विकास बैंक भन्दा धेरै काम गर्न सकिन्छ

 

 

समयको माग अनुसार वेष्टर्न अगाडि बढ्दैछ

इश्वर पोखरेल
अध्यक्ष
वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लि.

२०६७ साउन ११ मा स्थापना भएको वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक मध्येका इश्वर पोखरेल संस्थाको दोस्रो कार्यकाल हाँक्दैछन् । सामान्य अवस्थाबाट नेतृत्व लिएका अध्यक्ष पोखरेलले दोस्रो कार्यकालसम्म आइपुग्दा वेष्टर्नलाई विकास बैंकको ढाँचामा लैजान खोज्दैछन् । झकीझकाउ कार्यालयदेखि औपचारिक व्यवस्थापनबाट वेष्टर्नमा जाने जो कसैलाई पनि यो त्यही सहकारी संस्था हो भन्ने लाग्दैन ।

‘यो जोखिमपूर्ण व्यवस्थापन भएन र ?’, अध्यक्ष पोखरेल मुस्कुराउँदै भन्छन्, ‘समय अनुसार अगाडि बढ्न जरुरी छ ।’ सहकारीले सिष्टम भित्र रहेर कमर्सियल वा डेभलपमेन्ट बैंक जस्तो ठूला–ठूला काम पनि गर्न सक्ने कुरा राख्दै उनी भन्छन्, ‘वेष्टर्नलाई हामी कुनै ठूला बैंक भन्दा कम आँकेर यो सबै गरिरहेका छैनौं ।’

नवौं बार्षिक साधारणसभाको सेरोफेरोमा अध्यक्ष पोखरेलसँग दैनिक नेपालगन्जसँग सहकारी संवाद गरेको छ । संस्थापक अध्यक्ष केशव कुमार शर्माले तीन बर्ष संस्था हाँकेपछि त्यसपछिको २०७० साल भदौ १८ गतेको साधारणसभाबाट सर्वसम्मत नेतृत्वमा स्थापित पोखरेललाई दोस्रो कार्यकाल पनि सर्वसम्मत जिम्मेवारी दिइएको थियो ।

डेढ करोड शेयर पूँजीबाट नेतृत्व लिएका पोखरेल अध्यक्ष भएको वेष्टर्न बचत तथा ऋण सहकारी संस्था अहिले झण्डै साढे ४ करोड शेयर पूँजीमा संस्था दौडाइरहेका छन् । अर्ब बढीको कारोबार गरिरहेको वेष्टर्नले यो बर्षबाट आधुनिक ढंगको कार्यालय व्यवस्थापनमा सेवा सञ्चालनमा ल्याइसकेको छ । त्यसैको सेरोफेरोमा अध्यक्ष पोखरेलसँगको संवाद अंश ।

वेष्टर्नको यहाँसम्मको यात्राबाट कुरा सुरु गरौं ?

२०६७ साउन ११ गते यस वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको हो । हामीले विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका थियौं । एउटा आर्थिकसँग जोडिएको संस्थाको आवश्यकता महसुस गरी यो संस्थाको स्थापना भएको हो । स्थापनाकालमा नेपालगन्जका प्रतिष्ठित २५ जना व्यक्तिहरुको संलग्नतामा प्रत्येकले ५० हजार शेयर उठाएर संस्थाको स्थापना गरेका हौं । स्थापनाकालदेखि सहकारीका बारेमा मानिसको एउटा नेगेटिभ सोंच थियो त्यसलाई चिर्न सफल भएका छौं । त्यसका लागि यहाँका सहकारीकर्मीहरुसँग पनि हामीले सहकार्य गरेका छौं ।

कस्तो छ संस्थाको अवस्था ?
राम्रो छ । खासगरि, सानो सानो पूँजीलाई कलेक्सन गरेर एउटा ठूलो पूँजीको रुपमा परिणत गर्न यो सहकारी सफल भएको छ । यसले आफ्नो आर्थिक कारोबार गर्दै जाँदा सहकारी ऐन, नियम, विनियममै टेकेर कारोबार गर्दै आइरहेको छ । जसले गर्दा संस्था फुल सिष्टममा चलिरहेको छ । आज दिनप्रतिदिन यसको उचार्इं र गरिमा बढ्दै गैरहेको छ । अहिले यो सहकारीलाई विश्वास गरेर नेपालगन्जका धेरै जसो सेक्टरका मानिसहरु आज यसमा कारोबार गरिरहनु भएको छ ।

अर्काेतिर, संस्थाले शेयर लगानीकर्ताहरुलाई पनि आर्थिक रुपमा लाभ दिन सफल भएको छ । वेष्टर्नले सबै विधि र विधान पुर्याएर ऋण लगानी गर्छ । यसले मुद्दतीका रुपमा पनि कारोबार गर्छ । दैनिक बचत संकलन, नर्मल बचत चेक खाताको पनि कारोबार गर्दै आइरहेको छ । यो सहकारी आज बाँकेबासीको सहाराको रुपमा स्थापित गर्न सफल भएको छ ।

सहकारीप्रतिको आशंका कसरी हटाउन सकिन्छ होला ?

