वसन्त गौतम
आज भोलि बजारमा अनेक थरि विज्ञापन आउने गरेका छन् । आजभोली फलफूलको रसहरु तथा जुसको विज्ञापनमा पनि निकै झुट एवं भ्रमपूर्ण कुराहरुको प्रचार प्रसार भैरहेको छ । यस्ता बिज्ञापनमा ‘ताजा फलफूलबाट बनाई केही नमिसाई बट्टामा बन्द गरिएका स्वस्थ’ भनेर जोडतोडले प्रचार गर्ने गरिएको छ । फलफूलको वास्ना र चिनी मिसाएर बनाइएका रसलाई हामी साँच्चिकै फलफूलको रस भनेर पत्याई किनेर खाने गर्दछौ । ठण्डा दिमाखले सोचौ त फलफुलकै रस हो भने के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ‘ताजा’ रहिरहन सक्छ ? बिल्कूल सक्दैन । फलफूलका रस बनाएर राख्दा फलफूलमा भएका कतिपय पोषणतत्व नष्ट हुन्छन् । फलफुलको फ्लेवर लगाई कमसल उत्पादनलाई पनि राम्रो भनी उपभोक्ता ठग्ने काम उत्पादकहरुले गरीरहेका छन् । बिज्ञापनमा उम्लेको दुधको पोष्टिक तत्व हर्लिक्सले पुर्ति गर्छ भन्छन् त जुस र ड्रिङ्कले बलवान र शक्ति दिने कुरा गर्दछन् ।
बिचार गरौ, के बिज्ञापनमा आउने सबै कुरा सत्य र वास्तविक हुन्छन त ? कदापी हुदैनन । ति त ग्राहक तान्न गरिएका आकर्षक ललिपप मात्र हुन । अर्को हिसावले भन्दा ग्राहक ठग्ने माध्याम हुन । टेलिभिजनमा हर्लिसको एउटा विज्ञापन आउँछ । ‘दुध उम्लेपछि पौष्टिक तत्व नष्ट हुन्छ । त्यसैले हर्लिक्स मिलाएर बच्चालाई दिनुस् र दुधको पोषण बढाउनुस्।’ “तपाईका बच्चाहरुले घरको खाना खाँदैनन ? त्यसैले हर्लिक्स खुवाउनुस, यो खाएपछि बच्चा छिटो बढ्छ, बढी बुद्धिमान हुन्छ ।’ झट्ट सुन्दा हो जस्तो लाग्ने यस्ता बिज्ञापनले मानिसलाई बेकुव बनाउने र घरमा उब्जाउ भएका पौष्टिकयुस्त बस्तुको प्रयोगमा निरुत्साहित गर्ने गरेका छन् ।
आफ्नो खेतवारीमा उत्पादन भएको जौ को सातु महंगो हर्लिक्स भन्दा कैयौ गुणा स्वास्थबर्धक पौष्टिकयुक्त मानिन्छ । तर मानिसहरु आकर्षक बिज्ञापनका कारण हलिक्स, वनबिटा जस्ता रेडिमेट खाद्य बस्तहरु आफ्ना बच्चालाई खुवाउने गर्दछन् । टेलिभिजनमा आउने हलिक्सको बिज्ञापनमा एकजना स्वास्थ्यकर्मी आएर यस्तो खानेकुराले ‘बालबालिकाको बुद्धि बढाउँछ’ भन्दछन् । कुनै पनि बजारिया प्याकेटमा राखिएका खानेकुराहरुले बच्चालाई न त अग्लो बनाउँछ, न बढी बुद्धिमान बनाउँछ । बच्चालाई घरमा नै बनाइएका दाल, भात, रोटी, तरकारी, दूध, दही, फलफुल, गेडागुडी आदिको उचित पोषणले नै स्वस्थ राख्न मद्धत गर्दछ । कुनै खास खानेकुराले बालबालिकालाई बढी नै बुद्धिमानी बनाउने भए धनी बाउआमाका छोराछोरी बढी नै बुद्धिमान हुनु पर्ने तर वास्तविकतामा त यस्तो देखिएको छैन । बरु रेडिमेट खाद्य बस्तु भन्दा गाउँले उत्पादित खाद्यबस्तु खाएका बच्चाहरु तन्दुरुस्त र स्वस्थ देखिएका छन् । उनीहरु नै बलवान देखिएका छन् । बजारीया रेडिमेट खाएकाहरु रोगी र अनावश्यक मोटोपनका शिकार भएका भेटिन्छन् ।
यस्तै भ्रमपूर्ण विज्ञापनका कारणले गर्दा धेरै बाबुआमाले आफ्ना बच्चाहरुलाई घरको दालभात, रोटी, तरकारी, फलफुल खान प्रेरित नगरेर बाहिरका महंगा र जंगफुट चाउचाउ बिस्कुट जस्ता खानेकुराहरु दिने प्रचलन बढ्दै गएको छ । आफुलाई आधुनिक शहरिया देखाउनैका कतिपयले यस्ता बस्तुहरु प्रयोगमा ल्याउने गर्दछन् । यस्ता बस्तुको उपभोगमा आफुलाई ठुलो सम्झन्छन् ।
