यतिबेला नेपाली हिन्दुहरुको महान् पर्व दशैं दैंलोमा छ । तर, नेपालगन्ज बजारले दैलोमा आएको दशैंको अनुभूत गर्न अझै सकेको छैन । पसलहरु सुनसान छन्, व्यस्त रहनुपर्ने बजारहरुमा धमाधम निर्माणका काम भैरहेका छन् । स्थानीय सरकार बजार अतिक्रमण भएको भन्दै फुटपाथ हटाउनेमा व्यस्त छन् । नेपालगन्ज उद्योग वाणिज्य संघ औद्योगिक महोत्सव गर्ने, नगर्ने बहसमा केन्द्रित छ । नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघ सञ्चारमाध्यम मार्फत नेपालगन्ज र सीमापारी बजारको तुलनात्मक मूल्य सूचि प्रकाशित गरिरहेको छ । नेपालगन्ज वितरक संघ पहिलो पटक ‘सस्तो बजार’ मार्फत नेपालगन्जमा दशैं आमन्त्रण गर्ने तयारीमा छ ।
यही ५ किलोमिटरपर सीमापारी थामिनसक्नु भीड छ । सधैं दशैं लाग्ने सीमावर्ती रुपैडिहा बजारलाई भ्याइनभ्याइ छ । त्यहाँ पुग्ने शतप्रतिशत उपभोक्ता नेपाली छन् । हुँदाहुँदा नेपालगन्जमा भन्दा महंगो मूल्य हालेर सास्ती भोग्दै दिन बिताएर मेहनतसाथ गरिएको खरिददारीमा कुनै त्रुटि भेटिए गुनासोसम्म गर्ने ठाउँ छैन । आखिर किन त ? दैनिक नेपालगन्ज महानगर टिमले यसअघि नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका पदाधिकारीसँग सम्यक संवाद गरेका थियौं । त्यसैबीच नेपालगन्ज वितरक संघले गर्न लागेको सस्तो बजारको अवधारणासँगै उपभोक्ता जागरणका लागि अभियान थाल्ने उद्घोष गरिएको छ । यसै असोज २४ देखि ३० सम्म नेपालगन्जमा संघले दशैं ‘सस्तो बजार’सञ्चालन गर्दैछ । संघका पदाधिकारीहरुसँग यो साताको सम्यक संवाद दशैं बजार र नेपालगन्जको विकाससँग जोडिएर केन्द्रित गरेका छौं ।
नेपालगन्ज वितरक संघका संस्थापक अध्यक्ष ललित कुमार रौनियार, अध्यक्ष अमित बस्नेत, महासचिव माधव अर्याल, कोषाध्यक्ष उपकार टण्डन, कार्यसमिति सदस्य लालमणि आचार्य र सल्लाहकार समेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव विष्णु लामिछानेसँग गरिएको सम्यक संवादको संक्षेप ।
विष्णु लामिछाने
उताको र, यताका केही सामानको मूल्यमा अझै समानता ल्यायौँ भने उपभोक्ताहरु रुपैडिहा जाँदैनन् । किनभने धेरै सामान रुपैडिहाभन्दा नेपालगन्जमै सस्तो छ ।
रुपैडिहा जाने चलन आजको होइन । यो यहाँको पुरानो परम्परा हो । नेपालगन्ज फस्टाउनुभन्दा अघि पनि यहाँबाट मात्रै होइन, छिमेकी अरु जिल्लाहरुबाट पनि मान्छेहरु रुपैडिहा जाने गर्दथे सामान किन्नका लागि । सबै मान्छेहरु उतै सस्तो पाइन्छ, राम्रो पाइन्छ भन्ने भ्रम प¥यो । तर, हामीले त्यसलाई ब्रेकडाउन गर्न सकेनौँ । आज, रुपैडिहाभन्दा नेपालगन्ज