साहिल अन्सारी
युवा शब्दले नै एक नयाँ जोश जागर र उमंग थपिन्छ । कुनै पनि देशको सबै भन्दा बढी त्यो देशको युवा शक्ति हो देश परिवर्तनका निम्ति मुलुकको समृद्धिका लागि युवा नेतृत्वको खाँचो छ । यसलाई अझै प्रस्ट पार्ने हो भने युवा राष्ट्रको धरोहर हुन् भन्दा कुनै फरक मत आउँदैन । युवा राजनीतिक आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत तथा परिवर्तनका सम्वाहक शाक्ति हुन् । साहस सिर्जनशीलता सिक्ने क्षमता एवम उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरका रुपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोतको रुपमा मानिन्छ ।
नेपालमा १६ देखि ४० बर्ष उमेर समुहको जनसख्याको ४०.३ प्रतिशत रहेको छ । नेपालको संविधान २०७२ को भाग ४ राज्यका निर्देशक सिद्धान्त नीति तथा कार्यान्वयन अन्तर्गत धारा ५१ को उपधारा ७ मा युवाको सम्बन्धमा उल्लेख गरेको छ । समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्न युवा जमातको अहम भूमिका छ । वर्तमानको अवस्थामा मुलुक युवा सहभागिता खोजिरहेको छ । चाहे त्यो सामाजिक तह होस् या राजनीतिक तह । यी सबै लगायत् क्षेत्र युवा सहभागिताको अपरिहार्य खाँचो छ । मुलुकको विभिन्न काल खण्डमा जोश र जाँगरका साथमा युवाको जनसहभागिता र हाँसीहाँसी फाँसी चढेको र ज्यानको बलिदानलाई मुलुकले कदापी बिर्सिन सक्दैन ।
२००७ सालमा प्रजातन्त्र उदय पछि २०४६ सालको क्रान्ति २०६२÷६३ को जनआन्दोलन र २०७२ मा संविधान घोषणा र २०७४ को चुनावी बर्षमा युवाको योगदानलाई हामीले नजरअन्दाज गर्न मिल्दैन । अहिले मुलुक तिनै तहको निर्वाचन पश्चात स्थानीय, प्रदेश र संघीय सरकार निर्माण पछि मुलुकलाई पूर्ण रुपमा समृद्ध बनाउन युवाको काँधमा अझै जिम्मा थपिएको छ । नेपालको आर्थिक उन्नति युवाको परिश्रम संग जोडिएको छ । युवा पिढी अब देशको आर्थिक उन्नति तिर लम्किन जरुरी छ । मुलुकमा अब आउने २०७९ को चुनावमा एक तथ्यांक अनुसार ३५ लाख नयाँ युवा मतदाताहरु आउँदैछन् । यसले युवाको महत्व संगै युवा नेतृत्व को खाँचोको बिषयलाइ प्रमाणित गर्दथ्यो । संगै युवाको लोकतन्त्रमा सहभागिता हुनु पर्दछ भन्ने कुरा पनि प्रस्ट हुन्छ । अब युवाहरु अरब गएर खराब कमाउने सपना भन्दा नेपालमा नै आफ्नो रगत र पसिना बगाएर मुलुकको विकासका लागि सोची आफ्नै देशको सपनालाई पुरा गर्न र वीर शहिदका सपनालाई सकार पार्न तिर लाग्न आवश्यक देखिन्छ । शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र ब्यापार बिकासका मुल आधार हुन् । अब यी मूल आधारलाई लिएर युवाहरु आफ्नी जिम्मेवारी बोध गरि राष्ट्रको समृद्धिका निम्ति र मुलुककको बिकासमा हित हुने गरी काँधमा जिम्मेवारी बोकी नेपाली युवाहरु अगाडि बढ्न आवश्यक देखिन्छ ।
