एकदशक पछिको अथक परिश्रमबाट बाँकेको खजुरामा क्यान्सर अस्पताल सञ्चालनमा आएको छ । मुलुकमै जनस्तरबाट भएको प्रयासले मूर्त रुप पाएको यो उदाहरणीय प्रयासको नेतृत्व प्रखर परोपकार मिसन नेपालले गर्यो । उक्त मिसनको अध्यक्ष हुँदै हाल क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष रहेका किस्मत कुमार कक्षपति यतिबेलै खजुरा गाउँपालिकाका जननिर्वाचित प्रमुख पनि छन् । अध्यक्ष कक्षपतिसँग पत्रकार झलक गैरेले गरेको कुराकानी संक्षेप ।
क्यान्सर अस्पतालमा सेवा सञ्चालन सम्म आइपुग्दाको विगत कस्तो रह्यो ?
यतिबेला हामी सबैलाई बधाई । आज १० बर्षपछि मध्यपश्चिम क्षेत्रका जनताको सपना साकार भएको छ । नेपालको इतिहासमै पहिलो पटक जनताको प्रत्यक्ष सहभागितामा महायज्ञबाट सुरुवात गरिएको क्यान्सर अस्पताल गठन आदेशपछि सरकारलाई हस्तान्तरण गरिसकेका छौं । जनतको प्रत्यक्ष सहभागितामा २०६२ साल माघ ११ गते क्यान्सर अस्पतालको परिकल्पना सहित महायज्ञ भएको १० बर्षपछि त्यसको फलस्वरुप अस्पतालमा बहिरंग सेवा सूचारु गरेका छौं । यो प्रदेश नं. ५, ६ र ७ का जनताका लागि यो गौरवको विषय हो ।
क्यान्सर अस्पताल चाहिं किन नि !
वास्तवमा सुरुमा जनरल अस्पतालको बनाउने सोंच थियो । त्यसपछि मध्य र सुदुरपश्चिमका निमुखा जनता जसले क्यान्सरको उपचार त के उपचार सम्मै पुग्न नसक्ने अवस्था मध्यनजर गरेर क्यान्सर अस्पताल बारेमा बहस चलायौं । त्यसपछि प्रखर परोपकार मिसन नेपाल भन्ने संस्था जिल्ला प्रशासनमा दर्ता गर्यांै । र, क्यान्सर अस्पताल निर्माणका लागि जग्गा खोजीमा लाग्यौं । सुरुमा महामण्डलेश्वर प्रखरजीले चार विघा जग्गा खोज्नुस् हामी ३ करोड भारु दिन्छौं अस्पताल बनाउन भन्ने सन्देश दिन दयाल गुरुजीले ल्याउनु भयो ।
जग्गा खोज्ने क्रममा हालको अस्पताल भएको ठाउँमा करिब ४ विगाह जग्गा क्षेत्रीय प्रहरी तालिम केन्द्र सुर्खेतको निस्सामा रहेको पायोैं । बस्ती विकास कम्पनीबाट अस्थायी निस्सा रहेको पाइयो । निरन्तर ३ बर्षको प्रयास पछि तत्कालीन गृह मन्त्रालयको सचिव स्तरीय निर्णयबाट ३ लाख ३६ हजारमा त्यो जग्गा किन्यौं । र, जग्गा प्रखर परोपकार मिसन नेपालको नाममा आयो । जग्गा नाममा आएपछि प्रखरजी महाराजबाट ओपिडि भवनको शिलान्यास गरियो । शिलान्यास भयो, ३ करोड आउने आशा गरेका थियौं । तर, त्यसको प्रक्रिया मिलिरहेको थिएन ।
त्यसपछि स्रोत जुटाउन यज्ञ गर्ने निर्णय गर्यौं । र, वाचनप्रवीण दिनबन्धु पोखरेललाई ल्याएर महायज्ञ गर्यौं । त्यसक्रममा लगातार तीन महिना महायज्ञको प्रचारमा खटियौं । बाँके र बर्दियाका प्रत्येक गाविसमा पुग्यौं । २०६२ माघ ११ गते सुरु भएको महायज्ञ अभूतपूर्व सफल भयो । तत्कालीन जिविस बाँकेले ५१ लाख, तत्कालीन संविधानसभाका सभासद्हरुले ५÷५ लाख, तत्कालीन दानवीरहरुले आफ्ना नाक, कानका फुली समेत दान गर्नुभयो । यसरी प्रत्यक्ष जनसहभागितामा महायज्ञ सफल भयो । र, ५ करोड २६ लाख बोल कबोल भयो । उठेको रकम ३ करोड भन्दा केही बढीबाट हामीले काम सुरु गर्यौं । महायज्ञ सुरु हुनुभन्दा अघि १ लाख ५० हजार सापट लिएर ओपिडि भवन शिलान्यास गरेका थियौं ।
प्रखर परोपकारबाट अस्पताललाई सरकारलाई किन बुझाउनु पर्ने अवस्था आयो ?
