महिला हिंसा विरुद्ध ‘म बोल्छु’

लोक बहादुर शाह

महिला हिंसा विरुद्धको अभियान :

ल्याटिन अमेरिकाको डोमोनिकन गणराज्यमा मिरावल परिवारका तीन छोरीहरु पेट्रिया, मिनभी, र मारियाले तत्कालीन निरंकुश एवं तानाशाही सरकारको विरुद्धमा राजनीतिक आन्दोलनमा उत्रने उद्देश्यले वृहत सभाको आयोजना गरेकै कारण सन् १९६० मा तत्कालीन सरकारले तीनै जना दिदि–बहिनीको हत्या गरेको थियो । उक्त घटनालाई महिला विरुद्धको राजनीतिक हिंसाको रुपमा लिदै महिला विरुद्धका सवै प्रकारका हिंसा अन्त्य गर्नका लागि महिला हिंसा विरुद्धको अभियान प्रारम्भ भएको थियो । संयुक्त राष्ट्र संघ देखि लिएर विश्वभरका देशहरुमा समेत महिला विरुद्धको अभियानले मान्यता र निरन्तरता पाएको छ ।

अन्य वर्षहरुमा झै २५ नोभेम्वर देखि १० डिसेम्वर सम्म मनाइने महिला हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष पनि विश्वभर जारी छ । यस वर्षको नारा लैगिङ्ग हिंसा र दुव्र्यवहार ः छैन हामीलाई स्वीकार भन्ने रहेको छ । नेपालका मुख्य सहरहरुमा समेत विभिन्न कार्यक्रमका साथ सो अभियानलाई सफल पार्नका लागि भनेर र्याली, अन्तरक्रिया, मैनवत्ति प्रज्वलन लगायतका विविध कार्यक्रमहरुको आयोजना गर्ने गरेको देखिन्छ । महिला अधिकार, मानव अधिकार लगायत अधिकारको वकालत गर्ने सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले सो अभियानलाई उत्सवको रुपमा मनाउने गरेको पाईन्छ ।

महिला र पुरुष मानव सृष्टिमा प्रमुख दुई भेद हुन् । अन्र्तराष्ट्रिय तथा राष्ट्रिय कानून र प्राकृतिक न्यायको सिद्धान्तको दृष्टिले सवै प्रकारका हक अधिकारहरु महिला पुरुष दुवै जातीले समान रुपमा उपभोग गर्न पाउनु र प्रत्येक व्यक्तिले सुरक्षित र सम्मानजनक तवरले बांँच्न पाउनु सवै नागरिकको नैसर्गिक, मौलिक र मानव अधिकार हो ।

महिला हिंसाको तितो ईतिहास ः
नेपालको राजनीतिक, सांस्कृतिक एवं कानूनी इतिहास हेर्दा महिलालाई समान अधिकारबाट वन्चित गर्ने र दोश्रो तहको नागरिकको रुपमा व्यवहार गर्ने गरिएको पाईन्छ । छोरीले अंश नै नपाउने, अंश पाउनको लागि विवाह नगरेर ३५ वर्ष सम्म अविवाहित नै बस्नु पर्ने, विवाह गरेपछि पाएको अंश फिर्ता गर्नुपर्ने कानूनी व्यवस्थाले लामो समय सम्म निरन्तरा पायो । सती, देउकी, झुमा, दास, छुवाछुत, हलिया कमैया, छाउपडि, दाईजो, कमलरी, बालविवाह, बोक्सी आरोप, छोरा सन्तान प्राप्ती, बहुविवाह, बहुपति, अशिक्षा, लैङ्गिकविभेद, रुढीवादी संस्कार, सामाजिक अन्धविश्वास, धार्मिक र साँस्कृतिक बन्धन लगायतका कु–प्रथा र कु–संस्कारका कारण महिला वर्गले भोग्नु परेको दुःख, पिडा र हिंसाको नेपालमा तितो ईतिहास रहेको छ ।

महिला अधिकारको पक्षमा वकालत गर्ने महिला अधिकारकर्मी, नागरिक समाज र संघसंस्था समेतलेपटक–पटक गरेको आन्दोलनका कारण आजको एक्काईसौं शताब्दीमा आईपुग्दा महिला अधिकारलाई नेपालको संविधान र कानूनले उच्च स्थान दिन सफल भएको छ । महिला अधिकार, समानुपातिक र समावेशी सिद्धान्तको अनुुसरणका कारण नेपाल अहिले विश्वकै उदाहरणीय राष्ट्र बन्न सफल भएको छ । बंशीय हक, लैङ्गिक समानता, नागरिकता सम्वन्धी हक, समावेशी प्रतिनिधित्व, पीडितको संरक्षण सम्वन्धी संबैधानिक एवं कानूनी व्यवस्थाका कारण महिला अधिकार सम्पन्न एवं सार्वभौम नागरिक बनेका छन् ।

