यसकारण कारकादौंमा घण्टाघर

हरि सुवेदी

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आफ्नो स्थापनाको ५० बर्ष (स्वर्ण जयन्ती) मनाउने सन्दर्भमा घण्टाघर निर्माण गर्ने चर्चा चलेको छ । हुन त नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका कार्य समितिका पदाधिकारी र सदस्यहरुबीच यो विषयले प्रवेश पाउँदै गर्दा फरक फरक मत व्यक्त भै रहेको छ । यद्यपि अहिले यो विषय आम नेपालगन्जबासीमा पनि पुगिसकेको अवस्था छ र नेपालगञ्जमा पनि एउटा घण्टाघर बन्नु पर्नेमा नेपालगञ्जबासीले बहस शुरु गरेका छन् । राजनीतिक दृष्टिले फरक फरक बिचारको प्रतिनिधित्व गर्ने दलका नेताहरुले यो सवालमा सकारात्मक धारणा राखिरहेका छन् । जसलाई शुभ संकेत मान्न सकिन्छ ।

 
त्यसैगरी हालै निर्वाचित नेपालगञ्ज नगरपालिकाका प्रमुख, उपप्रमुख र धेरै सदस्यहरुले पनि यसबारे सकारात्मक दृष्टिकोण बनाएका छन् । यसले पनि घण्टाघर बनाउनु पर्ने वा बन्ने कुरालाई थप मलजल पुगेको महशुस गर्न सकिन्छ ।

 
के हो घण्टा घर?
अङ्ग्रेजीमा Clock tower भनिने घण्टाघर एउटा अग्लो टावर हो जसको माथिल्लो भागमा संभव भए सम्म चारै तिर ठूलो घडी जडान गरिएको हुन्छ । उक्त घडीले सम्बन्धित देशको समय बारेमा जानकारी दिने गर्दछ ।
नेपालको सन्दर्भमा काठमाडौंको मुटु रानी पोखीको सामुन्नेमा, मध्यपश्चिमाञ्चाल विकास क्षेत्रको सदरमुकाम सुर्खेतको कालिन्चोकमा यस्तो घण्टाघर बनाइएको छ । नेपालमा राणा शासनको समयदेखि नै यस किसिमको घण्टाघर बनाउने गरेको पाइन्छ भने विदेशमा भारत, चिन, लण्डन लगायतका देशमा पनि यस्तो घण्टाघर बनाएको पाइन्छ ।

 
नेपालगन्जमा घण्टाघरको आवश्कता किन ?

सामान्यतया १८ औं शताब्दीतिर व्यक्तिहरुसँग समय हेर्ने घडि नभएको समयमा घण्टाघर बनाउन थालिएको पाइन्छ । खासगरेर कुन समयमा प्रार्थना गर्ने, कुन समयमा अन्य के के काम गर्ने बनेर यस्ता घण्टाघरमा बज्ने घण्टीले सहयोग गरेको किवदन्ती पाइन्छ ।
मध्यपश्मिाञ्चल विकास क्षेत्रको उद्योग, बाणिज्य, शिक्षा, यातायात र अन्य विभिन्ने दृष्टिले पनि केन्द्रको रुपमा रहेको नेपालगन्जमा समयको सूचना दिने घण्टाघर हुनु आवश्यक छ । नेपालगन्ज शहरको हालको सौन्दैर्यमा बृद्धि गर्न पनि यो आवश्यक छ । तर सामान्य किसिमको घण्टाघर भन्दा यहाँको घण्टाघर थप विशेषता भएको हुन जरुरी छ ताकि यसले नेपालगन्जलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन थप मद्दत गरोस् ।

 
नेपालगन्जमा घण्टाघरका लागि उपयुक्त स्थान कुन होला ?