सुरुमा त खजुरामा क्यान्सर अस्पताल स्थापना हुन्छ भन्ने कसैले पत्याएकै थिएन । तर, अहिले आएर लागेपछि हुँदो रहेछ भन्ने आत्मविश्वास आएको छ । महायज्ञ गरेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कोषबाट संस्थालाई अस्पताल सुरु गर्नका लागि ३ लाख रुपैयाँ दिनुभएको थियो ।
तत्कालीन संविधानसभाका उपसभामुख पूर्णकुमारी सुवेदीको सहयोग, तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालसँग निरन्तर पहल, सभासद्हरुको सँगको अन्तरक्रिया पछि सरकारी सहयोग जुट्न सुरु भयो । त्यही पहल पछि अस्पतालको नाम नेपाल क्यान्सर अस्पताल रह्यो । हालसम्म सरकारबाट ०६६÷०६७ देखि हालसम्म २७ करोड अनुदान प्राप्त भैसकेको छ अस्पतालका लागि ।
जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, सुशिल कोइराला, माधव कुमार नेपाल, केपी शर्मा ओली लगायत सबै प्रधानमन्त्रीले खजुरा क्यान्सर अस्पतालको निरिक्षण गरिसक्नु भएको छ । स्वास्थ्य मन्त्रालय सबै जसो उच्च तहका अधिकारीहरुले पनि अस्पताल निरिक्षण गरिसक्नु भएको छ । अस्पतालका बारेमा उहाँहरुलाई राम्रो सँग थाहा छ ।
अस्पताललाई कुन मोडलमा लैजाने भन्ने बृहत बहस सुरु गरियो । त्यसपछि सरकारले नै अस्पतालको मोडेल अध्ययनका लागि सचिव स्तरीय निर्णयबाट वर्तमान स्वास्थ्य विभागका महानिर्देशक डा. गुणराज लोहोनीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन भयो । कार्यदलमा भरतपुर क्यान्सर अस्पतालका विकास बोर्डका अध्यक्ष डा. प्रकाश न्यौपाने, म र स्वास्थ्य मन्त्रालय योजना महाशाखाका अधिकृत सुरशेचन्द्र मरासिनी रहेका थियौं । हाम्रो कार्यदलले देशका विभिन्न मोडालिटि अध्ययन गर्यौं ।
