यो अभियान पुरुष विरुद्ध होइन

करुणा थापा

केही दिन अगाडी म काम विशेषले फिल्ड तिर गएको थिएँ । म सार्वजनिक बसमा । बस यात्रुहरुले भरिएको थियो । कुनै पनि सिट खाली थिएन । उभिएर जानुको विकल्प नभएपनि म बसमा चढें । बसमा धेरै यात्रुहरु उभिएर नै यात्रा गर्दै हुनुहुन्थ्यो । बस आफ्नै गतिमा दगुर्यो । अलिक पर गएपछि एउटा सिट खाली भयो । बसमा यात्रा गरिरहनुभएको एक जना पुरुषले आफूसंगै हुनुभएको महिलालाई सिटमा बस्न आग्रह गर्नुभयो । महिलाले ती पुरुषलाई “तपाई बस्नुस् न त भन्नुभयो तर पुरुष साथीले आग्रह गरेपछि महिला नै बस्नुभयो ।

 
हेर्दा एकै उमेरको देखिने ती दुवै व्यक्ति शायद एउटै कार्यालयमा काम गर्ने र कार्यालयका काम सकेर घर फर्किन लागि रहनुभएको थियो । यात्रा भरिनै बस यात्रुहरुले भरिएको हुदाँ ती पुरुष साथीले उभिएर नै यात्रा पुरा गर्नुभयो र निश्चित गन्तव्यमा पुगेपछि ओर्लनु भयो । म पनि आफ्नो गन्तव्यमा पुगेपछि ओर्लिए । फिल्डको काम सकेर तेश्रो दिन बिहान ६ बजेतिर म फर्किंदै थिएँ । बसको झ्यालतिर विहानीको चिसो हावाको मजा लिंदै म हिडिरहेको थिएँ । बाटोमा पर्ने प्रायः सबै घरका सदस्यहरु उठिसकेका थिए । कोही मुख धुर्दै थिए त कोही के गर्दै थिए तर प्रायः सबै घरका महिलाहरु घरमा विहानीको सरसफाई गर्दै थिए । कोही घर बढार्दै थिए, कोही घर लिप्दै थिए त कोही आँगनमा पानी छर्कंदै थिए ।
हेर्दा सामान्य लाग्ने यी दुई घटनाले मलाई छोयो । म धेरै बेरसम्म ती बाटोमा पर्ने सबै घरहरुलाई नियाले । सबै घरमा भइरहेका क्रियाकलापहरुले मलाई सोच्न बाध्य बनायो । कसरी हाम्रो सामाजिक मान्यताले महिला र पुरुष बीचको व्यवहारलाई फरक पारिरहेको छ ? कसरी महिला र पुरुष समान भन्दा भन्दै पनि भेदभाव भइरहेको छ । कसरी हामी अदृश्य तरिकालेले यी भेदभावहरुलाई पछ्याइरहेका छौं ? के साँच्चै नै यी कुराहरु दुई चार जनाको प्रयासले परिवतर्न गर्न सकिएला त ? धेरै प्रश्नहरु आयोे मनमा । तर जवाफ म संग साँच्चै नै थिएन ।

 

 
माथिको दुई घटनालाई हेर्ने हो भने ती महिला भएकै कारण उभिन सक्षम हुदाँहुर्दै पनि सिटमा बस्ने ग्राहयता पाएकी थिइन । म बस्नु, ती महिला भएको कारण पाएको ग्राह्यता थियो त्यो दिन । जुन प्रायः देखिन्छ । त्यस्तै फर्किदा मैले देखेको दृश्य, के ती कुनै पनि घरहरुमा पुरुष थिएनन् होला र ? के एकाविहानै सबै पुरुषहरु काममा गइसक्नु भएको थियो होला त ? पक्कै होइन । तर खोइ, किन कुनै पनि घरमा पुरुषले कुचो नसमाएको ? त्यहाँ पुरुषको व्यस्तताको कारण भन्दा पनि पुरुष भएकै कारण पुरुषहरु घरको काममा देखिनुभएको थिएन । के हामीले कुनै दिन सोंचेका छौं, अदृश्य रुपमा महिला र पुरुषको बीचमा हुने यी व्यवहारीक भिन्नताहरु कहाँबाट आउँछ ? किन यी कुराहरु सबैलाई सामान्य लाग्छ ? कसरी यी सामान्य लाग्ने कुराहरुले लैगिक विभेद बढाइरहेको छ ?