युवा आफै मेहनत गरि मुलुकलाई दक्ष युवा जनशक्ति दिन सक्षम छन् । आज कै युवा भोलि देशको उच्च तहका अधिकारी हुनेछन् । अब नेपाली युवा जोशका साथ मुलुकको विकासका लागि आफ्नो इतिहास रचना गराउन जरुरी छ । एक महान कबि ले भनेका थिए, ‘ज्युदै मर्या भनि नाउ कसको, उद्यम बिना बित्दछ काल जसको’ हो । वास्तवमा युवाहरु साँच्चिकै आफुलाई चिनाउनको लागि मेहनत र उद्दम गर्न आवश्यक छ । युवाहरुका लागि मुलुकमा थुप्रै अवसरहरु छन् । तर हामीले त्यसको बारेमा जानकारी नहँुदा हामी सधै पछाडी परिरहेका हुन्छौ । अब विदेश होइन स्वदेशमा नै आत्मनिर्भर भएर विश्वमा नेपालीको स्वाभिमानलाई चिनाउन आवश्यक छ । अब युवाहरु आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठी राष्ट्रको हितको निम्ति सोच्न उतिनै जरुरी छ । यसरी नेपाली युवालाई अझै सशक्त बनाउनका लागि नेपाल सरकार युवा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्ले युवा नीतिलाइ टेकेर अगाडि बढ्न आवश्यक छ । त्यो संगसंगै राष्ट्रिय युवा परिषद्ले युथ भिजन–२०२५ तथा दश बर्षे रणनीति योजना समेत बनाएको छ । यसले नयाँ पुस्तालाई देश बिकासका लागि आवश्यक राष्ट्रिय भावना, एकता, समता, सौहार्दता, समावेशिता जस्ता साझा मान्यताहरुलाई जोड दिएको छ । यसले युवामा ब्यापक लगानी गरि आर्थिक उन्नति हासिल गरि उत्तरदायी युवा तयार पार्ने कुरालाई केन्द्रमा राखेको छ । नेपाललाई सन् २०२५ सम्म द्रुत विकाशशिल राष्ट्रमा पुर्याउन ‘शिक्षा’लाई गुणस्तरीय व्यवसायिक र रोजगारीमूलक बनाउँदै सम्पूर्ण युवाको पहँुच सुनिश्चित गर्नु पर्दछ । यो युवाको लागि गरिनुपर्ने आधारभूत कार्य हो यो संगै रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागिता र नेतृत्व बिकास र खेलकुद र मनोरञ्जनलाई सुरु स्तरदेखि नै योजनाको रुपमा बिकास गरि सबै युवाको पहँुच सुनिश्चित गरिनु आवश्यक छ ।
नेपाल अहिले युवा विकास सूचांकमा १४५ औं स्थानमा रहेको छ । दक्षिण एसियाका मुलुक संग तुलना गर्दा पनि नेपालको युवा बिकास सूचांक सबै भन्दा कम्जोर देखिन्छ । कुल जनसंख्याको ४०.३ प्रतिशत युवा जनसंख्या रहेको नेपालले जनसांख्यिक लाभांश लिने सन्दर्भमा युवा सम्बद्ध समस्या तथा चुनौतीलाई चिर्न आवश्यक छ । लोकतान्त्रिक संघीय प्रणाली र बिकासमा सार्थक सहभगिताको अवसर कृषि पर्यटन जलस्रोत लगायतका प्राकृतिक साधनको प्रचुरता बैंक सहकारी लघुवित्तको बढ्दो सञ्जाल सबैलाई शिक्षा कार्यक्रम लक्षित समुह एवं भौगलिक क्षेत्र केन्द्रित विभिन्न कार्यक्रमको बिस्तार सचेतना बिस्तार र सिप यसतर्फका अवसरहरु हुन् । यसरी अब विभिन्न चुनौतीको सामना गर्दै युवाहरु अगाडि बढ्नुपर्छ भनि सन्देश दिन चाहन्छु ।