कार्यदलले त्यसपछि पिपिपि मोडालिटिमा जाने निर्णय गर्यौं । उक्त मोडालिटि अनुसार, प्रखर परोपकार मिसन नेपालले प्रस्ताविक गरेको क्यान्सर अस्पताललाई आर्थिक सहयोग नेपाल सरकारले गर्ने, प्राविधिक सहयोग भरतपुर क्यान्सर अस्पतालले गर्ने, व्यवस्थापन र सञ्चालन पब्लिकले गर्ने, विकास समितिले गर्ने निर्णय भयो । मोडालिटीमा सुरुमा भरतपुर क्यान्सर अस्पतालका अध्यक्ष डा. प्रकाशले असहमति जनाउनु भयो । दुई साताको प्रयास पछि उहाँलाई मनाउन सफल भइयो । र, त्रिपक्षीय सम्झौता भयो । लगत्तै विकास बोर्ड गठन भयो । त्रिपक्षीय सम्झौता अनुरुप विकास बोर्डको पहिलो बैठकले डा. विश्वराम पौडेललाई डाइरेक्टर बनाउने निर्णय गर्यो । त्यसपछि भारतपुर क्यान्सर अस्पतालको ऐन अनुसार खजुरामा पनि स्याटेलाइट सेवा सुरु भयो । २० लाख रुपैयाँ प्राप्त भएपछि ६ महिनासम्म स्याटेलाइट सेवा सुचारु गर्यौं ।
सरकार परिवर्तन भयो । गगन थापा स्वास्थ्य मन्त्री हुनुभयो । पिपिपि मोडालिटी स्वीकार गरिएन । नेपाल सरकारको प्रस्तावना आयो, सबै भन्दा पहिला प्रखर परोपकार मिसन नेपालले पहिला आफ्ना चल, अचल सम्पत्ति नेपाल सरकारलाई हस्तान्तरण गर्नुहोस् भन्ने । त्यसपछि मात्रै अस्पताल सञ्चालन गर्नुस् भन्ने आदेश आयो । सरकारको आदेश अनुसार नजाँदा सम्म प्रधानमन्त्री केपी ओलीको पालामा अस्पतालका लागि छुट्याइएको अनुदान १० करोड नआउने भयो ।
तत्कालीन स्वास्थ्यमन्त्री थापा सँगै धेरै आग्रह गर्यौ पिपिपि मोडेलका लागि । कम्तिमा पिपिपि मोडालिटी एक बर्ष प्रयोग गरौं सफल नभए गठन आदेशमा आउँला भनियो । तर, हामी सफल हुन सकेनौं । र, बाध्यकारी अवस्था आयो, चल, अचल सम्पत्ति नेपाल सरकारमा गठन गर्नुपर्ने नभए अस्पताल अगाडि बढ्न नसक्ने ।
संस्थाको १० औं अधिवेशनबाट कित्ता नम्बर सहित बनेको भवन नेपाल सरकारलाई हस्तान्तरण गर्ने भन्ने निर्णय गर्यौं । त्यसले गठन आदेशमा जाने बाटो खुल्यो । त्यतिखेर अस्पतालको नाम फेर्ने कुरा पनि आयो । तर, हामीले त्यतिखेर मानेनौं, यो जनताले सहभागितामा अस्पताल सुरु भएको हो भने ।
हालको मोडालिटीले प्रखरको भूमिकालाई कमजोर बनायो भन्ने आरोपमा के भन्नुहुन्छ ?
