नेपाल र भारतको वीचमा रोटी–वेटीको प्रगाढ र प्राचीन सम्वन्ध रहेको छ । मधेशी समूदायमा विहावारीको सम्वन्ध मात्रात्मक रुपमा बढीे देखिन्छ । यसै क्रममा नेपाली पुरुष राम (परिवर्तित नाम) संग भारत निवासी सिता (परिवर्तित नाम) को सन् २००९ मा परम्परागत विवाह भयो । सात जन्म सम्म संगै बाँच्ने संगै मर्ने वाचा सहित सुमधुर सम्वन्ध कायम भयो । दुवै तर्फका परिवार, आफन्त र अभिभावकले सदा सुखी र खुशी रहनु भन्ने आशिष दिए । विवाहित दुवै परिवारमा खुशी छायो ।
विवाह भएको लगभग ६ महिना पछि माईतिमा आफन्तको विवाह भएकोले सिताले माईतिमा जान्छु भनी प्रस्ताव राखिन । आफ्नै श्रीमतिले माईतिमा विवाहमा सहभागी हुन जान्छु भनेपछि श्रीमान र परिवारले स्वभाविक रुपमा स्वीकार गर्दै श्रीमानले स–सम्मान माईतिमा नै पुर्याई दिए । केही दिन माईतीमा वसेर छिटो घरमा आउनु भन्दै श्रीमान हासीखुशी आफ्नो घर फर्किए । माईतिमा विवाह कार्यक्रम सम्पन्न भएको दिन, हप्ता र महिना वितिसक्दा समेत श्रीमति फर्केर नआएपछि श्रीमानले पटक–पटक घरमा फर्केर आउन अनुनय विनय गरे । घरको कामकाज छोडेर श्रीमतिको माईतीमै पुगे । आजभोली भन्दै आलटाल गर्ने काम भयो । श्रीमानले हरसम्भव प्रयास गरेपनि न श्रीमति साथमा आइन न त नआउनुको मनासिव जानकारी दिइन् ।
श्रीमतिलाई मेरो घरमा पठाई संगै बस्न पाउने गरी न्याय दिलाई पाउँ भनी सन् २०१० भारतीय हिन्दु विवाह अधिनियमको धारा ९ बमोजिम भारत उत्तर प्रदेश गोण्डा न्यायालयमा श्रीमानले निवेदन पेश गरे । श्रीमतिलाई न्यायालयले साथमा पठाईदेला भन्ने आशै आशमा लगभग ५ वर्ष सम्म लोग्नेले भारतीय न्यायालयमा लगातार तारेख लिए । श्रीमति अदालतमा हाजिर नभएपछि अदालतले लोग्नेको साथमा पठाउन नमिल्ने कानूनी व्यवस्थाका कारण लोग्नेको निवेदन खारेज गर्ने निर्णय भयो । लोग्नेले न्याय पाउन सकेनन् । नेपाल देखि भारतको अदालतमा ५/५ वर्ष सम्म तारेख लिदा लोग्नेलाई कति दुःख, कष्ट र क्षति व्यहोर्नु पर्यो होला सहजै अनुमान सम्म गर्न सकिन्छ ।
स्वास्नी लगातार २ वर्ष भन्दा बढी समय सम्म लोग्ने बाट अलग बसेका खण्डमा सम्वन्ध विच्छेद (विवाह विच्छेद) हुने कानूनी व्यवस्था भारतमा रहेको छ । भरमग्दुर प्रयास गर्दा समेत श्रीमति घरमा नआउने भएपछि सन् २०१५ मा भारतीय हिन्दु विवाह अधिनियमको धारा १३ बमोजिम भारत उत्तर प्रदेश गोण्डा स्थित पारिवारिक न्यायालयमा सम्वन्ध विच्छेद गरी पाउँ भनी लोग्नेले श्रीमतिका विरुद्धमा सम्वन्ध विच्छेद मुद्दा दर्ता गराए । सो मुद्दामा समेत श्रीमति न हाजिर भईन न त कुनै जवाफ लगाईनन् । सम्वन्ध विच्छेद मुद्दा दायर गरेको लगभग ३ वर्ष भइसकेको छ हाल सम्म सो मुद्दाको फैसला भएको छैन । सम्वन्ध विच्छेद हुने आशामा श्रीमानले निरन्तर तारेख लिई रहेका छन् ।
