नेपालगन्ज गोल्डकपले खजुरामा जन्माएको रंगशाला सपना

सतिश निरौला

भर्खरै खजुरामा तेश्रो नेपालगन्ज गोल्डकप प्रतियोगिता सम्पन्न भएको छ । बाँकेको घरेलु टिम नेपालगन्ज ११ सहितको राष्ट्रिय स्तरका ६ टिमको सहभागिता रहेको प्रतियोगिताका सम्पूर्ण खेलहरु खजुरा गाउँपालिका स्थित आदर्श आधारभुत बिधालयको खेलमैदान मा सम्पन्न भए ।

खेलकै क्रममा सेमिफाइनलको खेल हेर्न एन्फा बाँकेका अध्यक्ष मित्र भोजराज शाहीजीले निम्तो गर्नुभो, सँगै बसियो । खेल हेरियो । सोही क्रममा सन्तोष खड्का दाइ भेटिनु भयो । गफगाफ कै दौरान मैले भने, भोजराजजी वास्तवमा नेपालगन्जको रंगशालाको विकल्प आवश्यक देखियो है, नेपालगन्ज रंगशालामा खेलाउन नसकी अलमलमा परेको नेपालगन्ज गोल्डकप खजुरामा हँुदैछ अब खजुरामा नै बैकल्पिक रंगशाला को अभियान अघि बढाउँदा कसो होला ? सँगै रहेका सन्तोष खड्काले पनि थप्नु भो, सुन्दर योजना यसले खजुरामा रहेको खेलकुदको क्रेज र खेलप्रति देखिएको लगावलाई न्याय गर्छ । अनि भोजराजजीले भन्नु भो, यो कार्यको थालनी गर्नुस् म सहयोग गर्न तयार छु ।
यसरी खेल हेर्दा हेर्दै बनेको योजनाको बिषयमा पब्लिक रेस्पोन्स बुझ्न सोही दिन मैले मेरो फेसबुक वालमा खजुरामा रंगशाला बनाउने अभियान सुरु भन्ने आशयको एउटा स्टाटस पोष्ट गरे । जतिले सो वाल हेरि प्रतिक्रिया दिनु भो यो एकदम आवश्यक र महत्वपूर्ण भन्दै सम्पुर्ण रूपमा सहयोग गर्न तयार रेहेका टिप्पणी हरु आए । तर, यिनै टिप्पणीका बीचमा एकाध यस्ता टिप्पणी जस्मा सोधियो, विधि, प्रक्रिया, नेतृत्व र कस्ले पगरी गुथ्ने भन्ने सम्मका कुरा । त्यतिले मात्र रोकिएन नकारात्मक टिप्पणीका छिटाहरु आइरहे । त्यस्तो टिप्पणी गर्ने प्रमुख पात्र खेलकुद कै विकासको जिम्मेवारी प्राप्त गर्नेहरु हुनुहुन्छ ।
म त्यस पछि घोत्लिए, धेरै सोछे यो अभियानको कल्पना हाम्रो कुनै निजी मिसन नै थिएन, त्यहाँ नेतृत्व यसले गर्ने पनि भनिएको थिएन, मात्र खजुरामा रंगशाला बनाउन जुटौं भनिएको थियो । त्यसैमा ठूलो आपत्ति गर्दै फेसबुकका भित्ताहरु रंगिदा कताकता लज्जानुभूति मात्रै भएन बाहिर बाट अरुले जिस्क्याए जस्तो पनि भयो ।

 

खजुरा त्यही ठाउँ हो जहाँ चितवनबाट आएका एक सन्तले सपना देखें । खजुरामा अस्पताल बनाउने खजुराका अगुवाहरुलाई बोलाए । लक्ष्मिनारायण मन्दिरमा अनि सुनाए योजना । योजना खजुरालाई अघि बढाउने नै थियो कसैले त्यहाँ भनेन कि हामीलाई नसोधी किन बनाउनु भो यो योजना ? कुनै अवरोध र विरोध भएन पगरी भिर्ने र नेतृत्व लिने बिषयमा । न त बाँकेका कुनै डाक्टरहरुले नै विरोध गरे कि स्वास्थ क्षेत्रमा हामी लाग्ने अनि योजना चाहिँ साधुसन्तले बनाउने ? त्यसैले त बन्यो खजुरामा क्यान्सर अस्पताल जुन चाँडै सञ्चालनमा समेत आउँदैछ ।
सन्दर्भ क्यान्सर अस्पतालको किन जोडियो भन्दा यहाँ रंगशाला बनाउनुपर्छ भन्दा नै ठुलो आपत्ति आयो । योजना सुनाउनु पूर्व नै विधि नपुगेको, अनुमति नलिएको, खेलकुद नबुझेको मानिसबाट कसरी यो हुन्छ भन्ने कोणबाट । हिजो खजुरामा अस्पताल बनाउ है भन्ने साधु न त डाक्टर थिए न त स्वास्थ पेशा सँग जोडिएको ब्यक्ति हिजो यही प्रश्न गरेर भाँजो हालिदिएको भए यति सुन्दर अस्पताल आज खजुराबासिले पाउने थिएनन् ।

 

रंगशालाको सन्दर्भमा पनि अब एउटा समिति बन्ला, त्यस्ले जग्गाको लागि पहल गर्ला काम गर्न पाउने आधिकारिकताका लागि पहल पर्यत्न गर्ला अनि सिंङ्गो खजुराबासीलाई मात्रै नभएर बाँके जिल्लाबासीलाई नै यो महाअभियानमा सरिकहुन आव्हान गर्ला किनकी वैकल्पिक रंगशाला सिङ्गो बाँके जिल्लालाई नै चाहिएको छ । खेलकुदका क्षेत्रमा कार्य गर्दै आएका खेल मसिहाहरु खजुरा रंगशालाको योजना बाहिरिदा अतालिनु कतै खेलकुद भित्र को सिण्डिकेट योजना त होइन ? प्रश्न उब्जिएको छ ।
खजुरा क्षेत्रमा खेलगतिविधि कुनै २÷४ बर्ष यता मात्रै सुरु भएको होइन । खजुरा धेरै बर्ष अघिबाट नै खेलकुदका गतिविधिहरु भएका छन् । फुटबलको क्षेत्रमा सैनिक (राधापुर)का खेलाडीहरु र डि गाउँका खेलाडीहरुको राम्रो पर्फरमेन्स देखिन्थ्यो र चर्चा हुन्थ्यो । शंकर गिरि, लोक बहादुर केसी, अर्जुन थापा, कृष्ण राना, सहदेव राना लगायत सैनिक राधापुरका केही फुटबलमा राम्रो नाम कमाएका ब्यक्तित्व हुन् ।

पछिल्लो समय खजुराको बि गाउँ र डि गाउँमा फुटबलका गतिविधि नियमित रूपमा हुँदैछ भने राधापुरमा पनि फुटबल प्रतियोगिता हुने गरेको छ । यसैगरी भलिबल खेलाडी र प्रशिक्षकका रूपमा लालबहादुर मल्ल, एथलेटिक्समा केशमाया श्रीसले खजुराको नाम उचो पारेका छन् ।

 

खजुराको इ गाउँमा प्रत्येक बर्ष सहिद सेतु विक कप क्रिकेट प्रतियोगिता हुने गरेको छ भने विगत २ बर्षदेखि खजुरा क्षेत्र संस्थागत विद्यालय संगठन (इशाका)ले विद्यार्थीहरुलाई खेल गतिविधिमा सक्रिय बनाउन र खजुराको खेल विकासमा टेवा पुर्याउने गरि आकर्षक पुरस्कार सहितको रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिरहेको छ । सितापुरमा गान्धी हमालको नेतृत्वमा फुटबल टिमले राम्रो अवसरको खोजी गरेको छ । यसरी सबै क्षेत्रबाट भैरहेका खेल गतिविधिले खजुरामा खेलकुदको राम्रो वातावरण तयार हुँदै गएको छ ।

खजुरामा लगभग ३ दशक अघिबाट देखिएको खेल प्रतिको आकर्षण, सहभागिता र खेलका गतिविधिहरुले नेपालगन्ज रंगशालाको विकल्पमा खजुरामा रंगशाला बन्नु न्यायपूर्ण हुनेछ । तत्कालीन सांसद एवं पूर्व मन्त्री दल बहादुर सुनारको प्रयासमा क्षेत्र नं. ३ को क्षेत्रीय स्तरको खेल मैदानको रूपमा श्री आदर्श आधारभुत विद्यालयको खेलमैदानको स्तरोन्नतीको कामहरु भैसकेका छन् । तसर्थ खजुरामा रंगशाला निर्माणको अभियान सुरु हुँदा पहिलो प्राथमिकतामा सोही मैदान नै पर्छ ।

यो मैदानमा एन्फा बाँकेले एकसाता अघि मात्रै सुरु गरि सम्पन्न गरेको नेपालगन्ज गोल्डकप खेल हुँदा भरिएका दर्शकले पनि रंगशाला बनाउँदा राम्रो मात्रै नभै खजुराको खेल विकासमा टेवा पुग्ने संकेत गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया