सरोज पोखरेल
मुस्ताङको यात्रामा म सँग खास भिन्न अनुभूतिहरू सायदै केही थिए, जसमा लेख्ने जाँगर चलोस् र पाठकको आँखा र मन तानोस् । तर ३० वर्ष देखि मनमा गडेको ‘लेते खोला’ सँगै अर्को एक विषय पनि थपियो मुक्तिनाथमा र लेख्ने निधो गरें ।
र मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको
जहाँ एउटा खोला छ —‘लेते खोला’
तिमीजस्तै शान्त र दुब्लो
तर जब त्यो सानो खोलामा बाढी आउँछ
वरिपरिका ठूल्ठूला चट्टानहरुको पनि पाइला डग्मगाउँछ
र बाढी थामिएपछि
त्यसलाई छेक्न खोजेका घमण्डी पहराहरुले
आफुलाई भत्केको, भास्सिएको र चोइटिएको पाउँछन् ।
यिनै हरफहरू नै मेरो मस्तिष्कमा थिए, जब म गत हप्ता लेते पुगें । हाम्रो युगलाई आफ्ना शक्तिशाली कविताहरूबाट सर्वाधिक प्रभावित गरेका भूपि शेरचनको हो चि मिन्हलाई चिठ्ठी भन्ने कविता अंश हो यो । करिव ३० वर्ष पहिले पहिलो पटक पढेको घुम्ने मेचमाथी अन्धो मान्छे भन्ने किताव भित्र यो कविता पनि थियो । यो पुस्तकका धेरैजसो कविताहरू कण्ठस्थ थिए र आज पनि धेरै कविताहरू मेरो स्मरणमा छन् । मेरो किशोर मनलाई त्यतिखेर देखि नै लेते खोलाको विंम्बले कौतुहलता उत्पन्न गरेको थियो । जब लेते पुगें, आँखाले लेतेखोला खोज्न थाल्यो, भूपिको लेते खोला ।
त्यसो त केही पहिल्यै पुगेका साथीभाई र ट्रिप एडभाइजरको सूचनाहरू मलाई कम काम लागेको महसुस भएको अवस्थामा तल्लो मुस्ताङका यात्राका बारेमा केही जानकारी दिंदा त्यहाँको यात्राको लागि मन बनाइरहेका पठकका लागि केही उपयोगी हुन्थ्यो होला । हामी कहाँ कम खर्चमा राम्रो यात्राको ट्रिप एडभाइजरीको पनि अभाव छ । उदाउँदो मध्यम बर्गको देशमा जहाँ आन्तरिक यात्रा ह्वात्तै बढिरहेकोछ, यस्ता सूचना खोजिन्छन् र पढिन्छन् पनि । यो यात्रासँग सम्बन्धित तर एक फरक आलेखमा यसका बारेमा पनि केही उल्लेख हुनुपर्छ भन्ने चेत पनि लेख्न बस्दा पलाएको छ ।
अरू कुरा लेख्न भन्दा पहिला लेते कै थप कुरा गर्न मलाई प्रिय लागिरहेको छ । भूपि मुस्ताङमा जन्मिएका हुन् भन्ने मलाई उनको कविता पढेको १० वर्ष पछि मात्र थाहा भएको हो । र लेते खोला त्यहीँकै बिम्ब हो भन्ने पनि धेरै पछि चाल पाएको हुँ । हिमालको काखमा थुपुक्क बसेको लेते गाउँ साँच्चै मनमोहक छ । अलिपर कालिगण्डकीको कलकल, नजिकैका झरना अनि घना र हरियो जंगल यहाँ बाहेक अन्यत्र खासै देख्न पाइदैन लेते उत्तरको मुस्ताङ तिर । लेते छोडर उत्तर तिर उक्लेपछि त हिँउले चपाएर अलपत्र छोडेका नाङ्गा पहाडहरू मै मजा लिनु पर्नेहुन्छ । पानीको कलकल जताततै भेटिए पनि आँखा अडिने हरियाली देखिंदैन । डाँडामाथीका चुचुरामा फलेको हिँउ हेरेपछि मात्र आँखाले सन्तोष मान्छ ।
