महानगर बहस : पूर्वाधारमा जुट्न आवश्यक

सतिश निरौला

 

धेरै जनसंख्या भएको, आसपास का छिमेकी क्षेत्रहरू मिसाएर बनाइएको ठुलो सहर नै सायद महानगरको परिभाषा हुन सक्छ । महानगर यी जोडिएका सबै भुभाग र क्षेत्र मध्य सबै भन्दा चर्चित सहरको नाममा नै सामान्यतया नामाकरण गरिन्छ । यतिबेला नेपालगन्जका चोक, चौतारा, मधुशाला र डबलीहरु यहि महानगरको बहस मै बढी केन्द्रित देखिन्छ । महानगरको बहस सँगै यसको तरङ्गले आसपासका क्षेत्रहरू कोहलपुर, खजुरा, जानकी, बैजनाथलाई पनि छोएको छ ।
नेपालगन्ज देशमै गिने चुनेको सहर हो कुनै समय । राजधानी बाहिर पोखरा, बुटवल, बिराटनगर, नेपालगन्ज, हेटौंडा, नारायणगढहरु चर्चा का सहर नै हुन् । पश्चिम नेपाल अर्थात् प्रदेशका हिसाबले कर्णाली प्रदेश र प्रदेश न ७ को गेट वेका रूपमा रहेको सहर हो नेपालगन्ज । नेपालगन्ज धेरै सम्भावना बोक्दा बोक्दै पनि तिनै सम्भावनालाई कार्यान्वयनमा लैजाने तहमा पुर्याउन सक्ने नेतृत्व भएर पनि त्यो तहमा पुगेकाको दुरदर्शिता र चाहना नभएकोले नै पछि परेको चर्चा गर्दा उपयुक्त हुन्छ जस्तो लाग्छ ।

 

 
नेपालगन्जलाई आसपासका क्षेत्र जोडेर ठुलो सहर अर्थात् महानगर बनाउने कुरो नेपालगन्जका लागि न्याय नै हुनेछ किनकी यो धेरै पुरानो सहर जो श्री ३ जङ्गबहादुरले बसाएको इतिहासमा पढ्न पाइन्छ । तर, नामको मात्र महानगर बनाउने कि साँच्चिकै हेर्न र गौरव गर्न लायक महानगर बनाउने बहसको केन्द्र यहि बनाउन जरुरी छ । प्रदेशको राजधानी नदिंदाको ललिपपका रूपमा खाली नामको मात्र महानगर बनाउन भन्दा केही समय कुरेर महानगर हुनका लागि आवश्यक पूर्वाधारहरुको विकास नेपालगन्ज उपमहानगरको हुन जरुरी छ । महानगरको हुटहुटी जाग्नु राम्रो पक्ष हो अब आफ्नो सहर महानगर बनाउने हो भने लक्ष्यमा पुग्न नागरिक ले पुर्याउनु पर्ने नागरिक दायित्वहरु पनि पूरा गर्नुपर्ने हुन्छ यसतर्फ पनि नेपालगन्जबासीको ध्यान जान जरुरी छ ।

 

 
फराकिला चौडा सडक, प्रत्येक २०/५० घरको बीचमा कृडा स्थल, ठाउँ ठाउँमा खेलमैदान, सुविधाजनक र अत्याधुनिक बसपार्क, सहर भरी जतासुकै सार्वजनिक शौचालय, अत्याधुनिक सभा हल, कम्तीमा एउटा विश्वविद्यालय, यातायातको प्रशस्त सुविधा, बाग–बगैंचा, बाक्लो जनसंख्याको चाप, सुविधाशाली अस्पताल आदी कुराहरू नै महानगर बन्न चाहिने आधारहरू हुन् सक्छन् । महानगरको उडान भर्न अब नेपालगन्ज उपमहानगर यी आवश्यक पूर्वाधारको तयारीमा जुट्न जरुरी छ ।

 

