दिपक झा
जनरल म्यानेजर
कल्पतरु लर्डस् इन नेपालगन्ज
नेपालगन्जको हस्पिटालिटिमा अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएका व्यवस्थापन कम्पनीहरुको प्रवेश भैसकेको छ । त्यसमध्ये होटल कल्पतरु पनि एउटा महत्वपूर्ण होटल एण्ड रिसोर्टको चेन कम्पनीसँग जोडिएको छ ।
अन्तर्राष्ट्रिय कम्पनी लर्डस् ब्राण्डसँग जोडिएपछि ‘कल्पतरु लर्डस् इन’ नाममा नयाँ व्यवस्थापन सहित अगाडि बढेको होटल कल्पतरुको व्यवस्थापनको नेतृत्व लिएका दिपक झासँग दैनिक नेपालगन्ज संवादका लागि पुग्दा उनी फ्रन्ट डेस्कमै माष्टर सेफसँग भलाकुसारी गर्दै थिए । ‘सम्भवत नेपालमै यो स्तरको माष्टर सेफ कमै पाउनुहुन्छ’, झण्डै १८ बर्ष देश, विदेशका पाँच तारे होटलमा काम गरेर कार्यकौशल बटुलेका लर्डस्का जिएम दिपक झाले भने । उनीसँग संक्षिप्त संवादबाट बुझ्न चाह्यौं, लर्डस्को व्यवस्थापनले कल्पतरुले के लाभ लिन सक्छ ?
–हेर्नुस्, लर्डस् होटल र रिसोट्र्स क्षेत्रको एउटा अन्तर्राष्ट्रिय ब्राण्ड हो । जसले भारतमा २७ र नेपालमा ३ वटा होटलको व्यवस्थापन सम्हालेको छ । आउने बर्षभित्रै नेपालमा थप दुई वटा होटलको व्यवस्थापन लर्डस्ले सम्हाल्दैछ । हस्पिटालिटि क्षेत्रमा एउटा परिपक्व समूह भएकाले यसले क्षेत्रीय स्तरमा मुम्बई, दिल्ली, अहमदाबाद, जस्ता कयौं सहरमा आफ्ना प्रतिनिधिहरु मार्फत विजनेश सेलका लागि परिचालित भैरहेको हुन्छ । स्वभाविक रुपमा लर्डस् कल्पतरुसँग जोडिंदा नेपालगन्जकै हस्पिटालिटि विजनेशमा सकारात्मक प्रभाव पर्छ । छुट्टि मनाउन भारतीय गेष्टहरुलाई नेपालगन्जसम्म ल्याउन होस् वा कैलासमान सरोवर यात्रा गराउन होस्, तेस्रो मुलुकका गेष्टलाई नेपाल ल्याउन पनि यो एउटा ठूलो अवसरका रुपमा हो भन्ने मलाई लाग्छ ।
तपाई कहिले देखि लर्डस्मा ?
१८ बर्षको हस्पिटालिटि क्षेत्रको मेरो अनुभवलाई चिनेर लर्डस्ले मलाई नेपालगन्जको नेतृत्व दियो । भर्खरै मात्र यसै महिना लर्डस्मा जोडिएर म नेपालगन्ज आइपुगेको हुँ । मुम्बईको ताज होटलदेखि अमेरिकाको हिल्टनसम्मका स्तरीय होटलमा व्यवस्थापन सम्हालेको मेरो अनुभव यतिबेला नेपालगन्जका लागि प्रयोग गर्दैछु । मलाई विश्वास छ, म आएपछि कल्पतरु लड्स इन नेपालगन्जको स्तर बढ्दै जाने र गुनासो घट्दै जाने क्रम सुरु भएको छ । जुन कुराको अनुभव जो कसैले पनि दोहोरिएर आउँदा महसुस गर्न सक्नुहुनेछ ।
के गर्दै हुनुहुन्छ त्यस्तो ?
स–साना सुधारबाट काम अगाडि बढेको छ । मेरो विशेषज्ञता देखेर नै कम्पनीले यहाँको जिम्मा दिएकाले म त्यसलाई बिस्तारै एप्लाइ गर्दैछु । सर्भिसदेखि फुड क्वालिटिसम्म स्तरोन्नती भैरहेको छ । यसै साताबाट नेपालगन्जमै सबैभन्दा स्तरीय र ठूलो बैंक्वेट हल सञ्चालनमा ल्याएका छौं । यसले विवाहदेखि किट्टी पार्टीसम्मको गतिविधिहरु निर्धक्कसँग आयोजना गर्न सकिने भएको छ । १ हजार जनासम्मको सिटिङ् अरेजमेन्ट दिन सकिने बैंक्वेटमा स्ट्यान्डिङ पोजिसनमा २ हजार ५ सय सम्मलाई सजिलो गरी मोबिलिटी सहितको कार्यक्रम आयोजना गर्न सकिन्छ । वास्तवमा ठूला–ठूला सम्मेलनलाई मध्यनजर यो हलको डिजाइन गरिएको छ । त्यस बाहेकका धेरै काम अगाडि बढेका छन् । दुई वटा रेष्टुरेन्ट सुचारु गरिएको छ । चाइनिज माष्टर सेफ नियुक्त भएका छन् । हाम्रा सय जना स्टाफ राम्रो हस्पिटालिटिका लागि पूर्ण रुपमा प्रशिक्षित भएका छन् । किनभने हाम्रो पहिलो अतिथि भनेकै यहाँका जनशक्ति हुन् । उनीहरु सन्तुष्ट भएभने हामी यहाँ आउने अतिथिलाई खुशी पार्न सक्छौं भन्ने विश्वासका साथ अहोरात्र खटेका छौं ।
अबका योजना ?
हेनुस्, नेपालगन्ज ठूलो विजनेश सिटीका रुपमा डेभलप भैरहेको छ । त्यस हिसाबले हामी ६ महिनाभित्रै क्यासिनो लगाउँदैछौं । २४ घण्टा कफिशप, दुई रेष्टुरेन्ट, एक बारमा पाउनाको माग अनुसारका स्तरीय फुड एण्ड वेभरेज, बैंक्वेट सहित चार वटै हलमा सुविधा बिस्तार गरेर अगाडि बढेका छौं । ८१ वटा कोठालाई फुलफ्लेजमा लैजान आवश्यक पर्ने पूर्वाधारहरु तम्तयार अवस्थामा छन् । अब यसलाई एग्रेसिभ मार्केटिङ मार्फत आन्तरिक तथा बाह्य पर्यटकहरुलाई विभिन्न प्याकेजमा आमन्त्रण गर्नेतिर केन्द्रित छौं ।