फस्टाइसक्यो । सबै समानहरु यहीँ पाइने भइसक्यो र, पनि मानिसहरु रुपैडिहा जान छोडेका छैनन् । उनीहरु गइरहेका छन्, किनमेलका लागि, हामीले उपभोक्ताहरुलाई आफ्नै बजारमा रोक्न सकेनौँ, यही नै हाम्रो कमजोरी हो । यो कमजोरीलाई हामीले सुधार्न पनि सकेनौँ । त्यसका लागि इन्डियासँग मिल्ने ब्राण्डका सामानहरुलाई हामीले पनि त्यही मूल्यमा दिन सक्छौँ, प्रिन्ट गरिएको रेटमा पनि केही प्रतिशतमात्रै नाफा खाएर बेच्यौँ भने उपभोक्ताहरु त्यहाँ जाँदैनन् । उताको र, यताका केही सामानको मूल्यमा अझै समानता ल्यायौँ भने उपभोक्ताहरु रुपैडिहा जाँदैनन् । किनभने धेरै सामान रुपैडिहाभन्दा नेपालगन्जमै सस्तो छ ।
त्यसका लागि उपभोक्ताहरुलाई मात्रै सचेत बनाएर हुँदैन । त्यसका लागि ब्यापारीहरुलाई पनि सचेत गराउन आवश्यक छ । बजार सुकाएर नाफामात्रै कमाउने होइन, केहीमात्रै नाफा गरेर भए पनि ब्यापार गर्न सकिन्छ यो प्रकारको सचेतना हाम्रा व्यापारी अनि व्यवसायीहरुलाई पनि भयो भने नेपालगन्जको बजार फस्टाउँछ । नेपालगन्जको भविष्य नभएको होइन, यहाँ धेरै राम्रो भविष्य छ, सम्भावनाहरु थुपै्र छन् । हिजोको तुलनामा केही मानिसहरु त रोकिएका छन् नै ।
अब त्यसका लागि हामीले अझैँ रोक्नका लागि हामीले लगाउने भनेको सस्तो बजारजस्तै अरु पनि मेला महोत्सवहरुले जागरण ल्याउन सक्छ । धेरै मान्छेहरुलाई उताको भन्दा सस्तो पनि पाइन्छ भन्ने सन्देश दिन सकिन्छ । स्वाभिमानी नेपालीको कुरालाई अलि बढी प्रचार प्रसार गर्न सकिन्छ । जस्तो आफ्नो देशमै सामान किन्ने, यहाँको ब्यापार बढाउने र राज्यलाई कर तिर्ने कुरा जस्ता यहाँका मानिसहरुलाई बुझाउन सकियो भने केही नियन्त्रण हुन सक्छ । हामीले त्यस्ता प्रचारप्रसार पनि गरिरहेका छौं । केही समय पहिला पनि हामीले त्यस्तो काम गरेका हौैं ।
अब पनि फेरि त्यस्तै सन्देशमूलक बोर्डहरु लगाउने, मिडिया मार्फत प्रचार प्रसार गर्ने अनि उपभोक्ताहरुमा जागरण ल्याउन जस्ता कामहरुमा उद्योग वाणिज्य संघले काम गर्ने हो । र, हामीले गरिरहेका पनि छौं । हामीसँग धेरै बजेट हुँदैन, यहाँको राज्यको पनि दायित्व हो किनकि हामीले यहाँको स्थानीय सरकारलाई कर त तिरेका छौँ नि ! त्यो हिसाबले यहाँको उपमहानगरपालिकाको भूमिका पनि हो किनकि हामीले उसलाई कर तिरेका छौं र, यहाँको व्यापार, व्यवसाय र व्यवसायी बचाउने दायित्व उसको पनि हो । यसरी जनचेतना, जागरणको काम त भइरहेको छ तर, पनि यसलाई पूर्णरुपमा रोक्न भने सकिंदैन, केही नियन्त्रण गर्नेमात्रै हो । अहिले त झन् देशभक्ति, राष्ट्रियता अनि स्वभिमानको कुरा पनि उठिरहेको छ, देशलाई समृद्ध बनाउने कुराहरु पनि उठिरहेका छन् । त्यसैले पनि यसको न्यूनिकरण सम्भव छ, हामीले असम्भव देखेका छैनौं ।