विवाह भएको छोरी बहिनीले पनि छोरा सरह वंशीय हक अंश पाउने, आमाको नामबाट पनि नागरिकता पाउने लगायतका वंशीय र समानताको हकलाई संविधान र कानूनले ज्ञारेन्टी गरेको छ । महिला हिंसा अन्त्य होस् र हिंसाको पूनरावृति नहोस भन्न अभिप्रायले महिला हिंसाको अपराध गर्नेलाई सजायको मात्रा पनि बढाएको छ । महिलाको हकअधिकारको रक्षाका लागि विभिन्न आयोग तथा समितिहरुको निर्माण भएको छ । महिला संग जोडिएका विषयलाई न्याय सम्पादनमा समेत प्राथमिकता दिने गरिएको छ । यस अर्थमा संवैधानिक एवं कानूनी दृष्टिकोणले हेर्दा महिला अधिकारको रक्षा गर्न, हिंसा हुन नदिन र हिंसा पीडित महिलालाई न्याय दिलाउनको लागि ऐन, कानूनको कमी देखिदैन । महिला अधिकारका पक्षमा यति धेरै ऐन, कानून, नीति, नियम, प्रतिवद्धता हुँदा हुँदै पनि महिला हिंसाका घटनामा कमी आउन सकेको छैन, हिंसामा परेका सवै महिलाले न्यायको अनुभूति गर्न पाएका छैनन, हिंसा गर्ने सवै अपराधीले सजाय पाउन सकेका छैनन, महिला सुरक्षाको ज्ञारेन्टी हुन सकेको देखिदैन किन ? आजको गम्भीर प्रश्न यही हो ।

महिला हिंसा विरुद्ध म बोल्छु ः
महिला हिंसा विरुद्धमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानूनले बालेको छ, सवै राजनीतिक पार्टी तथा पार्टीका नेताहरुले बोल्ने गरेका छन्, सरकारले बोल्ने गरेको छ, महिला र मानव अधिकारको क्षेत्रमा क्रियाशील सवै सरकारी तथा गैर सरकारी संस्थाहरुले बोल्ने गरेका छन्, लेख रचना तथा साहित्यको माध्ययमबाट लेख्ने गरिएको छ र समग्रमा भन्नुपर्दा प्रत्यक्ष एवं परोक्ष रुपमा सवैले बोल्ने गरेका छन् तर पनि म माथि हुने गरेको हिंसामा कमी आएन तसर्थ म माथि परेको पिडा, म माथि हुने गरेको हिंसा, अन्याय, अत्याचारको विषयमा म आफै बोल्छु, म आफै आवाज उठाउछु, न्यायका लागि लड्छु भन्ने आँट आएको छ ।

संविधान र कानूनले महिला र पुरुषका वीचमा कुनै विभेद गरेको छैन बल्की महिलालाई विशेष अधिकार दिएको छ । तसर्थ मेरो घरमा, मेरो परिवारमा मेरा समाजमा, मेरो जिल्लामा, मेरो राजनीतिक पार्टीमा, म संलग्न सघं, संस्था र समूहमा, मेरो देशमा महिला भएकै कारणले मलाई वा अन्य महिला लाई कुनै विभेद गरिन्छ भने म ठाउँको ठाउँ विरोध गर्नेछु र बोल्ने छु तपाईहरुले महिला भएकै कारणले विभेद गर्ने अधिकार कहाँबाट पाउनु भयो ?
शारीरिक, मानसिक, आर्थिक, यौनिक रुपमा कसैले पनि हिंसा गर्न पाईदैन भन्ने कानून बनेको छ भन्ने मलाई जानकारी भएको छ । आजसम्म प्रथा, परम्परा, प्रचलन, रीतिरिवाज आदिका नाउँमा छाती माथि ढुंगा राखी सहेर नै बसेकी थिएं । मलाई पनि सम्मानपूर्वक बाँच्न पाउने चाहना छ सो हक तपाईले होईन संविधान र कानूनले मलाई दिएको हो । मैले कुनै अन्याय, अत्याचार गरेको छु भने सजाय भोग्न तयार छु तर मेरो शरीर माथि, मेरो मान सम्मान र भावना माथि खेलवाड गर्ने, ईज्जत आमदमा ठेस पुर्याउने, मलाई शारीरिक मानसिक आर्थिक र यौनिक हिंसा गर्ने अधिकार तपाईलाई छैन ।