सहकारी ऐन अनुसार नचलेका कारणले गर्दा धेरै सहकारीहरु धरापमा परेका छन् । र, त्यसको कारणले गर्दा लगानीकर्ताहरुको पूँजी पनि असुरक्षित भएको छ । सहकारीसँग कारोबार गर्दा धेरै सुरक्षित ढंगबाट कारोबार नगरिरहेको अवस्था हो । सहकारी ऐन, विनियम, आन्तरिक मापदण्डलाई पूरा गर्दै जाने, कारोबार गर्दा बेसिक कुरा फुलफिल गर्दै गयौं भने आश्वस्त पार्न सकिन्छ र लाभांश पनि वितरण गर्न सकिन्छ ।

अहिले राज्य पुनःसंरचनाका कारण संरचना फेरिएको छ, यसले कस्तो प्रभाव पारेको छ ?

सहकारी ऐन २०७४ आइसकेको अवस्था छ । स्थानीय तहलाई सहकारी अनुगमन गर्ने अधिकार प्रत्यायोजन गर्ने अधिकार दिएको अवस्था छ । र, त्यसमा पनि सहकारीहरुको आर्थिक कारोबार अनुसार, ५० करोडसम्मको कारोबार गर्ने सहकारीलाई स्थानीय स्तरले अनुगमन गर्ने, त्यो भन्दा माथिकोलाई मन्त्रालय, विभागले अनुगमन गर्ने पोलिसी छ । तर, यो प्राक्टिकल्ली लागु भैसकेको छैन । भोलि प्राक्टिकल्ली लागु भैसकेपछि कहाँ सजिलो हुन्छ र कहाँ अप्ठ्यारो पर्छ भन्ने थाहा हुन्छ । नीतिगत रुपमा हेर्ने हो भने अहिलेसम्म न अप्ठ्यारो न सजिलोको अवस्था छ ।

कारोबारदेखि कार्यालय व्यवस्थापन सम्म आज संस्थालाई कसरी चिनाउनु हुन्छ ?

यस संस्थाको २०६७ देखि २०७५ सम्मको कारोबारलाई सरर्सती नियालेर हेर्ने हो भने यसले फड्को मार्दै गैरहेको अवस्था हो । यसले सहकारीको विधि विधान, ऐन, विनियमलाई पालना गरिरहेको छ । यसमा जो जोडिइरहनु भएको छ उहाँहरुले आर्थिक लाभ पनि पाइरहेको अवस्था छ । ज जसले यसमा शेयर हालेर कारोबार गर्नुभएको छ, उहाँहरुको पूँजी सुरक्षित अवस्थामा छ ।

र, गत बर्षको कारोबारलाई हेर्ने हो भने गत आर्थिक बर्षमा १ अर्ब २६ करोड बराबरको कारोबार सहकारीले गरेको छ । यसबाट सहकारी साच्चिकै विकास बैंकले दिनसक्ने सेवा, सुविधा दिइरहेको अवस्था पनि हो । कारोबार पनि चुस्त, दुरुस्त भैरहेको अवस्थाले सहकारी आगामी दिनमा झन् अगाडि बढ्नेछ भन्ने हाम्रो विश्वास छ ।
संस्थाको प्रशासनिक चुस्तदुरुस्तता, सञ्चालक समितिको लगनशीलता, लेखा तथा सुपरिवेक्षण समितिको मोनिटरिङ्ग, ऋण समितिको काम, कारवाही, शिक्षा तथा तालिम उपसमितिको भूमिका सबैका कारणले गर्दा शेयर धनीहरुलाई मुनाफा दिंदै गैरहेको छ, जसलाई आगामी दिनमा धान्न सकिन्छ । अहिले हाम्रो ब्याजदर पनि धेरै महंगो छैन । करिब करिब विकास बैंककै हाराहारीमा हाम्रो ब्याजदर छ । हामी थोरै मुनाफामा धेरै काम गर्ने लक्ष्य लिएका छौं । हिजोदेखि आजसम्म हाम्रा शेयरधनी, लगानीकर्ताले सहयोग गर्दै आउनु भएको त्यसले निरन्तरता पाउँछ । यसै सन्दर्भमा आज हाम्रो साधारणसभा सभ्य र भव्य हुनेछ ।

 

 

 

 

 

 

 

 

विकास बैंक भन्दा धेरै काम गर्न सकिन्छ

थानिश्वर पाण्डेय
प्रवन्धक
वेष्टर्न बचत तथा ऋण सहकारी लि.

