गतबर्ष नेपालगन्ज गोल्डकपको दोस्रो संस्करणको विजेता उपाधी उचाल्दै ।
टीएस ठकुरी
क्रियटिभ भ्वाइस
खेलकुदमा ‘ह्याट्रिक’ शब्दको अर्थ अलिक बिशेष हुने गर्दछ । कुनै फुटबलरले तेस्रो गोल गर्दा ह्याट्रिक गरेको भनेर लेख्न रुचाउँछन् खेल पत्रकार । तीन पटक लगातार उपाधि जित्दा ‘उपाधि माथि ह्याट्रिक’ शीर्षक राख्न मन पराउँछन् खेलकुद सम्पादक । ठुला प्रतियोगिता तीन संस्करण नियमित जानु आयोजकका लागि आफैंमा बिशेष हो । यसले निरन्तरताको आधारशीला तयार गरेको सन्देश प्रवाह गर्दछ । यसअर्थमा आजदेखि खजुरामा सुरु हुन लागेको नेपालगन्ज गोल्डकप आयोजक बाँके जिल्ला फुटबल संघका लागि बिशेष नै हो ।
बाँके जिल्ला फुटबल संघले यसपटक प्रतियोगितालाई तयारीका क्रमदेखि नै बिशेष बनाउने लक्ष्य लिएको हुनुपर्छ सायद । नेपालगन्ज रंगशाला उसको खास भेन्यु हो । आठौं बृहत राष्ट्रिय खेलकुदको मुख्य भेन्यु पनि यही रंगशाला हो । यो ऐतिहासिक रंगशाला हो । जहाँ चौथो राष्ट्रिय खेलकुद संचालन भइसकेको हो २०५५ सालमा । नेपाली खेलकुद इतिहासमा सफल खेलकुद (गेम्स)का रुपमा जो दर्ज भएको छ चौथो राष्ट्रिय खेलकुद । त्यतिबेला रतन कुमार टण्डन कमान्डर थिए, यतिबेला भिम ओली कमान्डिङ गरिरहेका छन् । देश संघीय संरचनामा गइसकेपछि खेलकुदका संरचना स्पष्ट हुन नसक्दा आठौं राष्ट्रिय खेलकुद समयमै हुने सवालमा शंकाको घेरा पनि छ । परिस्थिति निकै चुनौतिपुर्ण छ, तर सुवर्ण अवसर पनि यस भेगका लागि । आठौं राष्टिय खेलकुदले प्रर्याप्त भौतिक पुर्वाधारदेखि धेरैकुछ दिंदैछ यस ठाउँलाई । त्यसैले क्षेत्रीय खेलकुद विकास समितिको प्राथमिकतामा भौतिक पुर्वाधार निर्माण रहनु स्वभाविक नै हो ।
यसबीच आठौं राष्ट्रिय खेलकुदका बहानामा नेपालगन्ज गोल्डकपका लागि रंगशाला नदिएको भन्ने गलत सन्देश बाहिर पुग्यो । एकाध सञ्चारमाध्यमले ‘नेतृत्वबीच जुँगाको लडाइ’का कारण हुन नसकेको समाचार पनि बनाए । बाँके जिल्ला फुटबल संघ यस बिषयमा आधिकारिक बोल्न चाहँदैन, उता क्षेत्रीय खेलकुद विकास समिति पुर्वनिर्धारित समयमा रंगशाला उपलब्ध गराएको दलील पेश गर्छ । तर कताकता केही केही उकुसमुकुसका बीच नेपालगन्ज गोल्डकपलाई खजुरामा लैजाने निर्णय आयोजकले गरेको हो । नेपालगन्ज गोल्डकप खजुरामा जानु पक्कै नराम्रो भने हैन । नेपालगन्जपछि जिल्लाकै परिवेशमा खजुरा खेलकुदको एउटा अर्को महत्वपुर्ण हब हो । किनकि नेपाल भलिबल संघको आधिकारिक प्रतियोगिता दोस्रो राष्ट्रिय पुरुष बीच भलिबल तथा नेपाल एथ्लेटिक्स संघको राष्ट्रिय जुनियर एथलेटिक्स च्याम्पियनसीप सफलतापुर्वक सम्पन्न भइसकेको छ विगतमा खजुराको सितापुरमा । खजुरा अझ फुटबलका लागि त झनै उर्वरभूमि हो । जहाँ उच्च खेल संस्कार छ, खेलभावना बुझेका मान्छेहरुको ठुलो जमात छ । रंगशालामा हुने हरेक कार्यक्रममा उपस्थित हुने आधा भन्दा बढी संख्याका दर्शक खजुरा क्षेत्रकै हुने स्वयं खेलअधिकारीहरु स्वीकार्छन् । त्यसमाथि राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका दर्जनौं फुटबलरहरु जन्माएको छ खजुराले । नेपालकै शीर्षमध्येको मनाङमस्र्याङ्दी क्लबबाट ए डिभिजनको फुटबल खेलिसकेका दीप महतारा त्यहींका बासिन्दा हुन् ।