मैले सुनेकी छु घरेलु हिंसा गर्ने माथि कैद र जरिवाना समेतको व्यवस्था छ । पत्नी अस्वस्थ रहेको अवस्थामा, विभिन्न परिस्थितिका कारण पत्नीले शारीरिक सम्वन्ध कायम गर्न नचाहेको अवस्थामा समेत पुरुषले महिलालाई वस्तु सरह सम्झी ईच्छा विपरित शारीरिक सम्वन्ध कायम गरेका खण्डमा पनि वैवाहिक बलात्कार हुने र पाँच वर्ष सम्म कैदको सजाय हुने नयाँ कानून आएको छ रे । हामीले विवाह गर्दा एकले अर्कालाई सम्मान गर्ने, एक अर्काको सुख दुखमा साथ दिने, एक अर्काको मान सम्मान र भावनामा हस्तक्षेप नगर्ने शर्तमा वैवाहिक सम्वन्ध कायम गरेका हौं । मलाई मेरो जीवन र आत्मसम्मान प्यारो छ । अव म तपाईको गाउँ समाजमा रहेको भनिएको कथित मान प्रतिष्ठा बचाउनको लागि आफ्नो स्वतन्त्र जीवन र स्वाभिमानलाई तिलान्जली दिन सक्दैन । मैले आफ्नो वैवाहिक सम्वन्धको कारणबाट निर्वाह गर्नुपर्ने भूमिका र दायित्व ईमान्दारितका साथ निर्वाह गर्ने छु तर जात, धर्म, क्षेत्र, लिंङ्ग, भाषा, शैली, व्यवहार लगायत जुनसुकै आधारमा पनि यदि तपाईहरुले म माथि हिंसा गर्नु भयो भने म स्वयं बोल्ने छु म माथि हिंसा भयो, मलाई न्याय चाहियो भनेर ।

म अब आफूलाई परेको पिरमर्का र अन्यायको विरुद्धमा मात्र होईन टोल, छिमेक र समाजमा हुने गरेका हिंसाको विरुद्धमा समेत खुलेर बोल्ने साहस र आँट आएको छ । सभ्य राष्ट्र निर्माणका लागि घर, परिवार र समाज पनि सभ्य हुनुपर्दो रहेछ भन्ने बुझेकी छु । प्रत्येक नागरिकले आफ्नो लागि मात्र होइन समाजको लागि पनि केही न केही योगदान दिनुपर्दो रहेछ भन्ने आभास भएको छ । हिजोका दिनसम्म छिमेकीले झुट्ठा आरोप लगाउदै पतीले पत्नीलाई कुटपिट गरेको, घरबाट निकाला गरेको देखे, दाईजो नलाएको, वानी व्यहोरा राम्रो नभएको भन्ने बहाना बनाई पती, सासु, ससुरा सवै मिली गलहत्याएको आफ्नै आँखाले देखे तर मैले केही बोल्न र लेख्न सकिन, मलाई लाग्यो अरुको घरको विवादमा किन पर्नु अनी डर लाग्यो भोली म माथि पनि यस्तै हिंसा त हुने होईन । आज मलाई कर्तव्य र दायित्वको ज्ञात भएको छ । आफ्नो मात्रै होईन छर छिमेकमा पनि कोही कसैले हिंसा गरेमा, अपराध गरेमा सो को यथार्थ जानकारी दिने, रोकथामको प्रयास गर्ने र उजुरी गर्नुपर्ने सम्मको कर्तव्य म लगायत प्रत्येक नागरिकको रहेछ । तसर्थ मैले प्रतिज्ञा गरेकी छु मेरो घर परिवारमा, मेरो छर छिमेक र समाजमा, सार्वजनिक कार्यस्थल लगायत जहाँकही पनि यदि कोही कसैबाट कुनै पनि बहानामा हिंसा भईरहेको छ भने विरोध गर्ने छु, सम्बन्धित निकायमा उजुरी गर्नेछ र बोल्ने छु तपाईलाई महिला हिंसा गर्ने अधिकार कहाँ बाट आयो ?
मलाई राम्ररी थाह छ महिला हिंसा विरुद्धमा यसरी बोल्दा र आवाज उठाउदा मैले विभिन्न चुनौतीको सामना गर्नुपर्नेछ, विभिन्न धम्कीहरु आउनेछन्, नाता सम्वन्ध विच्छेद पनि गर्नुपर्ने सम्मको अवस्था आउन सक्छ, विभिन्न आरोपहरु लाग्ने छन् ति सवै चुनौतीको सामना गर्न म तयार छु र पनि बोल्छ छोड्ने छैन किनकी महिला स्वतन्त्रता, अधिकार र आत्मसम्मानको रक्षा गर्नुछ, महिला हिंसाको अन्त्य गर्नुछ, अपराधीलाई सजाय दिलाई सभ्य र सुरक्षित समाजको निर्माण गर्नुछ । यस कार्यमा सवैको सकारात्मक सहयोग भने आवश्यक छ । सबैलाई चेतना भया । (लेखक शाह अधिवक्ता हुन्)

प्रतिक्रिया

प्रतिक्रिया