चाउचाउ, बिस्कुट, कुरमुरे लगायतका जंग फुट र कोल्ड ड्रिक लगायतका पेय पदार्थले वालवालिको स्वास्थ्यमा राम्रो गर्नु भन्दा बढी नराम्रो गरिरहेका हुन्छन् । बेलामा बुद्धि नपुराई घरमा बनाएको खाना भन्दा रेडिमेट उत्पादित खाना दिदा आफना बच्चाहरु बिरामी परेर आज थुप्रै अभिभावकहरु चिन्तित भैरहेका छन् । सजिलो र आकर्षक बिज्ञापनको भ्रममा परेकोमा मनमनै आफैलाई धिक्कारेका छन् । बिरामी परेका छोरा छोरीको स्वास्थ्य उपचार गर्न देश बिदेश दौडिरहेका छन् ।
गुलिया आइसक्रिम, चोखोपन, चकलेटहरु जति खाए पनि कुनै खास मञ्जनले दाँत माझेपछि चाँहि दाँतमा केही असर नगर्ने भन्ने किसिमका विज्ञापनहरु पनि संचार माध्याममा आउने गरेका छन् । यसबाट बच्चाहरु मात्र नभई आमा बाबुहरुमा पनि ठूलो प्रभाव परेको देखिन्छ । तर यस किसिमका भनाइ बिल्कुलै गलत हुन् । बालबालिकाहरुको दाँतमा चकलेट, केक, आइसक्रिम, कोकाकोला, पेप्सी आदि गुलियो वस्तुको नकारात्मक असर पार्ने स्वास्थ्यकर्मीहरु बताउछन् ।
वास्तवमा भन्ने हो भने कुनै वस्तुको जति बढी विज्ञापन हुन्छ त्यो वस्तु नै हामीलाई नचाहिने रहेछ भनेर बुझे हुन्छ । भटमास, कोदो, मकै, चना, जौ, फापर जस्ता वस्तुको विज्ञापन गर्न पर्दैन ति बस्तु हाम्रा लागी कति उपयोगी र हितकर छ भन्ने कुरा हामी कसैबाट छिपेको छैन । तर आधुनिकता र अल्छीपनाले गर्दा आज हामी हाम्रा बच्चाहरुको स्वास्थ्य बिगार्नमा हामी आफै जिम्मेवार भैरहेका छौ । हामी आफैले आफ्ना बालबालिकालाई यस्ता बस्तुका परिकार बनाएर दिनुको सट्टा सजिलोको लागी रेडिमेट खानाको प्रयोग बढी नै मात्रामा गर्न थालेका छौ । आधुनिक र सभ्य कहलिन बजारीया सामग्रीको प्रयोग गर्न थालेका छौ ।
भ्रमपुर्ण विज्ञापनकै प्रभावले गर्दा आज तपाईं हामी बस्तु तथा सेवाका उपभोक्ताहरु जीवनका हरेक पलमा ठगिइरहेका छौ । विवेकहीन विज्ञापनकै प्रभावमा परेर हामीलाई आवश्यक नपरेका बस्तुहरु पनि किन्ने, घरैमा त्यो बस्तु भए पनि पकाउनको झन्झटका कारण घरमा रेडिमेट सामान भित्राउने नराम्रो बानी हामीमा परिसकेको छ । घरमा मकै भटमास, गहुँ भए पनि चाउचाउको नास्ता टक्याउने गरेका छौ । यसले गर्दा थोरै व्यय गर्ने ठाउँमा पनि हामीले धेरै खर्च गरिहेका छौ । आफ्नो स्वास्थ्य खराब गर्न आफैं अघि सरिरहेका छौ ं। विज्ञापनको प्रभावमा देखेर कुनै वस्तु प्रयोग गर्नु अघि हामीले गंभिर भएर सोच्ने बेला भैसकेको छ । के विज्ञापनमा भनिएका कुरा साँच्चै विश्वास गर्न लायक छन् त ? के विज्ञापनको प्रभावमा परेर हामीहरु विबेक त गुमाइरहेका छैनौँ ? ठण्डा दिमाखले सोचौ । भ्रमपुर्ण बिज्ञापनको आधारमा सामान खरिद नगरौ । सजिलो र आकर्षक विज्ञापनमा भ्रममा परि बालबालिकालाई जंग फुट दिन बन्द गरौ । वास्तविक कुरा बुझ्ने प्रयत्न गरौ । सकेसम्म घरमा उत्पादिन चिजबस्तुहरु प्रयोग गरौ । आधुनिक र सभ्य बन्ने नाममा स्वास्थ्य माथी खेलवाड नगरौ । घरेलु उत्पादनका बस्तुहरुको अधिकतम प्रयोग गरौ । आधुनिकता र सजिलोको नाममा आफ्नो स्वास्थ्य नबिगारौ । (लेखक गौतम उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष हुन् ।)