म्याराथन नेपालगन्जको पहिचान

प्रकाश तिमल्सिना

म्याराथनलाई समान्य अर्थमा बुझ्दा एक दिने प्रतियोगिताका रुपमा नै बुझ्ने हो । प्रतिस्पर्धीहरुले निर्धा्रित ४२.१९५ किलोमिटर दौड पुरा गर्ने र त्यसमध्ये सबै भन्दा छिटो दौडने नै विजेता बन्ने यसको नियम हो । तर, म्याराथन आफैमा कुनै ठाँउ विषयको परिचय बन्छ त्यो समान्य दौड (म्याराथन) मात्र रहँदैन त्यो ठाँउको चिनारी र पहिचान बन्दै जान्छ ।
विश्व खेलकुदमा न्यू योर्क, सिड्नी, बोस्टनलगायत र छिमेकको दिल्ली म्याराथन यसका उदाहरण हुन् । हजारौंले त्यस्ता म्याराथनमा भाग लिइरहेका हुन्छन् ।

 

 

कतिपयले त्यस्ता म्याराथनलाई ब्यग्रताका साथ प्रतिक्षा गरेका हुन्छन् । ती म्याराथन समान्य एक दिने दौड मात्र होइनन् । तीनको इतिहास, त्यो इभेन्टको विकास क्रमसँगै बढ्दै गएको सहभागिताले त्यसको व्यापकता र ठाउ (सहर) को महत्वलाई अझ बढाइदिएको छ । त्यसैसँग मिल्दोजुल्दो सहरको परिचयलाई अझै फराकिलो बनाउने र देशभर एउटा बेग्लै इभेन्टका रुपमा अघि बढाउने प्रयास नेपालगन्जमा सुरु भइसकेको छ । अघिल्ला दुई संस्करण सफलतापूर्वक सम्पन्न गरेको क्रियटिम्स ह्यान्ड्स ग्रुपले आज नेपालगन्ज म्याराथनको तेस्रो संस्करण आयोजना गर्दैछ ।

 
नेपालगन्ज म्याराथनको इतिहास, यसको सहभागी संख्या, व्यवस्थापन, आर्थिक पाटो वा अन्य हिसाबले अहिले विश्वका अन्य चर्चित म्याराथनसँग दाज्ने समय भएको छैन । तर, सुरुआत र यसले तीन वर्षमा तय गरेको यात्राले आउने दिनमा नेपालगन्ज म्याराथनले नेपालगन्जको मात्र होइन कुनै दिन देशलाई पनि चिनाउनेछ भन्ने आशा गर्न सकिन्छ । हरेक कठिन गन्तव्यको यात्रा पनि पहिलो पहिलाबाटै सुरु हुन्छ भने जस्तै नेपालगन्ज म्याराथनले आफ्नो कठिन यात्रा प्रारम्भ गरिसकेको छ र एक वर्षलाई एउटा पाइला मान्ने हो भने अहिले तेस्रो पाइला चल्ने क्रममा छ । यो तीन वर्षमा यसले प्राप्त गरेको सफलता, देशभर दिएको सन्देश, स्थानीय रुपमा देखिएको एकता, सद्भाव, आफ्नोपनको सायद कुनै मुल्य होला ।

 

 

यसैपनि नेपालगन्ज सांस्कृतिक र भाषिक विविधतायुक्त सहरका रुपमा चिनिन्छ । त्यति मात्र होइन, खेलकुदमा पनि नेपालगन्जको अलग पहिचान छ । समय क्रमसँगै सोचे अनुरुप खेलले विकास गर्न नसकेको पक्कै हो, तर नेपालगन्ज त्यहि सहर हो जसले महिला क्रिकेटको जग बसालेको थियो । नेपालगन्ज त्यहि सहर हो जहाँ भारोत्तोलन, कुस्ती, शुटिङका राष्ट्रिय च्याम्पियन जन्माई सकेको सहर हो । केही वर्ष थाकेजस्तो देखिएको नेपालगन्ज फेरि जुर्मुराउन थालेको छ । प्रधानमन्त्री कप भलिबल, नेपालगन्ज गोल्ड कप र नेपालगन्ज म्याराथन त्यसका उदाहरण हुन् ।

 

 

पछिल्ला केही वर्षयता यी ठूला प्रतियोगिता नियमित रुपमा आयोजना हुनुले पनि खेलकुद प्रतिको नेपालगन्जवासीको मोहलाई थप प्रष्टाउछ । बाँकी खेलाडी उत्पादनको पाटो नेपालगन्जले चाहेर मात्र हुँदैन त्यसका लागि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) त्यस मातहतका संस्थानै क्रियाशिल हुनुपर्दछ । सामाजिक संघ, संस्था र जिल्ला संघले प्रतिकुलताका बीच तीन ठूला प्रतियोगिता एक वर्षमा एउटा सहरमा गर्नु सहज पक्कै छैन । तर, नेपालगन्ज देशको एउटा त्यस्तो सहरमा पर्दछ जसले चार महिनाको फरकमा ठूला खेलकुदको आयोजना गरेकै हुन्छ ।