यो सहकारी नै मेरो पहिलो अनुभव हो । यस सहकारीको नयाँ कार्यसमिति बन्दा देखि नै म काम गरिरहेको छु । एकाउन्टिङ्ग नलेज, क्यास फाइण्डआउट नलेज मलाई धेरै थियो । त्यसैले यहींबाट सुरु गरेपनि राम्ररी काम गर्न सकियो । क्यासमा मलाई कसैले पनि छल्न सक्दैन । कसैले गरेको गल्ती तत्काल पत्ता लगाउन सक्छु ।
सहकारीका केही रुलहरु टाइट छन् । सबै रुलहरु रुलमै बसेर फलो गर्दा गाह्रो त हुन्छ नै । तर पनि सहकारीले गर्न नहुने भनेका काम दुई वटा मात्रै छन्, हातहतियार र लागुऔषध । अरु सबै काम सहकारीले गर्न पाउँछन् । कसैले डेभलपमेन्ट बैंकको काम गर्यो, डेभलपमेन्ट बैंकमा गए हुन्छ भन्छन् । तर, हामी जाँदैनौं, डेभलपमेन्ट बैंक भन्दा सहज तरिकाले काम गर्न पाउँछौं, भने किन डेभलपमेन्ट बैंकमा जानु पर्यो । डेभलपमेन्ट बैंकले बरु सीमित कारोबार गर्न पाउँछ होला तर, सहकारीले त्यो भन्दा धेरै काम गर्न पाउँछ । सहकारीले डेभलपमेन्ट भन्दा एक्ट्रा कामहरु पनि गर्न पाउँछ ।

 
जनचेतना फैलाउन नसकेर अनि, केही सहकारीको बदमासीको कारणले सहकारी प्रति आशंका पनि छ । नेपालगन्जको परिवेशमा ८÷१० करोड जम्मा गरिसकेका सहकारीहरु भाग्ने गरेका कारण बचतकर्ताहरु डुब्ने गरेका छन् ।

 
बैंकमा जस्तै सहकारी पनि अनलाइन सिष्टममा जाने रुल छ । त्यसो भयो भने एउटा व्यक्तिले दुई वटा उस्तै प्रकृतिका सहकारीमा शेयर सदस्य बन्न नपाउने, कोषमा बस्न नपाउने व्यवस्था प्रभावकारी रुपमा लागु हुनेछ । अब कसैले खाता खोल्यो भने अर्को सहकारीमा देखिने । एउटा सहकारीमा साक्षी बस्न गयो भने अर्को सहकारीमा बसेको छ भने त्यो पनि अनलाइनमा नै देखिने । त्यो भयो भने साना सहकारी विलय हुने वा ठूलो सहकारीमा मर्ज हुने सम्भावना बढ्छ । ऋण मात्रै पाउने नभएर सहकारीबाट अन्य सुविधा पनि शेयर सदस्यले पाउनु पर्छ । सबै रुललाई फलो गर्ने हो भने सहकारीका बेथिति अन्त्य हुनेछ । बनेका रुल फलो नगर्दा नै समस्या भएको हो । बनेका रुल सहकारीले फलो गर्ने र फलो गराउने निकायले टाइट गर्यो भने बचतकर्ताको रकम सुरक्षित हुनेछ । त्यसो भयो भने बैंक भन्दा सहकारी अझ सजिलो र सुरक्षित हुनेछ ।

 
डिभिजन सहकारीले नियमन गर्ने हो । त्यो अहिले हटेर स्थानीय तहमा गएको छ । कारोबारको लिमिट दिएको छ । नगरपालिका भित्रकोलाई नगर, गाउँपालिका भित्र कारोबार गर्नेलाई गाउँपालिकाले नियमन गर्ने, दुई जिल्लामा कारोबार गर्नेलाई प्रदेश सरकारले र प्रदेश भन्दा धेरै क्षेत्रमा कारोबार गर्नेलाई संघीय सरकारले हेर्ने रुल छ । रुलहरु अनुसार नै बनायो भने सहकारी नियमन हुनेछ ।

ऋणमा जोखिम घटाइरहेका छौं

श्रीधर पौडेल
सहायक प्रवन्धक
ऋण प्रमुख
वेष्टर्न बचत तथा ऋण सहकारी संस्था लि.

नेपालगन्जमा बसोबास भएकालाई साक्षी सिफारिस राखेर खाता भएको र शेयर होल्डर मध्येबाट जमानी राखेर लगानी गर्ने गरेका छौं । हामीले अहिले चेक धितो राखेका छौं, ऋणिको बिमा गरेका छौं, त्यसबाट भएन भने साक्षीबाट असुल उपर गर्ने व्यवस्था गरेका छौं ।

त्यसैले हाम्रोमा लगानी सुरक्षित हुन्छ । बिजनेश हेरेर व्यापारीलाई गरेको लगानी सहजै उठिरहेको छ । हामीले सानो व्यापारीलाई बढी लगानी गर्दा उठाउन गाह्रो पर्ने अवस्था देखेका छौं, त्यसैले अवस्था हेरेर लगानी गर्ने गरेका छौं । हो, कहिलेकाहीं लगानी उठ्ने तर किस्ता ढिलो उठ्ने समस्य देखिन्छ । हामी ती सबै अवस्थाबाट सिकेर अगाडी बढिरेहका छौं ।

प्रतिक्रिया

प्रतिक्रिया