नेपालगन्जको मूल सडक रत्न राजमार्गको आसपासको मुख्य बजार जोड्ने चोकहरु जस्तै भृकुटीनगर जाने चोकमा गणेशमानको मूर्ति राखेर गणेशमानचौक नामाकरण गरिएको छ । त्यसैगरी सो को उत्तरतिर वि.पी. चोक, अझै उत्तरमा बीरेन्द्र चौक र पुष्पलाल चौक छन् । उता राँझा नजिक भुजई गाउँ चोक छ तर सो स्थान विमानस्थलदेखि नजिक छ र विमान स्थलको नजिक अग्लो संरचना बनाउनु निकै जोखिपूर्ण हुन्छ । यता न्यूरोड र सदरलाइन रोडमा जग्गाको अभाव छ तसर्थ हालको नेपालगन्ज बजारको बस्ती, यातायात, नगरको क्षेत्रफल र अन्य संरचनाहरुको अध्ययन गर्दा घण्टाघर निर्माणको लागि उपयुक्त स्थान कारकाँदौं चोक हो ।

 
नेपालगन्जमा बन्ने घण्टाघरमा के के विशेषता हुँदा राम्रो होला ?

नाम नै घण्टाघर भएकोले समयको सूचना दिने घडी टावरको चारैतिर सबैभन्दा माथिल्लो भागमा हुन त अनिवार्य नै भयो । सात तलाको बनाउनु पर्ने घण्टाघरमा निम्न थप विशेषता सहितको बनाउन सकिएमा निकै राम्रो हुन्छ ः
–यसको भूईं तल्लाबाट नियमित रुपमा रोड यातायातका साधन संचालन हुनेछन् । हालको सडकबाट यसको उचाई २० देखि २५ फुटको होस ताकि जतिसुकै लोड बोकेका ट्रकहरु पनि सजिलै आवत जावत गर्न कुनै बाधा सिर्जना नहोस् । भूई तल्लाको गेट पूर्व र पश्चिमको गेट एक किसिमको होस किनकी यहाँ हाल दुई लेनको बाटो छ भने उत्तर र दक्षिणको गेट अलि फरक होस किनकि यहाँ चार लेनको बाटो छ ।

 
–यसको पहिलो तल्लामा चार वटा कोठा होस् जसमध्ये पहिलो कोठामा मध्यपश्चिमाञ्चाल विकास क्षेत्रका जिल्ला, त्यहाँका प्रमुख जातजातिको तस्वीर र उनीहरुको मुख्य पेशा झल्किने तस्वीर होस् वा बुट्टा कुददिएको होस् । अर्को कोठामा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका प्रमुख तिर्थ स्थलहरु, तिनको विशेषताहरु र नेपालगन्जबाट त्यहाँ जाँदा लाग्ने समय उल्लेख भएको होस् । त्यसैगरी तेस्रो कोठामा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका प्रमुख निकुञ्जहरु र त्यहाँ पाइने प्रमुख बन्यजन्तुहरुको तस्वीर राखियोस् र चौथोमा यस क्षेत्रमा पाइने प्रमुख नदिनाला र बनस्पतिहरुको सचित्र व्याख्या उल्लेख गरियोस् ।

 
–दोस्रो तल्लामा पनि चार वटा कोठा होस् र माथिको बुँदामा उल्लेख गरिए झै हालको नयाँ संरचना अनुसार प्रदेश नं. ५ मा रहेका जातजाति, प्रमुख तिर्थस्थल लगायत महत्वपूर्ण स्थलको परिचय झल्किने गरी निर्माण गरियोस् । साथै यसको एउटा कोटामा प्रदेश नं. ५ को कुन जिल्लामा के नयाँ विकासका काम भै रहेका छन् सो बारे नियमित रुपमा अद्यावधिक गर्ने गरियोस् ।

 
–तेस्रो तल्लामा एउटा ठूलो कोठा होस र यसमा रेष्टुरेन्ट निर्माण गरियोस् । यसलाई खासगरेर जन्म दिन मनाउने रेष्टुरेन्टका रुपमा प्रचार प्रसार गरियोस् । यसलाई बार्षिक रुपमा बढाबढ गरी भाडामा दिइयोस् । जसबाट हुने आम्दानी भोलिका दिनकालागि टावरको मर्मतसंभारमा प्रयोग गर्न सकियोस् ।