लैगिक विभेद अर्थात लिंगको आधारमा गरिने विभेद । महिला भएकै कारण हुने विभेद, पुरुष भएकै कारण हुने विभेद वा फरक लंैगिक व्यवहार भएकै कारण हुने विभेद । हाल देशमा महिला सक्षमताको चर्चा धेरै हुने गरेको छ । संविधान देखि लिएर ऐन कानूनहरुले विभेद अन्त्यका लागि समानताको हकलाई मौलिक हक अन्र्तगत राखिएको छ । तर व्यवहार कसरी चल्छ ? साना साना कुराहरु कसरी समाजको नदेखिने पर्खालले निर्देशित गरिरहेको छ, हामीले सबैले विचार गर्न आवश्यक छ ।

 
परापुर्व कालदेखि नै महिलालाई दोश्रो दर्जामा राखियो । पुरुषको सेवकको रुपमा व्याख्या गरियो । पितृसत्तात्मक समाजले महिलाको नारित्वलाई कमजोर र पुरुषको पुरुषत्वलाई बलियो देखायो । पछिल्लो समय आएर महिला अधिकार र शिक्षालाई बढावा दिइयो । घरभित्रका महिलाहरु काममा निस्कन लागे । महिलाहरु काममा निस्केर आर्थिक भारमा सहयोग गर्न लागेपछि पुरुषहरुको आर्थिक भार केही हदसम्म कम भयो तर काममा निस्केका महिलाहरुको दैनिकी के साँच्चै नै बदलिएकोे छ त ? कदापी छैन । महिलाहरुको बोझ झन् धेरै बढेको छ । घरबाट संगसंगै कार्यालय पुगेको पुरुष कार्यालयबाट फर्केपछि थकाई लाग्यो भनेर व्याग फ्याँक्दै टिभी हेर्ने मौका पाउँछन् तर महिला कार्यालयबाट घर पुग्न नपाउँदै खाना पकाउन भान्छामा पस्नुपर्ने हुन्छ । जुन प्रायः कामकाजी महिलाको घरमा देखिन्छ र हेर्र्दा सामान्य लाग्छ र हामी यस्ता व्यवहारहरुलाई स्वीकारिरहेका पनि छौं ।
मलाई एकदिन एकजना सरले सोध्नु भयो –विहान उठेर बुहारीले दैलो लिप्नु संस्कार हो कि विभेद ? प्रश्न आफैमा गहन छ । हामी अधिकांश नेपालीको एउटै जवाफ आउन सक्छ संस्कार हो । तर होइन, मेरो विचारमा यो विभेद हो । यसलाई अलिकति फरक तरिकाले सोचौं । यदि घरमा भएका अन्य सबै सदस्यहरु कुनै न कुनै काममा व्यस्त हुनुहुन्छ र बुहारी उठेर दैलो लिप्छिन् भने सामान्य हुन सक्छ तर घरका सबै सदस्य खाली छन् र बुहारीले नै दैलो लिप्छिन् भनेर कुरिन्छ भने त्यो विभेद हो । जसलाई हामीले संस्कारको नाम दिएका छौं । यसरी एउटै कुरा दुई फरक अवस्थामा फरक अर्थ दिन सक्छ । यो कुराहरुलाई सुक्ष्म रुपमा बुझ्न आवश्यक छ । हामीले विभेदको विरुद्धमा आवाज उठाउनुपर्छ तर महिला अधिकारको नाउँमा कसैले पनि मातृसत्ताको चाहना गर्नुहँुदैन । जसरी पितृसत्ता महिलाहरुको लागि हानिकारक छ, त्यसरी नै मातृसत्ता पुरुषहरुको लागि हानीकारक हुन्छ, पुरुषहरुमा विभेद हुन्छ ।
पित्तृसत्ताले पुरुषत्वको निर्माण गरेको छ । जसले गर्दा पुरुष, पुरुष भन्दापनि पृरुषत्व देखाउनमा गर्व गरिरहेका छन् । के हो पुरुषत्व ? र, पुरुष र पुरुषत्वमा के फरक छ ? म अर्को लेखमा लेख्ने प्रयास गर्नेछु । साथै कसरी पुरुषत्व स्वयं पुरुषहरुको निम्ति हानीकारक छ र कसरी पितृसत्ता र पुरुषत्वले यौनिकताको नियन्त्रणमा हिंसालाई बढावा दिइरहेका छन् छ भन्ने विषयलाई पनि म उठान गर्ने प्रयास गर्नेछु । हामीले चाहेको समानता हो । १६ दिने अभियान समानताको लागि गरिएको अभियान हो । लिंगको आधारमा हुने सबै प्रकारको हिंसाको विरुद्धमा गरिएको अभियान हो । यो अभियान पुरुष विरुद्ध होइन । तसर्थ यो अभियानमा हामी सबैको सहभागिता आवश्यक छ । अस्तु

प्रतिक्रिया

प्रतिक्रिया