उपकार टन्डन
सबै सामान त यहीं पाइन्छ, नेपाली बजारमैं छ । एमआरपी भन्दा कममा पनि सामान पाइन्छ ।
एमआरपी दर, लेखिएकै मूल्यमा सामान यहीं पाइन्छ तर, पनि मानिसहरु रुपैडिहा नै जान्छन् । उनीहरुको त्यस्तो कन्सेप्ट छ । सबै सामान त यहीँ पाइन्छ, नेपाली बजारमै छ । एमआरपी भन्दा कममा पनि सामान पाइन्छ । तर, उनीहरु (उपभोक्ता) उतै जान्छन् । किनकि उनीहरुलाई पनि थाहा छैन, यसमा उपभोक्ताहरुको मात्रै होइन कि, व्यवसायीहरुको पनि कमजोरी छ । किनकि बार्गेनिङ हुन्छ भनेर, व्यापारीहरुले पनि रेट केही धेरै भनेका हुन्छन् । यसमा सुधार हुनुपर्छ । अब यही प्रचार प्रसार गर्नका लागि हामीले सस्तो बजार लगाउन खोजेका हौं । सबै सामान एकै ठाउँमा पाइने अनि कसरी हुन्छ केही डिस्काउन्ट गरेर हुन्छ कि के गरेर हुन्छ हामीले त्यसलाई मध्यनजर गरेर सस्तो बजार लगाउने कुरा चलाएका हौं ।
अमित बस्नेत
अहिले यो सस्तो बजार भनेर उपभोक्ताहरुलाई स्कीमको रुपमा हो । कम्तीमा प्रिन्टरेटमै केही प्रतिशत छुट गरेर, हामीले सामान दिने सोंच बनाएका हौं ।
हामीले सस्तो बजारको अवधारणा कसरी आयो भने, धेरै पहिलादेखि नै उद्योग वाणिज्य संघले पनि कुरा उठाउँदै आएको थियो । हामी वितरक संघ भनेको नितान्त उद्योग, कम्पनीबाट उत्पादन भएका वस्तुहरु विक्री केन्द्रहरुको एउटा संघ हो । वितरक संघको पदेन संघ खाद्य तथा किराना व्यवसायी संघ पनि हो । उसले गर्नुपर्ने हो । हामीले पनि धेरैपहिला सोचेका थियौं कि, उद्योग वाणिज्य संघले गर्ला अनि किराना संघले गर्ला र, हामीले पनि सहकार्य गरौंला भनेर सोचेका थियौं । तर, हुन सकेन ।
अब यो सस्तो बजारको जुन कुरा छ, हरेक व्यवसायी अहिले यहाँ संकटमा परिरहेका छन्, व्यापार संकटमा छ किनकि व्यापारजति सबै रुपैडिहामैं हुन थालेको छ । अब कसरी उनीहरुलाई रोक्ने त । किराना संघले अवधारणा त ल्यायो, किनकि उहाँहरु डाइरेक्ट उपभोक्तासँग जोडिनुभएको छ ।
जुन प्रोडक्ट यहाँ सस्तो छ, त्यही लिन पनि उपभोक्ता रुपैडिहा गइरहेका छन् । उनीहरुलाई कसरी रोक्ने त ? हुन त सधैँभरि सस्तो बजार लगाएर पनि हुँदैन । तर, पनि कसरी रोक्ने त भन्दा यस्तो कुरा आएको हो । सधै हामीले सस्तो बजार लगाउन सक्दैनौँ र, सधैँ हामीले प्रिन्टमूल्य भन्दा कम रेटमा सामान पनि दिन सक्दैनौँ । प्रिन्ट रेटभन्दा मूनि आज दियौँ भने फेरि अरु किराना व्यवसायीहरु मर्कामा पर्छन् । पछि उपभोक्ताहरु पनि त्यसै रेटमा खोज्न आउँछन् ।
