नेपाली पत्रकारीतामा र राष्ट्रियताको सवालहरु

शितल थापा

हरेक देशको सर्वाङ्गीण विकासमा प्रेस जगतको अतुलनीय भूमिका रहेको हुन्छ । जनमानसलाई सुसुचीत गर्ने तथा सत्य तथ्य र प्रत्यक्ष समाचार संप्रेषण गरि जागरुक वनाउने कार्यपनि प्रेस र पत्रकारितामै निर्भर रहेको वास्तविकतालाई हामी भुल्न सक्दैनौं ।
पत्रेय युगदेखि आजसम्मको मानव यात्रामा सुचना र संचारको अहम् भूमिका रहेको छ, त्यतिवेला कुनै न कुनै रुपमा त्यहि नै पत्रकारीता थियो । मानव विकासक्रम संगै पत्रकारिताको पनि व्यवसायिक विकास र प्रष्ट भूमिका वन्दै गयो, अहिलेको पत्रकारिताको विकास । वास्तवमा पत्रकारीता मानवसमाजको भित्री आँखा हो, जसले सामाजिक मार्र्गिनर्देशनको पुरापुर जिम्मा पाएको हुन्छ । त्यसैकारणले पनि पत्रकारीतालाई राज्यको चौथो अङ्गको रुपमा लिइन्छ ।
सुचनाप्रविधिको विकाससंगै पत्रकारीता र सञ्चारको क्षेत्रले विश्वको विशाल भुभागलाई समेत अहिले निकै साँघुरो पारिदिएको छ । संसारको कुनैपनि क्रियाकलाप हामी तत्कालै देख्न, सुन्न, बुझ्न पाउने भएका छौं । पत्रकारीता र सुचना सम्प्रेषणको यस कार्यले मानवको जिवनस्तरमा समेत ठुलो हलचल पैदा गराइदिएको छ । यसरी विभिन्न तौरतरीकावाट निरन्तर सुचना प्रवाह गरि जनमानसलाई जीवन्त तुल्याएको आम संचार र पत्रकारीतालाई विश्वमा मानव समुदायको परिवर्तनको संवाहकको रुपमा लिन सकिन्छ । यद्यपी सवै सञ्चारमाध्यमहरू निष्पक्ष, सत्यपरक यथार्थमा आधारित भएर समाचार सम्प्रेषण गर्नु पर्छ भन्ने मान्यतावाट प्रेरित देखिदैनन् । पत्रकारिताको परिभाषा, मान्यता, सिद्धान्त र जिम्मेवारिप्रति वफादार रहेर कार्य गर्ने सञ्चारमाध्यमको आजकल खडेरी नै लागेको देखिन्छ ।

 
पत्रकारीता आफैमा सुचनाको एक परिवर्तित मुहान हो । जसले सदैव निष्पक्ष सत्यताको साथमा रहेर विशुद्ध मनोभावनाले मानवसमाजलाई न्यायको सफलता दिलाउँछ । दुई विशाल र विकसित छिमेकी देशहरुको बीचमा रहेको अल्पविकसित मुलुक नेपालमा प्रेस र पत्रकारिताको भूमिका झनै महत्वपूर्ण रहिआएको छ । तर कतिपय अवस्थामा प्रेसको भूमिका विवादास्पद भने नभएको होइन । अझै पत्रकारिताको खोल ओढेर अपराधलाइ प्रश्रय दिइरहेका खवर सुन्नुपर्दा पत्रकारिताको मूल मर्म नै बदनाम भइरहेको अनुभव हरेक जनतालाई हुनु स्वाभाविकै हो । यस्ता प्रवृत्ति विरूद्ध तत्काल प्रभावकारी कदम चाल्न नसक्दा कहिलेकाही पत्रकारीताका सवालमा अनेकौ प्रश्न चिन्ह खडा हुने गर्दछन, पत्रकारिताले कैयन् अवस्थामा राष्ट्रियता, सामाजिक सद्भाव, र आफ्नो मर्यादालाइ कायम राख्न नसकि जानी नजानी वाटो भुल्न पुगेको जस्तो आभाष गराउँछ । यस्ता पक्षलाई शिघ्र रुपमा सुधार गराउनु पर्छ ।

