चुनाव : दृश्य र दृष्टि

कृष्ण सिंह थापा

मंसीर २१, २०७४ संघीय गणतन्त्र नेपालको प्रथम संघ तथा प्रादेशिक निर्वाचनको दिन, ध्वजा पताकाले सजिसजाउ आकाश, रंगीचंगी गाउँघर, उल्लासमय अनुहारहरु व्यग्र प्रतिक्षामा मतदानका निमित्त म जस्तै । विहानै उठें । विहान ७ बजेदेखि मतदान शुरु हुने खबर प्राप्त भएको थियो । पहिलो मतदान मै गर्छु भन्ने सोंचका साथ म मतदान स्थल तिर लागे निक्कै प्रफुल्लित मुद्रामा । नहोस पनि किन , यो मेरो जीवनको पहिलो मतदान थियो । त्यो पनि नयाँ संरचनामा ।

 

केहि हर्षित, केहि आशंका, केहि दोधार संवेगका हरेक रुपहरु म भित्र चलायमान भई रहेको थियो । तर मैले सोचेंको पुरा हुन सकेन् । किनकी त्यहाँ म जस्तै हर्षित र मतदानका निम्ति व्यग्र पर्खाइमा रहेकाहरु म भन्दा पहिले नै लाइनमाा आइ सकेका थिए । निर्धारित समयमा मतदान शुरु हुन सकेन । कारण बुझ्दा जेष्ठ नागरिकबाट मतदानको उदघाटन गर्ने भन्ने सुनियो । सुरु भयो जेष्ठ नागरिकको खोजी । गाउँको सबभन्दा जेष्ठ नागरिक १०५ बर्षीय सिपाही थारु थिए । घर अलि टाढा थियो । लिन जानु पर्ने भयो । त्यतिन्जेल मतदाताहरुको भिड बढी सकेको थियो । कसैले ढिला हुनुको कारण सोधिरहेका थिए । कारण थाहा पाएका हरुले उपस्थित मध्येबाट जेष्ठ नागरिक बाट नै मतदान सुरुवात गर्नुपर्ने विचार राख्दै थिए । यस्ता विभिन्न खाले स्वरहरु भिडबाट आउन सुरु भइसकेको थियो । यसै स्वरलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले त्यही भिडबाट एकजना जेष्ठ नागरिकलाई भित्र प्रवेश गराए र मतदान कार्यको शुरुवात भयो ।

 
हिउँदको विहानको समय अलि अलि जाडोको शुरुवात पनि भइ सकेको थियो । मेरो मानस पटलमा त्यही दृश्यले एउटा दृष्टी सृजना गर्यो र भन्यो ः जसरी मतदान शुरुवातका निमित्त एक बृद्ध वा जेष्ठ नागरिकको खोजीले व्यापकता पायो । त्यसरी नै सार्वजनिक सेवा प्रवाह गर्ने प्रक्रियामा जेष्ठ नागरिकहरु प्राथमिकताका पात्र बन्लान ? उपस्थित भिडले पनि ती जेष्ठ नागरिकलाई निर्वाधरुपमा अग्र प्रवेश दिइ रहँदा के भविष्यका दिनहरुमा पनि जेष्ठ नागरिकहरुप्रति यस्तै सम्मानजनक सामाजिक व्यवहारहरु कायम रहिरहलान उपस्थित भिडले पनि ती जेष्ठ नागरिकलाई निर्वाधरुपमा अग्र प्रवेश दिइ रहँदा के भविष्यका दिनहरुमा पनि जेष्ठ नागरिकहरुप्रति यस्तै सम्मानजनक सामाजिक व्यवहारहरु कायम रहिरहलान ? यो प्रश्न, चासो र अपेक्षा हामीजस्ता आम नागरिकको हो । हो अहिले कै सन्दर्भमा पनि तमाम जेष्ठ नागरिकमैत्री निति तथा कार्यक्रमहरु लागु भएका छन् । त्यसका बाबजुदपनि अपेक्षित सुधार र प्रतिफल प्राप्त गर्न सकिएको छैन् । ती जेष्ठ नागरिकहरुले दिएको अमूल्य मत प्राप्त गरी चुनावमा विजय हासिल गर्ने जोकोहिले पनि भावी दिनहरुमा त्यसतर्फ भरमग्दुर प्रयास गरी जेष्ठ नागरिकमैत्री सामाजिक, राजनितिक वातावरण सृजना तथा प्रभावकारी कार्यान्वयन तर्फ अग्रसर रहने छ त्यो नै हामी सबैको अपेक्षा हो ।