 

 

राखेपका पूर्व एथलेटिक्स मुख्य प्रशिक्षक शुसिलनर सिंह राणा सिटी म्याराथनका रुपमा नेपालगन्ज म्याराथन एकहद सम्म स्थापित भइसकेको र आउने दिनमा अझै बृहत हुनेमा आशावादी छन् । ‘अहिले तेस्रो वर्षमा आइपुगेको छ । विस्तारै यो देश भित्र लोकप्रिय बन्दै गएको ’ नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा रुट निर्धारणका लागि नेपालगन्ज पुगेका राणा भन्छन्,‘यो म्याराथन खेलाडीको आकर्षण बन्दै गएको छ । म्याराथन एउटा सामान्य प्रतियोगिता भन्दा पनि यसलाई भविष्यमा आन्तरिक पर्यटक बढाउने हिसाबले पनि महत्वपूर्ण बन्ने संकेत देखिएको छ ।’

 

 

प्रशिक्षण राणालाई नेपालगन्ज म्याराथनको सामूहिक एकताले सबैभन्दा बढी लोभ्याएको छ । ‘नेपालगन्ज म्याराथनलाई त्यहाँका हरेकले आफ्नो इभेन्टको रुपमा हेरेको मैले पाएको छु । सबै मान्छे कुनै न कुनै रुपमा आबद्ध भएको देखिन्छ’ उनले थपे, ‘आफ्नो ठाँउको परिचयलाई फराकिलो बनाउन यो सबैभन्दा महत्वपूर्ण पक्ष हो । नेपालगन्ज म्याराथन व्यवस्थापकिय हिसाबमा पनि निकै स्तरीय छ ।’ नेपालगन्ज म्याराथनको सफलता हेर्न अर्को एउटा कडी भनेको यसमा बढ्दै गएको सहभागिता पनि हो । २०७२ को पहिलो संस्करणमा २ सयको हाराहारीमा दौडिएका थिए । दोस्रो वर्ष सहभागी संख्या ४ सय र यो वर्ष ६ सय बढी हुने सम्भावना छ । यो सहभागितालाई प्रशिक्षक राणा उत्साहजनक मान्दछन् । ‘तीन वर्षमा तेब्बर सहभागिता निकै उत्साहजनक हो ’ उनले अगाडि भने, ‘यसले नेपालको एथलेटिक्स विकासमा मद्दत गर्छनै । मलाई विश्वास छ यसले त्यहाँका जनताको सहभागितालाई हेर्दा ले वर्षौ सम्म निरन्तरता पनि पाउनेछ । कुनै बेला पोखरामा यस्तो देखिन्थ्यो । अहिले छैन । नेपालगन्जले सम्भावना देखाएको छ, आयोजकको उत्साह मर्न नदिन स्थानियको सहभागिता सधै उत्तिकै रहन आवश्यक छ ।’

 

 

नेपालगन्ज म्याराथन कुनै दिन अन्तर्राष्ट्रिय म्याराथन स्तरको इभेन्ट बन्ने सम्भावना औल्याउँदै प्रशिक्षण राणा भन्छन्,‘तर, अब केही वर्षमा हामीले दक्षिण एसियाका धावकहरुलाई नेपालगन्जमा दौडाउने कोशिस गर्नुपर्दछ । हाम्रो लक्ष्य भनेको पनि मुख्यतः दक्षिण एसियाली राष्ट्रलाई नै चुनौति दिने हुन्छ । हाम्रा खेलाडीमा पनि त्यसले अर्कै उत्साह भर्ने काम गर्दछ ।’

 

 

स्थानियस्तरमा बढ्दै गएको साथबाट आयोजक क्रियटिभ्स् ह्यान्ड ग्रुपका अध्यक्ष टिएस ठकुरी उत्साहित छन् । ‘हामीले परिक्षणका रुपमा म्याराथनको सुरुआत गरेका थियौं । अब यो हाम्रो वार्षिक कार्यक्रम भइसकेको छ ’ उनले अनुभव सुनाए, ‘अब यो क्रियटिभ्स् ह्यान्ड्सको मात्र रहने र यो नेपालगन्जवासीको आफ्नो सम्पत्ती भएको छ । यसलाई स्थापित गर्न जसरी यहाँका संघ संस्था, व्यक्तित्वहरु सक्रिय हुनुभएको छ, त्यसले हामीलाई निकै प्रेरणा मिलेको छ । हामीले चाहेको पनि यस्तै हो ।’
अध्यक्ष ठकुरीले आफ्नै जीवनकालमा २० हजारले नेपालगन्ज म्याराथन दौडेको हेर्ने सपना देखेका छन् । ‘अहिले नै यो अलिक अपत्तरिलो लाग्न सक्दछ । तर जसरी हामीले हरेक वर्ष सहभागीको संख्या बढेको पाएका छौं’ उनले भने, ‘मलाई लाग्छ अबको केही वर्षमा हाम्रो सपना पनि पुरा हुने सम्भावना देखिएको छ ।’ म्याराथन यस्तो खेल हो जसले पयर्टकलाई पनि आकर्षित गर्दछ । स्थानिय आर्थिक गतिविधिलाई बढाउँछ । स्थानिय र बाहिरबाट आउनेबीच मित्रता पनि त्यहि इभेन्टले स्थापित गर्नेछ ।

