वसन्त गौतम
आर्थिक अवस्था कमजोर भएकी बाँकेकी एकल महिला बिमला रानाले (परिवर्तित नाम) छोरालाई उच्च शिक्षासम्म पढाई ठुलो मान्छे बनाउने सपना बुनेकी थिइन् । जव छोरा एसएलसी पास ग¥यो तव उनले ऋणधन गरेर बिज्ञान बिषय पढाउने भन्दै महंगो निजि बिद्यालयमा छोरालाई कक्षा ११ मा भर्ना गरिदिइन् । पहिलो बर्ष त छोराले राम्रै पढेको थियो । तर १२ कक्षामा पढ्दै गर्दा भने छोराको संगत लागुऔषध सेवनकर्ताहरुसंग हुन पुग्यो । दुख कष्ट झेलेरै भए पनि इन्जिनियर बनाउने उनको सपना त्यति खेर चकनाचुर भयो जव छोराले लागुऔषध सेवन गर्ने भएका कारण पढाई छाडेर छोरालाइ पुनस्थापना गृहमा राख्नु पर्ने भयो । द्वन्द्वकालमा श्रीमान गुमाउदाको पीडा कम गर्दै छोराको उच्च शिक्षामा ध्यान दिएकी ति द्वन्द्व पीडित महिला छोराको त्यस्तो ब्यवहारले निकै नै दुखित बन्न पुगिन । भन्छिन ‘श्रीमान गुमाउनको पीडा त छदै थियो छोराको यस्तो ब्यवहारले झनै पीडा थपि दियो ।
सुर्खेतका कमल सिंजाली (परिवर्तित नाम) उच्च शिक्षाका लागि भन्दै बर्ष दिन पहिले नेपालगन्ज छिरेका थिए । ब्यवसायिक शिक्षा लिने भन्दै रेडियोलोजी पढ्न थालेका उनी साथीभाईसंगको गलत संगतका कारण लागु औषधको नसामा फसे । हुँदा हुँदा उनी आफु पनि खाने र बेचबिखन पनि गर्ने उद्देश्यले नेपाल भारत सिमावर्ति क्षेत्र रुपैडियाबाट लागु औषध ल्याउदै गर्दा प्रहरीको फन्दामा परे । ज्यालामजदुरी गरेरै भएपनि पढ्न पठाएका उनका बुवाआमा छोराको त्यस्तो गलत कार्यबाट निकै नै मर्माहित हुन पुगे । भन्छन् ‘छोराले पढेर केही गर्ला, ठुलो मान्छे बन्ला भन्ने सपना चकनाचुनर भयो ।’
केही समय पहिले नेपालगन्ज स्थित नाम चलेको एक निजि बिद्यालयमा कक्षा १० मा अध्ययनरत एक बिद्याथी लागु औषध सेवन गर्दै गरेको अवस्थामा प्रहरीद्धारा पक्राउ परे । धनीबाबुका एक्लो छोरा रहेका ति युवा पढाई तिर ध्यान जानु पर्ने बेला १६ बर्षको कलिलै उमेरमा लागु औषधको नसाले छोयो । छोराको चालचलन कस्तो छ ? के कामका लागी पैसा खर्च गरिरहेको छ ? भन्ने बारेमा ध्यान नदिने बरु जाहे जति पैसा दिने बाबुआमाको प्रबृत्तीले छोरालाई गलत बाटोमा लाग्न अभिप्रेरित गर्यो ।
यि त प्रतिनिधिमुलक घटना मात्र हुन । पछिल्लो समय बाँके जिल्लामा लागु औषध सेवनकर्ताको संख्या बढ्न थालेको छ । मध्यपश्चिमको केन्द्र बिन्दु र भारतीय सिमावर्ती क्षेत्र भएका कारण नेपालगंज नाकाबाट अबैध रुपमा लागु औषधको अबैध कारोवार हुने गरेको पाईएको छ । एकताका नेपालगन्जको जयसपुर क्षेत्र लागु औषध कारोरवारको अखडा नै मानिन्थ्यो । प्रहरी सक्रियताका कारण घटनामा केही कमि आए पनि नेपालगन्ज क्षेत्रमा अहिले पनि लागु औषधको अबैध कारोवार रोकिएको छैन । हुँदा हुँदा पछिल्लो समय यसको बिस्तार तराई र भारतीय सिमा क्षेत्रमा मात्र सीमित नभई बिकट पहाडी क्षेत्रसम्म पुगेको छ ।
लागु औषध मुद्दाको आरोपमा पक्राउ परेका थुनुवाहरुका अनुसार भारतको रुपैडियाका मेडिकल पसल र अन्य स्थानमा सजिलै लागु औषध खरिद गर्न पाइन्छ । यहि भएर बाँके मात्रै नभएर मध्य पश्चिममा पहाडी जिल्लाका युवाहरु लागु औषध खरिद गर्न रुपैयिासम्म धाउने गरेका हुन्छन् । बाबु आमाले दुख गरेर पढ्नका लागि दिएको पैसा कैयौ युवाले लागु औषधको नसामा उडाउने गरेका छन् । बाँके जिल्लाका बिभिन्न हिरासतहरुमा रहेका थुनुवाको प्रतिशत हेर्दा आधा भन्दा बढी लागु औषध मुद्दाकै हुने गरेको तथ्याङ्कले स्थिति भयाभव तर्फ गैसकेको संकेत गर्दछ ।
प्रहरी कार्यालयको रेकर्ड अनुसार हरेक महिना जस्तो लागु ओषध मुद्धाको अभियोगमा ब्यक्तिहरु पक्राउ पर्ने गर्दछन् । कोही सेवनकर्ताको रुपमा पक्राउ पर्ने गर्दछन् त कोही कारोवारी । पक्राउ परेका मध्ये कोही गाँजा सहित पक्राउ परेका छन् त कोही ब्राउन सुगर त कोही खैरो हिरोइन । कोही नाईट्रोजेपाम ।
