छिटो छिटो कपडा फेरेर घर सम्हाल्नमा तातिन्छन् । लाग्छ उनिहरु दिनभर अफिसमा आराम गरेर आएका हुन् । केही घटनाहरु महिला दिनभर घरमा हुँदा पनि पुरुष दिन भर थाकेर आएर बेलाका घर सम्हाल्ने पनि होलान् तर अधिकाँश महिला नै पीडित छन् । पीडकमा सबै पुरुष पनि छैनन् भने पुरुषमात्र पनि छैनन् । परिवार तथा समाजका पाका महिलाहरु आफैले भोगे देखेका सबै कुरा नयाँ पिढीले भोग्नुपर्छ भन्नेमा लागि परेका हुन्छन् ।

 
हिंसाका कुरा गर्दा महिलामात्र हिंसामा पर्छन भन्ने त होइन तर समग्रमा महिला धेरै हिंसामा पर्ने गरेका छन । हिंसामा पर्नु महिला वा पुरुष कसैको लागि पनि सानो वा सामान्य कुरा होइन । त्यसैले यसको अन्त्यका लागि घर समाजबाट नै दैनिक क्रियाकलापलाई नियालेर हेर्नु पर्छ कतै हामी पनि पीडक वा पीडित त भएका छैनौं ? (नेपालगन्ज – १९ चक्रपथ बाँके )

प्रतिक्रिया

प्रतिक्रिया