नेपालगन्ज गोल्डकपको ह्याट्रिक संस्करण हुन लागेको डिगाउँस्थित मैदान त फुटबल प्रतियोगिताका निम्ति नै बनाइएको हो कि जस्तो लाग्छ । किनकि बर्षौंदेखि स्थानीय तथा स्तरीय प्रतियोगिता हुँदै आएका छन् उक्त मैदानमा । तिलकबीर सुनार, जो बाँके एन्फाका सदस्य हुन् । जिल्ला खेलकुद विकास समितिमा पनि सदस्य छन् । पछिल्लो समय राजनीतिमा उदाएका उनी खजुरा गाउँपालिका अन्तर्गत वडाध्यक्ष पनि हुन् । उनकै नेतृत्वमा सोही मैदानमा बर्षेनी गज्जबको फुटबल प्रतियोगिता पनि हुँदै आएको छ । यसले पनि बाँके एन्फाले सही ठाउँ रोजेको भन्ने लाग्दछ । फुटबल मन पराउनेहरु धेरै छन्, फुटबल बुझेकाहरु धेरै छन् त्यस ठाउँमा । त्यसैले पनि नेपालगन्ज गोल्डकप फुटबलका लागि खजुराको उक्त मैदान सही गन्तब्य हो ।
धेरैको जिज्ञासा छ, नेपालगन्ज गोल्डकप खजुरामा ? एउटा पालिकाको नामबाट गरिने इभेन्ट अर्को पालिकामा हुँदा स्थानीयवासी पनि आश्चर्यमा परेका छन् । तर, आयोजकले बुझाउन सक्नुपर्दछ । वास्तवमा ग्रीन इभेन्टोले नेपालगन्ज कप क्रिकेट कोहलपुरमा आयोजना गरेर देखायो गत महिना । यस हिसाबले नेपालगन्ज कप क्रिकेट कोहलपुरमा, नेपालगन्ज गोल्डकप फुटबल खजुरामा गर्दा यसले चौतर्फी माइलेज लिन सक्ने सम्भावना त्यत्तिकै रहन्छ । किनकि एकातर्फ नेपालगन्जको ब्रान्डिङ् गरिएको छ, अर्कोतर्फ खजुरावासीले प्रत्यक्ष लाभ उठाउने अवसर छ । दुई ठाउँको नाम सँगसँगै जाने भएकाले दुवै ठाउँका मानिसलाई अपनत्वबोध गराउँछ यस्ता प्रतियोगिताले । यसअर्थमा यो प्रतियोगिताले थप उचाइ लिंदै जानेछ भविष्यमा ।
साथै ठुला प्रतियोगिताको आयोजनाले नै भौतिक पुर्वाधार निर्माणमा सम्बन्धित निकायलाई दवाव सिर्जना गर्ने हो । प्रधानमन्त्री कप महिला भलिबल २०७० सालमा सुरु गर्दा समग्र बाँके जिल्ला नै ठुला र स्तरीय प्रतियोगिता आयोजनाका हिसाबले शुन्य अवस्थामा थियो । यसले जुन बाटो देखायो, आज सबै खेल प्रतियोगिता आयोजनाको सम्भावनालाई उजागर गरिदियो । साथै प्रधानमन्त्री कपको सफलता र भब्यताले नै खजुरामै नेपालकै पहिलो भलिबल स्टेडियम बन्ने क्रममा छ । नेपालगन्ज गोल्डकपको भब्यताले फुटबलको अत्याधुनिक स्टेडियम बनाउने सम्भावनालाई थप बल प्रदान गर्नसक्छ । त्यसका लागि समग्र खजुरावासी एकढिक्का भएर नेपालगन्ज गोल्डकप सफल पार्न जुट्नुपर्छ । खजुरा आफैंमा खेलमैत्री पालिका हो । खजुरा आफैंमा प्रतिनिधिमुलक नाम हो । नेपालगन्ज पश्चिम नेपालकै प्रतिनिधिमुलक नाम भएजस्तै खजुरा पनि आफैंमा अर्को ब्रान्ड हो । यसलाई अझ थप उचाइमा लैजान नेपालगन्ज गोल्डकप ठुलो अवसर हो । यसलाई के कसरी सदुपयोग गर्ने भन्नेमा पक्कै खजुराका युवा, विद्यार्थी, शिक्षक, खेलप्रेमी किसान, राजनीतिज्ञ, उद्योगी व्यवसायी सबैले हातेमालो गर्न जरुरी छ । उक्त प्रतियोगिताको सफलताले नै न्युडाँफे कप लगायत ठुला प्रतियोगिता परिस्कृत गर्दै अझ थप उचाइमा लैजान सिकाइ हुनेछ । समग्र खजुराका निम्ति अवसरको ढोका खोल्ने निश्चित छ ।
आयोजक बाँके एन्फा पनि केही कुरामा स्पष्ट हुन जरुरी छ । नेपालमा फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघको नेतृत्व विवादको घेराभित्र रुमल्लिंदा फुटबल प्रतियोगिताको लहर नै आयो गोल्डकपका नाममा । फिफाबाट एन्फा अध्यक्ष गणेश थापा निलम्बनमा पर्नासाथ फुटबल काठमाडौंदेखि बाहिर निस्कियो । दशरथ रंगशालादेखि निस्किएको फुटबल इलामदेखि धनगढीसम्म पुगिसकेको छ । उता एन्फाको लिग रोकिएको रोकियै छ, एन्फाका आधिकारिक तथा स्तरीय कार्यक्रमले निरन्तरता पाइरहेका छैनन् । यसैक्रममा जन्मिएको हो नेपालगन्ज गोल्डकप पनि २०७३ सालको सुरुवातीमा । एकैबर्ष दुई संस्करण गरेर आयोजकले निरन्तरतामा शंका नगर्न सुविधा दिएकै हो । हप्तैपिच्छे हुने ठुला फुटबल प्रतियोगिताका कारण तालिका पाउन नसकेर दुवै संस्करण नेपालगन्जको सुहाउँदो मौसममा आयोजना गर्न आयोजक चुक्दै आएको छ । यसपटक पनि आयोजक त्यस बिषयमा चुकेको देखिन्छ । टिम र खेलाडीको स्तर हेर्न बाँकी नै छ । अब एन्फा निर्वाचित भइ लामो समयदेखि आन्दोलनमा रहका कर्माछिरिङ शेर्पा नेतृत्वमा आएका छन्, गणेश थापाले फुटबल बिगारेको भन्नेहरु जति करिब सबै अहिले फुटबलको नेतृत्वमा छन् । हप्तै पिच्छे हुने ए डिभिजन फुटबलका बारेमा पक्कै एन्फा नेतृत्वले समिक्षा गरेकै होला, यसले पार्ने दीर्घकालिन प्रभावका बारेमा एन्फा नेतृत्व अनभिज्ञ पक्कै छैन ।
यसहिसाबले प्रदेश नम्बर ५ को नेपालगन्जमा हुने नेपालगन्ज गोल्डकपको समयतालिका यहाँको मौसम सुहाउँदो हुनुपर्छ, त्यसतर्फ बाँके एन्फा बढी सजग हुनेछ भन्ने लाग्छ । अब एन्फाले छरपस्ट प्रतियोगिताहरु सञ्चालन गर्न दिने छैन । किनकि स्तरमापन बिनाका प्रतियोगिताले फुटबलको विकास हैन, दीर्घकालीन रुपमा विनाशतर्फ धकेलिरहेकोमा एन्फा नेतृत्व राम्रोसँग जानकार छ । अब यी गोल्डकपहरुलाई व्यवस्थित नगरी सुखै छैन एन्फा नेतृत्वलाई । तसर्थ व्यवस्थित गर्नक्रममा नेपालगन्ज गोल्डकपलाई उच्च कोटीमा राख्नका लागि लबिङ गर्न बाँकेले कुनै कसर बाँकी राख्नेछैन भन्ने आशा गर्न सकिन्छ । त्यसका लागि पनि आपसी विवाद हैन, सिंगो जिल्ला एकढिक्का छ भन्ने सन्देश प्रवाह गर्नसक्नुपर्दछ ।
अन्यथा, ए डिभिजन क्लबहरुबाट नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुको खेलकौशल हेर्ने बाँकेवासीको रहर केवल सपनामै सिमित रहनेछ । (आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर ठकुरी खजुरा गौघाटका स्थायी वासिन्दा हुन् । खेलपत्रकारितामा कलम चलाउन रुचाउने उनले आजैबाट दैनिक नेपालगन्जका लागि क्रियटिभ भ्वाइस स्तम्भ सुरु गरेका छन् । )