सन् २०१० साल देखि हाल सम्म स्वास्नी घरमा नआई माईती घर भारतमा नै वस्ने गरेका कारण लोग्नेले सम्वन्ध विच्छेद गरी पाउँ भनी श्रीमानले मुलुकी ऐन लोग्ने स्वास्नीको १(१) को कानूनी व्यवस्था बमोजिम स्थानीय तहमा मुद्दा दर्ता गराए । हाल सम्म सो मुद्दा स्थानीय तहमा नै रहेको छ । स्थानीय तहले सो मुद्दा एक वर्ष भित्र अदालतमा पठाउने छ । अदालतमा कति समय सम्म सो मुद्दा चल्ने हो ? सम्वन्ध विच्छेद हुन्छ वा हुदैन ? कुनै निश्चित छैन ।
लोग्नेले सम्वन्ध विच्छेद मुद्दा लगाएपछि स्वास्नीले सम्वन्ध विच्छेदमा असहमति जनाउदै उल्टै मासिक रुपमा रु.१७,५००।– का दरले वार्षिक रु.१,७५,०००।– दिलाई पाउँ भनी वि.सं.२०७४ सालमा खाना खर्च मुद्दा लगाइन । लोग्नेले सो मुद्दामा समेत तारेख लिइरहेका छन् । सो मुद्दाको छिनोफानो हुन बाँकी नै छ ।
रामको विवाह भएपनि विगत ८ वर्ष देखि घरमा श्रीमति छैनन्, जेष्ठ नागरिक बाबु आमाको रेखदेख, स्याहार सम्भार देखि १० जना परिवारको सम्पूर्ण जिम्मेवारी रामले एक्लै लिएका छन् । घरको जिम्मेवारी, अफिसको जिम्मेवारी अनी नेपाल देखि भारतीय अदालतको तारेखमा रुजुहाजिर हुनुपर्ने थप जिम्मेवारी श्रीमानकै काँधमा छ ।
विवाहिता स्वास्नीले साथमा आउन पनि नमान्ने, सम्वन्ध विच्छेद गर्न पनि नमान्ने, अंश लिएर अलग बस्न पनि नमान्ने गरेका कारण लोग्ने मौजुदा कानून, न्याय र वैवाहिक सम्वन्ध देखि विरक्तिएका छन् । दोश्रो विवाह गरौं भने बहुविवाहमा १ वर्ष देखि ३ वर्ष सम्मको सजाय भई कारागारमा वस्नुपर्ने बाध्यता पनि लोग्नेलाई जानकारी छ । कानून र समाजको डरले लोग्नेले दोश्रो विवाह गर्न सकेका छैनन् भने विवाहिता श्रीमतिको संगसाथमा बस्न पाउनुको सट्टामा मुद्दा लडिरहेका छन् । स्वास्नीले चाहेमा जहिले सुकै र जुनसुकै वहानामा पनि अंश सहित सम्वन्ध विच्छेद गर्न पाउने तर स्वास्नीले नचाहेमा जति दःुःख कष्ट भएपनि लोग्नेले जीवनभर सम्वन्ध विच्छेद गर्न नपाउने यो कस्तो कानून हो ? यो कस्तो न्यायिक मान्यता हो ? यो कस्तो सामाजिक न्याय हो ? यो कस्तो विभेद हो ? रामले सवैसंग यि र यस्तै प्रश्न दैनिक रुपमा सोधिरहेका छन् र यही प्रश्नको चित्तबुझ्दो जवाफको खोजीमा रहेका छन् ।
कानूनमा के छ ? प्रयोग कस्तो छ ?
मुलुकी ऐन लोग्ने स्वास्नीको महलमा लोग्नेले आफ्नो श्रीमति संग र श्रीमतिले आफ्नो लोग्ने संग कानूनी रुपमा सम्वन्ध विच्छेद गर्न पाउने छुट्टा छुट्टै कानूनी आधारहरु उल्लेख गरिएको छ । स्वास्नीले लोग्नेलाई निजको मन्जुरी बेगर लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखि छोडी अलग बस्ने गरेमा, लोग्नेको ज्यान जाने, अंगभंग हुने वा अन्य कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपन्च गरेमा, स्वास्नीलाई निको नहुने यौन सम्वन्धी कुनै रोग लागेमा, स्वास्नीले परपुरुषसंग करणी गरेको ठहरेमा, स्वास्नीले अर्को विवाह गरेमा लोग्ने मानिसले आफ्नो श्रीमति संगको सम्वन्ध विच्छेद गर्न पाउछ भनी मुलुकी ऐन लोग्ने स्वास्नीको दफा १(१) मा कानूनी व्यवस्था रहेको छ ।
पुरुषले श्रीमति संगको सम्वन्ध विच्छेद गर्नुपर्ने आधार र कारण भए पुरुष सोझै अदालतमा जान पाउदैन । माथि उल्लेखित आधार खोली पुरुषले स्थानीय तहमा सम्वन्ध विच्छेदको मुद्दा दिनुपर्ने हुन्छ । स्थानीय तहले दुवै पक्षलाई सम्झाई बुझाई मेलमिलाप गराई दिनुपर्ने, मेलमिलाप हुन नसकेमा वा सम्वन्ध विच्छेद गर्दा नै उपयुक्त देखिएका खण्डमा एक वर्ष भित्र आफ्नो राय समेत संलग्न राखी उक्त मुद्दा जिल्ला अदालतमा पठाउनुपर्ने कानूनी प्रकृया रहेको छ ।
पुरुषले आफ्नो श्रीमति संगको लोग्ने स्वास्नीको सम्वन्ध विच्छेद विच्छेद गर्नको लागि आवश्यक पर्ने उल्लेखित आधारहरु पुष्टि गर्न पुरुषलाई फलामको च्यूरा सावित हुने गरेको देखिन्छ । श्रीमतिले अस्वीकार गरेमा लोग्नेले दिने अधिकांश मुद्दामा सम्वन्ध विच्छेद हुन सक्दैन ।
लोग्नेले अरु स्वास्नी ल्याएमा, स्वास्नीलाई घरबाट निकालेमा, खानलाउन नदिएमा, स्वास्नीको खोज खबर नगरी हेरविचार नराखी लगातार तीन वर्ष वा सो भन्दा बढी समय देखि स्वास्नीलाई छोडी अलग वस्ने गरेमा,
स्वास्नीको ज्यान जाने अङ्गभङ्ग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपन्च गरेमा, लोग्ने नपुंसक भएमा, लोग्नेलाई निको नहुने यौन सम्वन्धी कुनै रोग लागेमा, लोग्नेले परस्त्रीसंग करणी गरेको ठहरेमा, लोग्नेले स्वास्नीलाई जर्वजस्ती करणी गरेको ठहरेमा त्यस्तो लोग्ने संग स्वास्नी मानिसले लोग्ने स्वास्नीको सम्वन्ध विच्छेद गर्न पाउने भनी मुलुकी ऐन लोग्ने स्वास्नीको १(२) मा बैधानिक व्यवस्था रहेको छ ।
स्वास्नी मानिसले लोग्ने संगको सम्वन्ध विच्छेद गर्नको लागि सोझै जिल्ला अदालतमा मुद्दा दिन पाउँछ । लोग्ने संगको सम्वन्ध विच्छेद गर्नको लागि दर्ता हुने अधिकांश मुद्दाहरुमा लोग्नेले खान लाउन नदिएको, घरबाट निकाला गरेको भन्ने आरोप रहेको हुन्छ । लोग्नेले खान, लाउन दिएको हो होइन ? घरबाट निकाला गरेको हो होइन ? भन्ने तर्फ तथ्यगत आधार र कारण नखोजी स्वास्नीको मौखिक साक्षीको कथनलाई आधार मानी अदालतले समेत शतप्रतिशत मुद्दामा स्वास्नीको मागदावी बमोजिम सम्वन्ध विच्छेद गर्ने गरी फैसला गर्ने गरेको छ ।