 
कोहलपुर एउटा अलग पहिचान बनाइसकेको सहर हो, यस्को आफ्नै खाले विशेषताहरु छन् तसर्थ कोहलपुरलाई अलग सहर का रूपमा नै अघी बढाउँदा उपयुक्त हुन्छ । बरु राप्तीसोनारी गाउँपालिकालाइ कोहलपुर नगर सँग मिसाएर उपमहानगर बनाउनु उपयुक्त हुनसक्छ । महानगरका लागि डुडुवा, जानकी, खजुरा र बैजनाथलाई मिसाएर नेपालगन्ज महानगर बनाउँदा राम्रो हुन सक्छ । यसो गर्दा बाँके जिल्लामा एक गाउँपालिका, एक उपमहानगरपालिका र एक महानगर हुनेछ ।

 

 
महानगर अहिले सम्भावना छैन भन्दा महानगर अभियानको विरोधी कित्तामा ठडाइन पनि सक्छ तर मेरो विचार तत्काल महानगर सम्भव छैन भन्ने हो नकी म महानगर अभियान विरोधी हुँ । अब यदी हामी साँच्चै नेपालगन्जलाई महानगर बनाउने अभियानमा लाग्ने हो भने पहिला नेपालगन्ज सहरलाई ब्यवस्थित र सुविधाशाली, हरभरा बनाउने अभियानको सुरु गर्नुपर्ने हुन्छ । नेपालगन्ज सहर अझै साँच्चैको सहर बन्नुपर्छ ।

 

 
महानगरका लागि सम्भावित आधार क्षेत्रहरू जानकी गाउँपालिका जहाँ थुप्रै उद्योग धन्दा र कलकारखानाहरु स्थापित छन्, खजुरा गाउँपालिका जहाँ प्रदेश न ५ कर्णाली प्रदेश र ७ नं. प्रदेशका लागि हुने गरि तयार गरिएको क्यान्सर अस्पताल छ । बैजनाथ जहाँ औधोगिक करिडोरको कुरा छ । डुडुवालाई महानगरको गतिमा अगि बढाए एउटा गाउँले विकासको गति सँगै सहरी सुविधा प्राप्त गर्ने छ । अब महानगर अभियान अघि बढाउँदा नेपालगन्जको विकासको गति कछुवा लयमा हैन ‘चिता’ को गति पकड्नु पर्छ सँगसँगै महानगरका सम्भावना बोकेका क्षेत्रहरूको विकास, काम र योजना हरुसमेत सोही अनुरुप अघि बढ्नु पर्छ ।

 

 
हामीसँगै जोडिएको भारतको उत्तर प्रदेश जहाँ १६ वटा महानगर छन् । त्यसलाई हामीले नजिकैबाट नियालेका छौं हामी महानगरको अभियानमा अघि बढ्दै गर्दा भारतको उत्तर प्रदेशका महानगर हरुको पनि अध्ययन, अनुसन्धान गर्न जरुरी छ । महानगरबन्नका लागि पहिलो नभै नहुने भनेको भूगोल र स्थायी जनसंख्या नै हो, महानगरको बहस अघि बढाउँदै गर्दा त्यतातिर पनि ध्यान पुग्न जरुरी छ । भूगोल सँगैसँगै भूगोल भित्र रहेकाहरुको रहनसहन र मन पनि जोडिनु जरुरी हुन्छ ।
महानगरका सन्दर्भमा छलफल चलिरहँदा दैनिक नेपालगन्जले सुरु गरेको महानगरको बहस अभियान सान्दर्भिक र स्वागत योग्य छ । तत्काल नै नेपालगन्ज सहरलाई महानगर बनाउन नसकिए पनि यो बहस, छलफल र जागरणको अभियानले नेपालगन्ज लाई सुन्दर, हरभरा र समृद्ध सहर बनाउन मद्दत पुग्ने छ ।

प्रतिक्रिया

प्रतिक्रिया