औपचारिकताका सिमित बनेको सहिद दिवस

बसन्त गौतम

आऔं झुकेर सलाम गरौं उनलाई,
जसको भागमा यो देश आउँछ।
अत्यन्त भाग्यमानी हो त्यो रगत,
जुन देशको निम्ति काम आउँछ।

माघ १६ अर्थात सहिद दिवस । बिभिन्न कार्यक्रमको आयोजना गरेर यो सहिद दिवस मनाउने गरिन्छ । सहिद दिवसका अवसरमा देश र जनताको लागी जिवनकै आहुती दिने ति महान सहिदहरुलाई सम्झिने र उनीहरुले देखाएको सद्मार्गको अनुशरण गर्ने प्रतिवद्धता जनाइन्छ । तर ब्यवहारमा सहिदले देखाएको मार्ग अनुशरण नगर्ने तर देखाउनैका लागी बर्षमा एक पटक सम्झे जस्तो गर्ने प्रबृतीले सहिद दिवस औपचारिकताका सिमित बन्न पुगेको छ ।

 

सहिदका सपना पुरा नभएसम्म सहिद भनी नाम उच्चारण गर्दैमा सहि अर्थमा उनीहरु प्रति श्रद्धान्जली गरेको ठहर्दैन । भन्ने बेला सहिदहरुको योगदान कारण देशमा निरकुंशताको अन्त्य भएको र देशमा लोकतन्त्रको पुनस्थापना भएको भनिएता पनि वास्तबिक रुपमा सहिदहरुको सम्मान हुन सकेको छैन । लोकाचारलाई देखाउनका लागी शालिकमा माल्यापण गर्दैमा वा एक दिन सार्वजनिक बिदा दिएर सहिद दिवस भन्दैमा सहिदहरु प्रति सच्चा सम्मान गरेको ठहदैन । वास्तवमा भन्ने हो हाम्रा सहिदहरुले देखाएको आदर्श मार्ग, मेलमिलाप, त्याग संघर्ष र बलिदानीको कदर गर्ने तर्फ कसैको ध्यान पुगेको देखिदैन ।

 

देश र जनताका हितका खातिर जिवनको आहुती दिएका सहिदहरु जो यथास्थितिवादी र निरकुशतावादीको जालझेल र षडयन्त्रको शिकार भएर मारिएका ब्यक्ति जो सहिद हुन पुगे उनीहरुको उचित सम्मान हुन सकेको छैन । राज्यको तर्फबाट सहिद दिवसमा मात्र शालिकमा फुलमाला पैराएर औपचारिक कार्यक्रम गर्ने बाहेक अरु केही गरेको देखिदैन । सहिद परिवार र बाँचेर पनि मरे तुल्य बनाईएका जिउदा सहिदको अवस्था के छ ? उनीहरुले कस्तो जिवन ब्यतित गरि रहनु परेको छ ? भन्ने बारेमा सरकार र प्रमुख राजनैतिक दलहरुले त्यति चासो राखेको देखिदैन । सरकार र प्रमुख राजनैतिक दलहरुले सहिदले देखाएको बाटोमा हिड्ने, लोकतान्त्रिक पद्धतीलाई मजबुत बनाउने र देश र जनतालाई केन्द्र बिन्दुमा राखेर अझै धेरै काम गर्न बाँकी रहेको छ ।

 

देश र जनताका लागी आफ्नो ज्यानको कुनै पर्वाह नगरि बलिदानी दिने बिर सहिदहरुको सम्झनामा सरकारले सार्वजनिक बिदा दिने गरेको छ । सरकारले बर्षेनी माघ १६ गतेलाई सहिद दिवस मनाउने भनेता पनि बर्ष भरिमा सहिदहरुले देखाएको मार्ग नपहिल्याउने, उनीहरुको योगदानलाई बिर्सने तर सहिद दिवसमा सहिदहरुको सम्मान गरे जस्तो गर्नुको कुनै अर्थ छैन । आफ्नो ब्यक्तिगत स्वार्थलाई छाडेर देश र जनताका लागी ज्यानको आहुती दिएका सहिदका सपनाहरु तवमात्र पुरा हुने छन् जव आम नेपालीले वास्तविक रुपमै लोकतन्त्रको अनुभुति गर्न पाउनेछन्, वास्तविक रुपमै कानूनी शासनको अनुभुति गर्न पाउनेछन् अनि वास्तविक रुपमै आत्मसम्मान र स्वाभिमानका साथ जिउने वातावरणको सृजना हुन सक्नेछ ।

 
नेपाली शब्द सागरले ‘कुनै पनि शुभ परिणामका निम्ति लाग्दा लाग्दै प्राण गुमाउने तथा देश जाती र जनताको सुखको निम्ति सघर्ष गर्दा मरेको ब्यक्तिलाई सहिद’ मानेको छ । फरक बिचार राखेर आन्दोलनमा उत्रेका ब्यक्तिलाई आन्दोलन दवाउने नाममा सत्तापक्षले हत्या गरेको अवस्थामा त्यस्ता ब्यक्तिलाई सहिदको घोषणा गरिनुलाई अन्यथा भन्न सकिदैन तर नेपालमा निश्चित मापदण्ड अपनाई सहिदको घोषणा गर्ने परिपाटी बसाउन सकेको भने देखिदैन । २०६२÷२०६३ सालको जनआन्दोलन पछि दलको सिफारिसका आधारमा धेरै ब्यक्तिलाई सहिदको बनाउन थालिए पछि तिन बर्ष अघि सहिद परिवारका १२ जना सदस्यले सहिदको अपमान गरेको भन्दै सरकार समक्ष सामुहिक आत्मदाहको चेतावनी दिएका थिए । दशक लामो माओवादी सशस्त्र द्धन्द्धका क्रममा तत्कालिन राज्य र बिद्रोही माओवादी पक्षबाट मारिएका सबैलाई सहिद बनाउने घोषणा पछि यस्तो सहिद परिवारले यस्तो आक्रोस पोखेका थिए ।