 
मतदानको रौनक शुरु भइ सकेको थियो । मतदाताहरुको ओहोरदोहोर, विभिन्न राजनितिक दलहरुसँग सम्बद्ध स्थानीय कार्यकर्ताहरुको दौडधुपले चुनावी चहलपहलको व्यापकता सहजै देख्न सकिन्थ्यो । आफुँ र आफ्नो दलसँग जोडिएका व्यक्तिहरु जो शारिरीकरुपले अपांग थिए, ती व्यक्तिहरुको ओसारपसारले पनि निकै व्यापकता पाएको थियो । प्रत्येक टोलटोलमा को को छन् र को को छुटेका छन् र कहाँ छन् त्यसको फेहरिस्त प्रत्येक स्थानीय राजनितिक कार्यकर्तासँग थियो र सोही अनुसारको यातायातका साधनको व्यवस्थापन भइरहेको थियो । त्यही क्रममा एक जना शारिरीक अपांग व्यक्तिलाई व्हील चेयरमा बसाली एकजनाले पछाडीबाट सम्मानपूर्वक ठेली रहेको देखे । एकजना दृष्टिविहिन नागरिकलाई लीको सहाराले डोर्याई रहेको देखे ।

 

 

खुट्टाले हिँडन नसक्ने एकजना अपांगको दुइजनाले दुई पाखुरामा सहारा दिई हिँडाएर मतदानकेन्द्र सम्म पुर्याइरहेको देखे । यी सबै दृश्यहरुको उभार मेरो मष्तिष्कभरि आयो र पुनः एउटा दृष्टिको सुत्रपात गर्यो भन्यो ः आजको दिनमा यी अपांगहरुले प्राप्त गरेका सम्मानजनक व्यवहार र सहयोग भोलीबाट पनि निरन्तर प्राप्त गर्लान् ? व्हील चेयर धकेल्ने सहयोगी हातहरु, बाटो देखाउने उज्याला आँखाहरु र दुई पाखुरा उचाली सहयोग गर्ने भरपर्दा काँधहरु ती अपांगहरुका लागि सदा सर्वदा उपलब्ध होलान ? अपांगहरु प्रतिको सामाजिक व्यहारमा परिवर्तन आउला ? ती अपांगहरुको मतले बिजेता बन्ने व्यक्तिले अपांगमैत्री समाज निर्माणका लागि नितिगत व्यवस्था कार्यान्वयनका लागि पहलकदमी लेला ? यो प्रश्न र चासो हामी सबैको साझा हो । अपांगता भएका व्यक्तिहरुको सामाजिक, राजनितिक, आर्थिक र बौद्धिक विकासका लागि उपयुक्त वातावरणको निर्माणगरी अपांगहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि नेतृत्वदायी भुमिका अबको नेतृत्वले खेलोस । यो नै हामी सबैको अपेक्षा हो ।

 

 
चुनाव एउटा अवसर हो र पर्व पनि । घर बाहिर रहेकाहरु पनि मतदानका लागि घर आउने, धेरै समय भेट नभएकाहरुसँग पनि भेट हुने । म पनि यस्तै थुप्रै साथीहरुसँग भेट्न पाउँदा साह्रै खुशी थिँए । बाटोमा ठाँउठाँउमा साना साना झुण्ड बनाई बसीरहेका मतदाताहरु, स्थानीय राजनितिक कार्यकर्ताहरुले गरेका समसामयिक स्थानीय राजनितिक बहस मैले पनि सुनीरहेको थिँए । म विभिन्न झुण्डका कुराहरु सुन्न ओहोरदोहोर गरिरहँदा बीचबाटोमा एकजना महिला रोएर बसीरहेको दृश्य देखें, मनमा जिज्ञासा जाग्यो र सोधें, किन रोएको आमा ? के भयो ? आँखाबाट आँशु पुछदैः बाबु मलाई सन्चो छैन्, शरीर थेगी नसक्नु छ, मतदान गर्न भनी मलाई साइकलमा बसालेर ल्याइयो, अब घर फर्किन गाह्रो भइराखेको छ, छोराले साइकलको व्यवस्था गर्दैछ । म मौन भएँ र फेरी मेरो अन्तरआत्मामा एउटा दृष्टिले जन्म लियो र कडकिँदै भन्यो ः स्वार्थी संसार, स्वार्थी मान्छे, कस्तो मानसिकता ? मतदानका लागि मतदानकेन्द्र सम्म ल्याउन सक्ने व्यक्तिले घरसम्म सहजै पुर्याउने व्यवस्था किन गरेनन् ? मतका लागि केन्द्रसम्म ल्याउन सक्नेले उपचारका लागि अस्पतालसम्म पुर्याउने व्यवस्था गर्लान की नगर्लान ? यस्तै असक्त विरामीहरुको मतले जित्नेहरुले उनीहरुको लागि स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गर्लान की नगर्लान ? यस्तै यस्तै खुल्दुली, भावना र अपेक्षाले मन पोलीरह्यो ।