 

 

नेपालगन्ज म्याराथनलाई पिस म्याराथन पनि भनिएको छ । मुलुकमा दश वर्षे द्वन्द्वको अन्त्य भएर सरकार र तत्कालिन नेकपा माओवादीबीच बृहत शान्ति सम्झौता भएको मंसिर ५ कै दिन पारेर म्याराथन आयोजना गर्नुले नेपालगन्ज देशभर शान्तिको सन्देश दिन पनि चाहन्छ भन्ने प्रष्ट पारेको छ । बहुआयामिक पाटोलाई जोड्दै नेपालगन्ज म्याराथनलाई सफल पार्न यति बेला नेपालगन्ज लागि परेका छन्, यसबाट देशका अन्य सहरले सिक्न सक्ने थ्रुपै्र विषय छन् । मात्र त्यसका लागि तपाईसँग समाजका लागि सकारात्मक कर्म गर्ने भावना हुनुपर्दछ । (तिमल्सिना हाम्रो खेलकुद डटकमका सम्पादक हुन् ।)

मिसन ‘राष्ट्रिय खेलकुद कै कडी’

आज मंगलबार आयोजना हुने नेपालगन्ज म्याराथनको तेस्रो संस्करण मिसन २०७५ अर्थात् आठौं राष्ट्रिय खेलकुद तयारीकै एउटा महत्वपूर्ण कडी हो । किनभने प्रतियोगिता आयोजनाको कार्यभार स“गै हामीस“ग उत्कृष्ट खेलाडी उत्पादनको जिम्मेवारी पनि छ ।
नेपालगन्ज म्याराथन एउटा राष्ट्रिय प्रतियोगिता हो । यो एथलेक्टिस अन्तर्गतको एउटा विधा भएकाले खेलाडीहरु पनि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धी र आठौंका सम्भावित प्रतिस्पर्धीहरु यसमा मुख्य सहभागीहरु छन् ।
म्याराथन आयोजनाको सम्पूर्ण प्राविधिक जिम्मेवारी क्षेत्रीय खेलकुद विकास समितिले लिएको छ । त्यसैले पनि यो आयोजनालाई मिसन २०७५ स“ग जोड्नु वाञ्छनिय हुन्छ । नेपालगन्ज म्याराथन सकिएस“गै प्रधानमन्त्री कप महिला फुटबल प्रतियोगिताको तयारी पनि अगाडी बढ्छ । नेपालगन्ज गोल्डकप तयारी अगाडी बढिसकेको छ । बा“के जिल्ला फुटबल संघले रंगशालाको मैदान माग गरिसक्यो ।

 

 

यी आयोजनाहरुले नेपालगन्जलाई चिनाउने मात्र होइन राष्ट्रिय खेलकुदको क्षेत्रमा बा“के जिल्लाको उचाइ र श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन् । त्यसैले पनि यी आयोजनाहरुको सफलतामा सम्पूर्ण जिल्लाबासी साझेदार भएर सक्रिय साथ जरुरी छ ।

 

 

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारालाई आत्मसाथ गर्दै हामीले सुरु देखि नै सबैलाई रंगशाला आमन्त्रण गर्यौं । यी आयोजनाहरुले रंगशालामा सर्वसाधारण आउने वातावरण बनेको छ । आउनेहरुको संख्या पनि बढ्दै गएको छ । नेपालगन्ज म्याराथनले सयौं सर्वसाधारणलाई रंगशालामा आमन्त्रण गरिरहेको छ । यो राष्ट्र चिनाउने अभियान पनि हो । यहा“ तयार भएका खेलाडीहरु विश्वव्यापी रुपमा प्रतिस्पर्धी बन्न सकुन् भन्ने हाम्रो चाहना हुन्छ । निरन्तरताका प्रतियोगिताले त्यो सम्भावनालाई जीवन्त पनि बनाउछ ।
नेपालगन्ज म्याराथन २०१७ स“गै हाफ म्याराथनलाई निरन्तरता दिइएको छ । बालबालिकाहरुलाई खेल प्रति अभिप्रेरित गर्न विद्यालय स्तरीय छात्र एवं छात्राहरुलाई ५ किलोमिटरको सडक दौड आयोजना गरिएको छ । अपाङ्गता भएकाहरुका लागि एक किलोमिटरको ट्राइसाइकल दौड राखिएको छ । यो सबै मिसन २०७५ हो भन्ने बुझौं ।

प्रतिक्रिया

प्रतिक्रिया