 
–चौथो र पाँचौं तल्ला पनि कुनै विशेष कामका लागि प्रयोग गर्न सकिने बनोस र छैटौं तल्लाको चारै तिर घडि जडान होस् । यही तल्लाबाट वा यसको माथिबाट बर्षातको समयमा बाँके र बर्दियाका कति क्षेत्र डुबेका छन् भनेर दुर्बिनले हेर्न पनि सकियोस् ।

 
–त्यसैगरी टावरको माथिल्लो भागमा हाइभिजनवाला सीसी टिभी जडान गरियोस जसले दक्षिणमा भन्सारसम्म उत्तरमा पिपरीसम्म बाटोमा हुने दुर्घटना र अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न मद्दत पुगोस । त्यसैगरी पूर्व र पश्चिममा यस्तो सीसी टिभी जडान गर्न सके यसले ती क्षेत्रमा हुने चोरी नियन्त्रणमा पनि मद्दत पुग्ने थियो ।

 
–यसरी बन्ने टावरको एक साइडबाट चढ्ने र अर्को साइटबाट ओर्लने सिंढीको व्यवस्था गरियोस् । यसका साथै बाह्य सजावट राम्रो देखिने किसिमको डिजाइन राखियोस् । सम्भव भएसम्म सिंढीका हरेक पिलरमा सो क्षेत्रमा पाइने जंगली जनावरहरुको मूर्ति बनाएको होस् ।

 
–भूइतल्ला सहित सात तल्ला रहने यस टावरको नाम नेपालगन्ज टावर नै राखियोस् किनकी यसले नेपालगन्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन निकै मद्दत गर्नेछ । त्यसैगरी कम्तिमा १ कि.मी. टाढाबाट देख्न सकिने गरी चारैतिर नेपाली र अङ्ग्रेजीमा नेपालगन्ज टावर लेखिएको होस् । रात्रीको समयमा पनि यो नाम देखिने व्यवस्था मिलाइएको होस् ।

 
निश्कर्ष ः
अबका दिनमा लाखौं करोडौंको परियोजना बनाउँदा त्यसबाट कसरी आय बढाउन र रोजगारी र्सिर्जना गर्न सकिन्छ भन्ने बारे सोच्नु अनिवार्य भै सकेको छ । यहाँ परिकल्पना गरिएको नेपालगन्ज टावर (घण्टाघर समेत) मा केही बढी लगानी हुन सक्ला तर यसबाट बाट पनि राम्रो आम्दानी हुन्छ र कम्तिमा १५ देखि २० जनाले रोजगारी पाउँछन् । अर्कोतिर यसले मध्यपश्चिमाञ्चाल र प्रदेश नं. ५ मा रहेको जातजाति, धार्मिक स्थल, पर्यटकीय स्थल बारेको जानकारी दिन्छ भने प्रदेशमा कहाँ के भै रहेको छ भनेर जान्न इच्छुकलाई सो बारेको सूचना पनि दिन्छ ।

 
टावरमा यहाँका सबै जातजातिको सँस्कृति झल्किने तश्विर राखिनुले टावरप्रति सबैको उत्तिकै माया रहन्छ र यसले सबैलाई एकताको सुत्रमा बाँधन सक्छ । यसको संरक्षणमा सबैको अपनत्व हुन्छ । यो दुर्घटना तथा अवाञ्छित गतिबिधि नियन्त्रणका लागि पनि सहयोगी हुन्छ । नेपालगञ्ज उद्योग बाणिज्य संघको स्वर्ण जयन्तीको अवसरमा पारेर निर्माण गर्ने भए पनि स्थानीय व्यक्तिहरु सहितको समति बनाएर यसलाई दिगो रुपमा सञ्चालन हुने व्यवस्था मिलाउनु जरुरी छ । सबैलाई राम्रो हुने यस्तो कार्यमा कुनै विलम्ब गर्नु हुँदैन । अस्तु ।।

प्रतिक्रिया

प्रतिक्रिया