लागु औषधको नसाले बालबालिकाहरु पनि अछुतो रहन सकेका छैनन् । बालकदेखि बृद्धसम्म र धनी देखि गरिव समेतलाई लागु औषधको नसाले छुन थालेको छ । बिद्यार्थी होस वा मजदुर, नोकरीवाला होस वा बेरोजगार सबै बर्ग र क्षेत्रका मानिसहरु सम्म लागु औषधको नसा पुग्न थाल्नु गंभिर चिन्ताको बिषय बनेको छ । कोही साथी भाईको लहै लहैमा लागेर कुलतमा फसेका छन् त कोही मानसिक तनाव मुक्त गर्ने बहानामा लागु औषधको नसामा फस्ने गरेका छन् । कोही मस्तीको लागी नसा लिदै छन् त कोही देखासिकी र अनुभव बटुल्ने बहानामा । बहाना जे सुकै भए पनि यस्तो कुलतमा फसेकाहरु कालान्तरमा गएर, आफ्नो ब्यक्तित्व नष्ट गर्ने, मानसिक रोगी हुने र चोरी डकैती लगायतका अपराधिक कार्यमा संलग्न हुने गरेको पाइएकाले सुरुबाटै यस्तो गलत बाटोमा आफु पनि नहिड्ने र अरुलाई पनि हिड्न नदिनु नै बुद्धिमानी हुनेछ ।
भारतसंगको खुल्ला सिमान र भारतिय सिमावर्ति क्षेत्रमा खुल्लमखुला बिक्री बितरण हुने लागु औषधले घेरैको जिवन बर्वाद बनाउनमा सहयोगी भुमिका खेलेको छ । यस क्षेत्रबाट सप्लाई हुने लागु औषधले काठमाण्डौ लगायत अन्य क्षेत्रका बासिन्दा समेतलाई लागुऔषधको नसाले बिस्तारै छुन थालेको छ । कामको परिमाण बुझन नसकेका ग्रामिण भेगका महिला र वालबालिकाहरु समेत पैसाको लोभमा भरिया बन्दा कानूनको फन्दामा पर्ने गरेका छन् । स्कूल कलेजका बिद्यार्थी र होस्टेलसम्म लागु औषधका तस्करले संजाल फैलाउदा उच्च शिक्षा हासिल गर्न लाखौ खर्चेर बसेका कैयौ बिद्यार्थीहरुले जीवनलाई नै अन्धकारतिर धकेली रहेका छन् । लागु औषधले ब्यक्तिको ब्यत्तित्व मात्र नष्ट गरेको छैन यसले घर परिवार, समाज र राष्ट्रलाई नै नौक्सानी पु¥याइरहेको छ ।
कतिपय लागु औषधको मुद्दामा भरियाको रुपमा ग्रामिण क्षेत्रका अशिक्षित महिलाका साथै गरिवी र अशिक्षाको चटेटामा परेका बालबालिका र पौढसमेत प्रयोग हुने गरेको पाइएको छ । करौडौको चलखेल हुने यसको कारोवारमा पाँच दश हजारको लोभमा परेकाहरु बर्षौसम्म चिसो सिडीमा पर्ने गरेका छन् भने कारोवारीहरु बिरलै थुनिने गरेका छन् । पक्राउ परि हाले पनि तिनीहरु भरसक पैसामै मिलाउन खोज्दछन् । थुनाकेन्द्रसम्म नपुगी बाटैबाट छुट्ने गर्दछन् । भित्र भित्रै संजाल निमार्ण गरी करोडौको अवैध कारोवारमा संलग्न तस्करहरु कानूनको नजरबाट बच्न अनेक उपाय रच्ने गर्दछन् । आफ्नो परिचय नदिई बिचौलीयाहरु मार्फत भरियालाई काम लगाउछन् । पर्दा पछाडीबाट कालो धन्दा गर्नेहरु नया नया तरिका अपनाउदै प्रहरी प्रशासनलाई छक्याउने गर्दछन् ।
अन्तमा कानूनको जालोलाई चुनौती दिदै बढ्दै गइरहेको लागु औषधको जालोलाई निस्तेज पार्नका लागी अव सरोकारवालाहरु सक्रियताका साथ लाग्नु पर्ने बेला भईसकेको छ । प्रथमत यस्तो घृणित कार्य हुनै नदिन सर्वसाधारणसम्म यसबारे जनचेतना फैलाई हरदम सचेतता अपनाउन जरुरी छ भने अभिभावकहरुले पनि हरदम आफ्ना छोराछोरीकोे आनीवानीको निगरानी राखी सद्मार्गमा लाग्ने उत्प्रेरणा दिईरहनु पर्दछ । बेलैमा सचेत भईएन भने पछुताउनु बाहेक अर्को उपाय रहदैन । त्यस्तैले मलाई परेको छैन भनेर चुप लागेर बस्ने होईन कि यस्तो घटना हुनथालेको, हुदै गरेको र भैसकेको जुनसुकै अवस्थामा पनि अपराध नियन्त्रणको लागी प्र्रहरी प्रशासनलाई खवर गर्नु पर्दछ । लागु औषधको अबैध कारोवार पूर्ण रुपमा नियन्त्रणका लागी यसको मुल जरो सम्म पुग्नु पर्दछ । मुहान बन्द नगर्दासम्म फोहर बानी बगीरहने भएकाले अव लागु औषध मुक्त क्षेत्र धोषणा गरि त्यसलाई साकार पार्न सबैले लाग्नु पर्दछ । (लेखक गौतम अधिवक्ता हुन्)