तर, कम्तीमा यस्ता चाडपर्वको अवसर पारेर, उपभोक्ताहरुलाई सबै समान एकै ठाउँमा र केही सस्तोमा दिन सकियो भने त्यसले उपभोक्ता अनि व्यवसायीहरुमा जागरण पनि ल्याउने र, नेपाली बजारमैं किनमेल गर्ने संस्कार पनि बस्न सक्छ । अहिले यो सस्तो बजार भनेर उपभोक्ताहरुलाई स्कीमको रुपमा हो । कम्तीमा प्रिन्टरेटमै केही प्रतिशत छुट गरेर, हामीले सामान दिने सोंच बनाएका हौँ ।
हामीले यसपालि घटस्थापनादेखि नेपालगन्जमा सस्तो बजार लगाउनेछौँ । त्यहाँ सबै सामानहरु सस्तो मूल्यमा एकै ठाउँमा पाइने छ । यसपाली ढिला भयो । किनकि हामी पनि के हुन्छ भनेर परिक्षण गरेका हौँ । मानिसहरुले पर्वका सामान पहिला नै किनिसक्छन् । तर, पनि हामीले आँट गरेका छौँ । यसपाली राम्रो भयो र, उपभोक्ताहरुको उत्साह भयो भने हामीले अर्काे बर्ष केही चाँडै नै यस्तो बजार लगाउनेछौँ । हामी अहिले उत्साहित नै भएका छौँ । हामीले प्रत्येक वर्ष लगाउने निर्णय गरिसक्यौं ।
लालमणि आचार्य
त्यसको लागि सबैभन्दा पहिले उपभोक्तामा जागरण आउनुप¥यो । सामान यता पनि सस्तो पाइन्छ, हाम्रो उद्देश्य उपभोक्ताहरुलाई यहीं रोक्ने हो ।
हामी नेपालगन्जलाई महानगरतिर दौडाउने प्रयासमा छौं । त्यतैतिर दौडिरहेका पनि छौँ । हामीसँग कन्सेप्ट त छ तर, त्यसको कम्पोनेन्ट त हामीसँग छैन । हामी त्यसैको अभियानमा छौं । व्यापार व्यवसाय रुपैडिहातिरै छ, दशैँ उतैतिर लागेको छ । यो सस्तो बजारको अवधारणाले हामीले नेपालगन्जको बजारमा पनि दशैं ल्याउने हो, व्यापार व्यवसाय बढाउने र, उपभोक्ताहरुलाई यहीं सस्तोमा राम्रो सामान दिने हो भन्ने सोंचले सस्तो बजारको अवधारणा आएको हो ।
त्यसको लागि सबैभन्दा पहिले उपभोक्तामा जागरण आउनुप¥यो । सामान यता पनि सस्तो पाइन्छ, हाम्रो उद्देश्य उपभोक्ताहरुलाई यहीँ रोक्ने हो । यसपाली केही ढिला भएको छ किनकि हामी पहिलोपटक गर्दैछौं । यसले उपभोक्ता तथा व्यवसायीहरुमा पनि जागरण ल्याउने छ र, अर्काे वर्ष हामीले अलि चाँडै लगाउने छौँ । यसको उद्देश्य नै यही हो । हामी व्यवसायीको नै कमजोरी हो, उपभोक्तालाई जागरण ल्याउन सकेनौँ । त्यही नै हो । अब हामी नै अघि बढ्नुपर्छ ।
माधव अर्याल
यो दशैंको बेलामा मात्रै होइन, अरु धेरै बेला पनि लगाउन सकिन्छ थुप्रै पर्व उत्सवहरुको सन्दर्भ पारेर । हाम्रो मूल उद्देश्य यही नै हो कि, उपभोक्ताहरु पनि नछुटुन् र, सस्तोमा राम्रो सामान पनि पाऊन् भन्ने ।