हामीले राम्रो मोडालिटी बनाएका थियौं । तर, गगन थापा स्वास्थ्य मन्त्री हुँदा मान्दै मानिएन उक्त मोडेल । त्यसअघि प्रधानमन्त्री केपी ओली हुँदा छुट्याइएको १० करोड अनुदान समेत नआउने स्थिति सिर्जना भयो । जनस्तरबाट सुरु भएको अस्पताल जसरी पनि सञ्चालन गर्नुपर्ने बाध्यता थियो । १० बर्षको मेहनत त्यसै जान दिन सक्ने अवस्था थिएन ।
म नेपाल कम्युनिष्ट पार्टीको जिल्ला स्तरको नेता हुँ । मैले पनि आफ्नो केन्द्रीय नेताको नाममा अस्पतालको नामाकरण गर्न सक्थें होला । तर, मैले त्यो गरिन, किनभने त्यो प्रत्यक्ष जनताको सहभागितामा भागवतलाई साक्षी राखेर यो अभियान सुरु गरिएको थियो । मध्यपश्चिमका ७८ जना सभासद्हरुको बीचमा छलफल गरेर अस्पतालको नाम नेपाल क्यान्सर अस्पताल राखिएको थियो ।
हाम्रो संस्थाको विधानमा स्पष्ट उद्देश्य लेखिएको छ, क्यान्सर अस्पताल सञ्चालन । र, आज त्यो उद्देश्य पूरा भएको छ, क्यान्सर अस्पताल सञ्चालनमा आएको छ । गठन आदेशको प्रस्तावना तत्कालीन निमित्त स्वास्थ्य सचिव डा. किरण रेग्मीले क्याबिनेट मिटिङ्गमा प्रस्ताव लिएर जानु भयो । र, त्यो प्रस्तावना पास भयो । त्यो क्याबिनेटले नेपाल क्यान्सर अस्पतालको ठाउँमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नामाकरण गरिदियो । हामी सरप्राइज भयौं । हामीले त्यो गलत भयो भनेका थियौं । पछिल्लो अस्पताल नामाकरणमा प्रखरको कुनै भूमिका रहेको छैन ।
क्यान्सर अस्पताल जस्तो बृहत प्रोजेक्ट पब्लिकले मात्रै चलाउन सक्दैन । संस्थाले एक्लै पनि यत्रो ठूलो प्रोजक्ट चलाउन सक्ने अवस्था छैन त्यसमा म क्लिलियर छु । जुन गठन आदेश मार्फत यो सञ्चालन भएको छ । त्यो अत्यन्त नराम्रो पनि होइन । यसको छुट्टै खालको सिष्टम छ । नाम परिवर्तन नगरि गठन आदेशबाट अस्पताल सञ्चालन भएको भए सुनमा सुगन्ध हुन्थ्यो । तर, त्यसो हुन सकेन । यो सबै राजनीतिक दलमा आस्था राख्ने नेता, कार्यकर्ता तथा स्थानीय जनताबाट सुरु भएको अस्पताल हो । कुनै एउटा नेताको नाम राख्दा त्यसले भावनामा चोट पुगेको छ ।
अबका दिनमा प्रखरले क्यान्सर अस्पताललाई सहयोग गर्नेछ । उसको भूमिका त्यसैमा केन्द्रित हुनेछ । गठन आदेशमा पहिलो तीन बर्ष विकास बोर्ड गठन हुँदा प्रखरकै अध्यक्ष हुने व्यवस्थाका कारण अहिले म अध्यक्ष भएको हुँ । म पछि पनि प्रखरबाट तीन जना सदस्य बोर्डमा रहने भन्ने व्यवस्था छ । तसर्थ हामीले यो संस्थालाई बचाइ राख्नुपर्छ ।
अस्पताल सञ्चालन पछि कस्तो छ अवस्था ?
म सधंै ३/४ घण्टा अस्पतालका लागि दिने गरेको छु । बिरामीहरु आइराख्नु भएको छ । हामीले तीन वटा नयाँ कुरा दिन खोजेका थियौं । पेपर लेस सिष्टम, त्यसका लागि सफ्टवेयर जडान गरिसकेका छौं । अर्को फार्मेसी, जुन अस्पताल आफैले सञ्चालन गरिसकेको छ । तेस्रो, रेडियसनमा सबै इकुपमेन्ट जडान पछि नन प्राक्टिस, जसले अस्पतालमा काम गर्ने चिकित्सकले यही अस्पतालमा ड्यिुट बाहेकका समयमा पनि काम गर्ने ।
ओपिडि कम्पिलिटली अगाडि बढेको छ । सुविधा सम्पन्न अपरेशन थियटर बन्ने अवस्थामा छ । दुई महिनापछि सबै किसिमका अपरेशन हामी त्यहाँ सुरु गर्छौ । अलिकति क्यान्सरका विशेषज्ञ जनशक्तिको समस्या छ । त्यो समस्या अबको पाँच बर्षमा नरहला । सबै राम्रो ढंगले अगाडी बढेको छ ।