अहिलेको हाम्रो समाजमा पछिल्लो केहि दशकदेखि शिक्षा, स्वास्थ्य, सडक, शहर सबैको स्वरूप परिवर्तन भएको छ । केहि बाहेक पढ्न पाइन भन्नेको संख्या एकदम कम भएको छ, शैक्षिक संस्थाहरु पनि प्रशस्त छ । धेरै विद्यार्थीलाई विदेश पढ्न जान सजिलो भएको छ, स्वास्थ्यका बिषयमा पनि केहि परिवर्तन भएको छ । उपचार गराउन प्रबिधि सहित नयाँ नयाँ बिषय विज्ञ पनि उपलब्ध छ ।

 
अब देशको सडक संजाल दुईवटा जिल्ला सदरमुकाम जोडिन बाकी छ । शहरमा चिल्ला सडक, महंगा गाडी, समय अनुसारका फिल्म हल, कफी सप, स्वीमिङ पुल, सपिङ्ग कम्प्लेक्स, ब्यबसाय बढेको छ । यसो हेर्दा गज्जबको बिकास भइरहेको छ । यससंगै के हाम्रो समाज, बिकासको यहि गतिमा सुरक्षित छ त ? के हाम्रा छोरीहरु, भतिजीहरू, दिदिबहिनीहरु, आमाहरु अथवा समग्रमा महिला सुरक्षित छन् त ? के तपाइँ आफै सुरक्षित महशुस गरेर दिनरात आनन्दले सडकमा, घरमा रहन सक्नुहुन्छ ? लाग्दैन कि हामी त्यति सुरक्षित छौं । बिहान घरबाट हिंडेको छोरी, दिदीबहिनी आमा बेलुका हासेर घर फर्कने वातावरण छ ? तपाइँ हामी आफैं त्यसैगरी हाँसेर फर्कने वातावरण छ भन्न सकिन्न ।

 
फेरिपनि केहि अनुत्तरित प्रश्नहरु बीचपनि परिवार, समुदाय र समाज परिवर्तन भइरहेको छ, प्रत्येक व्यक्तिको खानपान, बोली, ब्यबहार, चालचलन सबैथोकमा नयाँपन देखाउने होडबाजीले गर्दा एकअर्काका परिपुरक हुनुपर्ने समाज फरक हुँदै गएको छ । तपाइँले हिजो भेटेको, देखेको र बोलेको मान्छे आज फरक भैसकेको हुन्छ । हामीसँग सामूहिक चरित्रको भावना नै एकदम कम हुदै गएको छ । ‘म’लाई राम्रो भए अन्य कसैको पनि केहि भएपनि मतलब नगर्ने संस्कृतिको बिकास भैरहँदा समाजमा पछिल्लो समयमा सामाजिक अपराधहरु दिनदिनै बढ्दो छ, त्यो पनि बलात्कार जस्तो जघन्य र आततायी घटनाहरु भएका छन् ।
दिनदिनै भएका बलात्कारमा हाम्रो समाजको उदासिनता

नावालक, बाल–किशोरीहरु, अपाङ्गता भएका, सुस्त मनःस्थिति भएकाहरु बलात्कारका शिकार भएका छन् । बालबालिका अपहरणमा परेका छन् । बालबालिकालाई अपराधमा संलग्न गराइएको छ । प्रत्येक दिन समाचार बनेर आएका यस्ता अपराधिक बिषयमा हामी भने लगभग मौन छांै, हाम्रो स्वर मलिन छ । हामी खुलेर यसका बिषयमा छलफल गरिरहेका छैनांै किन त

समाजको स्वरूप,

मानसिकता र भौतिक संरचना त परिवर्तन भएको छ त्यससंगै जघन्य अपराध पनि बढ्दो छ । यी अपराधमा संलग्न व्यक्ति अन्य कुनै ठाउँ अथवा देशबाट आएर गरेको कुरा त अहिलेसम्म एकदमै न्यून छ । अहिले भइरहेका घटना त हाम्रै समाजमा हुर्केका, खेलेका, हाम्रै आफ्नै परिवार, समुदाय र समाजका मान्छे नै हुन् । केहि साता अघिको एउटा रिपोर्टमा यस्ता अपराधमा संलग्न धेरै आफन्त, शिक्षक र छिमेकी भन्ने थियो । यस्ता समाचार पढेर हाम्रो मथिंगल हल्लिन्छ नै ।

 
पछिल्ला समयका धेरै घटना तपाइले केलाउनु भयो भनेपनि सबैजसो घटनाका पीडक नजिक र चिनेजानेका वरपर कै छन् । त्यसो हो भने यो आततायी अपराध कम गर्नमा हामी कहाँ नेर चुक्यांै त ? हामीले व्यक्ति–व्यक्तिमा, घर–घरमा, परिवारमा, समाजमा ब्यापक बहश गर्ने बेला भइसकेको छ । हाम्रै भाई, छोरा, काका नै त हुन यस्ता घटनाका दोषी ।