तर, लेते त्यस्तो निरस छैन । प्रकृतिले लेतेको काखलाई हरतरहले सिंगारेको छ । अचेल थुप्रै होटलहरू नि बनेका रहेछन् लेते गाउँमा । घुम्न जानेले समय विताउनु पर्ने ठामहो यो । तर आफू एक रात पनि बसिएन त्यहाँ, त्यस्तै पर्यो । मनमा अतृप्त प्यास बाँकी रहेकै छ, खै कहिले मेटिने हो यो प्यास ! लेते गाउँ पुग्दा प्रकृतिको कालिगढीले त तान्ने नै भयो, तर मेरा आँखाले लेते खोला खोजिरहे । वरपर खोल्साहरू देखिए, तिनै खोल्साहरूलाई ‘लेते खोला’ ठानें । भूपि अन्तरध्यान भएको दशकौं भइसकेको वेला कस्लाई सोध्नु ? कसैलाई सोध्न मन लागेन । खोल्सो त कसैले देखाइदेला तर बिम्व सम्झाउन सक्ने छैन । त्यसैले, आफ्नै मनले सोध्यो आफै मनले जवाफ दियो, बस् ।
लेते पुगेको अघिल्लो रात बास बस्न काठमाडौं देखि बेनी पुगेका थियौ हामी अर्थात् हाम्रो जोडी । सायद यात्राका लागि यो सही निर्णय थियो, जसले गर्दा अर्को दिनको जोमसोम तर्फको यात्रा त्यति बोझिलो नबनोस् । तर बेनी बजारमा बस्ने होटल खोज्दा करीब २ घण्टा लाग्यो । ‘बेनीको बजार, जता माया उतै छ नजर’ भन्ने गीत गुन्गुनाउँदै बास खोज्न दर्जनौं होटल चहारियो । अन्तमा जसोतसो बास पाइँदा रातको साढे नौं बजिसकेको थियो । मुक्तिनाथका लागि यात्रुहरूको घुइँचो सँधैको भन्दा अलि बढी नै थियो सायद । बेनीको मायाको अंगालोमा अटाइरहेका थिएनन् मानिसहरू ।
बेनीबाट विहानीको मिठासपूर्ण किरण सँगै बसमा चढ्दा पनि द्वीविधा थियो, बसमा जाने कि जिपमा जाने भन्ने । अलि खल्ति मोटो भएका र हतार हतार फर्कन चाहने यात्रुहरू जिप तिर लागे । विन्दास यात्रा रोज्नेहरू बस तिर । आफ्नो रोजाई बस नै थियो, त्यो पनि आम मान्छेहरूको भिडमा हराउने रहर । किनभने पोखरा सम्म हरियो प्लेटको बसमा यात्रा गर्दा मजा आएको थिएन । बर्ग उत्थान भएका मान्छेहरू बीच रहँदा अलि सकस नै हुँदो रहेछ । आम मान्छेहरू विच, सिटको अभाव र खोसाखोस बीच अनि त्यहाँ पाइने माया र सहयोगका बीच जुन सत्य भोग्न पाइन्छ त्यो ग्रीन प्लेटको बसमा थिएन । कथित आराम त थियो, मजा थिएन ।
दाना भन्ने ठाममा खाना खान पुग्दा दिउँसो अवेर भैसकेको थियो । एडभेन्चर यात्रामा रमाउनेहरूले त ठिकै ठान्लान तर आम मान्छेको मुटुले ठाउँ छोड्ने खालको बाटो, त्यसमाथी पनि ब्याक गरेर विपरित दिशाबाट आइरहेको गाडीलाई बाटो दिनुपर्ने । अँ, दानामा खाना खाएर पुगेको लेतेलाई बाइबाई गरेर अघि बढ्दा पनि आँखा र मनभरी लेते आइरह्यो । धवलागिरी र त्यसपछि निलगिरी हिमाललाई हेर्दै जब टुकुचेमा पाउडर दुधको चिया खाइयो अनि बल्ल केही तसल्ली भयो शरीर र मनलाई । निलगिरीलाई क्यामरामा कैद गर्न यात्रुहरू मोबाइल क्यामरा फर्काइरहेका थिए । स्याउ बारीको दृष्य पनि आँखामा ठोक्किन थालेका थिए । मार्फा पुग्दा भूईँमा रातै खसेका स्याउ देखेर लोभ लाग्यो र मार्फा ब्राण्डीको रहस्य उद्घाटन भयो । ती स्याउ भूईँमा नखस्ने भए, कसरी बन्थ्यो होला र मार्फा ब्राण्डी, है !
मार्फा कटेर जोमसोम पुग्दा बेलुका भइसकेको थियो तर हावाको जोड सेलाइसकेको थिएन । हाम्रो टोलीले मुक्तिनाथ पुग्ने निधो गर्यो । पछि थाहा भयो, यो निर्णय गलत थियो भन्ने । मुक्तिनाथ पुग्दा अँध्यारोले छोपिसकेको थियो । त्यहाँ पनि बास खोज्न सास्ती नै भयो । मोटर साइकल र गाडीमा गएकाले सबै कोठामा कब्जा जमाइसकेका थिए । होटल त थुप्रै छन् त्यहाँ तर खाली कोठा थिएन । कोठा छ हजुर भनेर सोध्दै जाँदा एकजना थकाली दाईले भनि पनि हाले ‘कोठा त छ, खाली छैन’ ।
जसोतसो एकजना न्यानो मन भएकी आमैले पीँढी मै बास दिइन । बेलुकाको खाना खाइसके पछि खाना खाने ठाउँमै विस्तारा लाग्यो र ज्याकेट पनि नखोली सिरक खप्याएर सुत्यौं । विहान उठ्दा धारामा पानी थिएन । अत्यधिक चिसोले पानी जमेछ । तरूनी साउनीले भनिन् हिँजोसम्म त राम्ररी पानी झरेको थियो, आज चिसो अलि बढेछ । मुक्तिनाथ मन्दिर क्षेत्र घुमेर हिमाल र फुस्रा डाँडामा आँखा पसार्दै बसपार्क नजिक पुग्दा मध्यान्न हुन लागिसकेको थियो । जोमसोममा बस्ने सोंच भएकाले हतार पनि थिएन र चिया नास्ता गर्ने विचारले बसपार्क माथीको होटलमा पस्यौं । त्यहाँ पनि चिया नास्ताको अडर दिने धेरै थिए । नास्ताका लागि कुर्ने जाँगर चलेन र चियाको लाइनमा बसियो । त्यति बेला अर्को एउटा दृष्य सँग साक्षातकार हुन पाइयो ।
दुई सुकिला मान्छेहरू देखिए । एउटाले साउनीलाई साइनो लगाउँदै भन्यो, ‘भाउजु तपाई व्यस्त हुनुहुन्छ, हामी जाँन्छौं अहिले । नानुको ‘ईङलिस इम्प्रुभ’ हुन्छ भनेर एउटा किताव ल्याइदिएको छु, किताब टेबलमा छ, पढ्न भन्नु होला ।’ ती सुकिला दुई मनुवा बाहिरिएपछि उनले ल्याएको ईङलिस इम्प्रुभ गर्ने कितावमा आँखा गयो । त्यो बाइबल रहेछ । मेरो मनमा एकसाथ धेरै प्रश्न उब्जिए र सेलाए । सोझै धर्मको किताव किन नभनेको होला ? यसो ती भाउजुलाई हेरे, निधारमा रातो टिका थियो । त्यसो त टिका बाइबल मान्नेले पनि लगाउन पाउँछन् । गीता मान्नेहरूको विर्ता होइन रातो टिका ! तर ईङलिस इम्प्रुभ गर्ने किताव भनेर त्यो घरमा छिरेको ईङलिस बाइबलमा धर्मान्तरणको गन्ध मेरो नाकले सुघ्यो र अनायास नाक खुम्चियो ।
मेरा लागि कृष्ण र क्राइष्ट उस्तै लाग्छन् । बुद्ध अलि हृदयको नजिक भएझैं लाग्छन् । खासमा म ‘रिलिजियस’ मान्छे होइन । यी पृथ्वीमा पाइला टेकेका मानिसहरूले समकालिन युगमा चलन चल्तिको प्रवृत्ति विरूद्ध विद्रोहको नेतृत्व गरे र युगलाई अगाडी बढाए । तर पछि तिनै महामानवका अनुयायीहरूले उनको बाटोलाई कुरूप बनाए र मान्छे मान्छे वीच भेदको कृत्रिम पहाड उचाए । अरूलाई कमसल र आफ्नो अनुसरणलाई सही सावित गर्न के मात्र गर्न बाँकी राखेनन् र ? व्यक्तिगत आस्था र विश्वास माथीको अतिक्रमणका भद्दा रूपहरू धेरै खाले देखिएको थियो यस अघि । कलिलो दिमागमा ईङलिस इम्पु्रभमेन्टको नाममा हुने अतिक्रमण पनि देख्न पाइयो मुक्तिनाथमा । अभिभावकको ईङलिस मोहलाई धर्मान्तरणको औजार बनाएको देख्दा सकस त लाग्यो नै, उनीहरूको ‘इन्नोभेसनमा’ चकित पनि खाइयो ।
त्यसपछि जोमसोम पुग्दा, त्यहाँ घण्टौं घुम्दा, स्याउ बारीमा फोटो खिंचाउँदा र तिब्र बेगको हावा सँग कपाल उडाउँदा समेत त्यो टेवलमा रहेको ईङलिस बाइबल झल्झल्ती आँखामा नाचिरह्यो । र, नाचिरह्यो ती नानीको अनुहार । जोमसोममा बास बस्ने भए, होमस्टेमा बस्नुस् है । मुस्ताङ यात्राका दौरानमा सबैभन्दा आरामदायी बसाई थियो त्यो । हँसिलो अनुहार भएकी आमैले स्थानीय परिकार पस्केको र परिवारको हालचाल सोध्दै न्यानो आतिथ्य दिएको बसाई पो थियो, दाम्म्म्मी !