 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले झण्डै आठ हजार पाँच सय जनालाई सहिद घोषणा गरेको थियो । त्यसमा अचम्मको कुरा त के थियो भने उक्त संख्यामा करिव दुई हजारको नाम थर स्पष्ट थियो । त्यस बेला बिशेष गरि नेपाली कांग्रेसले चर्को बिरोध गरेको थियो । तर त्यो बिरोध धैरै समयसम्म टिक्न सकेन । उक्त सहिद घोषणाको केही समय बित्न नपाउदै काग्रेस समेतको समर्थनमा बनेको माधब कुमार नेपालको सरकारले सत्ता साझेदार २२ दलको समर्थनमा युद्धमा र अन्य बेला मारिएका सुरक्षाकर्मी राजनैतिक कार्यकर्ता, र अन्य गरि झण्डै चार हजार ब्यक्तिलाई सहिद घोषणा गरेको थियो । केहि गत हप्ता सेर बहादुर देउवा सरकारले चितवनको बाढरमुडे घटनामा मारिएका ब्यक्तिलाई पनि सहिद घोषणा गरेको छ ।

 

बिगतमा सरकार बसेका राजनैतिक दलहरुले मापदण्डका आधारमा सहिदको घोषणा गर्ने भन्दा पनि आफ्ना दलका कार्यकर्ता, समर्थक मारिएको अवस्थामा सहिद घोषणा गर्ने होडबाजी नै चलाएको देखिन्छ । संबिधान सभाको निर्वाचन अघि भएको मधेस आन्दोलनका क्रममा मारिएका ५३ जनालाई मधेसवादी दलहरुले सहिद माने । ति मध्ये केहीलाई सरकारले मधेसी सहिदको घोषणा गरिसकेको छ । कार्य क्षेत्रमा खटिएर मारिएका निजामति कर्मचारिलाई निजामति सहिद मानीयो भने सेना र प्रहरीको कार्यक्षेत्रमा मृत्यु हुनेलाई पनि सहिद मानेको देखियो । दलहरुसंग राजनैतिक संस्कार खस्कदै गएको र निश्चित मापदण्ड बिपरित जथाभावी सहिद घोषणा गर्ने प्रबृतीले सहिदको परिभाषा सस्तो बनाउदै लगियो । फौजदारी अभियोग लागेका, अदालतको फैसला अनुसार सजाय भोगेका ब्यक्तिहरु तोडफोड र हिंसात्मक गतिबिधिमा उत्रदै कुनै अमुक राजनैतिक दलको आन्दोलनमा संलग्न भएकै आधारमा पनि कतिपय ब्यक्तिहरु सहिद घोषणा गराईएका छन् भने कतिको हकमा सहिद बनाईनु पर्दछ भन्ने माग पनि उठ्ने गरेको पाईन्छ ।

 

बिसं १९९७ सालमा तत्कालिन राणाशासनको बिरोधमा उत्रने क्रममा ज्यानको आहुती दिन तयार भएका शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल सहिद हुन । निर्दलिय पञ्चायति ब्यवस्थाको बिरोधका क्रममा सहिद भएका दुर्गादत्त झा, रामनाथ दाहाल,बिरेन्द्र राजवंशी, नेत्र घिमिरे, नारायण श्रेष्ठ, कुष्ण कुईकेल, सरोज कोइराला, राम प्रसाद उपाध्याय, लक्ष्मण प्रसाद उपाध्यय, भिम नारायण श्रेष्ठ, यज्ञ बहादुर थापा, रत्न कुमार वान्तवा, ऋषि देवकोटाका साथै दश बर्षे सशस्त्र द्धन्द्धका क्रममा सहादत प्राप्त गरेका र २०६२÷६३ को जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका दाङ्गका उमेश चन्द्र थापा देखि बाँकेकी सेतु बिक लगायत देश र जनताका लागी ज्यानका आहुती दिने तमाम सहिदहरुलाई यथोचित सम्मान दिनु पर्ने, देशलाई सुशासन युक्त लोकतांन्त्रिक पद्धती हिडाउनु पर्ने र पीडामा जिवन जिउन बाध्य भएका सहिद परिवारको उचित ब्यवस्थापन गर्नु पर्दछ ।

 

अन्तमा औपचारिकताका लागी मात्र शहिद दिवस मनाउनु भन्दा उनीहरुले देखाएको सद्मार्ग हिड्नु र उनीहरुको योगदानको उचित कदर गर्नु नै शहिद प्रतिको सच्चा श्रद्धान्जली हो । जुन उदेश्य र लक्ष्यका साथ सहिदहरुले सहादत प्राप्त गरेका थिए त्यहि उदेश्य र लक्ष्य हासिल गर्न प्रतिबद्ध भै लागेमा नै सहिद प्रतिको सच्चा सम्मान गरेको ठहर्नेछ । सहिदले देखाएको बाटो अनि दलिय स्वार्थ भन्दा माथी उठेर देश र जनताको हितमा काम गर्न सकिएमा नै सहिद प्रति सच्चा सम्मान गरेको ठहर्ने छ । -लेखक गौतम अधिवक्ता हुन ।

प्रतिक्रिया

प्रतिक्रिया