 
चौथो संविधान दिवस मनाइरहँदा कति केही अराजनीतिक गतिबिधि गरे भन्दा फरक नपर्ला । केही विखदण्डनकारीहरुले कालो दिन भनेर मधेश अलग देश भन्न पनि भ्याए । कति पत्रकारले गर्व साथ लेखे जस्ता राष्ट्र र राष्ट्रियता चिन्ता देखिएन कहिले कही यस्ता कुरा नजर अन्दाज गर्दा राष्ट्रिय हित हुन्छ भन्ने हेक्का हुन जरुरी छ । नेपाली पत्रकारीतामा राष्ट्रियता प्रश्नमा कहिले काहीँ कलम डगमगाएको होकी भन्ने गर्दछ । के हो त राष्ट्रियता ? यो बुझन् जरुरी रहन्छ ।
नेपाली शब्दकोषमा राष्ट्रियतालाई यसरी बयान गरिएको छ । ‘राष्ट्रप्रतिको आस्था वा राष्ट्रिय हितको भावना, राष्ट्र प्रेम, राष्ट्रको स्थिति वा आफ्नो पन ।’ राष्ट्रवादः ‘आफ्नो राष्ट्रको उन्नती र हितलाइ सर्वोपरि मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियता प्रतिको विशेष भक्ति भावना ।

