आभार गुरु, भयो सुरु !

सुनिता चौधरी

पत्रकारिताको क्षेत्रमा आधा दशक बिताएपछि नियमित आफ्ना भोगाईहरुमा अभिव्यक्ति दिनुपर्छ भन्ने लागेर सम्पादकले दिएको स्तम्भ सम्हालें, मेरै मर्जी । किनकी म मेरो जीवन मेरै मर्जीमा बाँच्न चाहने मान्छे पनि हो । अनि त, यी अभिव्यक्ति अरुका लागि पनि अर्थपूर्ण होला । अन्यथा किन पढ्ने मेरा मर्जीका अर्जी ? अझ फर्जी लेखेर रमाउने कागजी बजारमा मेरो वास्तविक भोगाईका मर्जी अर्थपूर्णनै हुन्छन् लाग्छ मलाई ।

 

हुनपनि विद्यार्थी जीवनसँगै दैनिक नेपालगन्जमार्फत मेरो सार्वजनिक र व्यवसायिक करियर सुरु भएको हो । त्यसैले पनि यो स्तम्भको अर्थ मेरो नयाँ पाइला हो । आजबाट आफुले भोगेका अनुभव ,एउटा महिला माथि गरिने सामाजिक व्यबहार र अन्तरजातिय विवाहले मानिसको जीवनमा कस्तो असर परेको देखिन्छ भन्ने कुराको क्रमशः चर्चा गर्दै लैजाने प्रयास गर्दैछु ।

 

सुगम बाँकेको दुर्गम बस्ती, मध्यमवर्गीय थारु परिवारमा जन्मिएकी, बाबू आमाको पहिलो सन्तान । सानो छँदा गाउँका दिदि दाईहरु जस्तै ठुली हुन मन लाग्ने उहाँहरु जस्तै मैले नि कहिले होला धेरै किताब कपि लिएर पढ्ने ? भन्ने कुरा मनमा आइरहन्थियो । जब मेरो कक्षा एकमा भर्ना भइयो त्यतिबेला म ज्यादै उत्साहित थिएँ भन्ने हेक्का अहिले सम्म छ ।

 

संयुक्त परिवारमा जन्मेको हुँदा वृद्धि र बिकासमा खासै समस्य आएन । मेरो हर इच्छा, आवश्यकताहरु म जिद्दी भएकै कारण पूरा भए । बालापनको पढाई साथीहरू सङ्गै हासखेल गर्दै पार गरियो, सबैको जस्तै । तिनै हाँसखेलबीच २०६८ सालमा आईएड पास गर्न सफल भएँ । उस्तै पनि थारु परिवारमा औपचारिक शिक्षाको कमीले छोरीलाई सैद्धान्तिक शिक्षा कमै मात्रामा दिने गरेको पाइन्छ । तर, मेरो अभिभावकले गुणस्तरीय शिक्षा हासिल गर्ने मौका दिनु भयो । सामाजिक वातावरण राम्रै भएको कारण म यस अवस्थामा उभिन सफल भएकी छु । १२ कक्षा उतिर्ण गरेको करिब ३ वर्षको अन्तरालमा बिएड तहको शिक्षा हासिल गर्ने उद्देश्य बोकेर पढाईलाई निरन्तरता दिदैछु ।
स्कूल देखि कलेज सम्मको अनुभूति बडो रमाइला छन् । संवेदनशील उमेरका गम्भीर भोगाइ पनि यसैबीच छन् ।

 

क्रमशः लेखिंदै जाला यी भोगाई पनि । कक्षा एक देखि १२ सम्म शिक्षकले विद्यार्थी माथि गर्ने व्यबहार निस्वार्थ अभिभावकको भुमिका रहेको देखे भने बिएड लेभलमा शिक्षण सिकाइको क्रममा ३ किसिमको शिक्षक भेटें (१) सकारात्मक शिक्षक (२) नकारात्मक शिक्षक (३) तटस्थ शिक्षक नेपाली समाजमा छुवाछूत, भेदभाव, वर्गीय विभेद एवं भाषिक भेद गर्ने प्रचलन यद्यपि छ । पुरुषप्रधान समाज नारीलाई कमजोर ठान्ने धारणा बसिसकेको भएर दमन अत्याचार गर्ने गरेको देखिन्छ । नारी आफै पनि डराउने, लाज मान्ने गर्छिन् । समाजको अगाडि लाज र डरले गर्दा आफ्नो स्वाथ्य समस्या देखि दमन अत्याचार लगायत विभिन्न विकृति बिसङ्गतिपूर्ण जीवन बिताउन परेको अवस्था विद्यमान छ ।

 

सामान्यतया, यस्ता समस्या दुर्गम क्षेत्रमा धेरै मात्रामा देखा पर्दछ । विवाह सामाजिक सम्बन्ध हो । जुनसुकै मानिसले विवाह गर्नैपर्छ भन्ने छैन तर ब्यक्तीको चाहना र आवश्यकता एवं अनुकुलता हेरेर गरिने कुरा हो । अन्तरजातीय दाम्पत्यहरुको जीवनमा उनीहरूको बालबालिकाले मिश्रित संस्कार पाउन सक्छन् । बिभेदप्रति संवेदनशील एवं सचेत हुन्छन् र बहुसंस्कृतिको अनुभव गर्न पाउछन् । यी त रहे सबल पक्ष यति हुँदा हुँदै पनि कुनै कुनै कुरामा चुनौतीपूर्ण जीवन भोग्नुपरेको हुन्छ । सबै कुरा सहज रुपमा नलिने र पारस्परलाई उचित सम्मान दिन सकिएन भने विभेद खेप्नै पर्ने हुन्छ ।

 

कतिपय अवस्थामा मुखले नभने पनि व्यबहारमा विभेद झल्किन्छ। धार्मिक क्रियाकलापमा सहभागी हुँदा पनि रितिरिवाज चालचलन अनुसार संस्कार अनुकरण गर्नु पर्ने हुन्छ । तथापि आफ्नो परिवारले राम्रो व्यबहार गरेको खण्डमा असहज परिस्थिति सिर्जना हुँदैन ।

 

आज म सकारात्मक शिक्षकको प्रेरणा र प्रयासबाट यहाँ उभिएकी छु । शिक्षक विद्यालयका कक्षाकोठामा शिक्षा दिने मात्र होइन । जीवनमा शिक्षा भर्ने, बाँच्ने कला दिने पनि शिक्षक (गुरु) हुन् । मलाई यस स्थान सम्म मार्गदर्शन दिएर मेरो जीवन जिउने कलामा नै परिवर्तन ल्याएर उचित, परिमार्जित, सम्मानजनक र प्राज्ञिक ज्ञानका पनि लागि सक्षम नारीको रुपमा नेपालगन्ज शहरमा उपस्थित गराउन प्रेरक व्यक्तित्व प्रति आभारी छु । आभार गुरु, भयो सुरु, आम जगत भलाका लागि लेखन कला ।

प्रतिक्रिया

प्रतिक्रिया