 
यस्ता अपराध कम गर्न केहि बिषयहरुमा छलफल अहिले बाहिर आएको पनि छ । त्यो पनि जति छलफल हुनुपथ्र्याे, त्यो हुन सकेको छैन । शहर केन्द्रित केहि सिमित मानिसहरु अभियानमा लागेका छन् । बलात्कारीलाई मृत्युदण्डका बिषयमा पनि केहि समयदेखि छलफल चलेको पनि छ । विभिन्न अधिकारकर्मी संघ सस्थाहरु लागि परेका छन् त्यो पनि पर्याप्त मात्रामा छैन ।

 
हामीले अपराध न्यूनीकरण गर्न राज्यलाई मात्रै जिम्मा दिइरहेका छौं । हाम्रो ठाउँबाट कसरी सहयोग हुनसक्छ भन्ने बिषयमा अथवा समाजमा यस्ता घटना किन हुन्छ ? पीडक किन यस्तो जघन्य अपराधमा संलग्न भयो भनेर सुक्ष्म अध्ययन छलफल हुन सकेको छैन । जसले गर्दा पीडक नसमातिने, उम्कने मौका पाउने, पीडित परिवारका सदस्य झन् समाजबाट प्रताडित हुने काम भैरहेको छ । भरखरै पनि समाचारहरुमा आयो कि कंचनपुरमा एकजना निर्दोष किशोरीको बयानले पनि हाम्रो समाज कस्तो छ उजागार गर्न मद्दत गरेको छ । बिना कसुर निर्मला पन्तको हत्यामा संलग्न भनेर प्रहरीले पाँच दिनसम्म दिएको यातना सँगसँगै बिद्यालयमा र समुदायमा त्यो भन्दा बढी मानसिक तनाव भएको बताएको थिइन् ।

 
हामीले गर्नैे पर्ने काम
समाजले किन यसरि अपराधलाई पचाइरहेको छ ? यसका बिभिन्न कारणहरु हुनसक्छन, भूगोल, समूदाय, समय, सामाजिक वातावरण, हुर्काई, शिक्षा, दण्डहीनता, कानुनि शासन, बेरोजगार, लागुपदार्थ दुव्र्यसनी, सोसल मिडियाका माध्यम अनेक अनेक हुनसक्छन् । खोई त हाम्रो समाजले र हाम्रो स्थानीय सरकाले यसको सुक्ष्म अध्ययन गरेको ? यो त सामाजिक समस्या हो, हाम्रो समाजले हुर्काएको संस्कृति हो ? किन मानिस बलात्कार, अपहरण, हत्या जस्ता क्रियाकलापमा जस्तो जघन्य अपराधमा संलग्न छ भनेर अध्ययन नहँुदा यस्ता सामाजिक अपराध बढिरहेको छ । किन हाम्रो बिद्यालयस्तरमा, टोल टोलमा मनोपरामर्स केन्द्र खुल्दैनन अथवा पढाइ हुन्न ? हामीले स्थानीय सरकारसंग बाटो ढलानका बिकासका लागि मात्रै कराउने कि परिवर्तन हुँदै गएको समाजको विकृत मानसिकतामा पनि काम गरौ भन्ने ? हाम्रो लागि प्रश्न हामी आफैले खडा गरेका छौं ।
जसरी व्यक्ति, परिवार समाज शहर बनिरहेका छन् ।

 

बिश्व घुमेका छन् देखेका छन्, प्रविधिको पहुचमा छन् त्यसैगरि हाम्रो समाज र हामीपनि सुरक्षित र सभ्य हुदै जानुपर्नेथ्यो । हामीले अहिले बढेका घटना के कारणले हो भनेर छुट्याउन र सुक्ष्म ढंगले अध्ययन नगर्दा सतही रुपमा कानुनी कारवाहीको मात्रै मागले पुग्दैन, कारण पत्ता लगाउनका लागि समाज मंै जानुपर्छ साथै पीडकसंगको अध्ययन आवश्यक छ । उ के कारणले यस्तो जघन्य अपराधमा सामेल भयो भन्ने कुरा पत्ता नलागेसम्म बलात्कार जस्ता घटना मृत्युदण्ड नै सजाय राखेपनि कम हुनेछैन् । अर्को कुरा समाजमा रहेका नागरिक समाजले राज्यलाई दण्डहीनता अन्त्यका लागि आवश्यक नियमित दबाब दिइरहनुआवश्यक हुन्छ । यसमा पीडकका परिवार, आफन्त, समुदाय, राजनीतिक दल लगायतले सहयोग गर्नेपर्छ । अहिले पीडितले न्याय नपाउनु भनेको अर्को मुख्य कारण हामीहरुले नै कारवाहीको दायरामा ल्याउन सहयोग नगर्नु, प्रहरी प्रशासनको कमजोर अनुसन्धान, राजनीतिक दबाब कै कारण हो, यी सबैका लागि हामी आफै जागरुक नभएसम्म यस्ता आततायी घटना कम हुनेछैन ।
(हेटौडा निवासी शर्मा हाल ललितपुरमा छन् ।)

प्रतिक्रिया

प्रतिक्रिया