 
मतदान शान्तीपूर्ण र सौहाद्रपूर्ण तरिकाले भइरहेको थियो । प्रवेश गर्ने र निस्कनेहरु बाटोमा लामबद्ध देखिन्थे । बाटोमा २ ३ वटा नास्ता पसल पनि थिए । त्यतिकैमा एकजनाा कुपन लिएर नास्ता खान आएको देखेँ र सोधे कुपन कसले दियो ? प्रतिउत्तरमा राजनीतिक दलका स्थानीय कार्यकर्ताले आफु र आफ्ना दलसँग आबद्धलाई खाजाको कुपन बाँडिरहेको भन्ने खबर प्राप्त गरे । यस दृश्यले ममा कताकता हाँस्यबोध सृजना गर्यो, खिन्नता पनि र अन्तरकुन्तरमा अर्को दृष्टिको सुत्रपात गर्यो र बोल्यो ः हाम्रो मतलाई खाजामा किन्नेहरुले, भोली हामीलाई बेच्न
सक्छन की सक्दैनन् ? चुनावका बेला यसरी खाना खाजा व्यवस्था गर्नेहरुले भविष्यका दिनहरुमा कोही नागरिक खाद्यान्नको अभावमा भोकै बसीरहँदा खाद्य सुरक्षाको प्रत्याभुति गर्लान की नगर्लान ? यस्तै यस्तै तमाम प्रश्नका ज्वारभाटाहरु म भित्र उदयीमान भइरहँदा एउटा मिठो कल्पनाको आभास भयो र आशाको स्वरुपमा व्यक्त गरें ः खाद्य सम्प्रभुता र खाद्य सुरक्षा जस्तो नागरिकको मौलिक अधिकारको प्रत्याभुति र स्थापनाका लागि अब निर्वाचित हुने नेतृत्वले विशेष भूमिका खेलोस र एउटा समुन्नत खाद्य सुरक्षित स्वस्थ समाजको निर्माणमा टेवा पुर्याओस ।

 

 
दिनभरिको उपस्थितिमा सामुन्ने आइपुगेका विभिन्न दृश्यहरुले सृजना गरेका तमाम प्रश्नहरु, जिज्ञासाहरु र आशाहरु पटाक्षेप हुँदा नहुँदै मतदानको समय विति सकेको थियो । प्रक्रियागत कार्यहरु पुरा गरेर मतपेटिकामा लाहाछाप लगाइ बन्द गरिदैं थियो । एउटा ठुलो ट्रक आइपुग्यो । वरिपरि सुरक्षाकर्मीको कडा निगरानीका बीच मतपेटिका ट्रकमा लोड गरियो । सेतो कपडाले पोका पारिएका मतपेटिका ट्रकमा राखिरहेको दृश्यले फेरी अन्तमा एकपटक एउटा दृष्टि जागृत गर्यो र विस्तारै मनले मात्र सुन्ने गरी संवादित भयो ः हामीले आशा र भरोसाका ठुला श्वेत पोकाहरु तपाईहरु समक्ष पठाएका छौं । हाम्रा आशाका कञ्चन महलहरुमा निराशा, उपेक्षा र पूर्वाग्रहका काला धब्बाहरु नपोतिदिनु होला । हाम्रा जिवन्त आशाहरुले सार्थकता पाउन् । आम नागरिकको चाहनाले मुर्त रुप पाओस । हाम्रो चाहना हाम्रो कामना ।

प्रतिक्रिया

प्रतिक्रिया