सबभन्दा पहिला बुझ्नु पर्ने कुरा के भने राष्ट्रियताका विभिन्न पक्ष छन् ।
भित्री पक्षः व्यक्तिगत धारणा र चरित्र र वाह्य पक्षः व्यापक प्रादेशिक धारणा ।
भित्री पक्षः व्यक्तिगत धारणा र चरित्रसित सम्बन्ध राख्ने गुणहरु हुन्, इमान्दारी, दक्षता, सदाचार आदि । बेइमानी, घुसखोरी, भ्रष्टाचार, दुराचार, नालायकी राष्ट्रियतालाई नास गर्ने अवगुण हुन् । अर्को प्रश्न उठ्छ, राष्ट्रियता कहाँ छ ? असल शिक्षामा छ । असल स्वास्थ्यमा छ । असल चरित्रमा छ । असल व्यवहारमा छ । असल इमान्दारितामा छ । असल योग्यता र दक्षतामा छ । असल सेवामा छ । यसैसित गाँसिएको प्रश्न छ राष्ट्रियता कहाँ छैन ? हिंसामा छैन । मारकाटमा छैन । आवेगमा छैन । शत्रुतामा छैन । गालीगलौजमा छैन । कसैलाइ शत्रु घोषणा गर्ने काममा छैन । नाराम्रा छैन ।
वाह्य पक्षः मुख्यतया एउटा व्यापक प्रादेशिक धारणा पाइन्छ । बसाइँ सराई, विदेश घुमाई, विदेशी भाषा सिकाई, विदेशीसित घुलमिलाई नेपालीको चरित्र हो । नेपालीको यिनै गुणमा टेकेर नेपालको राष्ट्रियताको अवधारणा बनाउनु पर्ने भएको छ । नेपालको भावनात्मक सिमाना विश्वव्यापी हुँदै गएको छ । नेपालीहरु पहिले र अहिले आर्थिक प्रयोजनको लागि विदेशिने गर्दछन् । नेपालीहरु बाहिरिने क्रम जारि नै छ र रहने छ । अब देखि नेपालीहरु राजनैतिक लक्ष्य लिएर बाहिर जाने गर्नु पर्छ भन्ने धारणा आउँदै छ । यो अवधारणालाई आत्मसात गर्नु पर्दछ । यस धारणा अन्तर्गत नेपाल विश्वको एक भाग भए जस्तै विश्वलाई पनि नेपालको एक भागको रुपमा मान्नु पर्दछ । यो अवधारणाबाट हाम्रो राष्ट्रियता बलियो हुन्छ भनेर मानेर राष्ट्रिय नीति बनाइनु पर्दछ ।
तर, पहिलेको तुलनामा नेपाली पत्रकारीता जगतको परिधी आजकल निकै फराकिलो भएको छ । युगौंदेखिको मेहनत, लगन, र परिश्रमले नै यसले यति ठुलो फड्को मार्न सकेको हो भन्ने कुरा कसैले भुल्न खोज्नु सरासर भुल हुन्छ । भनिन्छ, सुर्यको प्रकाशले दिन नसक्ने उज्यालो पत्रकारीताले सर्वत्र छर्न सक्छ ।
वास्तवमा यो सहजै अनुभव भएको कुरा पनि हो । पत्रकारीताको परिभाषा र अर्थ आफैंमा स्वतन्त्र हुने भएकाले यस पेशामा संलग्नकर्ताहरुका लागि संसारको कुनै पनि भुभागमा निषेध गरिएको छैन र गर्नु पनि हँुदैन । यि महत्वपूर्ण र संवेदनशील पक्षहरुलाई सही ढंगवाट कार्यान्वयन गर्न नसक्दा नेपाली पत्रकारीताले जस कम अपजस बढी कमाएको छ । यसो त कुनै भुल हुँदैहुँदैनन् गर्दै गर्दैनन् भन्न सकिन्न । तर, सानो मात्र गल्तीले पनि समाजमा ठुलो नोक्सानी पुर्याउन सक्ने भएकाले हरेक अवस्थामा सावधानी अपनाउनु सञ्चारकर्मीको जिम्मेवारी हुन आउँछ । अर्को कुरा पत्रकारले सार्वजनिक सरोकारका विषयहरुप्रति मुकदर्शक वा एकपक्षीय बनेर बस्नुपनि नेपाली पत्रकारीता जगतको ठुलो गद्दारी र लज्जापन हो । यो हामी मध्ये कतिपयले भोगेकै कुरा पनि हो । यस्ता कमीकमजोरीलाई सामाजिक मुल्यमान्यता र पत्रकारीताका विधानको घेरामा साँधेर शुद्धिकरण गर्नु नितान्त आवश्यक छ ।
भौगोलिक अखण्डता र जातिय, सांस्कृतिक विविधताले सजिएको हाम्रो देश नेपाल शान्तिको लागि विश्वकै नमुना मानिन्थ्यो, अहिले पनि मुलुकमा विकसित शान्ति प्रकृयापछि सो कुराले निरन्तरता पाउने नै छ भन्नेमा सम्पूर्ण नेपाली जनता अझैपनि विश्वस्त रहेका छन् । यसको लागि नेपाली प्रेसले निभाउनुपर्ने भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ । सम्पूर्ण नागरीकलाई आफ्नो हक, अधिकार र स्वयं आफ्नो काम, कर्तव्यप्रतिको शिक्षा बोध गराउने जिम्मेवारी प्रेस जगतकै हो । यसरी नै प्रेस र जनताबीचको सम्बन्धले नङ्ग मासुको सम्वन्ध स्थापित गरेको छ ।
सदियौंदेखि जनतालाई थिचोमिचोमा पारेर बसेको कहालीलाग्दो राणा शासनकाल होस्, फाँसिष्ट निर्दलीय पञ्चायतकाल होस वा हालैमात्र नेपाली जनताद्वारा समुल नष्ट पारिएका निरकुंश राजवंश विरुद्धका अनेकौं लडाईमा नेपाली पत्रकारीताले बिर्सन नसक्ने गुन लगाएको छ । तर, आजकाल पत्रकारीताका आडमा लुकेर केही अराजक तत्वहरुले निन्दनीय धन्दा गर्न, जनमानसमा भ्रमश्रृजना गर्न तथा नागरिक सचेतनामा बाधा पुर्याउने जस्ता कार्यद्वारा नेपाली जनमानसमा एकप्रकारले आतंक फैलाइरहेका छन् । उनीहरुका यस्ता घृणित कर्तुतका विरूद्ध सचेतना फैलाउंदै जनमूखि सञ्चारमाध्यमहरुले सही समाचार सम्प्रेषणमा जोड दिनुपर्छ ।
पत्रकारको बिल्ला भिरेर स्वतन्त्र पत्रकारिताका नाममा जथाभावी अनेकौं कपोलकल्पित समाचार सम्प्रेषण गरि सामाजिक सद्भाव विथोल्ने, व्ल्याकमेलिङ्ग गर्ने, हप्ता उठाउने देखि धम्कीको धन्दा र चन्दा असुलीसम्मका अराजक कार्यहरू गरिनुलाई नेपाली पत्रकारिता क्षेत्रकै कलंकको रुपमा लिइएको छ । यसको विरुद्ध आवाज उठाउनुपर्ने पत्रकार महासंघ समेत कतिपय वेला प्रत्यक्ष–अप्रत्यक्ष रुपमा त्यसमै समाहित भएको उदाहरण पनि नभेटिएको हैन । तसर्थ, अब आम जनता र सचेत नागरिक समाजले नै गम्भीर भएर यस्ता प्रवृत्तिमाथि अंकुश लगाउनु अत्यावश्यक छ ।
जनतालाई सुचनाको अधिकारमा कुठाराघात गरेर कुनै हालतमा पनि पत्रकारीता हुँदैन । तसर्थ अविछिन्न रुपमा अग्रणी भूमिकामा रहेको नेपाली पत्रकारीता र पत्रकार जगतले विगतका कमि कमजोरीलाई भूलसुधार गर्दै आफ्नो भूमिकालाई सच्याउँदै जानुपर्ने हुन्छ । विशेष गरी जनमूखी रहेर राष्ट्र र राष्ट्रियताको सम्वद्र्धन गर्न सकेमा मात्र नेपाली पत्रकारीताको छवी आगामी दिनहरूसम्म जिवन्त राख्न सकिन्छ ।
तसर्थ गहन जिम्मेवारीका साथ जनताको शान्ति र परिवर्तन प्रतिको भावनाको सम्मान गर्दै हरेक पल राष्ट्र निर्माणको सच्चा पहरेदारको रुपमा रहिरहनु नै नेपाली पत्रकारीता क्षेत्रको भावी जिम्मेवारी रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया