शिक्षा र महिला सशक्तिकरण

शबनम परवीन

मुस्लिम समुदायका छोरीहरु पढाइमा महारत हासिल गर्न, एक अर्का भन्दा बढी शिक्षा प्राप्त गर्न थोरै मात्रामा भएपनि कलेज पुगिरहेको अवस्था छ । तैपनि उनीहरु आफ्नो समाजमा देखाउनलाई मात्रै शिक्षा हासिल गरेको पाइन्छ । शिक्षा हासिल गरेर पनि कसैको काम आउन नसक्नु कस्तो विडम्बना हो । एक जना यूवा मुस्लिम मेडिकल डाक्टरलाई उच्च शिक्षा पढेको स्वास्नी चाहिन्छ तर उसलाई घरको काममा मात्र सीमित राख्ने भनि प्रस्ताव पठाउँछन् । यस्तै एक जना महिला सबिना खातुन (नाम परिवर्तन)ले एम.बी.ए पढेर घरको काममा मात्र सीमित भई घर परिवार र घरमा आएको पाहुनाहरुको स्वागत सत्कार गर्न दिनहुँ यहि काम मात्र गर्नका लागि उच्च शिक्षा हासिल गरेको देख्न सकिन्छ ।

 

यस्तै अर्काे मुस्लिम किशोरी बि.बि.एस पास गरि एम.बी.एस शिक्षा हासिल गर्न लागेको भए पनि घरवालाले जागिर खान नदिएको भनि गुनासो पोख्छिन् । यस्तै अर्काे एक जना किशोरी महिला एम.ए.पास गरेर अन्तरराष्ट्रिय गैर सरकारी संस्थामा जागिर खाएको देखेर धेरैले उसको कुरा काटछन् । यस्तै उदाहरणहरु थुप्रै छन् । महिलाले पढे लेखेर घर बाहिरको केहि काम गर्न चाहन्छन् भने समाजले उसमाथि हेर्ने नजरिया फरक हुन्छ । उसलाई घर बाहिरको काम गर्न मात्रै आउँछ घरको चुलो चौको गर्न सक्दैनिन् भन्ने सोच समाजमा विधमान छ । जबकी कुनै श्रीमानलाई आफ्नो स्वास्नी चेकअप गराउन महिला डाक्टर नै चाहिन्छ ।

 

 

उहिलेको जमानामा शिक्षा नभएर मानिसहरु घरमा छोरी जन्मिने बित्तिकै उसलाई ज्यूदै जमिन मुनि गाडिन्थ्यो । शिक्षा मात्र समस्याको समाधान हो भन्ने सोच १४०० वर्ष अगाडि नै आइ सकेको थियो । इस्लाम धर्मका सन्देश वाहक मोहम्मद (सं.) ले प्रत्येक मुस्लिम महिला र पुरुषका लागि शिक्षा आर्जन गर्न (अनिवार्य) गरि दिनु भएको छ । शिक्षा हासिल गर्न चीन सम्म जान परे पनि जान पर्छ । जति खेर सवारी गर्न कुनै साधनको व्यवस्था थिएन । चाणक्य भनाई छोरा छोरीलाई उत्तम शिक्षा नदिने बाबु आमा तिनका महान शत्रु हुन ।

 

 

एउटा चिनियाँ उखान पनि छ, एउटा व्यक्ति योग्य छ भने उसका पछाडी अनेक व्यक्ति योग्य हुन्छन् । एजुकेशन एक्टिभिस्ट मलाला भनाई छ, ‘संसार भरिका यूवतीहरुसंग मेरो अपिल, आउ किताब र कलम उठाऔ । यो हाम्रो शक्तिशाली हतियार हो ।’ एक बच्चा, एक शिक्षक, एक किताब र एउटा कलमले नै संसार बदल्न सक्छ । समस्यालाई निर्मूल गर्नका लागि शिक्षा मात्रै एउटा हल हो । यस्ता थुप्रै भनाइहरु शिक्षाको महत्वलाई दर्शाउँछ । आजको युगमा शिक्षा नभई नहुने कुरा हो । प्रतिस्पर्धात्मक विश्वमा गुणस्तरिय शिक्षा हासिल गर्न मानिसहरु आफ्ना छोरा छोरीहरुलाई विदेश पठाउँछन् । आज विश्व समुदायमा राम्रो शिक्षा प्राप्त गरेर मानिसहरु उच्च ओहदाहरुमा आफ्नो पहिचान बनाइसकेका छन् ।

 

 

शिक्षा हासिल गरेर नै आज अमेरिका जस्ता ठूलो देशको महिला हिलारी क्लिनटन राष्ट्रपति भइसकेकी छिन् । पाकिस्तानको बेनजिर भुटटो प्रधानमन्त्री, त्यस्तै भारतको इन्दिरा गांधी प्रधानमन्त्रि र बंगलादेशको खालदा जिया प्रधानमन्त्रि भई देश विकासमा टेवा पुर्याएका हुन । के यि महिलाहरु बिना शिक्षा केहि गर्न सक्थे र ?
यस्ता महिलाहरु आफ्नै देश नेपालमा पनि जन्मिएका छन् र उच्च शिक्षा हासिल गरी इतिहासमा आफ्ना नाम दर्ज गराएका छन । ति महिलाहरुको नाम सार्वजनिक गर्न चाहन्छु, सर्वप्रथम नेपालमा मुस्लिम डाक्टर रोसन आरा खाँ, सर्वप्रथम सम्पादिका महिला साहना प्रधान र कुमारी कामाक्षी, सर्वप्रथम प्रिन्सिपल अंगुर बाबा जोशी, सर्वप्रथम पत्रकारितामा पी.एच.डि. गर्ने गीता मैया श्रेष्ठ, सर्वप्रथम महिला न्यायधिश शारदा श्रेष्ठ, सर्वप्रथम मनोविज्ञानमा पी.एच डि गर्ने डा.आरजु राणा देउवा,यस्तै सर्व प्रथम इन्स्पेक्टर महिला निलम देवि थिइन् । अरु थुप्रै नेपाली महिलाहरुले देश हाँक्न देशको विकास गर्न लागि परेका छन् । त्यस्को लागि महिलाहरुले गरेको कामको मूल्याँकन गरि उहाँहरुको कामको पनि His story भन्दा Her story हरुको संकलन गरि महिलाहरुले गरेको सान्दर्भिक कार्यलाई अझै प्रष्ट रुपमा इतिहासमा ल्याउनु पर्ने देखिन्छ ।

 

यस्ता सकारात्मक सोच लिएर नेपालका पनि केहि मुस्लिम महिलाहरुको नेतृत्वमा सामाजिक, आर्थिक, पारिवारिक, राजनैतिक तथा शैक्षिक क्षेत्रहरुमा मुस्लिम साथै अन्य पछाडी पारिएका महिलाहरुको पहुँच बढाउन समाज सेवी मोहम्मदी सिद्दीकी र अन्य मुस्लिम महिलाहरुको नेतृत्वमा महिला अधिकार बारे समाजका लागि कार्य गर्न नेपालकै पहिलो मुस्लिम महिलाहरुको लागि प्लेटफार्म बनाउने उद्देश्य लिएर सामाजिक संस्था स्थापना गरिएको थियो । संस्था दर्ता भए पश्चात केहि नकारात्मक विचारका मुस्लिम पुरुषहरुले एक आपसका सौहार्द बिगार्नका निम्ति यस्ता संस्थालाई बहिष्कार गर्नु पर्छ भनि पर्चा पम्पलेटहरु छपाई समुदायलाई बहकाउने काम गरेका थिए । तर ति साहसी र शिक्षित महिलाहरु हामीले गरेको काम सहि हो भन्ने विश्वास लिई त्यो समयको सामना गर्न पछि परेनन् ।

 

४/५ पटकको वार्तालाप पश्चात ति नकारात्मक व्यक्तित्वहरु स्थानीय पत्रिका मार्फत आफ्नो गल्ति स्विकार गरेका थिए । र आज त्यहि समुदायका व्यक्तिहरु तपाईहरुले गरि रहनु भएको काम हामीले गर्नु पर्ने भन्ने विचार व्यक्त गरेको पाइन्छ । त्यस्तै मुस्लिम महिला वकिल मोहना अन्सारी शिक्षा हासिल गर्न पछि पर्नु भएन र आज उहाँ मानव अधिकार एक्टीभिस्टको रुपमा संसार भर आफ्नो परिचय बनाई राष्ट्रिय मानव अधिकार आयोगको प्रवक्तामा पुग्न सफल भएकी छिन् । महिला र पुरुष दुवैलाई अगाडि बढ्न एक अर्काको साथ र सहयोगको आवश्यकता पर्दछ ।

 

 

शिक्षा, न्याय, कर्तव्य, अधिकार र दायित्वका लागि महिला सशक्तिकरण गर्नु जनचेतना फैलाउनु गलत कार्य कदमकदापी हुन सक्दैन । ति ग्रामीण स्तरका महिलाहरु खुला मैदानमा गएर दिशा गर्न हुन्न भनि चेतना दिनु, घरको झै झगडामा मेलमिलाप गराउनु, उच्च शिक्षाको लागि अन्य निकायमा सिफारिस गर्नु, न्याय लिन सहि बाटो देखाउनु, मानव अधिकारको लागि काम गर्नु,महिलाहरुको सिप विकास गर्नु, स्वास्थ्य र सरसफाई बारे जनचेतना फैलाउनु, आफ्नो देशको कानून बारे थाहा पाउनु महिला सशक्तिकरण होइन र ? किन महिला सशक्तिकरणले महिलालाई बिगार्छ भन्ने सोच समुदायमा पलाएको छ ? के अफिसमा गएर काम गर्ने सबै महिला नराम्रा हुन्छन् ? सामाजिक न्यायका लागि मानव हितको लागि कार्य गर्न कहाँ मनाही गरिएको छ । इस्लामले दिएको महिला अधिकार बारे जनचेतना दिनु के गलत कार्य हो ।

 

 

इस्लाम त शान्तिको धर्म हो जसले मानव जीवनको समस्त जीवन शैली बारे ज्ञान प्रदान गर्छ । तर अफसोस धर्मगुरुहरुले धर्मको सहि ज्ञान बारे चेतना नदिएर आज मुस्लिम समुदायहरु प्रत्येक क्षेत्रमा पछाडि रहेकाछन । इस्लामिक शिक्षा लिनु प्रत्येक मुस्लिमलाई अनिवार्य त गरिएको छ तर त्यस बारे ज्ञान हासिल गर्न बिना अर्थ बुझाइ पढन सिकाउने परिपाटी चल्दै आइरहेको छ । जबकी मुस्लिमले मान्ने धार्मिक पुस्तक कुरानले सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक र शैक्षिक सम्पूर्ण क्षेत्रमा अधिकार प्रदान गरेको छ साथै मानव जीवनको सन्तुलन मिलाउन महिला र पुरुषको अधिकार र कर्तव्यको दायरा छुट्टयाएको छ । धर्मको सामाजिक ज्ञान बारे शिक्षा हासिल गर्नु सशक्तिकरणको एउटा पाटो हो । त्यसैले शिक्षा र सशक्तिकरण एक अर्काका पूरक हुन् । यदि शिक्षा हासिल गरि महिलाले समाज र परिवारमा केहि योग्दान पुर्याउन चाहन्छ भने त्यो नराम्रो कसरी ? एक महिला शिक्षित भयो भने पूरै समाज परिवार शिक्षित हुन्छन् ।

 

 

शिक्षाले अँध्यारोबाट उज्यालो तिर लैजान्छ । शिक्षा हासिल गरेर नै आज गरिब का छोरा छोरीहरु जागिर पाएर आफ्ना परिवारका लागि आम्दानीका स्रोत बनेका छन् । आज शिक्षामा मुस्लिम महिलाको अवस्था दलित भन्दा पनि पछाडी रहेको छ । जबकी मुस्लिमहरुलाई अल्लाहको पहिलो आदेश नै ‘पढनु’ थियो । र मुहम्मद (सं.)ले भन्नुभयो, ‘जस्ले आफ्ना छोरा छोरीलाई राम्रो शिक्षा र राम्रो व्यवहार सिखायो त्यसले आफ्नो सन्तानलाई त्यो भन्दा ठूलो पुरस्कार केहि दिएन । र, अहिलेको युगमा शिक्षा सबै भन्दा ठूलो हतियार पनि हो । र त्यो नै मुस्लिम समुदायमा कम छ र जस्मा छ पनि त्यो आफूसंगै लुकाएर घरैमा राख्छन् । ज्ञान बाड्न पर्छ, पुन्य कमाइन्छ भन्ने कुरामा पनि जागृत हुन पर्छ ।’ मुहम्मद साहबले भन्नु भयो, ‘जुन व्यक्तिका ३ वटा दिदीबहिनीहरु छन् वा ३ वटा छोरीहरु छन् वा २ वटा दिदी बहिनीहरु वा २ वटा छोरीहरु छन् भने तिनका निम्ति उनीहरुको साथमा राम्रो व्यवहार र उनीहरुको हक अधिकार बारे अल्लाह संग डराउछ भने उसको लागि जन्नत (स्वर्ग) हो ।’

 

 

अन्य समुदायकाले भन्ने गर्छन् कि मुस्लिम समुदाय जति धर्ममा प्रतिबद्ध अरु कुनै समुदाय छैन, खै त शिक्षामा प्रतिबद्ध भएको, खै त महिलाहरुलाई सम्मान दिएको ? छोरीलाई सरकारी छोरालाई बोर्डिंङ्ग पढाउने परम्परा अझै पनि गइसकेको छैन । छोरीले उच्च शिक्षा हासिल गरेर के गर्नु छ र भन्ने सोच विद्यमान रहेको छ । आफ्नो हक अधिकार बारे प्रक्रियाबद्ध तरिकाले जान सकेका छैनन् । शिक्षाले जीवनको लागि चाहिने विचारमा सहयोग पुर्याउछ भन्ने सोचको विकास भइसकेको छैन । आफ्नो अधिकारको लागि बहस गर्न शिक्षा मात्रै एउटा साधन हो जस्ले ज्ञान दिन्छ । शिक्षा मात्रै एउटा साधन हो जस्ले सम्पूर्ण विश्वको बारेमा जानकारी लिन सकिन्छ । विश्वमा भएका निती नियम, सिद्धान्त बारे ज्ञान लिन पनि शिक्षाबाट मात्रै सम्भव छ । मुस्लिममा जनचेतना, शिक्षा र एकता नभएको कारणले आफ्नो अधिकार बारे बोल्न सक्नेलाई पाखा लगाइएको छ ।

 

 

यी समुदायलाई शिक्षामा सशक्त बनाउन सरकारले पनि वातावरण बनाइ दिन पर्छ । मुस्लिम समुदायका कति बालबालिका कुन तहमा कति छन् भन्ने डाटा अहिले निकालिएको छैन । आउने दिनहरुमा नेपालगन्ज उपमहानगरपालिकाले अब यस्तो डाटा छुट्याउने कार्य गर्नेछ भन्ने विश्वास छ । एक पटक सरकारले स्वास्थ्य क्षेत्रमा पहुँच बढाउन मधेशी, पिछडिएको र दलित महिलाहरुको लागि छुटटै प्याकेजको योजना सराहनीय थियो । जसमा बाँके जिल्लाबाट थुप्रै मुस्लिम किशोरीहरु मधेशी कोटाबाट स्टाफ नर्सको तालिम प्राप्त गरि स्वास्थ्य क्षेत्रमा प्रगति गरेका थिए । सरकारले शिक्षाका निम्ति धेरै राम्रा राम्रा योजनाहरु बनाएको छ र शिक्षाका विविध निकायहरु पनि छ त्यसका लागि मुस्लिम समुदायको पहुँचको हिसाबले वहाहरुको लागि अझ छुट्टै प्याकेज कार्यक्रमहरुको निर्धारण गर्नु पर्छ । वहाहरुको लागि स्कालरसिपको व्यवस्था मिलाई आरक्षण दिनुपर्छ । धार्मिक अगुवाहरुलाई पनि सरकारको विविध कार्यक्रमहरुमा बोलाइ सहभागिता गराउनु पर्दछ । किनकि दिन र दुनिया बारे शिक्षित हुन्, समाजमा घटि रहेका घटना बारे जागरुकता ल्याउनु पर्छ । नागरिक समाजले पनि जुन पढाइ छोडेर ड्राप आउट केटा केटीहरु छन् उनीहरुको अभिभावकलाई गएर कन्भिन्स गर्न पर्छ ।

 

शिक्षाको महत्व बारे भन्न हामी सबैले आफ्नो कर्तव्य बुझ्नु पर्छ । त्यसैले भनिन्छ पुरानो कोट लगाउ, नयाँ पुस्तक किन । शिक्षा गरिबको सम्पत्ति हो । कुनै पनि राष्ट्रको महत्वपूर्ण काम हो शिक्षा । शिक्षाको एउटै लक्ष्य छ त्यो हो मानिसलाई साहसी बनाउनु । अहिलेको युगमा पनि ५७ मिलीयन बालबालिकाहरु स्कूल बाहिर छन्, पढन पाएका छैनन् । स्कूल जान पाएका छैनन्, गुणस्तरिय शिक्षाको कमि छ । उनीहरुले शिक्षा पाउनु उसको मौलिक अधिकार हो ।

 

 

शिक्षकलाई अनुरोध : नेपाल एउटा बहु जातिय, बहु भाषिक, बहु धर्म, बहु संस्कृति युक्त देश हो । तर हामी नेपालीमा अनेकतामा एकता हुन जरुरी छ । स–साना बाल बालिकाहरु स्कूल शिक्षा हासिल गर्ने सोच लिएर स्कूल गएका हुन्छन् नकी शिक्षकहरुको भेदभावयुक्त नजरियाको सामना गर्न । कोहि गरिब, कोही धनी सबै किसिमका बालबालिकाहरु स्कूल पढन आउँछन् । शिक्षकले भनेको कुरा जिन्दगी भर याद राख्छन् कहिले बिर्सिदैनन् । बालबालिका एउटा काँचो माटो सरह हो । उसलाई सानै देखि जे सिखायो जे गर्र्याे त्यहि कुरा सिक्छ । सबैको घरको आ आफ्नै रहन सहन र तौर तरिकाहरु हुन्छन् । तसर्थ गरिब बच्चाको मनोबल घटाउन, उसलाई हेला गर्ने, उ प्रति घृणा गर्ने काम कहिले पनि गुरु जस्तो पेशामा रहेका शिक्षकलाई म अनुरोध गर्न चाहन्छु । कहिले पनि ति कलिला मनोबलका बालबालिकाहरुलाई अपहेलना गर्ने कुरा नभन्नुस् जुन उसको मन मस्तिष्कमा नकारात्मक कुराको जन्म लिओस । र, जिन्दगी भर त्यो कुरा सम्झिरहोस । र, उ शिक्षक प्रति घृणा गरोस् ।

प्रतिक्रिया

प्रतिक्रिया