देर आए दुरुस्त आए भन्ने उखान छ नि ! एकले अर्काेलाई कमजोरी वा दोष देखाएर अब केही हुँदैन । हामीले उपभोक्ताहरुलाई जागरण ल्याउन नसकेको सत्य हो । तर, यसको जिम्मेवारी कसले लिने ? जे सुकै होस्, आफ्नोमात्रै व्यापार बढाउने हो भन्ने मानसिकता हामी व्यवसायीहरुमा पनि छ । तर, हामी एक्लैले मात्रै केही गर्न सक्ने होइन, उताको जस्तै सामान यता पनि पाइन्छ, त्यहाँभन्दा सस्तो सामान यहाँ पनि पाइन्छ भन्नेजस्ता कुराहरु उपभोक्तालाई हामीले बुझाउन सकेनौँ जसका कारण हाम्रो बजार फस्टाउन सकेन ।
समस्या यही हो । यो हाम्रो कमजोरी हो, यसलाई स्वीकार गर्न पनि सक्नुपर्छ । यही कमजोरीलाई सुधार्न हामी लागेका छौं । जसले गर्दा स्वदेशी उत्पादन उपभोक्ता गर्ने, गर्न लगाउने अभियान नै हो । एकछिन हाम्रा साथीहरुलाई पनि लाग्ला कि दशैको बेलामा सस्तो दिएर अरु बेला पनि त्यही मूल्यमा उपभोक्ताले सामान खोज्छन् र, व्यवसायीहरुलाई फेरि गाह्रो हुन्छ । तर, हामीले पनि व्यवसायीहरुलाई सम्झाउन सक्नुपर्छ कि, यो व्यवसायीहरुकै हितमा हुन्छ । उपभोक्ताहरुलाई पनि बुझाउनुपर्छ कि यो पर्वको अवसरमा विशेष अवसरमा दिइएको छुट हो । अनि हामीले पनि यो बुझ्नुपर्छ कि, एकै झोला सामानबाट एक हजार नाफा कमाउनेमात्रै होइन, कहिलेकाहीँ दश झोलाबाट एक हजारमात्रै नाफा लिए पनि ब्यापार चल्छ । यो सस्तो बजारको उद्देश्य पनि यही नै हो । हामी अहिले उत्साहित पनि छौँ । हामीले हाम्रै कर्तव्य ठानेका छौँ । हाम्रो ढिलै भए पनि बुद्धि आएको छ । हामीले अर्काे वर्ष पनि केही पहिला नै लगाउने छौँ यस्तो बजार । यो दशैको बेलामा मात्रै होइन, अरु धेरै बेला पनि लगाउन सकिन्छ थुप्रै पर्व उत्सवहरुको सन्दर्भ पारेर । हाम्रो मूल उद्देश्य यही नै हो कि, उपभोक्ताहरु पनि नछुटुन् र, सस्तोमा राम्रो सामान पनि पाऊन् भन्ने ।
ललित रौनियार
यसरी हामीले दुईतर्फी सचेतना फैलाउन खोजेका हौँ, यो सस्तो बजारबाट । कि, व्यवसायीहरुलाई पनि डिलरले दिएको मार्जिनभन्दा बढी रेटमा सामान नबेच्नुस् र, एमआरपीमै सामान दिनुस् भन्ने हो ।
सबैभन्दा पहिला त यो वितरक संघको आवश्यकता किन प¥यो भन्ने कुरा बुझाउन चाहन्छु । म पनि २०५८ सालमा यो डिलर व्यवसायमा लागें । त्यो बेला यहाँको अवस्था यस्तो दयनीय थियो कि, ३÷३ महिनामा डिलर चेन्ज हुने र व्यापारी, व्यवसायीको उठिवास हुने अवस्था थियो । कतिपय डिलर मार्केटमा पैसा फँसाइसकेका हुन्छन् अनि कम्पनीले डिलर हटाइदिन्छ । तर, व्यवसायीको पूँजीको सुरक्षा कस्ले गर्ने ? डिलर राख्ने हटाउने, कम्पनीको आफ्नो अधिकारको कुरा त हो तर, कम्तीमा चेन्ज गर्दा उसको मार्केटको लगानी अनि सबै लेखाजोखा गरेरमात्रै हुनुपर्छ भन्ने हो । कम्तीमा यो व्यवसाय पनि दिगो होस् भनेर हामी संगठित भएका हौँ ।
अब जहाँसम्म सस्तो बजारको कुरा छ । सबैभन्दा पहिलो कुरा त हामी उपभोक्तालाई मात्रै दोष दिने कि हामी व्यवसायीहरु, व्यापारीहरु पनि उत्तिकै दोषी छौं । नेपालमै पनि भारतीय सामान भारतीय एमआरपीमै बेच्न सकिन्छ तै पनि हामी त्यसलाई बढाएर, त्यसलाई दोब्बर बनाएर बेच्न खोज्छौँ । यस्तो प्रवृत्ति छ हाम्रो व्यापारमा । यो सस्तो बजारबाट हामीले यसरी दुईतर्फी सचेतना दिन खोजेका हौँ । उपभोक्ताहरुलाई यहीँको बजारमा सस्तो समान हुँदाहुँदै किन उताबाट किन्नुहुन्छ ? भन्ने हो । जस्तो कि, डाबरका सामान भनौँ, स्याम्पूहरु भनौँ हर्लिक्स जस्ता सामानहरु उस्तै हुन् । इन्डियाकै एमआरपी हो, यहाँ पाइने पनि । ती पनि नेपालमै उत्पादन हुन्छन् बहुराष्ट्रिय कम्पनीबाट । तर, पनि हामी उतैको बजारबाट किन्छौँ भने यो त, उपभोक्तालाई जानकारी गराउनैपर्छ । यहाँ पनि सस्तोमा सामानमा छ है भन्ने थाहा नपाएर रुपैडिहाबाट ठगिएर भए पनि उपभोक्ताले सामान किनिरहेका छन् । यहाँ सस्तोमा पाइने कोलगेट रुपैडिहाबाट ५० रुपैयाँ बढी तिरेर नेपाली उपभोक्ताले किनिरहेका छन् ।
र, अर्काे कुरा हामी स्वाभिमानी देशका नागरिक हौं । कम्तीमा हामीले यहाँ सामान किन्यौँ भने राज्यलाई कर त जान्छ नि ! उता सामान किने त कर हामीलाई आउँदैन । त्यो त उतै जाने हो । हामीले यहीँको व्यापार प्रवद्र्धन गरौँ भन्ने हो । यसरी हामीले दुईतर्फी सचेतना फैलाउन खोजेका हौँ, यो सस्तो बजारबाट । कि, व्यवसायीहरुलाई पनि डिलरले दिएको मार्जिनभन्दा बढी रेटमा सामान नबेच्नुस् र, एमआरपीमै सामान दिनुस् भन्ने हो ।
नेपालगन्जको विकास
विष्णु-
नेपालगन्ज पर्यटनको ‘गेटवे’ बन्नुपर्छ यसमा कुनै दुईमत छैन । तर, त्यसका लागि पूर्वाधारहरु पनि चाहिन्छ । अब आर्थिक समृद्धिका लागि पनि नेपालगन्जलाई सामूहिक नेतृत्वको जरुरी छ । यसमा सबैको नेतृत्व आवश्यक छ । बलियो नेतृत्वको आवश्यकता छ, विकासका लागि ।
जहाँको विकासको कुरा गर्दा पनि त्यहाँको समुदायको कुरा आउँछ । हाम्रो नेपालगन्ज पनि विविध समुदायमा बाँडिएको छ । विकासका लागि एउटा समुदायको नेतृत्वलाई अर्काले साथ नदिने प्रचलन बढ्दै छ । जसले गर्दा विकास नै रोकिने हो । अहिले यहाँ कोही साझा नेता छैन । झुन्ड झुन्डमा नेतृत्व छ । यसले गर्दा पनि यहाँ विकास हुन नसकेको हो ।
नेपालगन्जको सबैभन्दा ठूलो समस्या भनेको डुबानको समस्या थियो । अब एडिबिको सहयोगमा सारा रोडहरु बन्दैछन् । हामीले अब यो समस्या खेप्नु नपर्ला । अब भनेको यहाँको आर्थिक क्रान्ति अनि समृद्धिको हो । समृद्धिसँग मान्छेका जनजीविकाको सवाल जोडिएको हुन्छ, रोजगारीको कुरा जोडिएको हुन्छ । कम्तीमा पनि नेपालगन्ज उपमहानगरपालिका यस्तो ठाउँ हो, जहाँ आर्थिक क्रान्तिसँग विकास स्वतः जोडिएको हुन्छ । विकासका लागि चाहिने सबैभन्दा महत्वपूर्ण कुरा उद्योगधन्दा हो । त्यसका लागि यहाँको उपमहानगरपालिकाले उद्योग स्थापनाका लागि कस्तो सहुलियत दिन्छ त ? उपमहानगरमा सहरमात्रै छैन, गाउँहरु पनि छन् । त्यहाँ खुल्ने उद्योगहरुलाई कसरी महानगरले सहुलियत दिनसक्छ त ? के के छुट दिनसक्छ त ? मानौ मनिकापुर गाउँमा उद्योग खुल्दैछ भने त्यहाँ पाँच वर्षका लागि विद्युतमा छुट दिउँ न, उद्योग पनि चल्छ र, त्यहाँका स्थानीयले रोजगारी पनि पाउँछ । तर, यहाँका जनप्रतिनिधिहरुले त्यसको नेतृत्व गर्न सकेन । केही ठूला उद्योगहरु अहिले बर्दियामा खुल्न लागेका छन्, ती नेपालगन्ज पनि आउन सक्ने थिए । राज्यले छुट दिएका कारण ती त्यहाँ गए ।
अब जहाँसम्म पर्यटनको ‘गेट वे’ बनाउने कुरा छ, नेपालगन्ज मानसरोबरको गेट वे बन्नसक्छ बनिरहेको छ, अरु पनि बन्न सक्छ । त्यसका लागि हामीले होटेलहरु धेरै बनाइसक्यौँ । होटेलहरुमा हामी धनी छौँ । अब यहाँ कम्तीमा पर्यटकहरुलाई एकै दिन भए पनि हामीले रोक्न सक्यौँ भने यहाँको समृद्धि सम्भव छ । त्यसका लागि यहाँ ठूला ठूला मलहरु हुनुप¥यो यहाँका वासिन्दाको व्यवहार परिवर्तन हुनुप¥यो । अब त्यसका लागि हामी नै अगुवाइ गर्नुपर्छ । यहाँको उद्योग वाणिज्य संघ, नगरपालिका, तपाइहरु (दैनिक नेपालगन्ज सहकर्मीलाई देखाउँदै) जस्ता मिडियाकर्मी सबै नागरिक समाज मिलेर हामीले सामूहिक अगुवाइ ग¥यौँ भने विकास सम्भव छ । यो बोर्डर एरिया हो, यहाँको विकास अनि समृद्धि चाँडै नै सम्भव छ ।
ललित-
नेपालगन्ज कस्तो छ भन्ने कुरा मैले धेरैपटक भनिसकेको छु कि, नेपालगन्ज राजनीतिक विभेदमा परिरहेको छ । भर्खरैमात्रै यातायात कार्यालयलाई कोहलपुर सार्ने कुरा भइरहेको छ । अरु कार्यालय पनि सर्दैछन् । विस्तारै सबै कुरा उतै जान थालेका छन् ।
अर्काेतिर हामी महानगरको दौडमा पनि छौँ । म कहाँनेर सशंकित छु भने भोलि महानगर भयो भने त, कोहलपुरमा पनि सामेल गराउनैपर्छ । अनि कोहलपुर पनि सँगै भयो भने नेपालगन्ज फेरि ओझेल पर्ने हो किन्ने डर कता कता नेपालगन्जवासीमा छ किनकि नेतृत्व फेरि कोहलपुरले नै लैजाला कि भन्ने डर यहाँका वासिन्दामा छ । विकासको नेतृत्व नेपालगन्जमा छैन, जुन एकता अरु ठाउँमा देखिन्छ । राजनीतिक नेतृत्व अब सचेत हुनैपर्छ ।
एकदमै हल्लाका साथ नेपालगन्ज दिल्ली उडानको कुरा उठ्यो । अहिले त्यो रोकिने सम्भावना छ । भनेपछि यसको पछाडि पक्कै पनि कुनै न कुनै राजनीतिक षड्यन्त्र छ । म त्यही देख्छु । काठमाडौपछि सबैभन्दा आन्तरिक उडान भर्ने एकदमै व्यस्त र ठूलो एयरपोर्ट त नेपालगन्ज नै हो तर, किन त्यो उडान हुन सकेन त ? त्यसको पछाडि त केही न केही पक्कै छ । त्यसकै लागि नेपालगन्जवासी एकजुट हुनुपर्ने अनि राजनीतिक नेतृत्व यहाँको विकासका लागि एक हुनैपर्नेछ ।
लालमणि-
पहिलो कुरा त व्यावसायिक एकता नै हो । यहाँका सबै नागरिक जनता जागरुक हुनुपर्छ । नत्र सबै कुरा उतैमात्रै सर्ने हो भने यहाँ के रहने त ? मुख्य कुरा त हामी सबै नागरिक एकबद्ध हुनुपर्छ यहाँको विकासको लागि ।
माधव-
सबैभन्दा पहिलो कुरा त, आर्थिक विकास नै हो । उद्योग धन्दाको विकास हुनुपर्छ । अनि अर्काे कुरा सामाजिक सोंचको विकास हुनुपर्छ । जबसम्म हामी आफ्नो घरवरिपरिको फोहोर आफैंँ व्यवस्थापन गर्न सक्दैनौँ र, राज्यको मात्रै भर पर्छौँ अनि त्यसरी त विकास हुँदैन । अनि स्थानीय उद्योगधन्दाको विकास हुनुपर्छ । नेपालगन्जको प्रमुख आवश्यकता के हो त ? यही बाटो भएर धेरै पर्यटक आउँछन् तर, उनीहरुलाई यहाँ एकै दिन पनि रोक्न सकिन्न । यदि त्यस्ता पर्यटकहरुलाई एकैदिनमात्रै यहाँ रोकिने व्यवस्था भयो भने व्यापार व्यवसाय पनि फस्टाउँछ । त्यतातर्फ पनि हामीले सोंच्नुपर्छ अब ।
अमित –
नेपालगन्जलाई विकासको लागि सबैभन्दा पहिले त यहाँका जनताको सोंचमा नै विकास हुनुपर्छ । यहाँ एकजना डाक्टर विनोद कर्ण जी, हुनुहुन्छ सरसफाइ अभियान चलाइरहनुभएका उहाँकै एकल प्रयासमा अहिले सयौँ हप्तामा त्यो अभियान चलिरहेको छ । चाहे सरसफाइ होस् वा अरु कुनै । कुनै न कुनै सोंच लिएर हरेक नागरिक जागरुक भयो र केही न केही सोंचाईमा विकास भयो नेपालगन्जको विकास सम्भव छ ।
आजको नेपालगन्ज र दश वर्षअघिको नेपालगन्ज कस्तो थियो भन्ने कुरा हामी सबैले भोगेकै छौँ । विकास त हुन्छ नै । अबको केही वर्षमा नेपालगन्ज कस्तो हुन्छ भन्ने केही न केही सिनारियोहरु देखिइरहेका छन् । बाटाघाटोदेखि लिएर, नालादेखि लिएर सबै बनिसकेका छन् । सोल्टी होटेलजस्तो होटेल नेपालगन्जमा छ । मानसरोबरजस्तो क्षेत्रको मुख्य नाका नेपालगन्ज छ । मैले धेरै सम्भावना देखिरहेको छु । यहाँका जनता अब जागरुक हुन जरुरी छ । हामी हावादारी नेतृत्व हैन, विकासको नेतृत्व गर्ने नेतृत्वलाई साथ दिनुपर्छ । नेपालगन्जमा खड्किएको एउटा राम्रो नेतृत्वको पनि हो । विकास त भइरहेको छ । यो अझैँ हुन्छ नेपालगन्जको विकास रोकिन्न ।